आशिष पौडेल | अन्तर्मन्थन | माघ २२, २०७८
राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव डा. टीकाराम पोखरेललाई कुनै दिन पनि लागेको थिएन मानवअधिकारका क्षेत्रमा यसरी काम गरिएला र आफ्ना पाइला मानवअधिकारकर्मीका रूपमा अगाडि बढ्लान् भनेर । तर, समयको मेसोमा भौँतारिँदै उहाँ हाल आयोगका प्रवक्ताको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
दोलखाको जजमानी गर्ने एउटा सामान्य मध्यम वर्गीय किसान परिवारको केटोलाई यस्तो नलाग्नु स्वाभाविक पनि हो । स्वाभाविक यस अर्थमा कि पुरेत्याइँ गर्ने ब्राह्मण परिवारको भएको नाताले उहाँलाई संस्कृत पढ्ने दबाब थियो ।
३ बहिनी अनि २ भाइको पोखरेल परिवारमा २०२६ सालमा जन्मनुभएका टीकारामको बाल्यकाल खासै सुखद रहेन । सुखद यस अर्थमा रहेन कि उहाँ यथास्थितिमा भन्दा पनि भविष्यमा बढी रमाउन खोज्नुहुन्थ्यो । शहर नदेख्दै सानैदेखि शहरका सपना देख्नुहुन्थ्यो ।
तथापि, बाल्यकाल जतिसुकै अभाव भए पनि रमाइलो र सुखद नरहने भन्ने कुरो भएन । पांग्रा गुडाउने, गुच्चा खेल्ने, पौडी खेल्ने, झुम्राका बल खेल्ने गरेकै हो । तर, झुम्राका बलमा खेलाडी बन्ने सपना नदेखेर उहाँको सपना भने शहर केन्द्रित थियो ।
०००
परिवारमा बस्न, खान तथा लगाउन कुनै समस्या थिएन । पुरेत्याइँ गर्ने ब्राह्मण परिवार भए पनि महिलाहरूलाई पढाउनुहुँदैन भन्ने एउटा स्पष्ट मान्यता थियो परिवारको । सायद त्यसबेलाको समाजको प्रभाव पनि हुँदो हो परिवारमा नत्र छोरीलाई पढाउन नसक्ने परिवार होइन पोखरेल परिवार । यसरी हेर्दा भने चेतना र शिक्षाका हिसाबले अलि पिछडिएको नै हो परिवार भन्नुहुन्छ पोखरेल ।
नामका अगाडि डा. झुन्ड्याउने पोखरेलको शिक्षाका कुरा गर्दा भने धेरै नै उतारचढाव देखिन्छ । सग्लो अक्षर घरमा फुटाएका पोखरेल स्कुल गए पनि परिवारको चाहना भने संस्कृत तथा परम्परागत शिक्षामै थियो । त्यसमाथि उहाँका ठूलोबुबा पण्डित पनि ।
प्राथमिक शिक्षा तत्कालीन भगवती प्राविमा भएको पोखरेलको स्कुल नाम मात्रको थियो । त्यो यस अर्थमा कि भवन नाम मात्रको थियो । बस्नलाई डेस्क बेन्च थिएन । लामा लामा फलेकलाई दुवैतिर ढुंगा राखेर बस्न योग्य बनाइएको हुन्थ्यो ।
त्यसबेला इँटा उपलब्ध हुँदैनथ्यो । उसै त नमिलेको भुइँ त्यसमाथि ढुंगा खप्टिएर फलेक राख्दा यसो हल्लिँदा के हालत हुन्थ्यो त्यो, पोखरेल वा त्यस बेलाका भुक्तमानहरूलाई नै थाहा होला । त्यही फलेकमा बस्न नपाउने अन्यले खुच्चिङ भनेर मुख खुम्च्याएको पोखरेलले बिर्सनुभएको छैन ।
०००
कालो पाटीमा कुनै दिन सरले लेखेर अफिसमा लैजान नमिल्ने चकका टुक्रा भेटेर लेख्न पाए त्योजतिको हिरो को हुन्थ्यो र कक्षामा ! खरीले लेख्नु सामान्य थियो ।
५० जना रहेको कक्षा १ मा जम्मा २-३ जना महिला हुन्थे । महिलालाई नपढाउने भन्ने स्पष्ट मान्यताका बीच ती कहाँबाट उछिट्टिएर आउँथे सम्झँदा अहिले रमाइलो लाग्छ पोखरेललाई । कारण: शुल्क नभएर भन्ने मान्यता थियो किनकि प्राथमिक तहसम्म निःशुल्क थियो पढाइ । माथिल्लो कक्षामा जाँदा कक्षागत अंक गन्तीमा हुन्थ्यो शुल्क पनि । अर्थात् ६ कक्षामा ६ रुपैयाँ हुँदै क्रमशः उकालो लाग्थ्यो फी ।
उहाँको दिदीलाई उहाँहरूले पढेको सुनेको भरमा सबै कण्ठस्थ थिए । यस अर्थमा महिलाहरू झन् तेज थिए । तर, मान्यताले उनीहरूलाई गाँज्यो । त्यो गाँजोमा उनीहरूका सपना सबै विलीन भएर घर सम्हाल्नेमा सीमित हुन पुग्यो ।
०००
उहाँको निमावि अर्थात् ६-७ कक्षाको शिक्षा करिब १ घण्टाको दूरीमा रहेको हिले पानीमा भयो । त्यसबेला निमाविमा ८ कक्षा समावेश थिएन । ८ कक्षा माविमै समाविष्ट थियो ।
माविमा भने उहाँका पैतालाले निकै दुःख पाए । स्कुल झन्डै ४-५ घण्टाको दूरीमा थियो । आउजाउ गर्दा झन्डै ८-१० घण्टा पैदल यात्रा । एक दिनमा यो यात्रा सम्भव थिएन । त्यसैले डेराको बास पर्यो ।
आइतबार बिहान हप्ताभरिको सामल लिएर हुर्दुराउँदै भिरको बाटो कुद्यो । तल खोला हेर्दै कहालीलाग्दो हुन्थ्यो । खुट्टा लुगलुग काम्थ्यो । सजिलो लामो बाटो पनि थियो । तर, साथी छिटो बाटो जाने हुनाले अरूले आफूलाई कमजोर ठान्छ भन्ने मान्यताले पनि लुगलुग खुट्टा कमाएर भए पनि भिरकै बाटो हिँड्ने बाध्यता थियो ।
हुनत एक हप्ताका लागि बोकेर लाने सामल यतै गाउँमा बेचेर त्यो पैसा लिएर गएको भए हुन्थ्यो भन्ने बुद्धि अहिले पलाएको छ उहाँको । त्यसबेला चेतना, बुद्धि वा डर कुन जिनिसले काम गरेन उहाँलाई थाहा छैन ।
यो सामलको पिरलोले उहाँको स्कुल छुट्यो । झन्डै ३-४ महिना उहाँको स्कुल छुट्यो । बाआमा खुसी हुनुहुन्थ्यो स्कुल छुटेकामा । छोराले पढ्न नपाउने भयो भन्ने खुसियाली नभएर अब संस्कृत पढेर २०० घर जजमानी गरेर घरमा सहयोग गर्छ उहाँको खुसीको कारण थियो ।
०००
१-७ कक्षासम्म प्रथम भएको मान्छे कक्षा ८ मा खासै राम्रो रहेन उहाँको । सामल बोक्ने, लैजाने अनि पकाएर खाने एक प्रकारको दबाब उहाँलाई झेल्न कठिन भयो । कक्षा ७ सम्म प्रथम भएको मान्छे कक्षा ८ मा त्यति राम्रो पढ्न सक्नुभएन । र, पढाइबाटै टाढिनुभयो ३-४ महिना । अलिअलि त गर्नुभयो तर उहाँलाई यसमा पटक्कै रस बसेन ।
संयोग कस्तो पर्यो भने, उहाँकी दिदीको बिहेको सन्दर्भ चलिरहँदा उहाँको ठूलोबुबा अर्थात् आमाको भिनाजू उहाँको घरमा आउनुभएको थियो । उहाँको घर उहाँ पढ्दै गरेको आदर्श माविबाट करिब एक घण्टको दूरीमा थियो ।
ठूलोबाले अलिक कडा स्वरमा 'यो केटो के गर्दै छ ?' भनेर सोध्नुभयो । 'यत्तिकै बसेको' भन्ने जबाफ पाइसकेपछि 'यसरी बस्नुहुँदैन' भन्ने अर्को कडा निर्देशन आयो र 'मेरो घरमा आएर बसेर पढ्' भन्ने स्वीकृति पनि आयो सँगै । उहाँलाई राहत मिल्यो । खुदो नै पल्टियो । संस्कृतले दिक्क बनाएको उहाँको मानसपटलमा शीतलता नै छायो ।
०००
करिब साढे २ वर्ष ठूला बाकोमा बसेर पढेर उहाँले मावि शिक्षा पूरा गर्नुभयो । तर, कक्षा ७ सम्म पहिलो भएको केटो कक्षा ८ देखि भने खासै उँभो लागेन । उहाँको रोल नम्बर २५ पुग्यो ७५ जनामा । तर, कक्षा ९ देखि भने केही उँभो लाग्यो । रोल नम्बर घटेर ६-७ मा आयो । स्कुल यसै त दुर्गममा, त्यसमाथि चरम राजनीति थियो ।
धेरै शिक्षकहरू राजनीतिका कारण भूमिगत भए । उहाँको स्कुलका प्रधानाध्यापक जीतवीर लामा उहाँ पढ्न गएको ६ महिनामा भूमिगत हुनुभयो । प्रधानाध्यापक नै एक वर्षजति अरूले कार्यकारी चलाए र पछि उहाँले राजीनामा दिनुभयो ।
उहाँको काम भनेको फ्लपी डिस्क सफा गर्ने, कक्षा सफा गर्ने चिया बनाउने यस्तै थियो । उहाँ बिहानै गएर काम सकाउनुहुन्थ्यो । चिया बनाउनुहुन्थ्यो । अरू त ठिकै थियो तर कहिलेकाहीँ पाहुना आउँदा 'चिया बनाऊ' भन्दा उहाँलाई अलि अप्ठ्यारो लाग्थ्यो । अनि, बाटोपारिबाट चिया लेराउ भन्थे । त्यो बेला हातमा चिया झुण्ड्याएर ल्याउँदा कसैले देख्ला भन्ने साह्रो अप्ठ्यारो लाग्थ्यो उहाँलाई ।
धेरै शिक्षक भूमिगत भएपछि अरू बाहिरी शिक्षकले आएर पढाए पनि । सबै हिसाबले पढाइ त्यति राम्रो चलेन । अंग्रेजी, गणित, विज्ञानका विषयगत शिक्षकहरू थिएनन् । जोजो उपलब्ध हुन्छन्, तिनैले पढाउने चलन थियो । ९-१० कक्षामा गणित पढाउने आईएड पास गरेका शिक्षक थिए ।
करिब ७०-८० जनाको कक्षामा ७-८ जना महिला हुन्थे । त्यो पनि सम्पन्न परिवारका अथवा राजनीतिक चेतना भएका परिवारका मात्र ।
करिब ९० जनाले टेस्ट परीक्षा दिएकामा ५२ जनाले मात्र एसएलसी दिन पाए । त्यसमध्ये ५ जना मात्र पास भए । ती ५ जनामा उहाँ पर्नुभयो । अतिरिक्त क्रियाकलापमा पनि कसैको नजरमा नपरेको अनि अन्तिम बेन्चमा बस्ने र खासै कसैको आँखामा नपरेको मान्छे कसरी पास भयो भनेर धेरैलाई अचम्भित पनि बनायो ।
अतिरिक्त क्रियाकलापको कुरा गर्दा खासै त्यस्तो हुँदैनथ्यो । उहाँहरूले भलिबल हान्ने भनेको बाहिर गएको बेलामा दौडिएर गएर ल्याएर डुङ्ग हान्ने मात्र हो । त्यही हेरेर झुम्राका बल खेल्ने । अनि, पछिपछि यसो भलिबल किनेर लगेर खेल्दा पनि काँडा अनि नलका ठोसाले भलिबलको आयु नै कति दिनको बनाउँथे र !
०००
एसएलसीको रिजल्ट नहुँदै उहाँलाई उहाँको सपनाको शहरले बोलायो । उहाँ काठमाडौं आउनुभयो । उहाँ प्रमाणपत्र लिन पनि गाउँ जानुभएन । सानोठिमीमा प्रतिलिपि प्रमाणपत्र लिएर चाबहिलको पशुपति क्याम्पसमा भर्ना हुनुभयो ।
उहाँलाई सरकारी क्याम्पसमा पढ्ने रहर थियो । त्यसमा पनि कानुन लिएर । त्यो नभए पनि आरआर क्याम्पस । तर, भर्ना हुन भने पशुपति क्याम्पस पुग्नुभयो । यसको कारण थियो, गाउँको एक जना बुज्रुकले कानुन गाह्रो हुन्छ, त्यसैले सजिलो विषय लिएर पढेर चाँडो पास गर्नुपर्छ भन्ने मन्त्रले उहाँलाई काम गर्यो ।
उहाँले आरआरमा पढ्न खोज्नुभएको थियो । तर, यहाँ फेरि तिनै बुज्रुकको मन्त्रले काम गर्यो । आरआरमा त नाम नै निस्कँदैन ! उहाँलाई लाग्यो होला नि त ! पछि बुज्रुक शिक्षक हुन गाउँ फर्किए । उहाँ कोठामा एक्लै बस्न थाल्नुभयो । कोठा भाडा १५० थियो । त्यो भनेको एक तला माथि । झिंगटीले छाएको घरमा, शौचालय भने तल हुन्थ्यो । मार्गदर्शका गाउँ गएपछि उहाँकामा किताब भने काम आए ।
उहाँको घरबाट पैसा पठाउने भन्ने कुनै किसिमको भरथेग थिएन । त्यस कारण उहाँ जागिरका लागि भौँतारिरहनुभएको थियो । कहिले गाउँको चिनिजानेकोमा, कहिले कसकोमा जागिरका लागि पुग्नुहुन्थ्यो उहाँ । दिउँसो काम गर्नुपर्छ भनेर नै उहाँले रातिको क्याम्पस रोज्नुभएको थियो ।
पढाइका हकमा भने उहाँले पीएचडीसम्म गर्नुभयो । आईएमा केही विषय ब्याक लागे । बीए उहाँ एक दिन पनि कलेज नगईकन पास गर्नुभयो । एमए भने उहाँको रोजाइको आरआर क्याम्पस पर्यो ।
एमए सकिएलगत्तै अर्थात् २-४ महिना पछाडि नै उहाँले पीएचडी सुरु गर्नुभयो । केही साथी तथा शिक्षकहरूले 'चाँडो भएन र !' नभनेको होइन तर अहिले जाँगर चलेका बेला सक्नुपर्छ भनेर उहाँले छिटै नै सक्नुभयो ।
०००
उहाँ १ हजार ७०० रुपैयाँ लिएर काठमाडौं छिरेको मान्छे । नभएर होइन, संघर्ष गरोस् भन्ने घरको चाहना थियो । यो विषय उहाँको पनि रुचिमा पर्यो ।
उहाँकै जिल्लाको, उहाँभन्दा केही वर्ष जेठो, काठमाडौं ज्ञानेश्वर निवासी एक जना माधव खड्का पनि जागिरका लागि एकदमै भिडेको भेट्नुभयो उहाँले ।
उहाँ खड्काको घरमा टीभी हेर्न जानुहुन्थ्यो । रामायण त्यसबेला खुब चलेको थियो । मंगलबार रातिको क्याम्पस छाडेर उहाँ रामायण हेर्न जानुहुन्थ्यो ।
त्यसबेला राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना भइसकेको थियो । निजी कम्प्युटर इन्स्टिच्युटहरू भर्खर भर्खर खुलेका थिए । खड्काजी कमलादीको हाइटेक कम्प्युटर इन्स्टिच्युटमा काम गर्नुहुनेरहेछ ।
उहाँले जागिरका लागि कराएपछि 'ल काम गर्छौ त ?' भनेर उहाँले आफूले कम्प्युटर सिक्ने इन्स्टिच्युटमा लिएर जानुभयो कामका लागि । काम थियो कार्यालय सहयोगीको । खड्काजीले लगेर साहुजी राममान श्रेष्ठसँग उहाँको भेट गराइदिनुभयो । उहाँले लगिदिएको एक-डेढ महिनामा खड्काजी भनेर छाडेर कतै लाग्नुभयो ।
उहाँको काम भनेको फ्लपी डिस्क सफा गर्ने, कक्षा सफा गर्ने चिया बनाउने यस्तै थियो । उहाँ बिहानै गएर काम सक्नुहुन्थ्यो । चिया बनाउनुहुन्थ्यो । अरू त ठिकै थियो तर कहिलेकाहीँ पाहुना आउँदा 'चिया बनाऊ' भन्दा उहाँलाई अलिक अप्ठ्यारो लाग्थ्यो । अनि, 'बाटोपारिबाट चिया ल्याऊ' भन्थे । त्यो बेला हातमा चिया झुण्ड्याएर ल्याउँदा कसैले देख्ला भन्ने साह्रो अप्ठ्यारो लाग्थ्यो उहाँलाई । तर, यो सब अप्ठ्यारो भने महिना मरेको दिन उहाँले पाएको ५०० को नोटले हराउँथ्यो ।
जागिर खाँदा पैसा तोकिएको थिएन । १५० रुपैयाँ कोठा भाडा तिरेको मान्छेले एकै पटक ५०० रुपैयाँ पाउँदा उहाँको हर्षको सीमा रहेन । उहाँलाई यसले काम के गर्ने भन्दा पनि त्यसको अंकभारले ज्यादा खुसी दियो ।
माधवजीले जागिरको फारम बुझाइदिएबापत पनि उहाँलाई यसो १०-२० रुपैयाँ दिनुहुन्थ्यो । यसो गर्दा उहाँको कमाइ ५००-७०० रुपैयाँ पुग्थ्यो महिनाको ।
५०० रुपैयाँ खर्च गरेर सकिँदै गर्दा नजिकै दसैँ आइरहेको थियो । उहाँले दसैँमा दसैँ खर्चबापत अर्को ५०० रुपैयाँ पाउनुभयो ।उहाँलाई दसैँ खर्च भनेर यसरी पैसा पाइन्छ भन्ने थाहा थिएन । अर्को ५०० रुपैयाँ पाएपछि भने उहाँले त्यो पैसाले कृषि विकास बैंकको बानेश्वर शाखामा खातासमेत खोल्नुभयो । उहाँको संघर्षको कथा यसरी सुरु भएको थियो ।
पछि त्यो इन्स्टिच्युटका साथीहरू युनिभर्सल इन्स्टिच्युटमा सरेपछि उहाँ पनि त्यतै सर्नुभयो । पछि उहाँले रहरले १ हजार २०० रुपैयाँमा एउटा एभोन साइकल किन्नुभएको थियो । पछि त्यो साइकल दुवाकोटतिरका एक जना साथीले लगेर हराइदिएको सम्झँदा अहिले पनि चित्त दुख्छ त्यो मिहिनेतको कमाइ सम्झेर ।
उहाँ त्यहाँ इन्स्टिच्युटमा काम गर्दा प्राक्टिकल सेसन त हेर्दा हेर्दै सिकिसक्नुभएको थियो । सिक्न आउनेहरू पनि आईए पढ्ने, उहाँ पनि आईए पढ्ने । यसले अरूकोे नजरमा उहाँको स्थान अलिक बेग्लै बनाउँथ्यो ।माया पनि गर्थे । अर्को इन्स्टिच्युटमा ६-८ महिना काम गरेपछि उहाँले एउटा प्रोजेक्टमा लोखापालको रूपमा काम पाउनुभयो । उहाँको तलब अब १ हजार ५०० रुपैयाँ भयो । यसले उहाँको हौसला बुलन्द गरायो । यो २०४८ सालतिरको कुरा हो । उहाँलाई घुम्न एकदमै रमाइलो लाग्ने । यस कारण उहाँ हिँडेरै आफू जाने बाटोका साइनबोर्ड हेरेर पढ्दै हरेका ठाउँ चिन्नका लागि हिँड्नुहुन्थ्यो ।
उहाँको केन्द्र भने रत्नपार्क हुन्थ्यो । जहाँ पुगे पनि फर्किएर भने रत्नपार्क नै आउने त्यसो हुँदा हराउने डर हुँदैनथ्यो । एक पटक उहाँ हिँड्दै नक्साल पुग्नुभयो । पछि अब धेरै हिँडियो फर्केर जानुपर्यो भनेर रत्नपार्क भएर ज्ञानेश्वर पुग्नुभयो । पछि उहाँलाई म त अघि आएको थिएँ फेरि फर्केर रत्नपार्क पुगेर आएछु भन्ने लाग्यो । यो घटना उहाँको जीवनमा एकदमै स्मरणीय भएर बसेको छ ।
०००
प्रोजेक्टमा २-३ वर्ष काम गरेपछि उहाँले आफ्नै विज्ञापन एजेन्सी खोल्नुभयो । तर, उहाँ मार्केटिङमा त्यति सफल देखिनुभएन । अलिक घाटा पनि गरायो ।
त्यसपछि उहाँले स्कुल पनि खोल्नुभयो । स्कुलले राम्रै गर्यो । स्कुल बेचेर क्याम्पस पनि खोल्नुभयो । कलेज खोलेर पत्रकारिताका शिक्षक नपाएपछि आफ्नो क्षेत्रको नभए पनि पत्रकारिता पनि पढाउनुभयो ।
पछि उहाँले ओस्कार इन्टरनेसनल कलेज पनि खोल्नुभयो । २०५९ सालमा भने उहाँ मानवअधिकार आयोगमा जानुभयो । आयोग भर्खर भर्खर स्थापना भएको थियो । नयनबहादुर खत्री अध्यक्षका रूपमा नियुक्त हुनुभएको थियो । उहाँलाई सहयोगीको भूमिकामा अधिकृतको रूपमा उहाँ आयोगमा प्रवेश गर्नुभएको हो । पछि लोकसेवा दिएर स्थायी हुनुभएको हो । बिस्तारै बढुवा भएर हाल भने सहसचिव तथा प्रवक्ताको भूमिकामा उहाँ आयोगमा हुनुहुन्छ ।
०००
उहाँले साहित्यमा कलम चलाउन थालेको भने २०५१-०५२ सालदेखि हो । २०५२ सालमा 'जनमत' पत्रिकामा उहाँको 'परिवर्तन' नामक कथा प्रकाशन भएको थियो । उहाँको पीएचडी पनि साहित्यसँग नै सम्बन्धित छ । 'डायमन्डशम्शेरका ऐतिहासिक उपन्यास' विषयमा उहाँको पीएचडी रहेको छ ।
उहाँका साहित्य तथा साहित्यइतरका पनि पुस्तक प्रकाशनमा छन् । उहाँले कविता भने धेरै लेख्नुभएको छैन । कथामा उहाँको विशेष रुचि छ । व्यंग्य पनि लेख्नुभयो । पछि भने उहाँका साहित्य भन्दा पनि राजनीति, व्यंग्य तथा मानवअधिकार सम्बन्धी लेख, रचना गरी ५०० भन्दा बढी प्रकाशनमा छन् ।
उहाँका ६ वटा पुस्तक प्रकाशनमा आएका छन् । एउटा पुस्तक चाँडै आउने तयारीमा छ ।
उहाँका प्रकाशित कृतिमा 'धोको' कथासंग्रह, 'दोलखाको साहित्यिक रूपरेखा', 'सिद्धान्त सिर्जना र समालोचना', 'ऐतिहासिक उपन्यास: सिद्धान्त र स्वरूप', 'हाइहाइ नेपाल बन्द', व्यंग्यसंग्रह हुन् ।
उहाँ साहित्यिक संघसंस्थामा भने त्यति संलग्न हुनुहुन्न । डायमन्डशम्शेर राणा प्रतिष्ठानको उहाँ उपाध्यक्ष हुनुहुन्छ ।
उहाँ २ वटा स्कुलको अध्यक्ष हुनुभयो । २ वटा कलेजको क्याम्पस प्रमुख पनि हुनुभयो । अध्यक्ष हुनुभयो । त्रिविको विशेष समितिमा बसेर पनि काम गर्नुभयो । छोटो समय महेन्द्ररत्न क्याम्पसमा गरी ३ वटा क्याम्पसमा पढाउनुभयो । पढाउने सन्दर्भमा उहाँले नर्सरीदेखि बीएसम्म पढाउनुभएको छ । त्यसमा कक्षा ६ कतै छुटेजस्तो लाग्छ उहाँलाई ।
०००
उहाँले ५०० रुपैयाँमा कम्प्युटर इन्स्टिच्युटमा काम गर्दा दार्जिलिङतिरको एक जना राजेन लामा भन्ने कम्प्युटर पढाउने शिक्षक हुनुहुन्थ्यो । त्यो इन्स्टिच्युटको सबै रेखदेख उहाँको जिम्मामा थियो ।
दार्जिलिङतिरको मान्छे, बोली अलिक रूखो । जे भन्दा पनि रिसाएजस्तो लाग्ने । सायद उहाँको जिम्मामा भएर हो कि उहाँको काममा जहिले पनि अपजस मात्र दिने । यसो गरे पनि भएन, उसो गरे पनि भएन मात्र भन्ने । अनि, उहाँले त्यो कुरा काम लगाइदिने माधव खड्कालाई पनि भन्नुभयो । उहाँले म कुरा गर्छु त भन्नुभयो । तर, उहाँले पनि छाडेर जानुभयो ।
इन्स्टिच्युटका राजेन लामा सरले अति गरेपछि एक दिन उहाँ क्वाँक्वाँ रोएर 'ल सर, अब म जागिर खान आउँदिनँ' भनेर साँचो बुझाइदिनुभयो । त्यसले उहाँलाई पनि स्तब्ध बनायो । उहाँले 'म भोलिदेखि आउँदिनँ' भनेपछि उहाँले 'अहिले गएर आराम गर अनि भोलि आऊ' भन्नुभयो । त्यसपछि उहाँले यति माया गर्नुभयो कि तलब आउँदा १००/५० पनि दिनुभयो राजेन सरले ।
राजेन सरसँग उहाँको मित्रता धेरै लामो रह्यो । उहाँले पछि स्कुल खोल्दा दार्जिलिङको शिक्षक पनि ल्याइदिनुभयो २ जना ।