लोकसंवाद संवाददाता | समाचार | फागुन ०१, २०७८
सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि ४ जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।
दाेस्राे पटक प्रतिनिधिसभा विघटनलाई मान्यता नदिई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने गरी फैसला सुनाउने ४ वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको स्रोतले बतायो । उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको बुझिएको छ । एमालेले सबै सांसदलाई काठमाडौं बोलाइसकेको छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएपछि त्यसलाई काउन्टर दिन ४ न्यायाधीशविरुद्ध महाअभियोग ल्याउन लागिएको हो । जबकि, संसदमा ५ दलको गठबन्धन बहुमतमा भए पनि दुई तिहाइ बहुमत छैन । एमालेसँग पनि दुई तिहाइ बहुमत पुग्ने अवस्था नै छैन ।