दरबारमा राजा रहँदा या नरहँदा पनि रहस्यमय किन ?

फर्कलान् र ती दिनहरू

दरबारमा राजा रहँदा या नरहँदा पनि रहस्यमय  किन ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  माघ २२, २०७८

प्रसंग थियो, छोराले डोकाका लागि पनि ढोकाका लागि पनि तयार हुनुपर्छ । त्यो भनाइको बेला थियो, छोरीहरूका लागि पढाइको खासै व्यवस्था पनि नभएको । छोराको पौरख खाने हिसाबले भनिएको होला यस्तो ।

ढोकाको अर्थ सरकारी कार्यालय, अड्डा अदालतमा नठगियून्, जागिर खाने कुरामा पनि सफल होऊन् । सरकारी कामका लागि पनि तत्पर होऊन् भन्ने होला । झन् हामी ब्राह्मणका छोराको काम भनेको मैले थाहा पाउँदा पनि संस्कृत पढेर पुराण भन्ने हुनु त झन् ठूलो पौरख भइहाल्यो, नभए पनि जजमानी गर्नका लागि रुद्री, चण्डी पढ्न सक्ने, श्राद्ध, पूजा गराउन सक्ने हुनु अनिवार्य जस्तै थियो ।

बाहुनले पढेर पढाउनुपर्ने मुख्य काम मानिन्थ्यो । मेरा हजुरबाका पनि हजुरबा बूढा जिजुबाजे छविलाल उपाध्याय अधिकारी दाप्चाको फूलबारी भन्ने ठाउँबाट हैबारमा जानुभएको रहेछ, जहाँ उहाँको मावल रहेछ कोइराला परिवारमा । उहाँ त्यस बेलाको नामी ज्योतिषी हुनुहुँदो रहेछ । उहाँ दाप्चामै नाम चलेका पण्डित दामोदर उपाध्यायका छोरा । उहाँका अर्को छोराचाहिँ पण्डित हुनुहुँदो रहेछ ।

भनिन्छ, दुवै दाजुभाइ सँगै मावल पुगेका थिए आफ्नो भाग्य अजमाउन तर छविलाल बाजे मावलमा बस्नुभयो किनभने मावली सबै नै जजमान हुन सक्थे र ज्योतिषीका रूपमा उहाँको नाम चलेको रहेछ ।

मैले थाहा पाउँदा पनि पं. छविलाल लिखित भनेर हरितालको लेपन लागेको नेपाली कागजको बाक्लो कागजमा लेखिएका रुद्रीका पाताहरू देखिन्थे । थाहा छैन, ती पाताहरू अहिले कता पुगे, हराए होलान् भिल्लका देशमा मणि जस्तै गरी । तर, सत्यनाराण पूजाको विधि जस्ता लेखोट पनि थिए रे भन्नुहुन्थ्यो बाले ।

भन्नुहुन्थ्यो, अर्का पुराण भन्न चाहने पण्डित बाजेचाहिँ मावलमा बसिँदैन, हेप्छन् भनेर पूर्वतिर कतै मधेसतिर जानुभएको थियो । तयार भएको हाम्रो दाप्चाका रामानन्द उपाध्याय अधिकारी र केशवानन्द उपाध्याय अधिकारीको वंशावलीमा कोको कता भनेर सकेसम्म खुट्याएको हुनुपर्छ ।

रामानन्द उपाध्याय र केशवानन्द उपाध्याय सेन वंशी राजाका गुरुहरू रहेछन्, हुन सक्छ, मकवानपुरका सेन वंशी राजाहरूका । मानिन्छ, हाम्रा पुर्खाहरू पोखराबाट आएका हुन् दाप्चा । त्यसले अर्को कुराको पनि संकेत गरेको पाइन्छ, पाल्पामा आधारित सेन वंशीहरूले नेपालभर आफ्नो राज्य विस्तार गरेका थिए । मकवानपुर एउटा गढ थियो सेन साम्राज्यको ।

धरान अर्को गढ थियो सेन साम्राज्यको । अहिलेको तराई, मधेस, भावर सबै नै सेन वंशीहरूका राज्यमा थिए जस्तो बुझिन्छ । हालको दोलखा, रामेछाप र सिन्धुलीमा पाएका जति पनि त्यो बेलाका बिर्ताहरू छन्, सबै सेन वंशी राजाहरूले दिएका देखिन्छन् । जस्तो कि कार्कीहरूको बिर्ता, बरालहरूको बिर्ता तथा कोइरालाहरूको बिर्ता, सुवेदीहरू, काफ्लेहरू, घिमिरेहरूको बिर्ता आदिआदि ।

म इतिहासको विद्यार्थी नभएकाले र आफ्ना पुराना लिखतहरूको अध्ययन गर्ने अवसर नपाएकाले, चाँजो नपरेकाले,  कति कुरा मैले सिक्नुपर्नेछ तर पनि यतिसम्म थाहा छ कि सेन वंशी राजाले आफ्ना गुरु, पुरोहितलाई दिएको कुशबिर्ताको रूपमा हाम्रा पुर्खाले काशीखण्ड बिसीसहित बस्नका लागि दाप्चाको भिरालो तर असल हावापानी भएको, हिमालतिर फर्केको ठाउँ दिएका देखिन्छ ।

मैले ती पुराना कागजातहरूको अध्ययन गर्न पाएको छैन, त्यसैले आफ्नो अल्पबुझाइका आधारमा यी कुराहरू लेखेको हुँ । बरु केसम्म थाहा छ भने, काश्यप गोत्रीय अधिकारी ब्राह्मणलाई कार्की थर दिएर शाह वंशीय ठकुरी राजाले राज्य चलाउन राजाको रूपमा नै घोषणा गरेको सुनेको हुँ ।

२०१६ सालमा जब केही मात्र राजा–रजौटा राखेर राजा–रजौटा र तिनको सहित अरूको पनि बिर्ता उन्मूलन भयो, ती कार्की थरका राजा अधिकारीहरूले आफूलाई उपाध्याय, शर्मा लेखेर अधिकारी थर राख्न थालेको पाएको छु । राजा खानदानका कतिपय अधिकारीहरू अहिले पनि प्युठानको उदयपुरभित्र पर्ने ठाउँमा छँदै छन् या त मधेसमा जमिन्दारका रूपमा बर्दिया, कैलाली, दाङ कतै गएका हुन् रे ! अहिले पनि मल्लहरूका सन्तानले आफूलाई राजाका सन्तानका रूपमा लिने गरेका काठमाडौं, ललितपुर र भक्तपुरमा पाइन्छ । खासगरी भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा त्यस्ता मल्लहरूको बस्ती रहेको छ भनिन्छ । कोहीले प्रधान लेखे रे, कसैले प्रधानाङ्ग लेखे रे र कसैले अहिलेसम्म पनि मल्ल लेखिरहेका छन् ।

त्यस्तै, अधिकारीहरूमा पनि राजाको गुरु, पुरोहित, पण्डितका रूपमा काम गर्दा धेरैलाई कुशबिर्ता दिएर तत्कालीन मल्ल राज्यलाई घेर्नका लागि काठमाडौं उपत्यका वरिपरि आफ्ना गुरुहरूलाई बस्नका लागि पठाएको हुन सक्छ किनभने त्यस बेलामा गुरुहरूले नै कूटनीतिक काम गर्ने गर्थे । ब्राह्मण मार्नु नहुने वर्णका रूपमा पुजित थिए ।

यदि कुनै सुराकी गरेको थाहा पाए पनि गुरुहरूलाई निकाल्ने मात्र गरिन्थ्यो तर मारिँदैन थियो । सायद त्यही भएर होला । तर, परिस्थिति कस्तो बन्यो भने, गोरखाली शाह वंशले एकै पटक जस्तो काठमाडौं उपत्यका र सम्पूर्ण सेन साम्राज्यमाथि विजय हासिल गरेको देखिन्छ । पहिले सेन साम्राज्यको घेरा ठूलो भएकाले कतिपय ठाउँमा मल्लहरूको शासनमा न्यायका लागि सहयोग दिएको, लिएको देखिन्छ भन्ने किंवदन्ती छ । जस्तो कि हाम्रो गाउँमा सिँचाइका लागि कुलाको धाराको व्यवस्था गर्नका लागि मल्ल शासनको सहयोग लिएको देखिन्छ ।

जबजब सचेत व्यक्ति प्रौढ हुँदै जान्छ अनि आफ्नो अतीतको खोजी गर्दोरहेछ । हामीले सानामा सुनेका थियौँ, दाप्चाको बुचाकोट फूलबारीबाट हाम्रा बूढाबाजे पं. छविलाल आउनुभएको हो । यही कारण अहिले भकुन्डेबेँसी नजिक पर्ने बुचाकोटमा अपनत्व झल्किन्छ । मेरा बाको भनाइअनुसार २०१२–०१३ सालसम्म हाम्रा बाजेको नामको जग्गा थियो रे !

जब बा सोध्दै खोज्दै बुचाकोट पुग्नुभएको रहेछ, हाम्रो नजिकका दाजुभाइ अंश खोज्दै आएछन् हैबारदेखि भनेर भागेछन् रे ! मेरा बाले अरूलाई सुनाएर भन्नुभएको थियो रे, ‘आफ्नो पुरानो ठाउँका बारेमा सोधखोज गर्नका लागि मात्र आएको हुँ, मलाई अब यहाँको सम्पत्ति चाहिँदैन, जसले कमाएको हो, भोग चलन गरोस् । हामीले आफूलाई चाहिने कमाइसकेका छौँ ।’

नभन्दै अहिले छविलाल बाजेका सन्तान कतितिर छरिएर रहेका होलान्, त्यसको पनि हिसाब राख्न नसकिने अवस्था देखिन्छ । अर्थात् कुनै पनि व्यक्तिले आफ्नो परिवारको उत्पत्तिका बारेमा जान्न खोज्ने बेला भनेको आफूलाई चिन्नका लागि पनि हो भने हुन्छ । आजको जातीय पहिचानको अपनत्वले समाजमा प्रभाव पारेको बेलामा आफ्ना पूर्वजहरूका बारेमा जान्न खोज्नु स्वाभाविकै हो । झन् विश्वभर फिँजिएका नेपालीहरू, त्यसमा पनि वर्णशंकरका रूपमा जन्मेका बालकहरूका लागि पहिचानको मुद्दा अझ पेचिलो बनेको छ । वर्णशंकर नभए पनि नेपाली संस्कृतिभन्दा हजारौँ माइल टाढा बसेर जिन्दगी गुजार्नुपर्नेलाई आफ्नो थर, नाम र नेपालबाट गएको पहिलो पुस्ताले घरमा बोलचालका लागि गरेको भाषाको आधारमा उसले मेरा बाआमा कुन देशबाट आएका हुन् भनेर भन्ने मात्र हो ।

अहिले नारायणहिटी दरबार, हनुमान ढोका दरबार, पाटन, भक्तपुर दरबार स्क्वायरको भ्रमण र प्रदर्शन पनि त्यस्तै हो । त्यसैले दरबार भनेको जहिले पनि रहस्यमय, कौतूहलपूर्ण र हेर्न लायकका हुने रहेछन् । त्यस्तो दरबारमा प्रवेश गर्ने भनेको नै ढोकाको तयारी हो भन्थे । दरबारका कुरा गर्दा सधैँ सतर्कता, डर, आड भरोस, न्याय, अन्याय र दाउपेचको स्थानका रूपमा लिइन्थ्यो पौराणिककालमा पनि र आधुनिककालमा पनि ।

भुटानी शरणार्थीहरू, जो नेपालबाट अन्य देशमा जान बाध्य पारिएका थिए, तिनका सन्तानले को हौँ भन्ने ? नेपाली हौँ भन्ने कि भुटानी हौँ ? तर, नेपाली मूलका र नेपालीभाषी हौँ भन्ने कि ? यो अपनत्वका कुराका बारेमा नोबेल पुरस्कारप्राप्त बेलायती लेखक भन्नुपर्‍यो, भी. एस. नयपालले भन्ने गरेका थिए, ‘मेरा पुर्खा पाल्पाबाट बनारस आएका नेपाल थरका बाहुन हुन् रे ! अनि, हामी अफ्रिकामा आयौँ, बेलायतमा आयौँ, बीचमा विवाह विभिन्न वर्णका मानिस र भाषीहरूका बीचमा भयो, अब मेरो परिचय के त ? नेपाली, भारतीय, अफ्रिकी या बेलायती ?’

त्यसैले संस्कृति भनेको मर्ने पनि होइन रहेछ । कतै न कतै त्यसको प्रभाव नाममा, थरमा, बोलीमा, संस्कारमा, खानामा पर्ने नै रहेछ । संसारभर छरिएका नेपालीहरूको पहिचान नेपाली नै हो तर नेपाली बाबु, विदेशी आमा या विदेशी बाबु अनि नेपाली आमाबाट जन्मेका सन्तानहरूमा पनि नेपालको कथा र व्यथा अनि यहाँको चलनले नेपालतिर डोहो¥याएको पाइन्छ जस्तो हामीलाई लाग्छ तर नेपालमा अब त्यस्तो के छ र आउनू भन्ने बचन सुन्दैसुन्दै बसेका हामी नेपालमै रहेकाहरूका लागि भने पचाउने विषय भइसकेको छ ।

र पनि आफ्नो अतीतका बारेमा मानिसहरूले सोधखोज गरेर आफ्नो पहिचानको नवीकरण गरेका हुन्छन् । ती नेपाली भनेर आफूलाई चिनाउने विदेशीहरूको पनि पहिचानको नाभी नेपालमै गाडिएको छ नै । अहिले संसारका १५० भन्दा बढी देशमा नेपालीहरू पुगेका छन् । कति त त्यहीँका बासिन्दा भइसकेका छन् ।

पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्धमा लडाकुका रूपमा रहेका  र विभिन्न कारणले विदेशमा नै रहेका अनि आफ्नो पुरानो भाषा पनि बिर्सिन थालेका, धर्मको त कुरै भएन, जहाँ जस्तो समाजमा घुलमिल भए, त्यस्तै समाजको धर्म ग्रहण गरेकाहरूलाई पनि हामी त नेपाली हौँ भन्ने लागेको सुन्दाचाहिँ खुसी लाग्छ । नेपाली भन्ने पहिचानको आधार भनेको नेपाल देश नै हो र आफ्नोआफ्नो मौलिक पहिचानसहितको अनेकतामा एकताको स्वरूप हो ।

५–७ माघ २०४६ मा तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसले आफ्नो बृहत् राष्ट्रिय सम्मेलन गणेशमानजीको चाक्सीबारीको घर परिसरमा गरेको थियो, जुन सम्मेलनले वाममोर्चासँग मिलेर पंचायतको विरुद्धमा अन्तिम संघर्ष गर्ने आह्वान गरेको थियो– बहुदलीय प्रजातन्त्रका लागि । नभन्दै ७ फागुनमा प्रजातन्त्र दिवसको साइतमा प्रजातन्त्र पुनस्र्थापनाको उद्देश्यका साथ सुरु भएको आन्दोलन सफल भएको थियो २६ चैत राति पौने ११ बजे ।

त्यही राष्ट्रिय सम्मेलनमा नेपाली कांग्रेस र नेपाली प्रजातान्त्रिक आन्दोलनलाई शुभकामना दिन आउनेमध्ये भारतका बौद्धिक नेता प्राध्यापक डा. सुब्रह्मन्यम स्वामी पनि थिए । उनले तत्कालीन राजा वीरेन्द्रलाई हार्वर्ड विश्वविद्यालयमा सायद पढाएका थिए, आफ्नो विद्यावारिधिका लागि शिक्षण सहायकको काम गर्दा । उनले आफ्नो मन्तव्यमा राजा वीरेन्द्र आफ्ना विद्यार्थी रहेको बताएका थिए, आफ्ना विद्यार्थी राजा वीरेन्द्रलाई सम्झाउँदै भनेका थिए, ‘ढिपी नगर, प्रजातन्त्र पुनर्बहाली गरेर देखाऊ, नत्र हामीेले दन्त्यकथामा भन्ने गरेको एकादेशमा एउटा राजा थिए रे भन्ने कथा सार्थक होला । अहिलेसम्म नेपालमा एउटा राजा छन् भन्दै आएका छौँ ।’

त्यसको मनसाय के थियो जस्तो लाग्छ भने, यदि राजतन्त्र यथावत् रहोस् भन्ने लाग्छ भने प्रजातन्त्रभित्रको संवैधानिक राजा भएर बस । आफ्ना गुरु स्वामीले भनेको मानेर त होइन होला, जनआन्दोलनको राप र ताप अनि प्रजातान्त्रिक देशहरूको दबाबले पनि होला, राजा वीरेन्द्रले बाध्यताको दबाबभित्रै परेर पनि होला, २६ चैत राति प्रतिबन्धित बहुदलीय व्यवस्था र संसदीय प्रजातन्त्र पुनस्र्थापना गरेका देखिन्छ ।

त्यो जनआन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा भएको थियो, जसमा वाममोर्चाको सक्रिय सहभागिता थियो । तत्कालीन नेकपा मालेको भूमिगत संगठनले सक्रियता राखे पनि वार्तामा भने मालेको भ्रातृसंस्था या भनौँ खुला संस्था तत्कालीन युवासंघका तर्फबाट राधाकृष्ण मैनाली सक्रिय भएका देखिन्थ्यो ।

यहाँ मैले के कुरामा मात्र जोड दिन खोजेको भने, त्यसरी प्राप्त प्रजातन्त्रप्रति राजाको धारणा स्पष्ट नहुँदै र राजाले गरेका प्रजातन्त्रविरोधी भित्री कामहरूको नकाब नउतारिँदै उनको सपरिवारको हत्या भयो, अरू दरबारियाहरूको पनि एकै ठाउँमा हत्या भयो, किन ? मात्र एउटा कुण्ठाग्रस्त युवा, जो भोलिको राजा हुनेवाला थियो, उसैलाई फेरि कोही पनि राजा नहोस् भन्ने लागेर हो वा कुनै रहस्यमय षड्यन्त्र भएर हो, २०५८ सालको जेठ १९ गते राति राजा वीरेन्द्रका सन्तानहरू एकै चिहान भए भनेर भन्ने कुरा तत्कालीन इतिहासले हामीलाई बताउँछ ।

म एउटा पेसागत रूपमा शिक्षक अनि सौखिन पत्रकार । शिक्षक पनि पंचायतका विरुद्धमा एकजुट हुनुपर्छ भनेर पेसागत रूपमा संगठित, तत्कालीन अवस्थामा प्रतिबन्धित नेपाली कांग्रेसको पक्षमा । प्रजातन्त्रको पक्षमा बोल्ने अरू कुनै संस्था या दल थिएनन् त्यस बेला ।

पंचायतको बेलामा हामी काठमाडौंका शिक्षकहरू टुँडिखेलमा जम्मा हुने समय भनेको वर्षमा ३ पटक हुन्थ्यो । १ पुसमा पंचायतको संविधान दिवस अर्थात् निर्दलीय पंचायतको पक्षमा नारा लगाउँदै शहर घुम्नुपर्ने, १४ पुसमा राजा वीरेन्द्रको जन्मोत्सवमा राजालाई शुभकामना दिनका लागि दरबारमा लामबद्ध भएर टाढैबाट नमस्कार गरेर फर्कनुपर्ने अनि ७ फागुनमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा भाषण सुन्नका लागि भनेर शाही नेपाली सेनाको सैनिक मंचतर्फको टुँडिखेलमा जम्मा हुनुपर्ने ।

१ पुसमा चाहिँ हामी केही शिक्षकहरूलाई त्यो दिन जानु नपरे हुन्थ्यो भन्ने लागेकाले हेडसर भरतकुमार प्रधानलाई भन्यौँ, ‘हेडसर, यो दिनचाहिँ जान नपरे हुन्थ्यो, के गर्ने होला ?’

उहाँ पनि त्यो दिन जानु नपरे हुन्थ्यो भन्नेमा हुनुहुन्थ्यो तर जिल्ला शिक्षा कार्यालयले अनिवार्य हाजिरी लिन्थ्यो । १४ पुस र ७ फागुनमा जान हामी खुसी हुन्थ्यौँ, कारण थियो, १४ पुसका दिन दरबारमा पस्न पाइन्थ्यो ।

आखिर संसारभरका पुराना देशहरू, जो अहिले गणतन्त्र भएका छन्, चीनसमेतका देशहरूको एउटा कमाइ भनेको, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्न, प्राचीन तथा निकट विगतका  राजाका दरबारहरू देखाएर, राजाका परिवारमा प्रयोग गरिने सामानको प्रदर्शन गरेर र पुराना प्रथाहरूलाई जीवन्त हुनेगरी तयार गरेका चित्रहरू देखाएर आफ्नो पहिचानको स्वरूप देखाइन्छ ।

अहिले नारायणहिटी दरबार, हनुमान ढोका दरबार, पाटन, भक्तपुर दरबार स्क्वायरको भ्रमण र प्रदर्शन पनि त्यस्तै हो । त्यसैले दरबार भनेको जहिले पनि रहस्यमय, कौतूहलपूर्ण र हेर्न लायकका हुने रहेछन् । त्यस्तो दरबारमा प्रवेश गर्ने भनेको नै ढोकाको तयारी हो भन्थे । दरबारका कुरा गर्दा सधैँ सतर्कता, डर, आड भरोस, न्याय, अन्याय र दाउपेचको स्थानका रूपमा लिइन्थ्यो पौराणिककालमा पनि र आधुनिककालमा पनि ।

अहिले पनि दरबारसँग सम्बन्धित इतिहास तथा साहित्यको रुचि देखिन्छ विश्वभर नै । किन केन्द्रीय राजाको मात्र कुरा गर्ने, पहिलेका थुमका राजा, डाँडाका राजा, विभिन्न प्रदेशका राजाको कुरा पनि अझै चाखका साथ पढिन्छ ।

त्यस्तो दरबारमा जो पनि जान चाहन्छ एक पटक । राजा सम्पन्नताका प्रतीक मानिन्थे, बलका प्रतीक मानिन्थे र दरबारमा नै हो बिनाप्रमाण धेरैको ज्यान पनि गएको सुनिन्छ शंकाको भरमा । उहिले पनि अहिले पनि । हामीसँग इतिहासको कुरा गर्ने हो अझैसम्म एकादेशमा एउटा राजा थिए भन्नेजस्तो नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह जीवित हुनुहुन्छ, उहाँका एक मात्र पुत्र पारस शाह र पारस शाहका पनि एक मात्र पुत्र हृदयेन्द्र शाह सबै नेपालमा नै बसोबास गरेका देख्न पाइन्छ ।

प्रसंगवश एउटा कुरा भन्नै पर्ने हुन्छ, पारस शाहलाई पढाउने मौका मैले पाएको थिएँ २०४६ सालमा लेबोरेटरी स्कुलमा कक्षा १० मा । त्यसको पनि एउटा अचम्मको कहानी बनेको थियो किनभने आजसम्म पारस शाहको जीवनीमा कतै लेबोरेटरी स्कुलको नाम देखिँदैन तर तत्कालीन शाहज्यादा पारस शाहले एसएलसी परीक्षा लेबोरेटरी विद्यालयबाट दिएर प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।

राजाको छोरा होस् या जनताको छोरो होस्, उसको पढ्न पाउने हकको रक्षा हामीले गरेका थियौँ हाम्रो विद्यालयमा ।

क्रमशः