सुरुवाल सम्हाल्नुहोस् देउवा-प्रचण्ड !

व्यंग्य

सुरुवाल सम्हाल्नुहोस् देउवा-प्रचण्ड !

गफानन्द  |  दृष्टिकोण  |  माघ २४, २०७८

मान्छेको इज्जत सुरुवालमा हुन्छ भन्छन् । यो लिंगविरोधी छैन, कारण, अहिले पुरुष, महिला दुवैले सुरुवाल, पाइन्ट लगाउन थालेका छन् । यद्यपि, यस लेखमा २ जना पुरुषको सुरुवालको चर्चा गरिनेछ ।

यो भनाइको माने पक्कै पनि अर्थपूर्ण छ । सुरुवाल नै यस्तो वस्त्र हो मान्छेका लागि, जसले ‘इज्जत’ लुकाइदिएको हुन्छ । ‘तित्रा विश्लेषक’को उपाधि पाएका लेखक खगेन्द्र संग्रौलाका शब्दमा सुरुवाल कटी (कम्मर)मुनि लगाइन्छ । कम्मरमुनि नै पुरुष र महिलाको मूल ‘इज्जत’ हुन्छ ।

यस कारण त्यही ‘कटीमुनिको भूगोल’, जुन ‘इज्जत पनि हो मर्दको, त्यसलाई छोप्न सुरुवाल अतिजरुरी छ । त्यही सुरुवाललाई सम्हाल्न वा कटीमा अडिनेगरी बाँध्न सकिएन भने लोकका अगाडि सर्वाङ्ग भइन्छ । लोकले कि आँखा छोप्छ वा कुरा काट्छ ।

अझ राजनीति, समाजसेवा जस्ता छुपेरुस्तम ‘पेसा, व्यवसाय’मा संलग्नहरूले आफ्नो सुरुवाल निकै होसियारीसाथ बाँध्नुपर्नेरहेछ । समाजमा कि त खल्ती (अर्थ, पैसा) वा कि सुरुवालकै बढी चासो हुने गर्छ । कसले कति धन सम्पत्ति कमायो ? त्यो कसरी र कहाँबाट कमायो ? भन्ने आमचासो हुने गर्छ समाजमा । अलिकति शान सौकत र रवाफ देखिनासाथ ‘भ्रष्टाचारी’ देखिन थाल्छ मान्छे ।

यसरी नै विशेषगरी पुरुषलाई ‘सिध्याउन’ भ्रष्टाचारका अतिरिक्त सुरुवालको इँजार पनि अर्थपूर्ण मानिन्छ । केही समयअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले तीनपानेको सुरमा सुरुवालको इँजार राम्ररी बाँध्न भुलेछन् । बरा ! छँदाखाँदाको ‘सम्माननीय’ अर्थात् सभामुख पद त ढल्यो नै, झण्डै आधा वर्ष जेलको खोरमा बिते भने सामाजिक प्रतिष्ठा त धुलिसात् बराबर भयो । भलै, यसका पछाडि राजनीतिक कारण तथा सहकर्मी, सहयात्रीबीचको प्रतिस्पर्धा पनि कारक हुन सक्ला ।

यतातिर पनि नछिरौँ ।

सन्दर्भ वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरुवालको चिन्तातिर मोडौँ ।

जे भए पनि देउवा देशमा पाँचौँ पटक कार्यकारी प्रधानमन्त्रीको हैसियतमा छन् । प्रचण्ड पनि २ पटक कार्यकारी प्रधानमन्त्री बनिसकेका हुन् । उनीहरूका निश्चित सीमा र मर्यादा हुने नै भए । अझ कूटनीतिक कर्म वा व्यवहारमा पूर्वप्रधानमन्त्रीहरूको कर्म, व्यवहार र अभिव्यक्तिले पनि गहन र महत्त्वपूर्ण अर्थ राख्छ ।

यस कारण पनि उनीहरूप्रति आमचासो रहिरहन्छ । उनीहरूका व्यवहार र अभिव्यक्तिलाई समाजले सूक्ष्म रूपमा विश्लेषण गर्छ नै ।

प्रसंग अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को हो । एमसीसीबारे विभिन्न राजनीतिक दलका आआफ्नै ढंग र ढाँचाका अभिव्यक्ति र धारणा आइरहेकै छन् । विगतमा एमालेको नेतृत्वमा सरकार रहँदा केपी ओली प्रधानमन्त्री थिए । सभामुख भने माओवादी केन्द्रका कृष्णबहादुर महरा । एमाले अर्थात् प्रधानमन्त्री ओली एमसीसी जसरी भए पनि पास गराउने अडानमा थिए तर माओवादी केन्द्रको पार्टी निर्णयअनुसार सभामुख महरा भने एमसीसीको प्रस्ताव संसद्मा अघि नबढाउने अडानमा । यही प्रधानमन्त्री र सभामुखबीचको एमसीसीबारेको द्वन्द्वले महराको माथि भनिएको हविगत बनायो भने छँदाखाँदाको दुई तिहाइ लगभगको ओली नेतृत्वको सरकार पनि ढल्यो ।

कूटनीतिक मर्यादाको नमज्जाले खिल्ली उडाए । देशको शिर निहुर्‍याइदिए । आफ्नो स्तर के हो र मर्यादा को हो भन्नेसम्म थाहा नहुने यी २ महापुरुषप्रतिको सामाजिक धारणा के होला अब ? यिनको ‘त्वं शरणं’ प्रवृत्ति कतिसम्म रहेछ ?

पछिल्लो समय पनि एमसीसीलाई लिएर खुबै रस्साकस्सी जारी छ । माओवादी केन्द्र एमसीसी यथास्थितिमा कुनै हालतमा पास नहुने अडान राखिरहेको छ भने एमाले सत्ताबाट बाहिरिएलगत्तै एमसीसी पास गर्नै नहुने हौवा कुदाइरहेको छ राजनीतिक बजारमा, जो हिजो एमसीसी कुनै हालतमा पास गर्ने पक्षमा थियो । कांग्रेसले त एमसीसीप्रति सदैव सकारात्मक धारणा राख्दै आएकै छ ।

डा. भीम रावलहरूका स्वार्थ र नियतको उफ्राइलाई बेवास्ता गर्ने हो भने मूलतः कांग्रेस र माओवादी केन्द्रलाई नै अहिले एमसीसीका निर्णायक मान्नुपर्ने हुन्छ । यसबीच एमसीसीकी उपाध्यक्ष सुमारसमेत नेपाल आएर नेताहरूलाई थप ललिपप दिएर गइसकेकी छन् । तर, यहाँका नेताहरूलाई १८० डिग्रीमा घुमिहाल्न खुबै सकस परिरहेको छ ।

केही महिनाभित्रै संसद्बाट अनुमोद न नगरे ५० करोडभन्दा बढी अमेरिकी डलबर बराबरको यो सहयोग फिर्ता लैजानेछ एमसीसीले । त्यसका लागि चाँडै सहमतिमा पुग्नुपर्ने बाध्यता छ नेपालका दलहरूको ।

तर, समस्या त उही छ- विगतदेखि नै एमसीसीका बारेमा पूरा नकारात्मक धारणा नेपाली समाजमा फैलाइसकेको माओवादी केन्द्रले अब तत्कालै कसरी यसको समर्थन गर्ने ? फेरि यही बेला केही समयभित्रै तीनै तहका निर्वाचन हुँदै छन् । ती निर्वाचनमा कसरी मुख देखाउने एमसीसीको लफडालाई लिएर ?

यही सकसका बीच वर्तमान प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले एमसीसीका अध्यक्षलाई गोप्य पत्र ठेलेछन्- ‘चिन्ता नगर, हामी आन्तरिक लफडा मिलाएर पास गरिहाल्छौँ नि !’ भनेर ।

यही विषयमा अहिले नेपाली राजनीतिक-सामाजिक बजार ध्रुवीकरण भएको छ, पक्ष र पिक्षमा ।

हिजै मात्र प्रचण्ड सचिवालयले एमसीसी अध्यक्षलाई अनुनयपत्र पठाएको स्वीकार गर्दै विज्ञप्ति पनि सार्वजनिक गरिसकेको छ । उक्त विज्ञप्तिको प्रस्ट संकेत छ- अमेरिकाको दबाब हामीले थेग्न सक्दैनौँ, एमसीसी ढिलोचाँडो पास गर्नेछौँ ।

तब, यतिन्जेल किन बुरुक्बुरुक उफ्रिएका हुन् प्रचण्ड ? किन अनावश्यक उचालेका हुन् जनतालाई एमसीसीविरुद्ध । जति फिट बुरुक्क गरे पनि अमेरिकासँग लुत्रुक्क हुने नियति त रहेछ नै प्रचण्डको ।

अर्कातिर, एमसीसी कुनै ठूलो र खतरनाक बिष पनि त होइन नेपालका लागि । सामान्य केही अर्ब रुपैयाँको परियोजना, त्यो पनि लगानीको निश्चित क्षेत्र नै तोकेर दिइने रकमका बारेमा यो वा त्यो फुँदा जोडेर समाजमा आतंक मच्चाउने (अ)राजनीति आखिरमा प्रचण्ड एण्ड कम्पनीकै त थियो । यसले अन्ततः ‘बुमर्‍याङ’ गरेन र माओवादी केन्द्र र प्रचण्डलाई ?

र, बाँकी कुरा रह्यो- सुरुवाल जोगाउने ।

अचम्म त यहाँनेर के रह्यो भने, देशमा बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले एउटा विदेशी परियोजनाका अधिकृत स्तरका व्यक्तिलाई अनुनयपत्र पठाए । कूटनीतिक मर्यादाको नमज्जाले खिल्ली उडाए । देशको शिर निहुर्‍याइदिए । आफ्नो स्तर के हो र मर्यादा को हो भन्नेसम्म थाहा नहुने यी २ महापुरुषप्रतिको सामाजिक धारणा के होला अब ? यिनको ‘त्वं शरणं’ प्रवृत्ति कतिसम्म रहेछ ?

बाहिर समाजमा ठूलाठूला आदर्शका गफ दिने, राष्ट्रवाद र राष्ट्रिय स्वाभिमानका ठूला डिङ हाँक्ने यी महापुरुषहरूलाई यति पनि थाहा रहेनछ कि कटीमाथिको मैदान छोपेर होइन, कटीमुनिको भूगोल छोपेर मात्र समाजमा इज्जत रहन्छ ।

सुरुवालको इँजार राम्ररी बाँध्नुहोस् देउवा-प्रचण्ड !