लोकसंवाद संवाददाता | समाचार | फागुन ०६, २०७८
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दै छ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ ।
प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।
नेताहरूले गठबन्धनको बैठकमा प्रस्तुत हुने धारणाबारे छलफल गरे ।
माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिवार मात्र निर्णय गर्ने भएको छ । शनिवार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छ ।
जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।
एमसिसीले दिएको समय सीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिरहेका छन् ।