'६ फागुनमा एमसीसी प्रस्ताव टेबुल हुन्छ'

'६ फागुनमा एमसीसी प्रस्ताव टेबुल हुन्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ०४, २०७८

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार संसद्‌मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने उनले बताए ।

संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको बडूले दाबी गरे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति बनेको थियो ।

गठबन्धनमा रहेका ५ दलबीच सहमति नभईकन प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छन् । सत्ता नेतृत्व दल कांग्रेस एमसीसीलाई आजै संसद्‌बाट पारित गर्ने पक्षमा थियो ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले पनि एमसीसी पारित गर्ने आजसम्मको समयसीमा दिएका थिए ।