लोकसंवाद संवाददाता | समाचार | फागुन १०, २०७८
प्रदेश १ को नामकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बूवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ ।
प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र संघीय लिम्बूवान मञ्च सरकारमा छन् । गठबन्धनको सामान्य बहुमत मात्र छ ।
९२ सांसद भएको प्रदेश १ मा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रमका १५, नेकपा एसका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ सांसद छन् ।
एमालेबिना दुई तिहाइ पुग्दैन । नामाङ्कनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकका दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किरात, लिम्बूवान जस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दलमा एकमत छ । तर, एमाले यी नाममा सहमत छैन ।