लोकसंवाद संवाददाता | समाचार | फागुन १३, २०७८
विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधका कार्यक्रमहरू राखेका छन् ।
विरोध कार्यक्रम बानेश्वरस्थित संसद् भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।
एमसीसीलाई लिएर सत्तारुढ दलहरूबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।