हरिविनोद अधिकारी | दृष्टिकोण | फागुन ०७, २०७८
हाम्रो पुस्ता साँच्चै आधुनिक युगको संक्रमणकालमा जन्मेको जस्तो लाग्छ । हुनत प्रत्येक पुस्ताले आफूलाई प्रगतिशील मान्छ र प्राकृतिक रूपमा पनि केही न केही परिवर्तन भएकै हुन्छ, जसलाई विकास, प्रगति तथा परिवर्तनको युग मानिएको हुन्छ ।
संक्रमणकाल पनि कस्तो भने, युगान्तकारी परिवर्तन हाम्रा सामु भएका छन् । कतिपय घटनामा हामी आफैँ पनि सामान्य जिम्मेवारी बहन गरेर परिवर्तनका बाहकका रूपमा देखिने परिस्थिति पनि आएका हुन् । अझै संसारको अहिलेको धेरै प्रकारमा परिवर्तनको जग बसेकाले जुन बेला पनि जस्तो समाचार आउन सक्ने अवस्था विद्यमान देखिन्छ ।
मानिसले जे पनि गर्न सक्छ भन्ने सकारात्मक र नकारात्मक दुवै सोचको प्रमाण प्रस्तुत गरिँदै छ । त्यसैले मैले महसुस गरेको के हो भने, हामी भौतिक विकासका कुरामा, आध्यात्मिक परिवर्तनका कुरामा, सांस्कृतिक परिवर्तका बारेमा होस् या समाजको विनिर्माणका बारेमा होस्, संक्रमणकालको मझधारमा छौँ । झन् मानवीय संवेगका बारेमा जति अनुसन्धान गरे पनि मान्छे भनेको यस्तै प्राणी हो, उसको क्षमता यति नै हो भनेर किटान गर्न पनि सकिएको छैन, जबकि त्यसको पहिचान गर्ने पनि त मानिसले नै हो ।
एउटै मानिसभित्र एकै पटक खुसीका क्षणहरू पनि कैद भएर बसेका छन् र दुःखका क्षणहरू पनि एकसाथ सँगालिएर राखिएका छन् । एउटै विषयमा, एउटै मानिसका बारेमा नकारात्मक र सकारात्मक दुवै सोच एकै पटक मस्तिष्कमा गिजोलिएर बसेका हुन्छन् । किन ? थाहा छैन ।
सजिलो के हो भने, यो त मानवीय गुण हो । त्यसो भए मानवीय गुन, बैगुन वा विशेषता केके हुन् त ? प्रत्येक देशमा या समाजमा मानवीय कमजोरीका कारणले गर्न सक्ने अपराध वा तयार गरिएका नराम्रा कामहरूको सूचीका आधारमा कानुन बनाउँदा मानिसले गर्न सक्ने अपराध भनेर हामीले तयार गरेका दण्डका विविधीकरणले सायद कल्पना गरेको हुन्छ कि मानिस भएपछि यस्तो त गर्न हुँदैन ।
त्यसमा पनि प्रत्येक समाजका आफ्नाआफ्ना मानक हुन्छन् र मानकलाई नै मानवीय विशेषताका राम्रा पक्ष र कमजोरी भनेर प्रामाणिकता दिइएको हुन्छ । मानवीय स्वभाव र समाजको विविधता कतिसम्म छ भने, एउटा समाजको सामान्य व्यवहार अर्को समाजका लागि गलत मानिन्छ र एउटा गलत भनिएको समाजको बानी व्यवहार अर्को समाजका लागि या समुदायका लागि सही हुन्छ । जस्तो कि आजभोलि पुरुष र महिला सँगै बस्ने तर विवाह नगरी बस्ने , अनि बच्चा भए पनि कसको बच्चा भनेर सार्वजनिक रूपमा भन्नु नपर्ने आदि संक्रमणकालीन अवस्थाको व्यवस्थापन हुन थालेको पाइन्छ ।
न्युजिल्यान्डकी प्रधानमन्त्रीले बच्चा लिएर संसदमा गएकी कुराले विश्वमा एउटा सकारात्मक चर्चा पाएको थियो तर कोरोनाको पछिल्लो लहरका कारणले विवाहचाहिँ हुन नसकेको समाचार पनि उत्तिकै चर्चामा आयो । त्यो समाजका लागि त्यो कुरा सामान्य होला तर हाम्रो विविध संस्कृति भएको समाजमा पनि त्यो अपवाद नै होला । जस्तो कि बेलायतका प्रधानमन्त्रीकी प्रेमिकाले बच्चा पाउँदासमेत त्यो औपचारिक विवाहमा परिणत भएको थिएन भनिन्छ ।
अर्थात् हामी अब विश्वलाई सानो गाउँको रूपमा र एकअर्कासँगको व्यवहारलाई सामान्य लिन थालेका छौँ ।
संसारभर विभिन्न समुदाय र धर्ममा, विभिन्न समुदायका परम्परागत संस्कृतिहरू अब विनिर्माण हुने क्रममा छन् । त्यसको झझल्को जन्मदिनको उपलक्ष्यमा मनाइने तरिकाले देखाउँछ । पश्चिमले पूर्वको सिको गर्न चाहेको देखिन्छ भने पूर्वले पश्चिमको सिको गरेर आफूलाई सभ्य बनाउन खोजेको देखिन्छ ।
तर, पश्चिमाहरू भने पूर्वीय सभ्यताले दिएको देन भनेर वेद, उपनिषद्, श्रुतिस्मृतिहरूको अध्ययन गर्न थालेका छन् र कसरी वेद तथा पुराणहरुले जीवन र जगतका बारेमा सुरुमा मौखिक रूपमा, पछि लिखित रूपमा सभ्यतालाई जीवित राखेका थिए भनेर अध्ययनको विषय बनाएका छन् । हामी पूर्वीयहरुले भने आफ्नो औकात बिर्सेर पश्चिमको नक्कल गर्न थालेका छौँ, जबकि पश्चिममा मौलिकता के हो भनेर आफैँले भन्न सकेका छैनन् ।
पहिले गुरुकुलको व्यवस्था थियो पूर्वमा र शिक्षा विस्तारमा त्यसले एउटा अनुपम उदाहरण प्रस्तुत गरेको थियो भन्ने मानिन्छ । तर, लिखित रूपमा त्यसको प्रमाणको कमीले होला, पश्चिमको लिखित दबदबाले आज पनि आधुनिक शिक्षाका बारेमा हामीले उनीहरूकै आधार मान्नुपर्ने हुन्छ र पूर्वका बारेमा किंवदन्तीलाई आधार मानेर भन्नुपर्ने हुन्छ ।
त्यस्तै औषधि विज्ञानका बारेमा होस् या शल्यचिकित्साको बारेमा होस् या वास्तुका बारेमा होस् या समय सारिणीका आधारमा समयको पला विपलालाई गणना गरेर मानवलाई समयसँग एकाकार गराउने र जीवनलाई प्रकृतिस्थ गराउने ज्योतिर्विद्या र खगोलविद्याको विकासक्रम कसको हो भनेर अलमलमा पर्ने हामीलाई पश्चिमाहरूले नै भनेर आफ्नो अतीतका बारेमा गर्व गर्न सक्ने बनाएको अवस्था छ ।
भनिन्छ, मानिसको देब्रे मस्तिष्कको प्रयोग धेरै भएको छ तर दाहिनेपट्टिको भागको खासै प्रयोग हुन सकेको छैन । आखिर मानिसले चाहेर त्यसको प्रयोग गर्न सक्ने त होइन होला, अभ्यासले हो कि अनुसन्धानको सिलसिलामा हुने हो कि ? जन्मजात बोकेर आएको क्षमताले पो हुने हो कि ? हाम्रै वरिपरि रहेका कतिपय क्षमतावानहरूको स्मृतिलाई कसरी लिने हो ? एक पटक सुनेपछि या पढेपछि कण्ठ हुने ? कसरी होला ? अनि जति पटक भने पनि यादै नहुने, तत्कालै बिर्सने किन होला ? अरू त अरू केही अघि गएको ठाउँसमेत बिर्सेर अरूसँग सहयोग मागेर पुग्नुपर्ने एकातिर छ भने कति मानिसहरूमा एक पटक गएको ठाउँमा राति पनि कतै नसोधेर पनि पुग्ने क्षमता देखिन्छ ।
सभामुखको झण्डा भएको मोटर हुने भयो, मुख्य सचिवको पनि त्यस्तै केही चिह्न होला, दाजु र भाउजू त दरबारकै मोटरमा आउनुभएको थियो होला या जन्मदिनको कार्यक्रमका लागि दिउँसै आउनुभएको थियो कि ? तर, मैले चिनेका पनि भेटिए भन्नुपर्यो । मन्त्रीहरूमा मैले चिनेकाहरू पनि थिए कांग्रेसका तर दरबारभित्र दौडधुप गरेर मान्छे भेट्ने कुरा पनि हुँदो रहेनछ
एक पटक देखेको, भेटेको र नाम सुनेको मानिसलाई कहिल्यै नबिर्सने पनि छ भने बारम्बार नाम बिर्सेर सोधिरहनुपर्ने अवस्था पनि हुन्छ । यस्तो कसरी भएको होला ? सायद अनुसन्धानले यी कुराहरू पत्ता लगाउन पनि सक्ला या नसक्ला ?
मेरो आफ्नो अनवरत अध्ययन र करिब आधा शताब्दीको अध्यापनको अनुभवले के सोच्न बाध्य भएको छु भने प्रत्येक व्यक्ति आफैँमा एउटा एकाइ हो, ठ्याक्कै उस्तै होइन । हामीले जे पढाएका हुन्छौँ, त्यो मात्र विद्यार्थीको जेहेनमा कुनै विषयमा सूचना सम्प्रेषण गर्ने मात्र हो, त्यसका बारेमा उसले जे अनभूत गर्ने हो, त्यही नै उसले व्यवहारमा गर्ने विवेक हो ।
शैक्षिक मनोविज्ञानले के भन्छ भने हामी शिक्षकका अघिल्तिर रहेको त्यो बालक/बालिका कसरी अहिले हाम्रो अघिल्तिर आइपुगेको हो ? अब उसलाई कस्तो बनाउने भन्ने कुरामा विवाद हुने भएकाले सकेसम्म सर्वस्वीकृत योजनाबमोजिम तयारी गर्ने हो । या सामूहिक रूपमा या वैयक्तिक रूपमा तयारी गर्ने हो । त्यसैलाई हामी शिक्षाका विद्यार्थीहरूले पाठ्यक्रम भनेर भन्यौँ- एउटा आवश्यक जनशक्तिका लागि अनुमानित तयारीको खाका ।
बच्चाको प्रारम्भिक अवस्था, बाल्यावस्था, उत्तर बाल्यावस्था,किशोरवस्था, युवाववस्था, प्रौढावस्था र वृद्धावस्थाको तयारी । सबै तयारीक्रम विद्यालय, विश्वविद्यालयमा सम्भव छैन किनभने जीवन त जगतमा हुन्छ र आफैँले आफ्नो जीवनको तयारी गर्नुपर्छ । त्यसैले पाठ्यक्रमको तयारीमा भनिन्छ- हे मानिस, तिमी नै तिम्रो भाग्य विधाता हौ, तिमी नै तिम्रो भविष्यको रेखाङ्कन गर्ने अभियन्ता हौ । हामी तिमीलाई जीवनका बारेमा सामान्य जानकारी दिने कोसिस गर्नेछौँ ।
पहिले गुरुकुलमा जीवनलाई आवश्यक पर्ने जरुरी कुराहरूको जानकारी क्रमबद्ध रूपमा अरूको अनुभवका आधारमा दिइन्थ्यो होला, अहिले धेरैको अनुभवलाई सँगालेर पाठ्यक्रम तयार गर्ने र विभिन्न विषयका क्षमतावान् र अनुभवीहरूको अनुभव बाँडचुँड गर्नका लागि औपचारिक विद्यालय, महाविद्यालयहरूको व्यवस्था गरिएको हो । गुरुकुलमा औपचारिक र अनौपचारिक शिक्षाको व्यवस्था गरिएको हुन्थ्यो र पारंगत भएको कुरामा गुरुलाई विश्वास भएपछि प्रयोगात्मक परीक्षा लिइन्थ्यो र पारंगत भएको मानिएकालाई दीक्षा दिइन्थ्यो र भनिन्थ्यो-अब हामी सँगसँगै जीवनलाई बुझौँ र सँगै जाऔँ । एकअर्काको सुखदुःखमा सँगै रहौँ र एकअर्कालाई सघाऔँ ।
यसको अर्थ हो- गुरुले शिष्यको क्षमताप्रति विश्वास गरेर समाजमा, राज्यमा र विश्वमा जीवन बाँच्नका लागि पठाएको मान्नुपर्छ । दीक्षित गराएको भनेको नै आफूले दिएको शिक्षाको दुरूपयोग नगर्न र सम्पूर्ण विश्वको हित गर्नका लागि तयार गरिएको प्रमाणको रूपमा मानिन्थ्यो, जसलाई आज पनि दीक्षान्त समारोह भनेर विश्वविद्यालयहरूले दीक्षा दिने गरेको पाइन्छ विश्वभरका विश्वविद्यालयहरूमा ।
हामीले पनि विभिन्न प्रयोग गर्दै अहिले विद्यालय भनेको कक्षा १२ सम्मलाई मान्यौँ र उच्च शिक्षाको अवधि बढायौँ किनभने तयारी गरिएको जनशक्तिलाई अझ बढी क्रियाशील बनाउने अठोट गरेका हौँ । तर पनि युवाशक्ति विदेशी विश्वविद्यालयहरुका आकर्षित भएको छ र ती दीक्षित जनशक्ति पाएसम्म विदेशमा नै सेवा गरेर नाम र दाम कमाउने पक्षमा देखिन्छ ।
हाम्रो शिक्षाको योजना बनाउनेहरू विदेशमा गएर अनुभव बटुलेका छन् र विदेशी योजनासँग पनि परिचित छन् । अनि, किन यस्तो भयो त? अर्बौं रुपैयाँ किन बाहिरिन थाल्यो, युवाहरू किन बाहिरिन थाले र त्यता गएका युवाहरू किन आफ्नो देशप्रति आकर्षित भएनन् ? त्यसको उपचार त राजनीतिले नै खोज्ने हो । युवाहरूमा देखिएको सामयिक राजनीतिप्रतिको अनास्था र राजनीतिलाई ठेक्कामा चलाउनेहरूको दुर्नियतले होला, आजको शिक्षाले संक्रमणकालको अवस्था भोग्नुपरेको ।
हामीले उपलब्ध गराएको शिक्षा गुणस्तरीय छैन पनि होइन, प्रयोगात्मक छैन पनि होइन, जीवनसँग मेलजोल बढाउने खालको छैन पनि होइन तर किन त यस्तो भएको ? त्यसको उत्तर पनि छैन अनि वर्षमा लाखौँ युवाहरू बाहिरिन पनि छाडेका छैनन्- यो या त्यो निहुँमा ।
धेरै कुराहरू मनमा हुँडलिएर आउँछन् तर सबै कुरा लेख्न पनि सकिँदो रहेनछ । कतिपय कुरा नभन्दा पनि हुन्छ जस्तो लाग्छ, कुनै कुरा भन्दा मलाई मात्र होइन, अरूलाई पनि त्यसले अप्ठ्यारो पार्ने जस्तो लाग्छ । आफू अपमानित भएको कुरा र आफूले खुसीको क्षण बिताएका कुराहरू कति त लेखियो तर अझै कति लेख्न बाँकी छ ।
यसभन्दा पहिलेको प्रसंगमा ढोकाका बारेमा केही लेख्दै थिएँ । मलाई के अनुभव भएको हो भने, राजतन्त्रका पक्षमा बीपीले बोल्नुभएकाले पनि होला, राजाप्रति गुनासो सधैँ रह्यो तर राजतन्त्रप्रति बेलायतको तरिकाले राजाले गल्ती गर्दैनन् भन्दै रह्यौँ । राजालाई राष्ट्रियताको प्रतीक मान्दै रह्यौँ तर हामीले मानेको राजतन्त्रका निरन्तर प्रतिनिधि राजा व्यक्ति पनि हुँदा रहेछन् । मिश्रका अन्तिम राजा फारोँले( उनीपछि बालक राजा फाउद द्वितीय भएका थिए तर उनलाई चाँडै बिदा गरियो) बिनारक्तपात उनको सत्ता जाँदा भनेका रहेछन्- अब संसारमा मात्र ५ वटा बादसाह रहनेछन्, ४ वटा तासका के चिह्न भएका बादसाह र एउटा बेलायतका बादसाह ।
बीपीले आफूलाई ७-७ वटा फाँसीको माग गरिएका मुद्दाहरू अदालतमा हुँदा पनि राजा महेन्द्रले सैनिक शक्तिका भरमा प्रजातन्त्रको हत्या गरेका भने पनि राजतन्त्रको भने आवश्यकताका बारेमा समर्थन गरिरहनुभएको थियो । अचम्म थियो- राजाले नै पालेर पोसेर राखेका प्रजातन्त्रविरोधीहरू नै राजतन्त्रका विपक्षमा चेतना फैलाउँथे र कांग्रेसलाई राजाको पक्षधर भनेर प्रचार गरिरहेका पाइन्थे ।
अन्ततः राजाकै पक्षमा बोल्ने नेपाली कांग्रेस नै राजतन्त्रको अन्त्यका लागि बाध्यतापूर्वक तयार भयो र नेपालमा गणतन्त्र स्थापना भयो । यसको कारण हो, जबजब मौका पर्थ्यो, राजाले सधैँ प्रजातन्त्रकै घाँटी निमोठ्थे । प्रजातन्त्रलाई बदनाम गर्ने काममा लागेका हुन्थे । प्रजातन्त्रवादीहरू कमजोर भए र मुलुकको सम्पूर्ण राजनीतिले यस्तो कोल्टे फेर्यो कि आज त्यसको परिणाम देखिँदैछ ।
राजाको पक्षमा वा विपक्षमा जनमतसंग्रह गराएको भए त हुन्थ्यो तर राजाले भर गरेकाहरू र कांग्रेसका विरुद्ध सधैँ काँधमा बोकेकाहरुले नै राजालाई समाप्त पारे भन्दा अत्युक्ति हुँदैन । कांग्रेसले पनि सधैँ राजतन्त्रको पक्षमा वकालत गर्दै रहँदा पनि एउटा ठूलो समस्या आयो- निरंकुश राजाको पक्षमा उभिने कि गणतन्त्रसहितको प्रजातन्त्रका पक्षमा उभिने ? किनभने १९ माघ २०६१ को राजाको कदमले फेरि १ पुस २०१७ सम्झायो र नेपाली कांग्रेससँग कुनै विकल्प नै रहेन राजा कि गणतन्त्र भन्ने विषयमा । गणतन्त्रका पक्षमा उभिएकै हो र आज पनि गणतन्त्रका पक्षमा उभिएको देखिन्छ ।
अनि, राजाको दरबार भनेको जहिले पनि रहस्यमय हुने रहेछ, चाहे राजा हुन् या नहुन् । म पनि अतिथिको रूपमा नारायणहिटी दरबारमा युवराजको जन्मदिन मनाउने ठाउँमा गएको थिएँ । पहिलो पटक २०५८ सालमा बोलाइएको थियो । युवराज पारसको जन्मदिन १५ पुसमा मनाइँदो रहेछ । मलाई ल्याब स्कुलको नाममा आमन्त्रणपत्र आएको रहेछ १२ पुसमा । जम्मा २ दिन र आधा समयमा कालो कोट, सेता दौरा-सुरुवाल सिउनुपर्ने भयो । पैसा पनि थिएन नि, कोट हाल्नका लागि, नयाँ छालाको काला जुत्ता किन्नका लागि ।
घरमा सरसल्लाह गरियो जाने कि नजाने निम्तो मान्न ? भनेर । एक मनले भन्यो- 'नजा, किनभने तँलाई दरबारका बारेमा कुनै जानकारी पनि छैन, त्यहाँको चलनका बारेमा पनि थाहा छैन, मात्र त्यही पारसलाई पढाएको होस् ४ महिना । उसले सम्झेर नै पठाएको होला निम्तो त तर त्यहाँ गएर कोसँग के कुरा गर्ने हो र ?'
हुनत त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । पैसाको जोहो गरियो तर २ दिनमा कसले पो कोट सिउने हो र ? तर पनि कीर्तिपुरको युनिक टेलरिङमा अनुरोध गरेँ- 'जसरी पनि १५ गते दिनको ४ बजेसम्म सिइदिनुहोस् न' भनेर । स्वाभाविक रूपमा जाडोको बेलामा कोट सिउनेहरूको भीड नै हुने गर्छ ।
केही रकम बढी नै दिने शर्तमा कोट उनकै पसलमा काटो रङको राम्रै लुगाको सिउन दिइयो । जाने त भनियो तर कोट र दौरा-सुरुवाल बेलैमा हुने हो कि होइन भन्नेचाहिँ परिरह्यो । पैसा त स्कुलमा गएर पेस्की लिएँ, त्यो बेलामा म ल्याबबाट सरुवा भएर गुह्येश्वरी बालशिक्षा मावि, थापाथलीमा गइसकेको थिएँ । प्रधानाध्यापक ज्ञानहरि पौडेलसँग १० हजार रुपैयाँ मागेँ ।
मलाई थाहा थियो, यो पेस्कीले मेरो आम्दानी खर्चको वासलातमा ऋणात्मक अवस्था देखाउने छ तर जाने नै भएपछि कोसँग माग्नु र ? त्यसरी मागेर ल्याएको भए पनि धुकचुकचाहिँ के थियो भने, १५ गते ४ बजेसम्म सिउनेले सिएर दिएन भने के गर्ने ? अरू रङको नहुने भनेको थियो कार्डमा ।
दरबारका बारेमा एउटा बुझाइ के थियो भने, सेनाको जिम्मा रहने भएकाले मुख्य द्वारबाट छिराउने या नछिराउने भन्ने कुरा औपचारिकतामा भर पर्छ होला । भित्रबाट नाम आएको हुनुपर्ला, आफ्नो परिचयपत्र चाहिएला, कार्डमा तोकिएको पोसाक अनिवार्य लाउनु नै पर्ने होला र अनि मात्र तोकिएको कार्यक्रम गर्ने ठाउँमा लैजाने होला ।
पोहोर मात्र वीरेन्द्रका वंशनास भएकाले दरबार कति सुरक्षित भन्ने बहस चलेकै थियो र त्यो वंशनासको घटना पनि भोजमा जम्मा भएका मानिसहरूका बीचमा नै भएको थियो । डर त हुने नै भयो तर पहिलो पटक राजकीय निम्तोमा, त्यो पनि औपचारिक पोसाकमा ढोकामा जाँदै थिएँ , कुनै चाकडीमा होइन, कुनै कर्मचारीका रुपमा होइन तर एउटा गुरुका रूपमा ।
आमाले भनेजस्तो डोकामा त सधैँ तम्तयार नै थिएँ, झोला बोकेर आफ्नो दैनिकी पूरा गर्दै थिएँ तर ढोकामा पुग्ने बेला भर्खर भएको थियो त्यो पनि अकस्मात् शाहज्यादा पारस युवराज भएकाले । त्यो पनि काकतालीले ल्याब स्कुलमा जाँचसम्म दिनका लागि नाम दर्ता गराउँदा केही महिना पढाएकाले ।
दरबारको गेटमा हेड सर भरतकुमार प्रधान पनि भेटिनुभयो, बूढानीलकण्ठका प्रअ नारायण शर्माजी हुनुपर्छ जस्तो लाग्छ, ओमकार पन्त सर र अरू मैले नचिनेका गुरुहरू हुनुहुन्थ्यो, सबैलाई गेटमा हाम्रो परिचयपत्र, कार्डको नम्बर, नाम रुजु गरेर राखेको थियो सेनाको रक्षकले ।
अब मलाई लाग्यो- कम्तीमा पनि भरत सर त हुनुभयो बोलचाल गर्नका लागि । कतिबेर फर्कने पनि थाहा छैन । कालो टोपी नभएकाले भाइ श्रीबत्स गयो ठमेलमा नयाँ कालो टोपी किन्न मेरालागि । जाँदा बसमा गएँ, मानिसहरू कालो कोट, सेता दौरा-सुरुवाल लगाएको देखेर अलमल परेका बुझिन्थे किनभने नेपालमा दौरा-सुरुवाल लगाउने भनेको कि त बिहेमा हो या सरकारी औपचारिक कार्यक्रममा तोकिएको पोसाक अनिवार्य लगाउनुपर्ने ठाउँमा ।
भित्र गएपछि मानिसहरू खोइ कुन कोठा हो थाहा भएन, जम्मा हुँदै थिए, राजा ज्ञानेन्द्र, रानी कोमल तथा राजपरिवारका अरू सदस्यहरू आइपुग्नुभएको थिएन । तर, सभामुख तारानाथ रानाभाट, मुख्य सचिव डा. विमल कोइराला, नायव बडागुरुज्यू प्रा.डा. माधव भट्टराई, उहाँकी धर्मपत्नी कान्ता भाउजू भित्रै हुनुहुँदो रहेछ । सायद उहाँहरूलाई सरकारी मोटरले ल्याएकाले हो ।
सभामुखको झण्डा भएको मोटर हुने भयो, मुख्य सचिवको पनि त्यस्तै केही चिह्न होला, दाजु र भाउजू त दरबारकै मोटरमा आउनुभएको थियो होला या जन्मदिनको कार्यक्रमका लागि दिउँसै आउनुभएको थियो कि ? तर, मैले चिनेका पनि भेटिए भन्नुपर्यो । मन्त्रीहरूमा मैले चिनेकाहरू पनि थिए कांग्रेसका तर दरबारभित्र दौडधुप गरेर मान्छे भेट्ने कुरा पनि हुँदो रहेनछ, सबै अदबमा बसेका, आफ्ना हातहरू कहाँ राख्ने भन्ने पनि सामान्य कुरा गेटमा नै भनेको थियो ।
अरूभन्दा पनि के नमिल्ला जस्तो लाग्ने, राजा भनेको एउटा डरको प्रतीक नै हुने रहेछन् । हुनत अरनिकोले कुब्ला खाँसँग कुरा गर्दा भनेका थिए रे- 'तिमीलाई चीनका बादसाहसँग यसरी साक्षात्कार गरेर कुरा गर्दा डर लाग्दैन ?'
अरनिकोले भनेका थिए रे- 'राजा, बादशाह, सम्राट भनेका त बाबु जस्तै हुन्, किन डराउनु र ?'
तर, दरबारमा एकदम सानो स्वरमा बोल्ने सबै राजारानी र दरबारका अन्य सदस्यहरू पनि । राजारानी, युवराज, युवराज्ञी आएपछि सबै सतर्क भए र राजारानी एउटा ठाउँमा उभिएपछि सबैले नमस्कार गर्ने गर्दारहेछन् । राजाको सवारी भएपछि राष्ट्रिय धून बजाउने स्वाभाविकै भयो । अनि, मसँग भेट्न पारस आएर हालचाल सोधेपछि अरूलाई जिज्ञासा पनि भयो होला । हिमानीतिर हेरेर चिनाए 'मेरो एकाउन्ट सर' भनेर ।
हिमानी युवराज्ञी भए पनि गुरुप्रतिको आदर देखाउँदै मलाई नमस्कार गरेको म अहिले पनि सम्झन्छु किनभने नियमअनुसार दरबारले बोलाएको थियो, युवराज र युवराज्ञीका पदमा उनीहरू थिए । मैले नै अभिवादन गर्नुपर्थ्यो जस्तो कि राजारानीलाई गरिएको थियो । तर, युवराज र युवराज्ञीले मलाई नै अभिवादन गरे । सायद मेरी आमाले सोचेको ढोकाको आदर त्यही पो थियो कि ? राजाको छोराले समेत गुरुको रूपमा अभिवादन गर्ने । मेरालागि त्यो पहिलो र नयाँ अनुभव थियो ।
राजाले जोसँग कुरा गर्ने हो, उसलाई नजिकै बोलाएर कुरा गरेको देखियो टाढाबाटै । मलाई केही कुरा गर्नु पनि थिएन र मसँग सायद चिनजान हुनुपर्ने कारण पनि थिएन । यति बिस्तारै कुरा भएको थियो कि सायदै कसैले सुनेको थियो ।
मैले त्रिभुवनकी एरिकामा पढेको थिएँ दरबारमा बिस्तारै बोल्ने अनि कसले के भनेको हो भन्ने कुरा थाहा नै नहुने, पछि एरिकाको पनि बानी परेको थियो भन्ने । प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, शाही नातेदारहरू, सेना र प्रहरीका उच्च पदस्थहरू गरी करिब १०० जनाजति मानिसहरू थिए । तर, लाग्थ्यो- त्यहाँ कोही पनि छैन । आवाजविहीन भीड थियो ।
त्यहीँ कहिलेकाहीँ पारसका छोरीहरूको बालसुलभ कलरब सुनिन्थ्यो, त्यो पनि महारानी वरिपरि बसेका, उफ्रेका मात्र । लगातार अरू ३ वर्षसम्म गइयो, बोलाएकाले । त्यसपछि २०६२ सालदेखि त्यो क्रम रोकिएको छ ।
आखिर राजनीतिक रूपले जेजे भए पनि म गुरु हुँ र पारस शाह मेरा विद्यार्थी । म अहिले पनि व्यक्तिगत रूपमा उनको भलो होस् भन्ने चाहन्छु । राजनीतिक उतारचढावभन्दा अलिक माथि उठेर हेर्दा गुरु गुरु नै हो र चेला चेला नै हो । एउटा कुरा भने ध्रुव सत्य हो कि यदि मैले पारस शाहलाई लेखा विषय पढाएको हुँ । यदि नपढाएको भए मेरी आमाको ढोकाका लागि पनि छोरो तयारी हुनुपर्छ भन्ने उक्ति पूरा हुने थिएन ।
मैले २०४६ सालमा पढाएको हुँ तर सम्झना नवीकरण भयो २०५८ सालमा मात्र । म त्यसबेला ल्याबबाट सरुवा भइसकेको थिएँ ।
क्रमशः