लोकसंवाद संवाददाता | विदेश | माघ २४, २०७८
युक्रेनका विषयमा बढ्दो तनावबीच रुसले युरोपलाई त्रिकोणात्मक रुपमा घेरा हाल्ने रणनीति बनाएको छ । रुसले पश्चिमा देशको सामना गर्नका लागि उत्तर सागर, बाल्टिक सागर र भूमध्य सागरमा युद्धपोतसहित सैन्य अभ्यासको घोषणा गरेको छ । युक्रेनको सीमा क्षेत्रमा १ लाख सेना र ८ हजार भन्दा बढी युद्धपोत परिचालन गरेको रुसले बेलारुसमा समेत युक्रेनभन्दा २० माइलको दुरीमा सेना तैनाथ गरिसकेको छ ।
युक्रेनको आक्रामक गतिविधिसँगै पश्चिमा देश पनि यतिबेला युरोपमा केन्द्रित भएका छन् । बेलायत, स्पेन, फ्रान्स, डेनमार्कले पूर्वी युरोपमा शक्ति एकत्रित गरिरहेका बेला अमेरिकाले पनि युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनमा रुसी आक्रमणको लगातार आशंकाबीच युरोपमा सेना पठाउने निर्णय राष्ट्रपति जो बाइडेनले लिएको जनाएको छ । अमेरिकाले दुई हजार सेना नर्थ क्यारोलिनाको फोर्ट ब्रैगबाट पोल्याण्ड र जर्मनी पठाउने भएको हो । जर्मनीमा पहिलेदेखि नै रहेका १ हजार सैनिक रोमानियामा पठाउने भएको छ ।
रुसले आक्रमण गर्ला ?
रुसले आफ्नो प्रभाव क्षेत्रमा रहेका देशमा नेटोको विस्तार र घातक हतियार ल्याएमा परिणाम गम्भीर बन्ने चेतावनी दिइरहेको छ । उसले युक्रेनलाई नेटो सदस्य बनाउने पश्चिमा राष्ट्रको योजनाको विरोध गरिरहेको छ । पश्चिमा देश भने युक्रेन स्वतन्त्र देश भएकाले नेटोको सदस्य बन्ने कुरा उसको निर्णय भएको बताउँदै आएका छन् । अमेरिकाले प्रभाव क्षेत्र अब औचित्यहीन भएको दाबी गर्दै आएको छ । यद्यपि अमेरिकाले नै कुनै समयमा युरोपको दबदबाबाट बच्नका लागि अमेरिकी क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र भन्दै त्यहाँ हस्तक्षेप रोक्न माग गरेको पाइन्छ ।
रुसले युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ । यद्यपि युक्रेनको सीमामा १ लाख सैनिक तैनाथ गरेको छ । उसले अमेरिकाको सेना पठाउने निर्णय विनाशकारी भएको टिप्पणी गरेको छ ।
युक्रेनमा बढ्दो तनावलाई लिएर तेस्रो विश्वयुद्धको आशंका जनाइरहेका छन् । लिथुवानिया, बुल्गेरिया, बेलारुसजस्ता देशमा रुसी र पश्चिमी नेटो सेनाको तैनाथी र हतियारको केन्द्रिकरणलाई विश्लेषण गर्दा अब युद्धको नजिक पुगेको देख्न सकिन्छ । इतिहासकार युक्रेनका विषयमा रुसी राष्ट्रपतिको भनाईलाई गम्भीरतापूर्वक नियालिरहेका छन् ।
युक्रेनको सीमा क्षेत्रमा पछिल्ला वर्षमा रुसी सेनाको तैनाथी बढ्दो मात्रामा छ । तर पश्चिमा देशले अहिले जति प्रतिक्रिया दिइरहेका छन् । त्यो पहिले थिएन । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्ममा रुसले युक्रेनमाथि हमला गर्न सक्ने बताइरहेको छ । उता युक्रेनी अधिकारीहरुले भने सीमा क्षेत्रमा अहिलेसम्म कुनै बदलाब नदेखिएको भन्दै पश्चिमा देशलाई नआत्तिन भनिरहेका छन् । बरु युक्रेनले रुसी आक्रमणको प्रतिरोधका लागि सेनालाई सहयोग गर्न युवाहरुलाई तालिम दिइरहेको छ ।
डोनेत्स्क पिपुल्स रिपब्लिकका रुसी समर्थक र युक्रेनी सेनाबीच पछिल्ला ८ वर्षदेखि युद्ध चलिरहेको छ । उनीहरुले रुसले नयाँ सैन्य अभियान सञ्चालन गर्ने सम्भावना औंल्याएका छन् । त्यसैले युक्रेन र रुसबीचको पछिल्लो तनावमा कस्ताकस्ता घटनाक्रम थपिन सक्छन् भन्ने निकै महत्वपूर्ण छ ।
उत्तेजनाको कोशिस
यतिबेला युद्धको सन्त्रासका साथै दुवै पक्ष एक अर्कालाई उत्तेजनामा ल्याउने क्रियाकलाप गरिरहेका छन् । रुसी अन्तर्राष्ट्रिय मामिला परिषद प्रमुख आन्द्रेई कोर्तुनोभले भने, ‘पुटिन युक्रेनमा सैन्य अभियान सुरु गर्न चाहन्छन् भने त्यो हामीलाई सबैभन्दा अन्त्यमा थाहा हुनेछ । उनले युक्रेनमा आक्रमण गर्न लागिरहेका छन् भन्नेबारेमा मलाई पनि एकीन छैन ।’ यदि हामी २०१४–१५ को घटनालाई हेर्ने हो भने क्रिमियामा कब्जा गर्ने रुसी अपरेशन र डोनबासमा रुसी समर्थकसँग जोडिएको अपरेशन दुवै अचानक सुरु भएका थिए ।
त्यसबेला युक्रेनको सीमा क्षेत्रमा सैनिक देखिएका थिएनन् र अपरेशनका समयमा एकाएक सैनिक जम्मा भएका थिए । गत अक्टोबर २०२१ मा पूरै परिदृश्य अलग तरिकाले सुरु भयो । युक्रेनको सीमामा रुसी सैनिकको तैनाथीको सूचना सबैभन्दा पहिले वासिंगटन पोस्टमा आयो । त्यसको केही दिनपछि पोलिटिको र ब्लुमबर्गले आफ्नो रिपोर्टमा एक स्याटेलाइट तस्बिर छापे र युक्रेनको सीमा क्षेत्रमा सोभियत संघको विघटनपछिकै सबैभन्दा ठूलो सैनिक तैनाथी भएको दाबी गरे ।
गत डिसेम्बरमा भने युक्रेनी अधिकारी र सेनाले आफ्नो वक्तव्यमा आफ्नो सीमा क्षेत्रमा सन् २०१६ र २०१८ को जस्ता गतिविधि नदेखिएको बताए । जनवरीमा युक्रेनको नेशनल सेक्युरिटी एन्ड डिफेन्स काउन्सिलका सचिव ओलेक्सी ड्यानिलोभले भने, ‘सैनिक जम्मा गर्ने र रुसी सीमामा अभ्यास गर्नु लामो समयदेखि युक्रेनका लागि समाचार नभएर हरेक दिन घट्ने घटना हो ।’ रुसका आधिकारिक प्रतिनिधि पश्चिमामाथि युक्रेनलाई भड्काएको आरोप लगाउछन् ।
विश्लेषक कोर्तुनोभ भने संकट जति लामो समयसम्म रहन्छ, दुई देशबीच वास्तविक सैन्य संघर्षको सम्भावना उति नै कम हुने बताउँछन् ।’ उनी रुसलाई पनि युद्ध लाभदायी नभएको र युक्रेनमा ठूलो संख्यामा सैनिक परिचालन गर्न उत्सुक नरहेको दाबी गर्छन् ।
रुस पश्चिमासँग रुष्ट
रुस पश्चिमा देशसँग रुष्ट देखिन्छ । बोरिस यल्तसिनपछि राष्ट्रपति बनेका भ्लादिमिर पुटिनले सोभियत संघको विघटन २० औं शताब्दीको सबैभन्दा ठूलो क्षति भएको बताउँदै आफूले राजनीतिक वा आर्थिक जुनसुकै रुपमा सोभियत युनियन फर्काउने अठोट लिएका छन् । युक्रेन सोभियत संघबाट अलग भएको रुसपछिको सबैभन्दा ठूलो देश हो । त्यसैले उनको पहिलो लक्ष्य पनि युक्रेन नै हो ।
युक्रेनको क्रिमियामाथि कब्जा गरिसकेको छ । दुई वटा प्रान्त पनि रुसी समर्थकको कब्जामा गइसकेको छ । रुस कुनै हालतमा आफ्नो छिमेकका नेटोको विस्तार चाँहदैन । त्यसो भएमा सैन्य शक्ति प्रयोग गर्न समेत रुस तया देखिन्छ । सोही अनुसार नै उनले युरोपलाई घेर्नेगरी सैनिक रणनीति बनाएर गतिविधि गरिरहेको छ । ९० को दशकमा रुस कमजोर भएको फाइदा पश्चिमा देशले उठाएको पुटिनको बुझाई छ । उनी रुसमाथि गलत क्रियाकलाप भएको र आफू हकदार भएका अधिकार समेत नपाएको भन्दै त्यसलाई बदल्न चाहन्छन् । उनको यो भनाईको सिधा अर्थ छ ।
अब शक्ति सन्तुलनको धुरी परिवर्तन भयो । अब संसारको झुकाव पूर्ण रुपमा पश्चिमातिर छैन । अब रुस पुनः शक्तिमा आएकाले आफूहरुको कुरा सुन्नुपर्ने र आफूहरुको चिन्तालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको बुझाई देखिन्छ । ९० को दशकमा सोभियत संघको विघटनपछि लामो समयको शीतयुद्धको अवस्था अन्त्य भएर विश्वमा अमेरिका एकल सुपरपावरका रुपमा स्थापित भएको थियो । तर यतिबेला विश्वशक्ति एसियाबाट घुमिरहेको छ । रुस र चीन विश्वका शक्ति राष्ट्रका रुपमा उदाइसकेको यथार्थलाई पश्चिमाले स्वीकार गर्नुपर्ने उनीहरुको तर्क देखिन्छ ।
तेस्रो विश्वयुद्धको सम्भावना
युक्रेनमा बढ्दो तनावलाई लिएर तेस्रो विश्वयुद्धको आशंका जनाइरहेका छन् । लिथुवानिया, बुल्गेरिया, बेलारुसजस्ता देशमा रुसी र पश्चिमी नेटो सेनाको तैनाथी र हतियारको केन्द्रिकरणलाई विश्लेषण गर्दा अब युद्धको नजिक पुगेको देख्न सकिन्छ । इतिहासकार युक्रेनका विषयमा रुसी राष्ट्रपतिको भनाईलाई गम्भीरतापूर्वक नियालिरहेका छन् । पश्चिमी राष्ट्रका विश्लेषकहरु किभ र डोनबासमा वर्तमान अवस्थालाई लिएर रुसको विश्लेषणमा कमजोरी हुनसक्ने औंल्याइरहेका छन् । पुटिन, रुस, फेडेरल सेक्युरिटी सर्भिस र गुप्तचरको बहुआयामलाई उनीहरुले नियालिरहेका छन् ।
पुटिन युक्रेनी रुससँग मिल्न चाहेको तर युक्रेनका पश्चिमा समर्थक फासीवादीले विफल बनाइरहेको बताउछन् । यसैकारण रुस युक्रेनका क्षेत्रमा ठूलो मात्रामा सैनिक अभियान सुरु गर्न चाहन्छ । युक्रेनमाथि हमला गरेमा रुससँग मिल्न चाहनेहरुले मुक्तिदाताका रुपमा स्वागत गर्ने बुझाई रुसी पक्षको छ । यसैकारण रुसले युक्रेनमा रुस अनुकूलको सत्ता निर्माण गर्न चाहेको छ । रिटायर्ड ब्रिटिस कूटनीतिज्ञ इयान बन्ड रुसले युक्रेनका अधिकांश जनताको भावनालाई गलत रुपमा बुझेको दाबी गर्छन् ।
तर युक्रेनमाथि हमला गर्ने रुसी योजना भने वास्तविकतामा परिणत हुनसक्ने उनको भनाई छ । उनी भन्छन्, ‘मलाई लाग्छ रुसले युक्रेनमाथिको हमलालाई युक्रेन र रुसी जनतालाई एक बनाउने अवसरका रुपमा लिएको छ । भलै युक्रेनका जनताले यो भन्दा अलग सोचेका नै किन नहुन् । रुसले युरोपमा पठाइरहेको ग्यासमा थप कटौतीमात्रै गरिदिए पनि पश्चिमा देश पछि हट्नेछन् र कुनै प्रतिरोध गर्नेछैनन् ।’ रुस र पश्चिमा देश युक्रेनको विषयलाई लिएर यति अघि बढिसकेका छन् कि उनीहरुलाई रोक्न अब ठूलै कदमको आवश्यकता छ । कुनै किसिमको सानो गठबढीले पनि पूर्वी युरोप फेरि एकपटक युद्धको आगोमा जल्नेछ । जसले तेस्रो विश्वयुद्ध समेत निम्त्याउने खतरा रहेको विश्लेषक बताउँछन् ।