ज्ञानमित्र | दृष्टिकोण | माघ २८, २०७८
आमनेपालीलाई के लाग्छ भने, ऊ सबै थोकको जानकार हो, विज्ञ हो, ज्ञाता हो । उसले नजानेको केही छैन जगत्मा ।
मलाई भने विश्वकै सबैभन्दा चर्चित खेल फुटबालबारे नै थाहा छैन । क्रिकेटबाहेक ब्याडमिन्टनबारे धेरथोर थाहा हुनुका अतिरिक्त मलाई अधिकांश खेलका बारे थाहा छैन । ती खेलका नियम थाहा छैन, पद्धति थाहा छैन, खेलका प्राविधिक शब्दावली नै थाहा छैन ।
राजनीति पनि एउटा यस्तै गेम हो, जसका बारे मलाई आधारभूत ज्ञानसम्म छैन । यदाकदा तरंगित भएर केही लेख्नुको अर्थ, आशय र औचित्य मैले साथीहरूसँग बसेर एक-दुई पटक विश्वकप फुलबलका प्रतिस्पर्धा हेर्नुको सादृश्य मात्र हो । न मलाई फुटबलमा कहिल्यै रुचि भयो, न राजनीतिमै ।
नेपालको चर्चित एमसीसी प्रसंग पनि यस्तै एउटा विषय हो, जसका बारे न मलाई रुचि छ, न मलाई यसबारे थाहा छ, न त म यसको पक्षमा वा न विपक्षमा । न यसको फाइदा थाहा छ, न त यसका 'साइड इफेक्ट'बारे नै ।
तैपनि मसँग साथीहरूले सोध्छन्, एमसीसीबारे तपाईंको धारणा के हो ?
म मुलुकको एउटा अतिसामान्य मानिस । न राजनीति बुझ्छु, न त कूटनीति नै । झन् 'जिओ-पोलिटिक्स' मेरालागि क्वान्टम फिजिक्सभन्दा पनि नौलौ विषय र शब्द हो । आफूलाई थाहा नभएको विषयबारे मेरो धारणा के नै हुन सक्छ ? र, यदि मैले आफ्नो सिमाना र मर्यादा उल्लंघन गरेर कुनै धारणा बनाएँ भने पनि त्यसको के नै अर्थ, त्यसको के नै महत्त्व ?
नेपालमा एमसीसी फुटबलभन्दा पनि बढी प्रहार भइसकेको भकुन्डो बनिसकेको छ । नेपालका प्रायः सबै दलका शीर्ष नेतृत्व मात्र होइन, कार्यकर्तादेखि लिएर जनसामान्य सम्मलाई एमसीसीले निथ्रुक्क पारिसकेको छ । समर्थन र विरोधको अनावश्यक बखेडामा एमसीसी नेपालका लागि जनै खटिरा जस्तै हुन पुगेको छ ।
संयोगले एमसीसीबारे २७ माघ बिहीबारको एउटा जानकारी पाए । बिहान ११ बजे माओवादी नेता पुष्पकमल दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्छन् । उनी प्रस्ताव गर्छन्, 'कांग्रेसले एमसीसी सदनमा टेबुल गरोस् । उनको र माधव नेपालको दलका सदस्य मतदानमा अनुपस्थित भइदिन्छन् । प्रमुख प्रतिपक्षी अर्थात् नेकपा ओलीको समर्थनले कांग्रेस एमसीसी पास गराओस् ।'
वाह हाम्रा नेता वाह ! तिमीहरूको हातमा नेपालको भविष्य यसरी नै सदाका लागि सुरक्षित रहिरहोस् !
एमसीसी पास हुन्छ, हुँदैन, मलाई केही थाहा छैन । स्वीकृत भए अथवा अस्वीकृत भए कुनै चासो पनि छैन । एमसीसी पास भए यसका समर्थकले भनेझैँ राष्ट्रमा रातोरात समृद्धिको खोलो बग्ने होइन । प्रसारण लाइन बनाउने कुरा हो । मुख्य कुरा त प्रसारण लाइनबाट पैठारी गर्ने विद्युत् उत्पादनको हो । प्रसारण लाइन बन्दैमा विद्युत् उत्पादन ह्वात्तै बढ्ने होइन ।
एमसीसी गलत नै हो भने, एमसीसी देशका लागि घातक नै हो भने चाहे माधव-प्रचण्डको सहयोगले पास होस् अथवा उनीहरूको अप्रत्यक्ष सहयोगले, यसमा तात्त्विक भिन्नता के नै हुन्छ ? एमसीसी गलत हो भने के यिनीहरूको दायित्व त्यसलाई रोक्नुको सट्टा झ्यालबाट छिराएको टुलुटुलु हेर्दै सर्वसाधारणको दृष्टिमा आफूलाई राष्ट्रभक्त र अन्यलाई राष्ट्रद्रोही साबित गर्ने परम्परागत कम्युनिस्ट शैलीबाहेक अरू केही हुन सक्छ प्रचण्डको प्रस्ताव ?
फातिमा सुमारले नेपालका लागि एमसीसीको अन्तिम मिति घोषणा गरिसकेकी छनं । २८ फेब्रुअरीपछि यो 'च्याप्टर क्लोज' हुन्छ । एमसीसीको अन्तिम 'डेडलाइन' १६ फागुनसम्म छ । त्यसभित्र यो नेपाली संसद्ले पास गरे लागू हुन्छ अन्यथा एमसीसी फर्किन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अतिदबाबमा छन् । उनले एमसीसी पास गराउन सकेनन् भने उनलाई राम्ररी थाहा छ उनको हविगत के हुन्छ ! तर, उनका लागि एमसीसी पास गराउन सहज छैन ।
प्रचण्डले प्रधानमन्त्रीलाई भेटेर निस्कनेबित्तिकै शेरबहादुरको आफ्ना 'थिङ्कटयाङ्क'सँग वार्ता हुन्छ । सबैको भनाइ हुन्छ- 'प्रचण्डले तपाईंलाई 'बेबकुफ' बनाउन खोजेका हुन् । उनका कुरामा लागेर तपाईं उनले भनेजस्तै प्रस्ताव टेबुल गर्नुहुन्छ भने उनले आफ्नै अग्रसरतामा उत्तरतिरबाट पैसाको खोलो बगाउन लगाएर ओलीकै मानिसलाई प्रस्तावका विरुद्ध मतदान गर्न लगाइदिएर प्रस्ताव संसद्बाट फेल गराइदिन्छन् । तपाईं अझै प्रचण्डको विश्वास गर्नुहुन्छ भने तपाईं र कांग्रेस दुवैको रामनाम सत्य हुन बेर लाग्दैन ।'
'त्यो मैले बुझेको छु तर भन न अब मैले गर्ने के ?'
'अहिलेको गठबन्धन भंग गरेर ओलीसँग गठबन्धन गर्ने ।'
'सभामुखलाई हटाउन दुई तिहाइ चाहिँदैन ? त्यो कहाँबाट पुग्छ ?'
'ओलीसँग अघि त बढ्नुहोस्, दुई तिहाइ सजिलै पुग्छ ।'
'केही गणित पनि बुझाउँछौ कि गफ मात्र गर्छौ ?', शेरबहादुर झर्किंदै भन्छन् ।
'कांग्रेस ६३, ओली ९६, महन्थ ठाकुर १३, जम्मा भयो १७२ ।'
'अनि अरू ?'
'बाबुरामजी ८ जना लिएर जुन बेला पनि निस्किन तयार हुनहुन्छ ।'
'ओली मान्छन ?'
'माधव पक्षका १४ जनाको सदस्यता निरस्त गर्ने शर्तमा ओली जेका लागि पनि तयार छन् ।'
'गणित त क्लियर छ तिमीहरूको ! केही गडबड त हुँदैन ?'
'यति नगरे एमसीसी रोकिएर गडबड मात्र होइन, प्रजातान्त्रिक कित्ता नै सखाप हुन्छ । भारत-अमेरिका दुवै कांग्रेसबाट टाढा हुन्छन् । चीनले कहिल्यै पनि कम्युनिस्ट पार्टीलाई जति नेपाली कांग्रेसको 'फेवर' गर्दैन ।'
'त्यसो भए अब यसै रोड म्यापमा लाग्नु पर्यो ।'
'लाग्नुपर्यो होइन, लागिहाल्नुपर्यो । समय धेरै छैन । २८ फेब्रुअरीभित्र एमसीसी संसद्बाट पास गराउने चुनौती छ । एक-दुई दिनभित्रै प्रचण्ड र माधव समूहका मन्त्रीहरूलाई बर्खास्त गरेर बाटो बनाउनुपर्यो ।'
वार्तामा सम्मिलित एक जनाले मलाई दिउँसो भेट्न बोलाएका थिए । भेट्न मलाई बोलाएका थिए तर उनको वार्ता भने फोनमा चलिरह्यो । पहिलो फोन नेता निधिको आयो । नयाँ समीकरणबारे कुरा भयो । सभामुख हटाउन दुई तिहाइको गणितबारे छलफल भयो । अन्त्यमा निधिले उनलाई भोलि बिहान अर्थात् २८ माघ शुक्रबार घरमा आएर भेट्न भने ।
एकपछि अर्को फोन । अर्को फोन उपेन्द्र यादवको पार्टीका बाबुराम निकटका सांसदको थियो ।
अर्को फोन निर्वाचन आयोगका कुनै उच्च अधिकारीको थियो । यस वार्तामा नेपाली कांग्रेसका सदस्य निलम्बनमा परेका सांसदद्वय विजय गच्छदार र आफताब आलमको सदस्यता खारेज गराएर संसद्मा सदस्य संख्या घटाउनेबारे चर्चा भयो । किनकि यी दुवै जनाको सदस्यमा गन्ती त हुन्छ तर यिनीहरूलाई मतदान गर्ने अधिकार छैन ।
उनले क्षमा माग्दै भने, 'तपाईंलाई बोलाएर मैले फोनमा व्यस्त हुनुपर्यो । क्षमा गर्नुहोला, परिस्थिति नै यस्तो विकास भएको छ ।'
'के त्यसो भए अब सरकारको स्वरूप फेरिन्छ ? सत्ता समीकरण परिवर्तन हुन्छ ?'
'यो हुन सकेन भने एमसीसी पास हुने सम्भावना हुँदैन ।'
'एमसीसी पास नभए के आकाश खस्छ ? के ५०-५५ अर्ब रुपैयाँको सहयोगबाट बञ्चित हुँदैमा नेपाल टाट पलटिन्छ र ?'
'कुरा आर्थिक सहयोगको होइन, कुरा चिनियाँ प्रभाव जित्ने कि पश्चिमा जित्ने विषयक हो । चीन जसरी भए पनि एमसीसी रोक्न चाहन्छ ।'
'अनि, चीनबाहेक अन्य सबै एमसीसी पास गराउन चाहन्छन् भने सत्ता समीकरण बदलेर पास गराए भइहाल्यो नि ! र, दोस्रो कुरा एमसीसी अमेरिका-भारत र पश्चिमाका लागि यतिको महत्त्वपूर्ण छ भने पास गर्ने 'डेडलाइन' किन तोक्नुपर्यो ? 'डेट' फेरि पनि त बढाउन सकिन्छ ।'
'यो कुरा पनि शेरबहादुरमाथि निर्भर गर्छ । उनले सत्ता समीकरण बदलेर एमसीसी पास गराउने पहल गर्ने दिशामा पाइला चाले भने एमसीसीको डेडलाइन 'एक्सपान' होला तर यस दिशामा शेरबहादुरले कुनै प्रयास नै नगरे 'डेट एक्सपान' हुने सम्भावना छैन । अहिले एमसीसीले 'डेट' तोक्नुको सिधा अर्थ शेरबहादुरलाई अहिलेको गठबन्धन भत्काएर ओलीसँग जाऊ भन्ने निर्देशन हो ।'
तर, शेरबहादुरको बाटो सजिलो छैन । नेपाली कांग्रेसभित्र पूर्णबहादुर खड्का, केपी सिटौला, विश्वप्रकाश जस्ता व्यक्ति यसै गठबन्धनलाई कायम राखेर जान चाहन्छन् किनकि यिनीहरूको क्षेत्रमा केपी ओलीको दल बलियो छ । हाम्रा कुनै पनि नेताका लागि आफ्नो स्वार्थभन्दा परको सोच्ने, हेर्ने बुद्धि विकसित भएको हुँदैन ।
एमसीसी पास हुन्छ, हुँदैन, मलाई केही थाहा छैन । स्वीकृत भए अथवा अस्वीकृत भए कुनै चासो पनि छैन । एमसीसी पास भए यसका समर्थकले भनेझैँ राष्ट्रमा रातोरात समृद्धिको खोलो बग्ने होइन । प्रसारण लाइन बनाउने कुरा हो । मुख्य कुरा त प्रसारण लाइनबाट पैठारी गर्ने विद्युत् उत्पादनको हो । प्रसारण लाइन बन्दैमा विद्युत् उत्पादन ह्वात्तै बढ्ने होइन । न एमसीसी पास हुँदैमा देश पतनमा जान्छ, न त देश अमेरिकाको गुलाम हुन्छ ।
अमेरिकी सैनिक आएर बलात्कार गर्दै हिँड्दैनन् । दुवै पक्षबाट एमसीसीबारे भ्रामक, भ्रामक र भ्रामक कुरा मात्र प्रचार गरिए । एउटा सामान्य 'इन्फ्रास्ट्रक्चर' बनाउने परियोजनालाई राष्ट्रवाद र राष्ट्रघातको फुटबल म्याच बनाइयो ।
यस म्याचको परिणाम के हुन्छ, त्यो आउने १ मार्चमा सार्वजनिक हुनेछ । यो पास भए पनि अथवा फर्किए पनि यसले देशमा ठूलै हलचल सिर्जना गर्नेछ ।
अमेरिकी लाबीको एउटा देशका नेपालस्थित राजदूत भन्छन्, 'एमसीसीको परिणाम जे भए पनि ढिलो चाँडो नेपाल त्यसबाट अर्थात् एमसीसीको प्रसंगबाट बाहिर आउनेछ । कुनै एउटै प्रसंग दिगदिगन्तसम्म व्याप्त भइरहन सक्दैन । तर, यस प्रकरणबाट नेपालको बहिर्गमित राजतन्त्र भने सधैँका लागि अभिसप्त हुनपुगेको छ ।
दरबार, दरबारिया खलक र यसका आसेपासे एमसीसीको विरोधमा रहेको रिपोर्ट अमेरिकी राजदूतले अमेरिका पठाएका छन् । भारतीय राजदूताबासले पनि चिनियाँ समर्थक र दरबार नै मुख्य रूपले एमसीसीको विरुद्ध रहेको रिपोर्टिङ गरेको छ । अमेरिकी र भारतीय नजरमा पूर्वराजा चिनियाँ खेमासँग निकट रहेका प्रमाणित हुन पुगेको छ ।
यसले उनको दरबार पुन: फर्किन सक्ने सम्भावनामा सदाका लागि दीर्घबिराम लागेको छ । दरबारले एमसीसीको विरुद्धमा लागेर 'लास्ट मिस्टेक' गरिसक्यो अब यसले भविष्यमा अर्को कुनै 'मिस्टेक' गर्ने अवसर पाउँदैन ।
सर्वसाधारणलाई थाहा छैन होला- यहाँ कोको एमसीसीका विरुद्धमा लागेका थिए । धर्मनिरपेक्षताविरुद्ध हिन्दु धर्मको समर्थक भएकाले मलाई झण्डै डेढ वर्ष पहिला नै थाहा थियो, दरबार र दरबार पोषित समस्त हिन्दु अभियन्ता एमसीसीका विरुद्ध ओर्लेका थिए । एकीकृत शक्ति नेपालको गठन हुँदा यसका धेरै जना पदाधिकारी सम्पर्कमा हुनुहुन्थ्यो ।
सोधेँ, 'तपाईंहरू किन एमसीसीका विरुद्ध ?'
क्रान्तिकारी र विद्वान् मित्रहरूसँग कुनै जबाफ थिएन । मलाई बुझ्न कुनै समस्या भएन- उहाँहरूको तार कहाँकहाँसम्म जोडिएको छ ।
ज्ञानेन्द्रका पछाडि लागेर नेपालको हिन्दु अभियान क्षतविक्षत भइसकेको छ । हिन्दु अभियानको ध्वजा बोकेर हिँड्नेहरूको अनुहार हेर्दा लाज लाग्छ । ज्ञानेन्द्रका गण बनेर यिनीहरूले हिन्दु नौकालाई गहन भंवरमा पुर्याइदिए । अब हिन्दु गणतन्त्रको शक्तिशाली मोटर प्रयोग नगरेसम्म हिन्दु नौका भंवरबाट बाहिर निस्किन सक्दैन ।
एमसीसी आर्थिक सहयोग मात्र होइन, नेपालका लागि यो चिनियाँ खेमा रोज्ने कि प्रजातान्त्रिक खेमा रोज्ने ? भन्ने 'च्वाइस' पनि हो । एमसीसी फिर्ता हुने सम्भावनाको प्रतिशत वृद्धि भएको छ । एमसीसीका विरोधीहरूले अबीर जात्राको तयारी थाले हुन्छ । हेर्नु त यो बाँकी रहन्छ कि भारत-अमेरिका र पश्चिमा जगत् नेपाललाई उत्तर कोरिया भएको हेरेर बस्छन् कि इजिप्ट बनाउने 'रोड म्याप' जारी गर्छन् ।