घुर्विसे पञ्चमीमा विद्यालय : आयुर्वेद तथा योग शिक्षा तालिम

घुर्विसे पञ्चमीमा विद्यालय : आयुर्वेद तथा योग शिक्षा तालिम

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन १२, २०७८

पाँचथर । पाँचथरको फाल्गुननन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमीमा विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा आयुर्वेद तथा आयुर्वेदिक जीवनशैली, योगको परिचय तथा महत्त्व, भान्सा तथा घर वरिपरिका औषधी जडीबुटीहरू लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा फाल्गुननन्द गाउँपालिकाका माध्यमिक विद्यालयमा स्वास्थ्य शारीरिक विषय अध्यापन गराउने शिक्षकहरू तथा विद्यालय नर्सिङहरू गरी १४ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागी शिक्षकहरूलाई आयुर्वेद तथा जडीबुटी साथै योग सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिई उक्त ज्ञान सिपलाई विद्यालयमा विद्यार्थी सम्म पुर्‍याउँने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

तालिमको सहजीकरण फाल्गुननन्द गाउँपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीले गरेका थिए  । तालिम फाल्गुननन्द गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको आयुर्वेद शाखाले आयोजना गरेको हो ।

तालिम समापनका अवसरमा फाल्गुननन्द गाउँपालिकाका  अध्यक्ष वीर बहादुर कुरुङ्वाङ,प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक,शिक्षा शाखा प्रमुख बाबुराम राई लगायतले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे ।