लोकसंवाद संवाददाता | समाचार | माघ २४, २०७८
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि हस्ताक्षर रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धी एउटा पत्र आइतबार सार्वजनिकपछि त्यसबारे केन्द्रीय समितिमा छलफल हुने भएको छ ।
माओवादीको केन्द्रीय समिति बैठक आगामी २७ माघमा बस्दै छ । पत्र सार्वजनिकपछि नेताहरूले माओवादी केन्द्र गठबन्धन र सरकार दुवैबाट अलग हुने पनि चेतावनी दिँदै आएका छन् । त्यसबारे निर्णय भएको छैन । केन्द्रीय समिति बैठकमा अलग हुनेबारे छलफल हुन्छ/हुँदैन ? टुंगो पनि छैन ।
तर, प्रचण्डको समेत हस्ताक्षर रहेको पत्रमा एमसीसी पारित गर्ने र त्यसका लागि समय चाहिने बेहोरा उल्लेख छ । प्रचण्डले भने सार्वजनिक रूपमा यथास्थितिमा पारित गर्न नसकिने अडान लिँदै आएका छन् । उनको तर्क छ- एमसीसी सम्झौता पत्रमा राष्ट्रघाती केही प्रावधान छन् । ती प्रावधान संशोधनबिना संसद्बाट अनुमोदन गर्न सकिँदैन ।
गोप्य रूपमा एमसीसीलाई पठाएको उक्त पत्रमा भने प्रचण्डले यथास्थितिमा पारित गर्न नसकिने बताएका छैनन् । संसद्बाटै अनुमोदन गरिने प्रतिबद्धता जनाएका छन्, जसले गर्दा प्रचण्ड आलोचित छन् ।
यद्यपि, उनको सचिवालयले पत्र सार्वजनिक भएकै दिन आइतबार खण्डन गरिसकेको छ । तैपनि, केन्द्रीय समिति बैठकमा ‘आवश्यकताअनुसार’ छलफल हुने नेता देवप्रसाद गुरुङले बताए ।
‘पत्र पठाएपछि हामीलाई जानकारी त दिनुभएको थियो । तर, गोप्य पत्र सार्वजनिक भयो । त्यसबारे केन्द्रीय समितिमा आवश्यकताअनुसार छलफल हुन्छ’, नेता गुरुङले भने, ‘हामीले यथास्थितिमा एमसीसी पारित गर्न सकिँदैन भनेकै छौँ र ५ दलीय गठबन्धनमा सहमतिबिना टेबुल गर्न हुँदैन पनि भनेका छौँ ।’
नेता गुरुङको भनाइको अर्थ गठबन्धनका घटकहरूबीच असहमति रहँदारहँदै एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसदमा टेबुल भए माओवादीले स्वीकार्दैन । माओवादी सरकार र गठबन्धनबाट अलग हुन्छ । नेताहरू लीलामणि पोखरेल, मातृकाप्रसाद यादवलगायतले यसबारे स्पष्ट रूपमा भन्दै आएका छन्- यथास्थितिमा एमसीसी अगाडि बढाउने भए सरकार र गठबन्धनबाट माओवादी बाहिरिन्छ ।
तर, पत्र सार्वजनिक भएपछि माओवादीमा खैलाबैला मच्चिएको छ । सांसद सुरेशकुमार राई ‘हिमाल’ले पत्र सार्वजनिक गरिनुको राजनीतिक उद्देश्य र त्यसबाट सिर्जित राजनीतिक घटनाक्रमबारे छलफल आवश्यक भएको बताए ।
‘पार्टी महाधिवेशनमा पनि पत्रसम्बन्धी छलफल भएको थियो । हामीले छलफल गर्यौँ । जतिबेला हामीले भनेका थियौँ कि यथास्थितिमा संसद्बाट एमसीसीलाई अनुमोदन गर्न सकिँदैन, जुन अडान अहिलेसम्म छ । तर, किन र के कारणले सार्वजनिक भयो ? त्यसको राजनीतिक उद्देश्य के हो ? त्यसबारे छलफल हुन्छ ?’, सांसद राईले भने ।
माओवादी नेताहरू पत्र सार्वजनिक भएको विषयलाई लिएर आक्रोशित छन् । कतिपय नेताले पत्रको प्रतिरक्षा गरेका छन् । प्रतिरक्षा गर्ने नेतामध्ये एक हुन् नारायणकाजी श्रेष्ठ । उनले भनेका छन्, ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ ।’
तर, पार्टी पदाधिकारीमा दाबी गर्ने एक जना माओवादी नेता गठबन्धन जोगाउन भने पनि एमसीसीलाई कार्यान्वयन गर्छु भनेर पत्र पठाइनुलाई उचित मान्दैनन्, जुन प्रचण्डबाट गलत भएको उनी बताउँछन् । सार्वजनिक पत्रअनुसार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले गत २९ सेप्टेम्बरमा एमसीसी कार्यालयलाई परियोजना संसदबाट अनुमोदन गर्ने बताएको खुलेको छ । यो पत्र गोप्य राखिएको थियो ।