लोकसंवाद संवाददाता | समाचार | माघ २३, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गर्ने विषयले यति बेला नेपाली राजनीति तातेको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धन नै टाट्नेसम्मका विषय बाहिर आइरहेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले कांग्रेस सभामुख हटाउन तयार भएमा एमसीसी पास गर्न सघाउने बताइसकेको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री देउवा एमसीसी पास गर्न एमालेको साथ लिन समेत तयार देखिएपछि सत्ता गठबन्धनमा भुईँचालो नै गएको थियो । गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एमसीसीलाई लिएर गठबन्धन नै छाड्नुपर्ने अवस्था सिर्जना हुने राजनीतिक अड्कलबाजी हुन थालेका छन् ।
पछिल्ला दुई दिन सत्ता गठबन्धनका नेताहरूबिच भएका सघन वार्ताहरूले भने फेरि गठबन्धनभित्रै एमसीसीका विषयमा छलफल गर्ने सहमति नजिक नेताहरू पुगेका छन् । गठबन्धनका नेताहरूबिचका निरन्तरका छलफलपछि बिहीबार गठबन्धनका धेरै नेताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धन पनि टुट्दैन, एमसीसी पनि पास हुँदैन ।’ यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले बरु गठबन्धन छाड्ने तर एमसीसीको पक्षमा नउभिने जनकारी गराउँदै आएका थिए ।
गठबन्धनमा विवाद
केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले १ फेब्रुअरीभित्र एमसीसी पास गर्नुपर्ने बाध्यतामा आफू रहेको बताए । देउवाको प्रस्तावमा गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएनन् । देउवाले गठबन्धनमा साथ नपाए एमालेको सहयोगमा एमसीसी पास गर्ने बताएपछि परिस्थिति असहज बनेको थियो । एमसीसीका विषयमा विवाद भए पनि दलहरूले गठबन्धन नटुट्ने बताइरहेका थिए ।
गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना एमसीसी पारित गर्न नसकिने बताइरहेका छन् । एमसीसीका विषयमा दलहरुबीच विवाद भइरहेका बेला प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रमुख विपक्षी एमाले भने एमसीसीलाई नै दाउपेचमा राखेर गठबन्धन तोड्ने मिसनमा लागेको छ । गठबन्धन कायम रहेको र चुनावी तालमेल भएको अवस्थामा आगामी निर्वाचनमा एमालेको शर्मनाक पराजय हुने देखेको एमाले जसरी पनि गठबन्धन भत्काउन चाहन्छ ।
सो बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको अडान छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने संशोधन नभई एमसीसी अघि बढाउन नहुने अडानमा छन् । तर मंगलबार र बुधबार भएको सघन वार्तापछि गठबन्धनभित्र केही सहज वातावरण निर्माण भएको छ ।
गठबन्धनमा उत्पन्न भएको गडबडी हल गर्नका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रचण्ड निवास खुमलटार पुगेर मंगलबार छलफल गरेका थिए ।
यसैगरी बुधबार गृहमन्त्री बालकृष्ण खाँणले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग उनीहरूकै निवासमा पुगेर छलफल गरे भने बुधबार नै प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालसँग दुई दुई पटक भेट गरे ।
यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ तथा पौडेल र देउवाबीच समेत अलग अलग छलफल भएपछि नेताहरू फेरि सकारात्मक छलफलमा अघि बढेका छन् । दलका नेताहरू अहिलेकै अवस्थामा एमसीसी अघि बढ्न नसक्ने साझा निष्कर्षमा पुगेको बताइन्छ ।
देउवाले प्रचण्ड र नेपालसँगको भेटमा एमसीसीमा संशोधन गर्नुपर्ने विषयमा समेत छलफल गरेका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलले पनि एमसीसी पास गर्न हतार नगर्न देउवालाई सुझाव दिएका छन् । उनले विपक्षी एमालेको उद्देश्य गठबन्धन तोड्ने भएकाले गठबन्धन टुटाएर कांग्रेसलाई धोका दिन सक्ने पौडेलले बताएपछि देउवा गठबन्धनकै नेतासँग थप छलफल गर्ने निचोडमा पुगेका थिए ।
पछिल्लो भेटका क्रममा देउवाले प्रचण्ड र नेपाललाई गठबन्धन नटुटाउने बचन दिएका छन् । पछिल्लो घटनाक्रमसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू गठबन्धन नतोडिने र एमसीसी पनि पारित नहुने निष्कर्षमा पुगेको देखिन्छ ।
गठबन्धनका नेताहरूबिच मंगलबार र बुधबार भएका सघन छलफलपछि नेताहरू केही ढुक्क देखिएका छन् । गठबन्धनका नेताहरू एमसीसीमा रहेका असहमतिका बुँदा तथा सुरुको सम्झौता र ओली सरकारका पालामा भएको सम्झौता अध्ययन गरेर अघि बढ्न तयार देखिएका छन् । यसले गठबन्धनको शीतयुद्ध तत्कालका लागि टुंगिएको छ ।
यता प्रमुख विपक्षी एमाले भने एमसीसीलाई नै दाउपेचमा राखेर गठबन्धन तोड्ने मिसनमा लागेको छ । गठबन्धन कायम रहेको र चुनावी तालमेल भएको अवस्थामा आगामी निर्वाचनमा एमालेको शर्मनाक पराजय हुने देखेको एमाले जसरी पनि गठबन्धन भत्काउन चाहन्छ ।
त्यसैले एमालेले प्रधानमन्त्री देउवालाई सभामुख हटाउन सहमत भए एमसीसीमा सहयोग गर्ने बचन दिएको छ । एमालेले एमसीसीलाई आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्ने हतियारका रुपमा हेरेको देखिन्छ । प्रधानमन्त्री देउवा पनि प्रमुख प्रतिपक्षीलाई पनि सहमत गराएर एमसीसी पास गर्ने र गठबन्धनलाई पनि जोगाउने रणनीतिमा लागेका छन् । सोही अनुसार उनले आफूनिकट नेताहरूलाई एमालेसँग छलफलका लागि खटाएका छन् ।
सभामुख अग्नि सापकोटाले पनि बजेटजस्तो होहल्लाबीच एमसीसी पास नहुने अडान राखेका छन् । जसका कारण देउवाले सभामुखसँग समेत छलफल गरेर अघि बढ्ने तयारी गरेका छन् ।