उ बेलाः दरबार प्रवेशमा बीपीकाे व्यक्तित्व भन्दा पोसाकलाई बढी महत्व !

फर्कलान् र ती दिनहरू

उ बेलाः दरबार प्रवेशमा बीपीकाे व्यक्तित्व भन्दा पोसाकलाई बढी महत्व !

हरिविनोद अधिकारी  |  साहित्य  |  माघ २९, २०७८

राजाका दरबारहरू हेर्न संसारभर जिज्ञासा हुने रहेछ । चाहे त्यो युरोपमा होस् या एसियामा । मैले देखेका दरबारहरूमा नर्वेको राजदरबार त खुला पो हुने रहेछ । हाम्रो देशमा राजाको सक्रियता हुँदा या राजाले आफ्नो निवासका रूपमा नारायणहिटी दरबारको प्रयोग गर्दासम्म दरबारको छेउबाट हिँड्न पनि प्रतिबन्ध थियो । झन् राजा बाहिर निस्कँदा र सडकमा हुँदा बाटोमा हिँड्न पनि सुरक्षा निकायले कहिले प्रतिबन्ध लगाउँथ्यो भने कहिले आंशिक रूपमा हिँड्न दिएको देखिन्थ्यो ।

औपचारिक भ्रमणमा त बाटोको एउटा  तर्फ मात्र उभिन पाइन्थ्यो । अहिले पनि निवासका रूपमा पूर्वराजमाता मात्र दरबारमा बस्नुहुन्छ र पनि हाम्रा मनमा त्यो राजदरबारको रूपमा नै चित्रित छ जबकि पूर्वराजा ज्ञानेन्द्रको सरकारी निवासचाहिँ नागार्जुनमा छ र निजी निवासचाहिँ निर्मल निवासमा छ ।

जे भए पनि राजाले आफ्नो पद आफैँले छाडेर हिँड्दा पत्रकार सम्मेलन गरेर हिँडेको अनि सपरिवार देश छाडेर बाहिर नगएकाले राजाले पनि सामान्य जनता सरह जीवनयापन गर्न सक्दा रहेछन् भन्ने उदाहरण नेपालमा देख्न पाइन्छ ।

राजदरबारभित्रै तत्कालीन राज परिवार र राजाका नातेदारहरूको सामूहिक हत्याका बारेमा अहिलेसम्म पनि रहस्य छ र पनि आफूले दरबार छाडेर सार्वजनिक जीवन बिताउन नागार्जुन जान लाग्दा पूर्वराजा ज्ञानेन्द्रले उहाँप्रति लगाइने गरेको बन्धुहत्याको दोषका बारेमा भावुक भएर सार्वजनिक टिप्पणी गरेको कुरा स्मरणीय छ ।

यसका लागि या त कोही हत्याराले मैले हत्या गरेको हो भनेर आत्मालोचना गरेर कानुनको घेरामा आउनुपर्‍यो या राष्ट्रिय रूपमा अनुसन्धान गर्नुपर्‍यो, पत्ता लगाउनुपर्‍यो । यो तत्कालीन युवराज, जो पछि केही घण्टाका लागि राजा घोषित गरिए, दीपेन्द्र शाहले हत्या गरेको भनेर प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा सभामुख तारानाथ रानाभाटको अनुसन्धानलाई मान्नुपर्‍यो । यदि त्यो जाँचबुझलाई मान्दा पनि दीपेन्द्रको हत्या हुनेगरी कसले मार हान्यो होला ? अरूले या आफैँले आफैँलाई समाप्त गरेको होला ? जे भए पनि यसको निराकरणका लागि पनि नेपाल सरकारले तत्कालै जस्तो अनुसन्धान गर्नुपर्ने हो कि ?

विश्वको राजनीतिक इतिहासमा त्यस्ता धेरै हत्या भएका छन्, जसको अनुसन्धान पुस्तौँपुस्ता हुँदै आएका छन् । कतिपय घटनाको निराकरण भएको छ र कतिपय घटनाको अझै कुनै संकेतसम्म पनि पाउन सकिएको छैन । नेपालमा पनि तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा भएको जिप दुर्घटनामा भएको मृत्युलाई आजसम्म पनि रहस्यमय दुर्घटनाको रूपमा लिइन्छ ।

२०५० सालपछि त्यो सडकमा कति सडक दुर्घटना भएर कतिको ज्यान गएको छ तर त्यो दुर्घटनालाई तत्कालीन सरकारले षड्यन्त्रपूर्वक हत्या नै गराएको भन्ने एमाले अहिलेसम्म कति पटक सरकारको नेतृत्व गर्‍यो, अहिले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी उहाँकी अर्धाङ्गिनी हुनुहुन्छ राज्यको प्रमुख व्यक्तित्व, किन जाँचबुझ हुँदैन ? हत्या भनेका भरले २०५० सालको मदन भण्डारीजीको रिक्त भएको संसदीय स्थानमा विद्याजीले जित्नुभएको थियो र पछि नेपाली कांग्रेसमा आएको आन्तरिक विभाजनले मध्यावधि निर्वाचन भयो ।

एमालेले संसदमा सबैभन्दा ठूलो तर अल्पमतको सरकार बनाउन सक्यो । तर, आजसम्म फेरि औपचारिक रूपमा कुनै जाँचबुझ समिति बनेन बरु त्यही बेलामा नेपाली कांग्रेसको सरकारले बनायो, जसलाई एमालेले स्वीकार गरेन र आफ्नै दलको जाँचबुझ समिति बनाएको थियो । जसलाई हत्याराको रूपमा चित्रित गरिएको थियो, गाडी चालक अमर लामा, उनको पनि झलमल घाम लाग्दै गर्दा कीर्तिपुरको बीचबाटोमा हत्या गरियो । त्यसको पनि कुनै छानबिन भएको छैन ।

गाडी लिन आउँथ्यो सिप्रदी कम्पनीको, बिहान ८ बजे म दरबारमा छिर्थें र ९ बजे त्यहाँबाट घरमा आउँथेँ, खाना खान्थेँ र आफ्नो ९ बजेर ४५ मिनेटको कक्षा लिन थाल्थेँ । एसएलसी दिएपछि उनले प्रथम श्रेणीमा उत्तीर्ण गरेको लब्धाङ्कपत्र विद्यालयमा नै आयो, थाहा भयो ।

यदि अमर लामाको षडयन्त्रले भण्डारी र आश्रितहरूको हत्या गर्ने उद्देश्यले दुर्घटना गराइएको थियो भने अदालतले तोकेको दण्ड भुक्तान गरेपछि पनि कुनै जाँचबुझ भएन । नेपालको इतिहासमा त्यो हत्यालाई पनि रहस्यमय मानिन्छ । प्राकृतिक न्यायको सिद्धान्तले मान्छेहरूले अनुमानले पनि भन्दा रहेछन्- 'उहाँहरूको यदि हत्या नै भएको हो भने त्यसपछि कसलाई फाइदा भयो त एमालेमा ?' लगत्तै एमाले सत्तामा आयो र मनमोहन अधिकारीजी प्रधानमन्त्री हुनुभयो ।

हत्याको लगत्तै माधवकुमार नेपालजी महासचिव हुनुभयो १५ वर्ष । माधव नेपालजी, झलनाथ खनालजी, केपी शर्मा ओलीजी पालैपालो प्रधानमन्त्री र खनालजी र ओलीजी दलका अध्यक्षसमेत हुनुभयो । यी हरफहरू लेख्दासमेतको बेलामा ओलीजी नै एमालेको अध्यक्ष हुनुहुन्छ, जबकि अहिले खनाल र नेपाल त्यो दलबाट बाहिरिएर अर्को दल नेकपा (एकीकृत समाजवादी) खोलेर सरकारमा हुनुहुन्छ । 

रहस्यमय दुर्घटनाकै श्रेणीमा राजपरिवारको सामूहिक हत्यालाई पनि राख्न सकिन्छ । परम्पराअनुसार राजपरिवारको नजिकको हकदार पुरुष नै राजा हुने चलनले गर्दा कोमामै निधन भएका दीपेन्द्रपछि राजा वीरेन्द्रका निकट भाइ, जो त्यसबेलामा अधिराज कुमार र कोमामा रहेका राजाको उत्तराधिकारीको रूपमा हुनुहुन्थ्यो, ज्ञानेन्द्र शाह राजा हुनुभयो । त्यसपछि नै प्रधानन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो, जसमा सभामुख र प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाललाई सदस्यमा राखिएको थियो ।

घोषणापश्चात् विपक्षी नेता नेपालले त्यस आयोगमा बस्न अस्वीकार गर्नुभयो । सायद उहाँ त्यो आयोगमा बस्नुभएको भए अरू विवरण आउँथ्यो कि ? किन बस्नुभएन, आजसम्म त्यो पनि रहस्यमय छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भने त्यो ग्रान्ड डिजाइन थियो मात्र भन्नुभयो तर कसको ग्रान्ड डिजाइन थियो भनेर नभनी उहाँको पनि २०६६ सालमा निधन भयो ।

औपचारिक राजासँगका सम्बन्धका बारेमा रमाइला प्रसंग मात्र भन्ने कोइरालाले हत्याका बारेमा खासै केही भन्नुभएन । सायद प्रधानन्यायाधीशको प्रतिवेदन सार्वजनिक गरेर उहाँले जनतालाई नै त्यसको सत्यापन गर्न छाड्नुभएको होला किनभने भर्खरै बनेका राजाले कोइरालालाई प्रधानमन्त्रीबाटै हटाउने खेल गरेको बाहिरबाटै बुझ्न सकिन्थ्यो । त्यसपछि धेरै प्रधानमन्त्री भए तर राजपरिवारका बारेमा कसैले नयाँ जाँचबुझ आयोग बनाउने बारेमा भनेनन् र आजसम्म पनि कसैले फेरि त्यसबारेमा बोलेका छैनन् ।

त्यसले एउटा मनोवैज्ञानिक भयको अवस्था अहिले पनि छ ।

परम्पराअनुसार राजा हुनुभएका ज्ञानेन्द्रले जस्तो महत्त्वाकांक्षा राखेर आफू दाजु जस्तो टुलुटुलु हेरेर नबस्ने भनेको कुराले आज पनि राजतन्त्रको अन्त्यको बाटो खोलेको भन्नेहरू पनि छन् र नेपालमा राजतन्त्रको अन्त्यका लागि राजतन्त्रकै पुराना गल्तीहरू कारक हुन् पनि भनिन्छ । अझ कति राजनीतिक विश्लेषकहरू त विदेशीको दबाबमा नेपालबाट राजतन्त्र विस्थापन भएको मान्ने रहेछन् । सत्य के हो भने, राजतन्त्र अहिले छैन तर पूर्वराजा र उहाँका सन्तानहरू नेपालमै छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र अधिराज कुमार हुँदै तत्कालीन शाहज्यादा पारस हाम्रो विद्यालय लेबोरेटरी स्कुलका विद्यार्थी हुन आइपुगेका थिए । मैले सुनेसम्म पारस बूढानीलकण्ठ स्कुलमा पढ्दै थिए तर आन्तरिक के समस्या पर्‍यो, हाम्रा प्रधानाध्यापक भरतकुमार प्रधान समक्ष उनलार्ई कक्षा १०मा भर्ना गर्नुपर्ने भयो । जोसुकै विद्यार्थीलाई पनि कक्षा १० विद्यालयबाट निश्कासन गर्ने चलन थिएन किनभने अरू विद्यालयबाट एसएलसी दिने अनुमति थिएन, जिल्लास्तरमा बाहेक ।

एक दिन प्रधानाध्यापक प्रधान सरले हामी कक्षा १० मा पढाउने शिक्षकहरूलाई अफिसमा बोलाउनुभयो र शाहज्यादालाई यही विद्यालयमा पढाउनुपर्ने भयो भनेर हामीसँग राय माग्नुभयो । 'राजाका आगे बापकी दुहाइ' भन्ने नेपाली उखान भए पनि भरत सरले हामीसँग सल्लाह माग्नुभयो । त्यसबेला ल्याब स्कुलमा केही कक्षा अवरोध गर्ने र अराजक विद्यार्थीहरूलाई र पोहोर असफल भएकाहरूलाई विशेष बिहानी कक्षा पनि चलाएका थियौँ- अर्को विद्यालयमा भर्ना नलिने भएकाले र उनीहरूको एसएलसी नबिग्रियोस् भनेर ।

कतिपय शिक्षक साथीहरूले त्यसलाई विद्यालयको कमजोरी ठान्नुहुन्थ्यो तर हामी केही शिक्षकहरू भने आफ्नो अपमानभन्दा विद्यार्थीहरूको भविष्यप्रति चिन्तित भएकाले बिहानी कक्षा चलाएका थियौँ । त्यसमा आफूलाई विद्यार्थीको मायाभन्दा विद्यालयको सामाजिक कर्तव्य र समाजप्रतिको सकारात्मक सम्बन्धभन्दा अलिक बढी विद्यार्थीप्रति द्वेष राख्ने खालको स्वभाव पाइन्थ्यो । हुनत संसारमा विभिन्न खालका मानिसहरू छौँ- विद्यार्थीमा, शिक्षकहरूमा, अभिभावकहरूमा ।

जब भरत सरले प्रस्ताव राख्नुभयो, कतिपयले शिक्षकहरूले भन्नुभयो, 'उसलाई त बूढानीलकण्ठले निकालेको हो, हामी कसरी राख्न सक्छौँ ?'

कतिपय शिक्षकहरूले भन्नुभयो, 'कोही दरबारको बच्चा पढ्न आउँछ भने भर्ना लिऔँ न त ।'

अनि, मैले भनेँ, 'भरत सर, कुनै पनि बच्चाले पढ्न पाउनुपर्छ, चाहे त्यो जसको सन्तान होस् । भर्ना लिनुपर्छ, यदि उसको यो सालको जाँच नै छुट्ने हो भने ।'

अनि, मैले एउटा शर्त राखेँ, 'तर, पारस शाह विद्यालयमा आउनेछैनन्, उनले पढेकै छन् । एसएलसीभन्दा पहिले लिने योग्यता परीक्षामा मात्र सामेल होऊन् ।'

किनभने यदि उनले बूढानीलकण्ठबाट स्थानान्तरण पत्र नल्याए भर्ना गर्न सकिँदैनथ्यो । एउटा समस्या त आयो, मेरो कुरालाई सबै शिक्षकहरूले माने तर हेडसरले अर्को शर्त राख्नुभयो, 'तर, हाम्रै शिक्षकहरूले निर्मल निवासमा गएर तयारी गराउनुपर्ने भयो टेस्ट र एसएलसीका लागि ।

अंग्रेजी पढाउनेमा हेडसर आफैँ, गणित र विज्ञान पढाउने यमुना महत सर, नेपाली पढाउनेमा प्राध्यापक कृष्णप्रसाद पराजुली सर जानुहुने रहेछ, सामाजिक शिक्षा सायद बूढानीलकण्ठकै कुनै शिक्षकले पढाइरहनुभएको रहेछ । कृषि पढेको विद्यार्थीलाई हाम्रो विद्यालयको लेखा विषय पढाउनुपर्ने भयो । मैले त लेखा पढाउनुपर्ने भयो ।

यदि विद्यालयमा नियमित कक्षा लिने भए नपर्ने तर घरमा तयारी गरेर बस्ने भएपछि मैले नै घरमा गएर पढाउने काम गर्नुपर्ने भयो । सकेसम्म अर्को शिक्षक खोज्नका लागि मैले सहयोग गर्नेछु भनेँ तर हेडसरले भन्नुभयो, 'सकेसम्म यही विद्यालयको शिक्षकले पढाउने अनि घरबाट विद्यालयमा नआउने व्यवस्थाका लागि प्रस्ताव तपाईंले नै राख्नुभएकाले लेखा त पढाउनै पर्ने भयो सुरुदेखि नै- कक्षा ९ को पनि र कक्षा १० को पनि ।

यसरी २०४६ साल साउनदेखि माघसम्म मैले निर्मल निवासमा गएर पढाएँ । न त कसैसँग भेट हुन्थ्यो, मात्र पारससँग भेट हुन्थ्यो, पढाउँथेँ । गाडी लिन आउँथ्यो सिप्रदी कम्पनीको, बिहान ८ बजे म दरबारमा छिर्थें र ९ बजे त्यहाँबाट घरमा आउँथेँ, खाना खान्थेँ र आफ्नो ९ बजेर ४५ मिनेटको कक्षा लिन थाल्थेँ । एसएलसी दिएपछि उनले प्रथम श्रेणीमा उत्तीर्ण गरेको लब्धाङ्कपत्र विद्यालयमा नै आयो, थाहा भयो ।

मेरो विषयमा राम्रै अंक ल्याएको पाएँ । जब २०५९ सालमा राजाको रूपमा ज्ञानेन्द्रले सिंहासनारुढ हुनुभयो, दसैँको टीकाका दिन एक मात्र पुत्र पारस युवराजका रूपमा घोषित भए । आफूले पढाएको विद्यार्थी भावी राजाको रूपमा मनोनीत हुँदा खुसी त लागेको थियो तर २०४६ सालमा भने मलाई केही समस्या परेको थियो किनभने हामी निरंकुश राजतन्त्रका विरुद्धमा सक्रिय शिक्षकहरूको राजतन्त्रका विरुद्धमा नभए पनि राजाको निरंकुशताका विरुद्धमा भने लागेकै थियौँ । तर, त्यहाँ कसैसँग केही कुरा पनि हुँदैनथ्यो । मात्र मेरो काम भनेको दरबारको ढोकाबाट सेनाले पढ्ने कोठामा लान्थ्यो, कक्षा समाप्त भएपछि उही सेनाको जवानले लिएर गाडीसम्म चढाउँथ्यो । बस् ।

जब युवराज भए पारस अनि उनको जन्मदिन १५ पुसका लागि आफ्नो जन्मदिनमा केही गुरुहरूलाई बोलाउन थालेका थिए । मैले भरत सर, यमुना महत सर, पराजुली सर, बूढानीलकण्ठका गुरुहरू नारायण सर, ओम सरलाई देख्थेँ । दरबारमा जानका लागि पोसाकको कडाइ हुने रहेछ । पोसाक नमिल्दा फर्काउने रहेछन् सेनाले । कुनै बेलामा राजा वीरेन्द्रले बोलाएको भोजमा बीपीको पोसाक नमिलेको भनेर फर्काएको कुरा बीपीले एउटा अन्तर्वार्तामा नै भन्नुभएको थियो । सेता दौरा-सुरुवाल, कालो कोट, कालो टोपी, छालाको जुत्ता लगाउनुपर्ने रहेछ ।

क्रमशः