हरिविनोद अधिकारी | दृष्टिकोण | फागुन १४, २०७८
हाम्रो सामाजिक मान्यताको मुख्य आधार भनेको नैतिक शिक्षा हो, जसका आधार प्रचलित पूर्वीय श्रुतिस्मृति नै हुन् । वेद, उपनिषद्, पुराण, रामायण, महाभारत तथा तिनका आधारमा तयार गरिएका सूत्रबद्ध सामान्य नीतिहरू नै हुन् । पूर्वका सामान्य नीति भनेका पूर्वीय गोलार्द्धमा रहेका समाजका मानिसहरूले मान्ने धारणा हुन्, जसका आधारमा सामाजिक परिधिको खुला घेरा कोरिएको हुन्छ ।
कतै घेरा खुकुलो बनाइएको हुन्छ त कतै सामाजिक बन्धनको रूपमा नीतिलाई कसिलो बनाएर राखिएको हुन्छ । नेपाल जस्तो बहुधर्म, बहुसंस्कृति र बहुभाषिक समाजमा कुनै नीति साझा पनि छन् त कुनै नीति जात विशेष, सम्प्रदाय विशेष र कुनै धार्मिक विश्वास विशेष पनि पाइन्छ ।
हामी आधुनिक समयमा जो आलूलाई नयाँ अवस्थासँग समायोजित भएका भनेर गर्व गर्छौं, तिनको पनि परिवार, समाज र समुदायको एउटा नीति हुन्छ, जसलाई सामूहिक रूपमा अस्वीकार गर्न सकेको पाइँदैन । व्यक्ति स्वतन्त्र हुन सक्छ तर समुदायभित्रको एउटा अलिखित नीतिलाई सामान्यतः काटिँदैन ।
हामीले माने पनि नमाने पनि जातीय छुवाछूत अहिले पनि कायम छ । त्यो अत्यन्त अमानवीय, असामाजिक र मानिसले मानिसलाई हेपेको चलन हो तर जस्तो कि अहिले पनि त्यो विद्यमान छ भन्नुपर्दा दिक्क लाग्छ, ग्लानि हुन्छ र पनि जातीय रूपमा त्यो छ, छ ।
सामाजिक न्यायका कुरा जति गरे पनि समाजमा देखिएको त्यो कुप्रथाका विरुद्धमा व्यक्ति लागेको पाइन्छ तर प्रत्येक व्यक्तिको सीमितता फेरि समूह र परिवारमा पुगेपछि देखिन्छ । अहिले पनि घरमा रहेका बुढाबुढीको निहुँमा या धार्मिक प्रवृत्ति भएका घरका सदस्यहरू वा मूलीको निहुँमा छुवाछूत कायम छ भनेर भन्दा आफैँलाई धिक्कार्न मन लाग्छ । तर, छ ।
त्यो नै व्यक्तिले आफूलाई सामाजिक रूपमा परिवर्तन गर्न नसकेको देखिन्छ । हामी समाजलाई परिवर्तन गर्छौं भनेर युवावयमा हिँडेका व्यक्तिहरु त चित्तबुझ्दो तरिकाले परिवर्तन हुन सकेका छैनौँ र समाजलाई परिवर्तन त के गर्न सकिन्थ्यो तर आफैँ त्यही गन्जागोलमा सँगै पो मुछिएका रहेछौँ ।
समाजलाई बदल्न त गाह्रो होइन रहेछ तर त्यसको नेतृत्व गर्नचाहिँ अनवरत संघर्षको जरुरत पर्दोरहेछ । हामीले पनि जातभात नमानी सबैसँग सँगै खान थाल्यौँ, बाहिर होटलमा पनि खान थाल्यौँ र जेजे पहिले नखाने भन्थे, ती सबै चिज खान थाल्यौँ । त्यो व्यक्तिगत परिवर्तन हो कि सामूहिक परिवर्तन हो ?
समाजमा विभिन्न आचरण र चरित्रका व्यक्तिहरू बस्छन् र सबैलाई सबै कुरा मन नपर्ने पनि हुन्छ तर एउटा सर्वस्वीकार्यता गराउन सक्नु नै सामाजिक अभियन्ताको काम हो । व्यक्तिको आफ्नो मौलिक अधिकारभित्र पर्ने व्यक्तिगत स्वतन्त्रतामा कुनै आँच नपुर्याई गरिने परिवर्तनले समाजका कुनै नकारात्मक असर पार्दैन भन्ने अनुुभव सँगालेको छु ।
तत्कालीन माननीय समाज कल्याणमन्त्री गोविन्दराज जोशीजीले अन्तर्राष्ट्रिय बाल वर्षमा उठेको चन्दाबाट स्थापित संस्था रत्न बालकोषको सभापति बनाउन थाल्दा मैले सदस्य सचिवमा एक जना दलित नेतालाई बनाउनुपर्छ भनेर भनेपछि उहाँले समाज कल्याण परिषदको अध्यक्षका नाताले पर्वतका मीठाराम विश्वकर्मालाई मनोनीत गरेर पठाइदिनुभयो ।
शिक्षण सेवा छाड्न बाध्य हुनुभएका कति त्यस्ता साथीहरू भेट्छु, न पेन्सन, न उपादान, न त पार्टीले वास्ता गर्यो । अहिलेको अवस्था कस्तो छ भने, स्वाभिमानी नागरिक भएकाले र बीपीको सिद्धान्तप्रति लागेकाले जस्तोसुकै कष्टलाई पनि जीवनको महत्त्वपूर्ण भाग्यको रूपमा स्वीकार गरेको देखिन्छ । भाग्यका खेल सम्झने अवस्था छ । तर, राजनीतिप्रति चासो भएपछि कल्पनाका अनेक ज्वारभाटा आउने जाने गर्छन् अझै ।
एउटा समावेशी सिद्धान्तलाई समाज कल्याण परिषद्ले स्वीकार गरेको थियो मेरो नेतृत्वको संस्थामा । पछि उनै विश्वकर्माजी नेपाल शिक्षक संघको निर्वाचित महासचिव भए, राष्ट्रिय समाचार समितिको अध्यक्ष भए र २०६३ सालको अन्तरिम सदनमा सांसद् भए । अर्थात् हामीले दलित भनेर पन्छाउँदा त्यस्ता क्षमतावान् मानिसहरू पन्छँदा रहेछन् । अहिले त समाजमा ती पहिले अन्यायमा परेकाहरूको सन्तानलाई क्षतिपूर्तिको व्यवस्था संवैधानिक रूपमा नै गरिएको छ, जसले गर्दा उत्तरदायी व्यक्तिहरूले अन्याय गर्न सक्छन् तर राज्यबाट अन्यायमा पारिनुहुँदैन भन्ने सिद्धान्तलाई आधार मानिएको छ, जसलाई संविधानले व्यवस्था गरेको सामाजिक न्याय पाउने हक मिलेको छ ।
र, संविधानले छुवाछूतलाई पनि दण्डनीय मानेको छ । हुनत मुलुकी ऐन, २०२०ले पनि त्यो प्रावधान राखेको थियो र बिस्तारै त्यसले पनि समाजमा समानताको हकको व्यवस्था गरेको मानिन सक्छ होला । समावेशी र आरक्षणको व्यवस्था कहिलेसम्म रहला भन्ने पनि जिज्ञासा समाजमा व्याप्त छ र त्यसका लागि वस्तुगत आधारमा मूल्यांकनको परिपाटी तयार गर्न सके मात्र सही पात्रमा त्यो सेवा पुग्न सक्ला कि ?
तर, पात्रताका आधारमा कसरी सेवा सही ठाउँमा पुर्याउन सकिन्छ भन्ने विषयमा त्यही वर्गका अन्यायमा परेर न्याय पाएकाहरूले नै त्यस्तो मानक तयार गर्न सक्छन् किनभने अब ती पनि सक्षम नेतृत्व गर्ने क्षमता भएकामा पर्छन् ।
म अहिले सोच्छु, के उद्देश्य राखेर आफूलाई समाजको सेवक बनाउन हिँडियो होला ? पत्रकारिता र शिक्षण दुवै मैले मेरालागि समाज बदल्ने औजारका रूपमा बुझेको थिएँ ।
र, आज पनि त्यही नै सम्झेर शिक्षा विषयको स्नातकोत्तर तहमा एउटा विषय छ सामाजिक न्याय शिक्षा । वार्षिक परीक्षाका बेलामा त्यो जुनसुकै विषयको विद्यार्थीले पनि इच्छाधीनको रूपमा अन्तरविषयक लिन सक्ने प्रावधान थियो तर अहिलेचाहिँ शिक्षा योजना तथा व्यवस्थापनको तेस्रो सेमेस्टरमा मात्र अनिवार्य विषयको रूपमा राखिएको रहेछ । वास्तवमा सामाजिक न्यायको धारणालाई त अनिवार्य रूपमा शिक्षा पढ्नेहरूका लागि जरुरी बनाउनुपर्ने थियो स्नातक तहदेखि नै विश्वका विभिन्न देशका बारेमा सामाजिक न्यायसम्बन्धी जानकारी दिनु ।
पहिले सचेत नागरिक हुने अनि आफू परिवर्तित भएपछि मात्र समाज परिवर्तनका लागि लाग्ने भनेर नै राजनीतिप्रतिको चासो थपिएको हो । झन् प्रजातन्त्रप्रतिको चाहना र प्रतिबन्धित अवस्थामा, त्यसमा पनि राजाले नै हत्या गरेर मुलुकलाई प्रजातन्त्रको विरुद्धमा श्रम शिविर नै बनाएका बेलामा प्रजातन्त्रवादी हुनु आफैँमा जोखिम थियो । अझैसम्म त्यो जोखिम समाप्त भएको छैन किनभने अहिले पनि प्रजातन्त्रविरोधीहरू विभिन्न नाममा समाजमा उग्र दक्षिणपन्थी र उग्र वामपन्थीका बेग्लाबेग्लै खोलमा देखिए पनि मुलुकलाई अराजकतातर्फ डोहोर्याउन उद्यत भएको पाइन्छ भने हामीले आफूलाई राजनीतिप्रति चासो राख्नेबेला भनेको या त विद्यार्थीहरूको संगठनमा लाग्नुपर्थ्यो या त भूमिगत रूपमा संगठित नेपाली कांग्रेसमा लाग्नुपर्थ्यो । प्रत्येक पेसाका लागि आफ्ना खुला संगठनका केही संस्थाहरू तत्कालीन मालेले तयार गरेको थियो र पेसाको नाममा नै सही, नेपाल राष्ट्रिय शिक्षक संगठन गठन भएको थियो ।
त्यसैमा लागियो तर त्यहाँ आफ्ना अभीष्टका लागि गरिने राजनीतिक खेलले प्रजातन्त्रप्रति कुनै चासो राखेको पाइएन किनभने जनमतसंग्रहमा या त संगठनका स्थापनाकर्ताहरूले पञ्चायतलाई सहयोग गरे या वहिष्कारको नाराले गर्दा बहुदलमा मत कम परेको थियो ।
मैले यसभन्दा पहिले पनि कुनै प्रसंगमा लेखेको थिएँ कि हामीसँग प्रजातन्त्रलाई मुख्य आधार मान्ने वामपन्थी साथीहरूसँग भने हाम्रो सहकार्य रह्यो नै ।
म राष्ट्रपुकार साप्ताहिकसँग पनि लेखनकार्यका कारणले जोडिएको थिएँ, त्यसको कारण थियो- होमनाथ दाइको व्यक्तित्वका कारणले । एउटा अडिग, स्वाभिमानी पत्रकारको रूपमा उहाँको परिचय त्यसबेलामा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा रहेको थियो किनभने निडरताका साथ र नियमिति तरिकाले प्रजातन्त्रका पक्षमा, अझ प्रतिबन्धित दल नेपाली कांग्रेसका लागि अनवरत लेख्ने उहाँ नै हुनुहुँदो रहेछ ।
अरु पनि प्रजातन्त्रका लागि लेख्ने भन्दा पनि हामी त पेसागत मान्छे हौँ, अनवरत प्रजातन्त्र चाहियो भनेर लेख्न त सक्दैनौँ भन्थे । पञ्चायतले पनि एउटा जमात तयार गरेको थियो, जसले दृश्यमा प्रजातन्त्रको पक्षमा देखिनेजस्तो गर्थ्यो तर अदृश्यमा पञ्चायतकै पक्षमा जनमत तयार गरेको हुन्थ्यो ।
तर, के थियो त मेरो अन्तिम उद्देश्य जीवनमा ? मलाई अहिलेसम्म त्यसबारेमा थाहा छैन तर कल्पनामा आउने धेरै इच्छाहरू शिक्षक भएपछि छाड्नुपर्ने रहेछ किनभने त्यहाँ मेरो मात्र भविष्यको प्रश्न होइन, हजारौँ विद्यार्थीहरूको भविष्यसँग जोडिएको थियो र स्वतन्त्र रूपमा राजनीतिक काममा खट्न मुस्किल पनि हुन्थ्यो । त्यसको कारण थियो, प्रतिबन्धित दलसँगको सामीप्यता ।
कति साथीहरूले त जोखिम लिएर शिक्षण पेसा नै छाड्नुभयो । खासगरी २०४२ सालको सत्याग्रहताका धेरै साथीहरूको सत्याग्रहमा सक्रिय सहभागिताका कारणले जेलमा बस्दा नै प्रशासनले सेवाबाट हटाएको थियो तर कतिपय साथीहरू पछि पुनर्बहाली हुनुभयो बहुदल आएपछि तर कतिले शिक्षण सेवाको त्यो बाटो नै छाडेर पूर्णकालीन राजनीतिमा लाग्नुभयो ।
मेरालागि एउटा सकारात्मक पक्ष के रह्यो भने, त्यसबेलामा म काठमाडौंमा पढाउने, अरू ठाउँमा भन्दा काठमाडौंमा केही राजनीतिक कामका लागि खुुकुलो पनि थियो । स्मरणीय छ, नेपाली कांग्रेसको अफिस नै सञ्चालनमा थियो कमलाक्षी, पछि जमलमा ।
एकातिर प्रतिबन्धित नेपाली कांग्रेस भनेर लेखिन्थ्यो तर गणेशमानजी, किसुनजी, गिरिजाबाबु नियमित रूपमा कार्यालयमा आउनुहुन्थ्यो र राजनीतिक छलफल भई नै रहन्थ्यो । म एकातिर शिक्षण पनि गर्थेँ भने राष्ट्रपुकारमा स्तम्भकारको रूपमा पनि कार्यरत थिएँ स्वेच्छिक रूपमा ।
पत्रिका हप्तामा एक पटक बिहीबार निस्कन्थ्यो । हाम्रालागि त्यो दिन खुसी र त्रासको हुन्थ्यो । खुसी यस कारणले कि हामीले नयाँ जानकारी दिन्थ्यौँ आमपाठकलाई प्रजातन्त्रका बारेमा, कांग्रेसका बारेमा अनि त्रासको कुराचाहिँ कुनै पनि बेला स्थानीय प्रशासनले हाम्रो पत्रिका जफत गर्ने र पत्रकारलाई पक्रने गर्न सक्थ्यो ।
तरबारको धारमा पत्रकारिता थियो पञ्चायतविरोधीहरूका लागिचाहिँ ।
खासगरी राजधानीबाहिरका शिक्षक साथीहरूका लागि कांग्रेस पनि भएर संगठन गर्ने अनि शिक्षकको रूपमा पनि कार्यरत रहन स्थानीय पञ्चहरूले पचाउन सकेका थिएनन् । बीपी राष्ट्रिय मेलमिलापको नारा दिएर आएपछि राजनीतिक रूपमा त केही होलो भएको थियो जनमतसंग्रह पछि तर २०४२ सालको सत्याग्रहपछि भने राजनीतिले नयाँ मोड लिँदै थियो किनभने त्यसपछि नै २०४६ सालको परिवर्तनको तयारी सुरु भएको थियो ।
त्यसबेलामा शिक्षण सेवा छाड्न बाध्य हुनुभएका कति त्यस्ता साथीहरू भेट्छु, न पेन्सन, न उपादान, न त पार्टीले वास्ता गर्यो । अहिलेको अवस्था कस्तो छ भने, स्वाभिमानी नागरिक भएकाले र बीपीको सिद्धान्तप्रति लागेकाले जस्तोसुकै कष्टलाई पनि जीवनको महत्त्वपूर्ण भाग्यको रूपमा स्वीकार गरेको देखिन्छ । भाग्यका खेल सम्झने अवस्था छ ।
तर, राजनीतिप्रति चासो भएपछि कल्पनाका अनेक ज्वारभाटा आउने जाने गर्छन् अझै । लागेको थियो, विधिवत् निवृत्त भएपछि राजनीतिको पूर्ण रूपमा राजनीतिमा जाने इच्छा थियो तर जब राजनीतिको यो विकृत रूप देखिन थालियो, त्यसका बारेमा के पो भनिरहनुपर्ला र ?
समानुपातिक उम्मेदवार, प्रत्यक्ष उम्मेदवार अनि निर्वाचनमा हुने खर्चका कारणले अब हामी जस्ताले राजनीतिप्रति चासो राख्नु नै अपराध जस्तै भएको बेला छ । त्यसपछि शुद्ध प्रजातन्त्रवादी भएर बाँच्ने इच्छा जागेर आयो । त्यही पनि मनले मान्दो रहेनछ । नेपाली कांग्रेसबाहेक अरू दलबाट प्रजातन्त्रको रक्षा होला जस्तो लाग्दैन तर त्यसका पनि कतिपय रणनीतिहरूले प्रजातन्त्रका पक्षमा भन्दा अवसरवादिताको पृष्ठपोषण गरेको हो कि जस्तो लाग्न थालेको छ ।
तैपनि आफ्ना मनका करा लेखेर समाजमा सम्प्रेषण गरिरहेको छु र गरिरहनेछु । कहिले लाग्छ, अझ समय छ, चाणक्यले भनेजस्तै बुझेको मानिसले राजनीतिमा सक्रियता देखाएन भने गलत मानिसले राजनीतिलाई आफ्नो कब्जामा लिनेछ ।
यसो सम्झना आउँछ, आरामसँग मुद्दाका फैसला लेखेर बस्ने श्रीमान् खिलराज रेग्मी अचानक मन्त्रिपरिषद्को अध्यक्ष हुनुभयो र घरमा पेन्सन लिएर बस्नुभएका पूर्वसचिवजीहरू मन्त्रालयको जिम्मामा पुग्नुभयो । काम पनि राम्रो यसरी गर्नुभयो कि यदि उहाँँहरू त्यसबेलामा सरकारका नजानुभएको भए दोस्रो संविधानसभाको निर्वाचन अहिलेसम्म पनि हुँदैन थियो कि ? अनि संविधान पनि अहिलेसम्म आउने थिएन कि ?
यसरी भाग्यले पनि राजनीतिको आँगनमा कुनैबेला पुर्याउँदो रहेछ- श्रीस्वस्थानी ब्रतकथामा गोमा ब्राह्मणीका छोरा नवराजलाई हात्तीले माला लगाएर राजा बनाएजस्तै ।
क्रमशः