सोलुमा हिमपातः ३ दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

सोलुमा हिमपातः ३ दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २३, २०७८

भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा ३ दिनदेखि राजमार्ग बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्ण रूपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए ।

यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा २ देखि ३ फिटसम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसीबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ । स्थानीयबासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसीबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो ।

यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बूका लागि छुटेका सावरी साधन ओखलढुंगाका ठाढे, टोड्के, बिपलाटेलगायतका स्थानमा ३ दिनदेखि रोकिएका छन् भने सोलुखुम्बूबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका- ११ बेलीडाँडामा रोकिएका छन् ।

सवारी साधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रु बिचल्लीमा परेका छन् । सवारी रोकिएसँगै खान-बस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । विशेषगरी असक्त, बालबालिका, वृद्धवृद्वा यात्रु समस्यामा परेका बताइएको छ । जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताए । आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी संचालन हुन नसक्दा बीच बाटोमै रोकिएको उनको भनाइ छ ।

काठमाडौंदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुंगाको टोड्केमै रोकिएर बस्नुपरेको दीपक केसीले बताए । हिमपात भएका बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिए ।

सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उनले आग्रहसमेत गरे । आज दिउँसोसम्ममा सडक संचालन गराउन  प्रयास गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।