नेत्र आचार्य | जीवनदर्शन | जेठ ०४, २०७६
बुद्धले प्रवचन दिइरहनुभएको थियो । अचानक उहाँको काँधमा एउटा झिङ्गा आएर बस्यो । बुद्धले झिङ्गा उडाउनका लागि आफ्नो हात उठाउनुभयो । हात उठाउने गति तेज थियो यद्यपि बुद्धको हात काँधमा नपुग्दै झिङ्गा उडेर गइसकेको थियो । बुद्धलाई आफ्नो प्रयत्नप्रति क्षोभ भयो र उहाँले मन्द गतिले काँधबाट झिङ्गा उडाउने अभ्यास गरिरहनुभयो ।
शिष्यहरुले सोधे, 'भगवान्, झिङ्गा त अघि नै उडेर गइसक्यो, तपाईं अझै पनि आफ्नो हात किन हल्लाइराख्नुभएको हो ?'
बुद्ध मुस्कुराउनुभयो र भन्नुभयो, 'हो मलाई पनि थाहा छ झिङ्गा उडेर गइसकेको छ । तर मलाई क्षोभ के कुराको रह्यो भने झिङ्गा उडाउन मेरो जति सजगता रहनुपर्थ्यो त्यो रहन सकेन । मैले त्यसलाई बेहोशीमा उडाएँ । तर जब मलाई होश आयो, मैले फेरि कहिल्यै झिङ्गा आएर बस्यो भने कति सजगतापूर्वक उडाउने भनेर अभ्यास गर्न थालेँ । मेरो निम्ति झिंगा उडेर गयो या बसिरहेको छ भन्ने गौण कुरा हो । महत्वपूर्ण कुरा त त्यसलाई उडाउन मैले कति सजगता अपनाएँ भन्ने हो ।' सजगता तथा अप्रमादको अभ्यास गरिरहनुपर्छ । झिङ्गालाई उडाउँदा पनि चेतना पूरा सजगताका साथ रहनुपर्छ । हामी के काम गर्दैछौं त्यो गौण हो, कति तत्परता र सजगतापूर्वक गर्दैछौं त्यो महत्वपूर्ण कुरा हो ।