एजेन्सी | विदेश | माघ २५, २०७८
अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् ।
ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । उता, अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोर्ब्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।
ब्लुमबर्गले अडानीलाई संसारका धनीमध्ये १०औँ नम्बरमा राखेको छ । उनले पहिलो पटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।
यस वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा १२ अर्ब डलर बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने २.०७ अर्ब डलर गिरावट आएको छ ।
कमोडिटी बिजनेसबाट प्रवेश गरेका अडानी
व्यवसायको दुनियाँमा गौतम अडानीले कमोडिटी बिजनेसबाट प्रवेश गरेका थिए । अहिले उनको बिजनेस पोर्ट्स, माइन्स, ग्रिन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ ।
उनका केही कम्पनीको शेयरमा पछिल्ला २ वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला ३ वर्षमा भारतका सात विमानस्थलको परिचालन उनको हातमा परेको थियो । उनको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।
२०२० को पूर्वार्द्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको शेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो ।
साथै, बेन्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका शेयरमा तीव्र गिरावट आउँदा पनि अडानी ग्रिन र अडानी टोटल ग्यासको शेयरमा भारी वृद्धि भएको थियो ।
उता, फेसबुक (अहिले मेटा प्लेटफर्म्स)का सीईओ मार्क जुकरबर्ग धनीको सूचीबाट तल ओर्लेर १३औँ नम्बरमा खुम्चिएका छन् । सोमबार उनको नेटवर्थमा ४.३७ अर्ब डलर गिरावट आयो । अब उनको नेटवर्थ ८५.० अर्ब डलरमा खुम्चिन पुगेको छ ।
यो सूचीमा टेस्लाका सीईओ एलन मस्क २३५ अर्ब डलरसहित पहिलो नम्बरमै टिक्न सफल छन् । अमेजोनका जेफ बेजोस दोस्रो र फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नोल्ट तेस्रो अनि माइक्रोसफ्टका बिल गेट्स चौथो नम्बरमा छन् ।