रूपक अलङ्कार | दृष्टिकोण | फागुन ०४, २०७८
मानिसको जीवनशैली पनि संस्कृतिको एक पहिचान हो । निश्चित रूपमा जीवनशैलीभित्र खानपान, बोलीवचन, आचारविचार, आदरसत्कार, लवाइखवाइ जस्ता मानव व्यवहारहरू पनि अटाउँछन् । बस्ने, उठ्ने, सुत्ने, हिँड्नेजस्ता व्यक्तिगत क्रियाकलापमा पनि सांस्कृतिक प्रभाव परेको देखिन्छ ।
यसरी संस्कृतिले चाडपर्व जस्ता बृहत् कार्यक्रमका साथसाथै मानवीय व्यवहारका सूक्ष्म एकाइलाई समेत उत्तिकै प्रभाव पारेको हुन्छ । आहारनिद्राभयमैथुनञ्च सामान्यमेतत् पशुभिर्नराणाम् भन्ने सिद्धान्तअनुसार खाना, निद्रा, त्रास र मैथुन सबै प्राणीको सामान्य स्वभाव हो भन्ने कुरा प्रस्ट हुन्छ । त्यस कारण सुताइ भन्ने कुरा प्राकृतिक आवश्यकतामा पर्न जान्छ तर सुताइका तौर तरिकालाई भने संस्कृतिले निश्चय पनि प्रभाव पारेको हुन्छ ।
आखिर सुत्ने त हो, जहिले जसरी सुते पनि के भयो र ? जसरी सुते पनि सुत्ने त हो । सुत्नेजस्तो अपरिहार्य र अनिवार्य कुरामा पनि केका नियम ? केका विधि ? वस्, निद्रा लाग्नुपर्यो, कुरो त्यत्ति हो । मान्छे सुत्न स्वतन्त्र छ । कुनै विधि र पद्धतिलाई अनुसरण नगरेर पनि सुत्न र निदाउन सकिन्छ ।
निद्रा लागाउने लोरी र गोली नितान्त कृत्रिम प्रक्रिया हुन् । त्यस कारण सुत्ने र उठ्ने प्रक्रियामा संस्कृतिको लेप लगाउनु बेकारमा पण्डित पल्टिनु मात्र हो भन्ने कुरा लाग्ला कसैलाई । यसमा मेरो भन्नु केही छैन ।
विचार गरी ल्याउने हो भने मानवसमुदायले सुताइ र उठाइलाई सांस्कृतिक स्वरूपमा ढालेको छ परापूर्वकालदेखि । एउटा रमाइलो पौराणिक प्रसंग यहाँ सम्झिनु सान्दर्भिक हुन्छ ।
गौतम ऋषिकी पत्नी थिइन् अहिल्या । अहिल्यालाई ब्रह्माजीले नै गौतमको सेवा टहलका लागि पठाएका थिए । ब्रह्मलोकबाट आएकी दिव्य कन्या भएकीले अहिल्यामा सौन्दर्य र लावण्य खचाखच भरिएको थियो भन्नेमा शंका गर्नै परेन । उनको यौवनको मादकताले गौतमको कुटी नै मगमग भएको थियो ।
अहिल्याको बैँसको बगानमा सयर गर्ने ताकमा स्वर्गको राजा इन्द्रसमेत बसेका थिए भने अरू सामान्य पुरुषको त कुरा के गर्नु ? इन्द्रले एक दिन आफ्नो इरादा जसरी भए पनि पूरा गर्ने अठोट गरे र उपायका बारेमा चिन्तन गर्न थाले । उनले आफ्नो प्रेमाभियानमा साथ दिनका लागि कुखुरा र चन्द्रमासित सहयोग मागे ।
योजनाअनुसार छद्म भेष धारण गरेर इन्द्र गौतम मुनिको कटेजबाहिर धर्ना दिन पुगे । चन्द्रमा अस्ताचलतिर लागे र त्यहीबेला कुखुरो पनि बासिदियो जोडले । गौतम मुनिको निद्रा हराम भयो उनी जुरुक्क उठे अनि 'लौ मार्यो, उज्यालो पो भयो कि क्या हो ?' भनेर स्नान सन्ध्याका लागि कमण्डलु बोकेर नदीतिर लागे ।
गौतमको भेष धारण गरेका इन्द्र 'आज कुखुरो बहुलाएछ' भन्दै कुटीमा छिरे । आफू आफ्नो योजनामा सफल भएकामा इन्द्रको खुसी सीमाभन्दा पनि पर पुग्यो । स्नान सन्ध्या सकिँदा पनि अँध्यारो बाँकी नै रहेको देखेर आश्चर्य मान्दै आफ्नो कुटीतिर फर्किंदै गरेका गौतमले आफू जस्तै मानिस आफ्नै कुटीबाट निस्कँदै गरेको देखे ।
त्यो मानिस अरू कोही नभएर इन्द्र भएको कुरा गौतमले पत्ता लगाइहाले । च्याप्पै समातेर उनले इन्द्रलाई श्राप दिइहाले, 'तँ जस्तो स्त्रीलम्पटको जिरीउभरि हाजरौँ योनी उत्पत्ति भइजाऊन् ।'
ऋषिको श्रापको छिटा जीउमा पर्नेबित्तिकै इन्द्रका शरीरमा हजारौँ योनी उत्पत्ति भए । योनीको बम्पर उपहार बोकेर इन्द्र बाटो लागे । 'आफ्नो लोग्नेलाई समेत नचिन्ने नीच, कुलटा' भनेर अहिल्यालाई ढुंगो हुने श्राप दिएर गौतम पनि विरक्तिएर बाटो लागे ।
छँदाखाँदाको निद्रा मासेर मानिस निशाचर बन्दो छ भने बिहान कुम्भकर्ण बन्दो छ । बिहान अबेरसम्म सुत्नु व्यावहारिक दृष्टिले र स्वास्थ्यका दृष्टिले पनि उपयुक्त मानिँदैन । उज्यालो हुनु अगावै दैलो सफा गर्ने, चोखो पानी ल्याउने, पूजाआजा गर्ने परम्परा अझै पनि बाँकी नै छ ।
कुरो लामो भए पनि प्रसंग उठ्ने समयको हो, आजको जस्तो अलार्म घडीको जमाना आउनुभन्दा पहिले पनि मानिसले प्रकृतिको सहयोगमा आफ्नो दैनिकीलाई व्यवस्थित बनाएको थियो भन्ने कुरा हो । निदाउने कुरा मानिसको नियन्त्रणमा छैन । म निदाएँ भन्नेबित्तिकै कोही पनि निदाउन सक्दैन ।
निद्राका लागि केही मिनेट अवश्य पनि प्रतीक्षा गर्नै पर्छ । कसैले नबोलाए पनि मानिस निद्रा पुगेपछि आफैँ जाग्छ । तर, समयमा काम गर्नुपर्छ भन्ने मान्यताका कारण मानिसले आफूलाई योजनाबद्ध रूपमा उठाउने गर्छ ।
सामान्यतया मानिसलगायत धेरै प्राणीहरू रातमा सुत्ने र दिनमा सक्रिय हुने गर्छन् । रातमा जागा हुनेलाई निशाचर भनिन्छ । मानिस निशाचर होइन । रात परेपछि सुत्ने र बिहान भएपछि जाग्ने स्वभाव मानिसको हो । तर, बिहान कतिबेला उठ्ने हो भन्ने कुरा बहसको विषय बन्न सक्छ ।
ब्रह्ममुहूर्तमा उठ्नुपर्छ भन्ने मान्यता भएकाले नै गौतम कुखुरो बासेपछि स्नानका लागि निस्किएका हुन् । हुनत प्रातकालमा उठ्ने प्रेरणा मानिसले प्रकृतिबाट पाएको हो । अन्धकार हुन थालेपछि सुत्ने र उज्यालोको प्रक्रिया सुरु भएपछि उठ्ने बानी प्रकृतिले नै बसालिदिएको हो ।
त्यही प्रकृतिको प्रेरणालाई समातेर मानिसले संस्कृति निर्माण गरेको हो ।
बिस्तारै बिहान चाँडै उठ्ने कुरा नियम, अनुशासन बन्दै गयो । ढिलो उठ्ने मानिसले 'कुम्भकर्ण'को उपाधि पाउन थाल्यो । हुँदाहुँदा बिहान चाँडो उठ्ने मानिस धार्मिक पनि कहलिन थाल्यो । बिहान उठ्नु शौचादिबाट निवृत्त हुनु, स्नान गर्नु जस्ता क्रियाकलापको सम्बन्ध धर्मसित नभएर स्वास्थ्यसित जोडिएका कुरा हुन् । धर्मैसित गाँसेर भए पनि कोही मानिस नियमपूर्वक दैनिकी चलाउँछ भने त्यसबाट कसैलाई केही हानि हुनेचाहिँ देखिँदैन ।
चरा बिहानै उठ्छन् र गीत गाउँछन् । गाईबस्तु पनि बिहानै उठ्छन् र घाँसपानीका लागि कराउँछन् । अन्य जनावर पनि बिहानबाटै सक्रिय हुन्छन् तर तिनले धर्मशास्त्र पढेका छैनन् त ! यति हो, तिनले प्रकृतिको स्वभावसित अन्वय भएर काम गर्छन् भने मानिस सचेततापूर्वक आफ्ना क्रियाकर्म सम्पादन गर्ने हैसियत राख्छ । फरक यति हो ।
समय परिवर्तन भएको छ । सबै मानिस दिनमा क्रियाशील हुन्छन् र रातमा सुत्छन् भन्ने अवस्था आजको युगमा छैन । कयौँ कार्यालय, अस्पताल, विमानस्थल र रेल स्टेसन जस्ता स्थानहरू चौबीसै घन्टा उत्तिकै कोलाहालमय हुन्छन् । त्यहाँ ब्राह्मे मुहूर्ते बुद्ध्येत भन्ने नियम लाग्दैन र त्यो सम्भव छैन पनि । त्यसबाहेक पनि शहरका होटल, रेस्टुरेन्टहरू मध्यरातसम्म दारुमा झुलिरहेका हुन्छन् र होहल्ला मच्चाएर झुमिरहेका हुन्छन् ।
त्यहाँ मानिसले निशाचर राक्षसको उपाधि धारण गर्न खोजिरहेको हुन्छ । तिनले आफ्नो निद्रालाई त दारुमा बगाएका हुन्छन् नै, शहरको शान्तिलाई पनि विघ्न पुर्याइरहेका हुन्छन् ।
घरमा पनि मानिसले चाँडै सुत्नपर्छ भन्ने कुरा बिर्सिसकेको छ । टीभी, कम्प्युटर जस्ता सामग्रीले मानिसलाई सुत्नै दिँदैनन् । टीभी बन्द गरेको घन्टौँसम्म पनि मानिस मोबाइलमा झुन्डिरहेको हुन्छ । यसको नतिजा भोलि बिहानको जागरणमा त देखिन्छ नै, निद्रा नपुगेर स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउने कुरा पनि जग जाहेर नै छ ।
शहरमा मात्र नभएर देशैभरि निशाचरहरूको संख्या बढ्दो छ । यसलाई सहयोग पुर्याएको छ इन्टरनेटले । इन्टरनेटमा आफूलाई मनलागे जसरी टाँसिने उपयुक्त समय भनेकै राति हो । कुन बेला रात बित्छ, पत्तै हुँदैन ।
यसरी छँदाखाँदाको निद्रा मासेर मानिस निशाचर बन्दो छ भने बिहान कुम्भकर्ण बन्दो छ । बिहान अबेरसम्म सुत्नु व्यावहारिक दृष्टिले र स्वास्थ्यका दृष्टिले पनि उपयुक्त मानिँदैन । उज्यालो हुनु अगावै दैलो सफा गर्ने, चोखो पानी ल्याउने, पूजाआजा गर्ने परम्परा अझै पनि बाँकी नै छ ।
संसारमा अनेक किसिमका मानिस हुन्छन् । मध्यरातमा सुन्धारामा रोधी नाच्ने र ठमेलमा डिस्को नाच्ने मात्र छैनन् । ४ बजे बिहान पशुपतिमा र स्वयम्भूमा प्रभाती गाउने पनि छन् । उज्यालो हुनुभन्दा पहिले नै जाग्ने भजन खलहरू पनि यही कान्तिपुरी नगरीमा छन् । धिमे बजाउँदै गुह्येश्वरीबाट मृगस्थलीको उकालो लाग्ने समूह अहिले पनि बिहानै भेट्न सकिन्छ ।
मुरलीको स्वरमा तरंगित भएर बागेश्वरी, भुवनेश्वरी, बत्सलेश्वरी र पशुपतिनाथको प्रांगण परिक्रमा गर्न मन लागे अहिले पनि अवसर छ । चिन्ता यति हो कि कतै रातभर जाग्ने र दिनभर सुत्ने अवस्था आउने पो हो कि ?