लोकसंवाद संवाददाता | समाचार | माघ २७, २०७८
बतास समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ।
‘बतास फाउण्डेसनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ’, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया संचालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन, मन्त्री आलेले बतासले संचालन गर्दै आएको पशुपतिस्थित धर्मशाला संचालनमा पनि रोक लगाउने निर्णय गरेका थिए ।
केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौँ रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको मागसमेत गरेको थियो । अहिले बतसा समूहल सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।