खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ११, २०७८

खोटाङ । अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तीकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो । 

 

सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल २०७ मत खस्दा १९२ मत एमसीसी पारित गर्नुहुन्न भन्ने पक्षमा र १४ मत एमसीसीको पारित गर्नुपर्छ भन्ने पक्षमा मत खसेको अनेरास्ववियु (क्रान्तीकारी)का नेता पारस बिराटले बताए । खसेका मत मध्ये एक मत बदर भएको छ । एमसीसी यथास्थितिमा पास नगर्नका लागि दबाब सिर्जना गर्न पनि सडक जनमत सङ्ग्रह गरिएको नेता पारस बिराटले बताए । 

‘स्वाधीन देशमाथि हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्न लडिरहेका छौं । सत्ताको आगो ताप्नेलाई एमसीसी पास गर्नुहुन्न भनेर खबरदारी गरिरहेका छौं, उनीहरूलाई सुनाउनका लागि जनमत सङ्ग्रह गरिएको हो,’ पारस बिराटले भने । उनले सत्तामा बस्नेले जनता एमसीसीको विपक्षमा रहेको कुराको हेक्का राख्नुपर्ने बताए।

'एमसीसीको पक्षमा हामी छैनौं । कुर्सीको प्रलोभनमा बस्नेले एकचोटी सुनुन्, स्वतन्त्रता सम्झिउन्, सार्वभौमसत्ता सम्झिउन्, संविधान सम्झिउन्, लाखौं सहीदको बलिदानबाट आएको संविधान सम्झिउन् । एमसीसीले देशको सार्वभौमसत्तामा दूरगामी असर गर्नेवाला छ,’ उनले भने ।