लोकसंवाद संवाददाता | समाचार | फागुन ०९, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संसद्मा पेस भएको एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ। बैठकै बसेर नै संसदमा टेबल गर्न दिने निर्णय गरेको एकीकृत समाजवादीकाे सोमबार बसेको सचिवालयकाे बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
प्रवक्ता खतिवडाले भने ‘हाम्रो सचिवालयको बैठक चलिरहेको छ हामी संसद्मा दर्ता भएको एमसीसीको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवेदनशील भएकोले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’
संसद्मा पेस भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको खतिवडाले बताए । उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए ।
उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए । एकीकृत समाजवादीले पहिलो पटक एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यसैबीच महासचिव बेदुराम भुसालले जारी गरेको वक्तव्यमा नेकपा (एकीकृत समाजवादी) एमसिसी सम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको भनिएको छ ।