थपिए तीन दल : आयोगमा दर्ता हुने दलको संख्या पुग्यो  १०६

थपिए तीन दल : आयोगमा दर्ता हुने दलको संख्या पुग्यो  १०६

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ०५, २०७८

काठमाडौँ ।  निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ ।  बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो । 

जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो । 

सरकारले २०७९ वैशाख ३० गते एक चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ । 

आयोगले यही फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दल दर्ता गर्न आव्हान समेत गरेको छ ।