लोकसंवाद संवाददाता | समाचार | फागुन ११, २०७८
नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)काे नवाैँ बैठक आज बुधबार काठमाडाैंमा बस्दै छ ।निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् ।
समितिकाे बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि काेराेना महामारीका कारण २ वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन ।
बैठकको पहिलो दिन आज नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी)को बैठक बस्नेछ । बैठकले टुंगो लगाएका विषय दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेस हुनेछन् ।
नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।
नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यु बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएकाे छ ।