लोकसंवाद संवाददाता | समाचार | फागुन १२, २०७८
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा एमसिसी बारे सडक जनमत संग्रह सम्पन्न भएको छ । अखिल क्रान्तिकारी पाँचथरद्वारा आयोजित जनमत सग्रहमा १८४ जनाले मत दिएका थिए । फिदिमको गणतन्त्र चोकमा आयोजना भएको सडक जनमत सङ्ग्रह कार्यक्रममा एमसिसीबारे जनताको धारणा बुझिएको अखिल क्रान्तिकारीका नेता प्रदीप बाँस्कोटाले जनाए ।
जनमत सग्रहमा यथास्थितिमा एमसिसी पारित हुनुहुँदैन भन्ने पक्षमा १६२ मत अर्थात् ८८.०४ प्रतिशत र पारित गरिनुपर्छ भन्नेमा र १७ मत अर्थात् ९.२३ प्रतिशत मत खसेको अखिल नेता बाँस्कोटाले जनाए ।
कुल मत संग्रहमध्ये ५ मत बदर भएको छ । एमसिसि प्रति आम जनताको धारणालाई नजिकबाट नियाल्नका निम्ति सडकमै मिनी जनमत सङ्ग्रह कार्यक्रम गरिएको अखिल क्रान्तिकारीका नेता प्रदीप बाँस्कोटाले जानकारी दिए ।
नमुना जनमतमा युवा र विद्यार्थीसँगै ज्येष्ठ नागरिकहरूले उत्साहजनक उपस्थिति जनाएका थिए ।
सदन र राजधानीका सडकमा बहसकै रुपमा रहेको एमसिसिका विषयमा सर्वसाधारणको धारणा के कस्तो छ ? भन्ने विषयमा धारणा संकलन गर्न नमुना जनम फलदायी भएको अखिल क्रान्तिकारीका नेता चन्द्र माङमुले जानकारी दिए ।
अखिल क्रान्तिकारीले पाँचथर सहित १ नम्बर प्रदेशका १४ वटै जिल्लामा नमुना मतदान गराउँदै छ ।