अन्ततः ‘म्याउँ’ गरेछन् ‘बाघ’ले, टाप कसेछन् ‘मुसा’

अन्ततः ‘म्याउँ’ गरेछन् ‘बाघ’ले, टाप कसेछन् ‘मुसा’

गफानन्द  |  दृष्टिकोण  |  माघ २६, २०७८

एउटा कथा छ- अरू जनावरलाई तर्साउन, डर देखाउन बिरालोलाई बाघको छाला ओढाइएछ । बिरालो बाघको छाला ओढेपछि आफूलाई बाघ नै ठान्न थालेछ । छेउछाउका अन्य जनावर पनि उसलाई देख्नेबित्तिकै कुलेलम् !

यो क्रम केही समय चलिरहेछ । बस्ती आतंकित बनेछ, बाघदेखि ।

बाघ आतंकको पटाक्षेप हुन लामो समय कुर्नुपरेनछ । एक दिन बस्तीमा आतंक मच्चाउने ‘बाघ’ आफ्नै स्वरूपमा फर्किएछ- ‘म्याउँ’ गर्दै । तब, आतंक मच्चाइरहेको ‘बाघ’को नियति के भयो होला, अनुमान मात्र गरौँ ।

यदाकदा राजनीतिमा पनि यस्ता ‘बाघ’हरू देखिने गर्छन् । केही समय बाघको छाला ओढेर ‘ङ्वारङ्वार’ गरिरहे पनि केही समयपछि नै आफ्नो वास्तविक आवाज निकालिहाल्छन्- ‘म्याउँ ।’

केही दिनअघि मात्र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म्याउँ’ गरिदिएर उनका समर्थक, अनुयायीहरूसमेतलाई लज्जित बनाए, देशको इज्जत त ध्वस्त पारे नै ।

लामो समयदेखि माओवादी केन्द्र अर्थात् प्रचण्डकै कारण अनुमोदन हुन नसकिरहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अनुमोदन गर्ने वाचासहति बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासँगै हस्ताक्षर गरेर एमसीसीका अध्यक्षलाई अनुनयपत्र लेखेछन् ।

यही विषय केही समयदेखि उठिरहँदा उनले आमजनलाई ढाँटिरहेका थिए, पत्र नपठाएको जिकिर गरिरहेका थिए । तर, अन्ततः उक्त पत्र नै सार्वजनिक भइसकेपछि उनको खोल उदांगियो । र, स्वीकारोक्ति विज्ञप्ति जारी गर्न बाध्य भए ।

मानिएको थियो कि प्रचण्ड नेपाली राजनीतिका ‘बाघ’ हुन् । २०६३ सालयताको नेपाली राजनीति उनकै वरिपरि घुमिरहेको मान्छन् धेरैले । सत्तामा रहे पनि वा नरहे पनि प्रचण्डको धुत्र्याइँ र छुल्याइँका कारण सबैजसो दलहरू र नेताहरू उनका सामु निहुरमुन्टी न हुन्छन् भन्ने ठानिँदै आएको पनि छ ।

अझ माओवादी केन्द्र तथा प्रचण्डको भारत, अमेरिका जस्ता देशलाई हेर्ने कोण फरक छ । ‘साम्राज्यवादी’ र ‘पुँजीवादी’ अनि ‘विस्तारवादी’ भन्दै अमेरिका, भारतलगायतका देशलाई आलोचना गरिरहेका माओवादी केन्द्र तथा प्रचण्डलाई एमसीसी सहजै पारित गर्न समर्थन गर्न पनि सजिलो त कहाँ थियो, छ र ?

थापा पनि उनका समर्थक र अनुयायी अर्थात् राजावादी/हिन्दु धर्म पक्षधरहरूका लागि ‘बाघ’ हुने नै भए । राजतन्त्र र हिन्दु राष्ट्रको खोल ओढेर निकै लामो समय आफ्नो राजनीतिलाई टिकाइरहे थापाले ।

यसकै कारण भावी पार्टी नेतृत्वका दाबेदार तत्कालीन सभामुख कृष्णबहादुर महरालाई समेत नैतिक र राजनीतिक दुवै रूपमा गुमाउनु कम सकसको कुरा होइन माओवादी केन्द्र र प्रचण्डका लागि । तथापि, प्रचण्डले आफ्नो अडान छाडेनन् । एमसीसी अनुमोदनको एजेण्डा आजसम्म ‘पेण्डुलम’ बनाइदिइरहेकै छन् ।

तर, अचानक उक्त पत्र बाहिर आएपछि पो सबै चकित- प्रचण्डको बाघको छाला पनि नक्कली रहेछ । आखिर उनले पनि ‘म्याउँ’ त गरी नै हाले ।

यस्ता पात्र नेपाली राजनीतिमा प्रशस्तै छन् । फेरिफेरि सम्झाउँदै गरूँला । अहिले अर्का ‘खतरनाक’ पात्रका बारेमा पनि थोरै मन्थन गरौँ ।

झण्डै साढे ३ दशकदेखि नेपाली राजनीतिको केन्द्रमै रहेका अर्का पात्र छन्, कमल थापा नाम गरेका । कुशल खेलाडीसमेत रहेका थापा शारीरिक, बौद्धिक, प्राज्ञिक सबैजसो हिसाबले अब्बल मानिन्छन् ।
दरबारसँग विशेष झुकाव र सम्बन्ध भएका थापा बहुदलपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नामको राजनीतिक दल स्थापना गरेर पंचायका चर्चित र चतुर खेलाडीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबराहरूसँगै बहुदलीय राजनीतिमा होमिएका हुन् ।

यो ३ दशकको अवधिमा थापा कुनै न कुनै रूपमा सत्ताकै वरिपरि रहिरहे । बीचमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले लादेको निरंकुशतामा पनि सत्ताका हर्ताकर्ता उनै थापा थिए । उनी नै यस्ता गज्जबका नमुना पात्र हुन् नेपाली राजनीतिमा, जसले यसबीचका ४ वटै शासन व्यवस्था- निर्दलीय पंचायत, बहुदलीय व्यवस्था, ज्ञानेन्द्र शाहको निर्दलीयता र त्यसपछिको गणतन्त्रमा समेत सत्ताको स्वाद लिइरहे ।

उनको यो विशेष खुबीलाई भन्न थालियो- ‘मुसा प्रवृत्ति ।’ किन पनि अरे भने, मुसोले जहिले पनि अवसर खोज्छ, सुरक्षित स्थान खेज्छ । आफू असुरक्षित हुने महसुस भएपछि त्यस स्थानबाट सबैभन्दा पहिला टाप कस्छ ।

त्यति मात्र होइन, आफैँ बसेको जहाजलाई प्वाल पारेर जहाजका यात्रुलाई दुर्घटनामा पनि पारिदिन्छ मुसोले । अरूका लत्ताकपडादेखि सारा चिज कुटुकुटु टोकेर कामै नलाग्ने बनाइदिन्छ । मुसामा देखिने यो प्रवृत्ति केही मानिसमा पनि ठ्याक्कै देखिने हुँदा त्यसलाई ‘मुसो प्रवृत्ति’ भनिनेरहेछ ।

माथि भनिएका दोस्रा पात्र कमल थापाले यसबीचमा जेजति राजनीति नामको अराजनीति गरे, त्यसको धेरै समय मुसो प्रवृत्तिमै बित्यो । उनी नेपाली राजनीतिमा यस्ता शक्ति बने, जो अन्य उनको भन्दा ठूला अनेक दललाई ‘साइज’मा ल्याउन सक्ने भयो । लामो समय संयुक्त सरकार बनेको नेपालमा पटक पटकजसो कमल थापा वा उनको पार्टी निर्णायक शक्तिका रूपमा रहिरह्यो ।

यसको सोझो फाइदा उनै थापाले लिए । यसको कारण दरबार पनि थियो । दरबारसँगको थापाको निकटताले राजावादी भनिनेहरूको सद्भाव सधैँजसो कमल थापाकै भागमा पर्ने नै भयो । यसले गर्दा निर्वाचनका बेला यस्ता दरबारप्रेमीहरूको मत थापाकै पार्टीलाई खस्ने पक्कापक्की नै हो । यसमाथि हिन्दु राष्ट्रको एजेण्डाले पनि कमल थापाप्रति सद्भाव राख्नेहरूको जमात बढ्न गयो ।

थापा पनि उनका समर्थक र अनुयायी अर्थात् राजावादी/हिन्दु धर्म पक्षधरहरूका लागि ‘बाघ’ हुने नै भए । राजतन्त्र र हिन्दु राष्ट्रको खोल ओढेर निकै लामो समय आफ्नो राजनीतिलाई टिकाइरहे थापाले ।

तर, उनका समर्थक र अनुयायी यसरी रनभुल्लमा परिरहे कि कमल थापाहरूले वर्तमान संघीय गणतान्त्रिक धर्मनिरपेक्ष संविधानलाई समेत समर्थन गरेका उनीहरूले बुझेनन् वा नबुझेझैँ गरिरहे ।

एकातिर राजतन्त्र फर्काउने लक्ष्य राख्ने, हिन्दु राष्ट्र कायम गर्ने वाचा गर्ने अनि तिनै राजतन्त्र र हिन्दु धर्ममाथि प्रहार गरेको संविधानलाई ल्याप्चे ठोक्ने र त्यही संविधानअनुसार भएको चुनावमा भाग लिने अनि जितेर मन्त्री, उपप्रधानमन्त्रीसम्म बन्ने अचम्मको प्रवृत्ति थापाहरूमा देखिएकै हो ।

उक्त प्रवृत्ति पनि मुसो प्रवृत्ति नै भनिँदोरहेछ ।

छिरौँ भर्खरैको घटनातिर ।

केही समयअघि कमल थापा नेतृत्वको राप्रपाको अधिवेशन सम्पन्न भयो । विभिन्न समयमा जुँगाको टकरावले फुट्दै र जुट्दै गरेको राप्रपालाई अब एकताबद्ध बनाएर लैजाने, कुनै पनि हालत र अवस्थामा पार्टी फेरि नफुटाउने वाचा गीता ग्रन्थ छोएर गरेका थिए थापाले ।

निर्वाचन प्रतिस्पर्धा हो । परिणाम आफूले सोचेजस्तो मात्र नहुन पनि सक्छ । भयो पनि त्यस्तै ।

झापातिरको एउटा ‘केटो’ राजेन्द्र लिङ्देनले ३ दशकदेखिको थापाको विरासत गर्लम्मै ढालिदिए । त्यसको रनाहाले थापा यति बिचलित हुनपुगे कि उनको निशाना र प्रहार सोझै नागार्जुन दरबारतिर पर्‍यो । पूर्वराजा ज्ञानेन्द्रदेखि पूर्वयुवराज्ञी हिमानी शाहसम्म उनको सामाजिक सञ्जालका स्टाटसका विषय-व्यक्ति बने ।

दरबारले आफूप्रति अन्याय गरेको उनको कुण्ठित अभिव्यक्ति सार्वजनिक भएपछि धेरैले उनीप्रति दया (सद्भाव होइन) राखे । यति कमजोर धरातलमा उभिएका रहेछन् थापा भनेर आमजनले थाहा पाए । मृतप्रायः अवस्थामा नागार्जुनमा कावा खाइरहेको दरबारको निगाहमा पो कमल थापाले रजगज गरेका रहेछन् भन्ने प्रस्ट बुझे आमजनले ।

यसको मतलब हुन्थ्यो- कमल थापालाई आफ्ना कार्यकर्ताको मत र विश्वास होइन, नागार्जुनको आशीर्वाद र निगाह रहेछ ।

यही रनाहमा केही दिन नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनसँग निहुँ खोजी हेरे । दंग्याउने र धम्क्याउने कोसिस भरमग्दुर गरे । तर, पुर्वेली लिम्बूको छोरो लिङ्देनको हड्डी उति सजिलै किन गल्थ्यो ! अन्त्यमा, थापा आफैँ शिथिल बने र राप्रपाबाट बाहिरिएको घोषणा गरे ।

यसको मतलब, अब आफू बसिरहेको दुलोमा गोमन सर्प (लिङ्देन) छिरिसकेका थिए । त्यहाँ बसिरहनु थापाका लागि सुरक्षित थिएन । यसर्थ, टाप कस्ने बाटो समाए । गीता छोएर गरेको वाचा र खाएको कसम आधुनिक प्रेममा कुरकुरे वैँसका ठिटाठिटीले गरेका वाचा र खाएका कसमजतिकै त हो थापाका लागि पनि राजनीतिमा ।

अनि, यसरी कमल थापा नामका ‘बाघ’ले पनि अन्ततः ‘म्याउँ’ गरे, जसरी प्रचण्ड नामका ‘बाघ’ले २ दिनअघि गरेका थिए ।

हामी भने यी ‘म्याउँ’ र ‘मुसो’ प्रवृत्तिका ‘स्याल’हरूका तिकडम हेर्न विवश छौँ ।