गठबन्धनकै दल एमसीसीको विरोधमा

गठबन्धनकै दल एमसीसीको विरोधमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ०४, २०७८

एमसीसीकाे विराेधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।

सरकारले आज दिउँसाे १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का जनवर्गीय संगठनले आन्दाेलन घाेषणा गरेका हुन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाईसीएलले 'यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध' संसद् भवन बानेश्वर घेराउ गर्ने  कार्यक्रम छ । अनेरास्ववियुका नेताहरूका अनुसार  बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद् भवनसम्म प्रदर्शन गरिनेछ ।

त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गर्दै छ ।

एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रकाे संसदीय दलकाे बैठक बस्दै छ ।

अन्य दल र समूहकाे पनि प्रदर्शन

एमसीसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन् । एमसीसीकै विराेधमा आज नेपाल बन्दकाे घाेषणा गरेका  नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यकामा दिउँसाे १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विराेध प्रदर्शन हुने नेताहरूले बताएका छन् ।

त्यस्तै, 'एमसीसीविरुद्ध जनआन्दोलन- २०७८' ले एमसीसी सम्झौताविरुद्ध बिहान ११ बजे माइतीघरदेखि  संसद् भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने  कार्यक्रम छ ।

'हाम्रो नेपाल, हामी नेपाली अभियान'ले पनि दिउँसाे १२ बजे माइतीघरमा विराेध प्रदर्शन गर्दै छ । राप्रपाका भ्रातृ संगठनले पनि दिउँसाे १२ बजे बबरमहलदेखि संसद् भवनसम्म विराेध प्रदर्शन गर्ने कार्यक्रम छ ।

बाबुराम भट्टराईको टिप्पणी : एमसीसीका विरोधी र समर्थक एउटै सरकारमा बस्न मिल्दैन
सत्ता गठबन्धनका नेतासमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान परियोजना एमसीसीका विरोधी र समर्थकहरू एउटै सरकारमा बस्न नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा रहकामध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले विराेध प्रदर्शन गर्ने भएपछि भट्टराईले टिप्पणी गरेका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन सरकारमा बस्न मिल्दैन ।' 

'सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन । भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो', उनले भनेका छन् ।