ज्ञानमित्र | दृष्टिकोण | फागुन ०३, २०७८
मलाई मन नपर्ने व्यक्ति ओहो सरी ! नेतामा पर्नुहुन्छ शेरबहादुर देउवाजी । तर, एउटा उखान छ नि- जस्तोसुकै फटाहा होस्, जस्तोसुकै झुर कवि होस्, उसका केही काम उत्कृष्ट भइदिन्छन् तर यिनको नियत, इच्छा र प्रयासले होइन ।
अर्को उखान छ नि- सयवटा मट्याङ्ग्रा सन्धान गर्दा बेहीले सटीक प्रहार गर्न सक्छन् ।
अहिले शेरबहादुरजीको पुर्पुरोमा यस्तै महासंयोग घटित भयो । अन्त्यमा आएर सत्ता साझेदार एमसीसीलाई टेबल गर्न सहमत भएका छन । सभामुखले भर्खरै आफूलाई परंज्ञान भएको अनुभव गर्दै मेरो भूमिका अम्पायरको मात्र भएको सन्देश दिएका छन् । यसअघि भने उनी दाबी गर्थे- 'म मरे पनि एमसीसीलाई संसदमा अघि बढ्न दिन्नँ ।'
शेरबहादुरमाथि चारैतिरबाट अहिलेको गठबन्धन लत्याएर ओलीसँग मिली जाने मनोवैज्ञानिक दबाब थियो तर उनले यस रोडम्यापलाई स्वीकार नगरी प्रचण्ड र माधवलाई नै एमसीसीप्रति गलाउँदै संसदसम्म पुर्याउने सफलता पाएका छन् । यसका दूरगामी परिणाम हुन्छन् । अहिले पनि माधव र प्रचण्डको योजना भोटिङमा अनुपस्थित भई फेससेभिङको रहेको छ । एमसीसी संसदमा फेल गराउने कुत्सित विचार पनि यी दुवैको षड्यन्त्रकारी मस्तिष्कमा नभएको होइन ।
हिजो अमेरिकी राजदूतले केही पत्रकारसँगको भेटमा भने, 'मलाई एमसीसीको मिति (२८ फेब्रुअरीपछि) पुनः बढाइदिन अनुरोध गर्नेमा प्रचण्डजी नै मुखर बनेका छन् । होइन, यो कस्तो राजनीति हो- सडकमा आफ्ना कार्यकर्ता एमसीसीका विरुद्ध परिचालित गर्ने र आफू स्वयं एमसीसी नफर्कोस् भनेर चिन्तित हुने ?
जे होस्, शेरबहादुरले प्रचण्ड र माधवकै सहयोगमा एमसीसी संसदमा टेबल गर्ने सफलता पाउनुको ठूलो महत्त्व छ । यी दुवैले एमसीसीका पक्षमा मतदान हुँदा अनुपस्थित भएर पनि केही हासिल गर्न सक्दैनन् । यिनीहरू अनुपस्थित भएर एमसीसी पास भयो भने एमसीसीविरोधी जमातले यिनलाई क्षमा गर्न सक्दैन । संसारका सामु त यी नांगिइसकेका छन्, आफ्ना बज्रस्वाँठ कार्यकर्ताका सामु पनि निर्वस्त्र हुन्छन् । अब एमसीसी जुनसुकै मोडालिटीमा पास हुँदा पनि प्रचण्ड र माधवले उन्मुक्ति पाउँदैनन् ।
यिनीहरू फेससेभिङका लागि एउटा अर्को षड्यन्त्र रच्ने तानाबाना उन्दै छन् । त्यो के भने, एमसीसी संसदमा उपस्थित सदस्य संख्याको बहुमतले पास/फेल गराउने । यो मोडालिटी ल्याउँदा माधव र प्रचण्ड पक्ष संसदमा अनुपस्थित हुने र उपस्थित सदस्यको सामान्य बहुमतले एमसीसीबारे निर्णय हुने । र, यस मोडालिटीले एमसीसी पास हुँदा यिनीहरू एमसीसीका विरुद्ध लागिरहने। अब यिनका कार्यकर्ता सूरदास नै छन्, क्रीतदास नै छन् भने कसको के लाग्छ ! यिनीहरूको नेतागिरी चलिरहन्छ ।
शेरबहादुरले जानेर अथवा नजानेर (अथवा माधव र प्रचण्डको भाग्यस्थानमा राहु र केतु, शनि युतिसाथ बसेकाले) माधव र प्रचण्डलाई यहाँसम्म ल्याउनुको सोझो अर्थ यी दुवैलाई राजनीतिक आत्मदाह नजिक पुर्याउनु हो ।
ओलीले संसद अवरोधको नाटक मंचन जारी राख्छन् । यिनको होहल्लाका बीच एमसीसी टेबल भएर माधव र प्रचण्डको गुप्त सहयोगले एमसीसी पास हुँदाको अप्रत्यक्ष लाभ ओलीलाई पुग्नेछ । एमसीसीका विरुद्ध सडकझैँ संसदमा पनि माधव र प्रचण्डले उग्र नेतृत्व नगरे एमसीसी पास हुने छाँटकाट छ ।
ओलीलाई आफ्नो तेस्रो लिंगी भूमिकाले सहज अवतरण गर्ने मौका छ । माधव र प्रचण्डले सक्रिय भूमिका निर्वाह गरी एमसीसीलाई पास हुनबाट नरोके दुवैको राजनीतिक जीवनमा गरुड पुराणको परायण प्रारम्भ हुन्छ ।
एमसीसीका विरोधीहरूले अब सडकमा एमसीसी घातक हो भनी घोक्रो सुकाउनु, एमसीसी राष्ट्रद्रोह हो भनी चिच्याउनु सट्टा माधव र प्रचण्डलाई घेराबन्दी गर्नु अपरिहार्य बनेको छ । यी मङ्गलेहरूले बुझे हुन्छ- एमसीसी माधव र प्रचण्डको प्रत्यक्ष/अप्रत्यक्ष सहयोगबिना पास हुन सक्दैन । एमसीसी टेबल हुनु ठूलो कुरा होइन ।
कांग्रेसले आफ्नो एकल बलमा एमसीसी पास गराउन सक्दैन । माधव-प्रचण्डको सहयोगबिना ६३ सिटे कांग्रेसले एमसीसी पास गराउन सक्दैन । माओवादी ४९ र माधव नेपालका २५ सदस्य गरी ७४ जना सदस्यको मत एमसीसीको विरोधमा खस्ने हो भने उपस्थित सदस्य संख्याको बहुमत पुग्दैन । ओली पक्षले मतदान बहिष्कार गर्दा संसदको जुन बाँकी उपस्थिति हुन्छ, त्यसमा यी ७४ जनाले चाहेको खण्डमा एमसीसी पारित हुन सक्दैन । हो, ओलीसमेत माधव र प्रचण्ड पक्ष पनि मतदानमा अनुपस्थित भइदिँदा भने संसदको उपस्थिति झण्डै १०० मध्ये कांग्रेसकै मतले एमसीसी पास हुन्छ ।
चिनियाँ पक्षदेखि दरबारिया ज्ञानेन्द्र पक्षले नअन्तिम प्रयास गर्नुपर्यो । प्रचण्ड र माधवलाई घेरामा हाली जसरी पनि एमसीसीका विरुद्ध संसदमा उभ्याउनुपर्यो । एमसीसीविरोधीहरूले माधव र प्रचण्डलाई भियाग्रा र यार्सागुम्बाको 'ह्याभी डोज' सेवन गर्न लगाएर एमसीसीका विरुद्ध संसदमा कृत्रिम पौरुष्य प्रदर्शन गर्न उकास्नुपर्यो ।
यिनीहरूले खुट्टा टेकेनन् भने एमसीसी सजिलै पास हुने देखियो । यिनीहरूले संसदमा आफ्नो पूर्ण शक्ति लगाउँदा पनि एमसीसी पास भएको खण्डमा केही भन्ने ठाउँ रहँदैन तर यिनीहरूले संसदबाट पलायन गरेर एमसीसी पास गर्न सहयोग गरे भने यिनीहरूलाई देशको राष्ट्रभक्त जमातले माइतीघर मण्डलामा ल्याएर यथोचित सम्मान गर्नुपर्ने हुँदैन र ?