कुलचन्द्र सिलवाल | दृष्टिकोण | फागुन १६, २०७८
प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व यस वर्ष १७ फागुनमा विश्वका सबै हिन्दुहरूले मनाउँदै छन् । यस महाशिवरात्रि पर्वलाई पर्वहरूको राजाको रूपमा चिनिन्छ ।
यस पर्वमा विश्वका शिवका ठूला-साना शिव मन्दिरहरूमा बडो धुमधामका साथ पूजापाठ गरी शिव महिमा, शिव भक्ति गाउँदै शिवलाई मनपर्ने वस्तुहरू बेल पत्र, चन्दन, गाईको दूध, घीउ, मह, पवित्र जल आदिसहित दर्शन गर्ने परम्परा चलिआएको छ ।
परापूर्वकालदेखि परम्परागत रूपमा चल्दै, मनाउँदै आएका पर्वमध्येमा महाशिवरात्रि शिवको जन्मोत्सवका रूपमा मनाइने विशेष महत्त्व बोकेको पर्व हो । पशुपतिनाथलाई सबै प्राणीहरूका देवादिदेवका रूपमा लिइन्छ ।
यसै पर्वको दिनलाई नेपाली सेनाले सेना दिवसको रूपमा पनि मनाउंँदै आएको छ भने शिवको अस्त्र त्रिशूल निशानी आफ्नो झण्डामा अंकित भएको छ ।
महाशिवरात्रि पर्व विश्वका सबै हिन्दुहरूको प्रमुख महान् चाड हो । भगवान् शिवजीको नामबाट चिनिने यस पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी ४ नामले पनि चिनिने पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।
यसै दिनमा ब्रह्माले रौद्ररूपी शिवलाई उत्पन्न गरेको र शिव-पार्वतीको विवाह भएको दिनका रूपमा पनि लिइन्छ । शिव भक्तजनहरूले निर्जल ब्रत, ४ प्रहरको पूजा गर्छन् । शिवलिंगमा दूध चढाउनु र भगवान् शिवको भजन-कीर्तन गरी रातमा जाग्राम बसी पूजा अर्चना गर्ने गरिन्छ । आशुतोष भगवान् शिवले यस पर्वलाई अतिप्यारो रूपमा लिनुभएको छ ।
शिवको रूपलाई बडो अचम्म र विचित्रको रूपमा लिइन्छ । शरीरमा भष्म लेपन गरी, गलामा सर्पको माला, कण्ठमा विषका साथै शिरमा जटा तारिणी पावन गंगा हुनुहुन्छ भने निधारको बीच भाग मस्तष्कमा प्रलयकर ज्वाला देखिन्छ । भगवान् शिवको परिवारमा गणेश, पार्वती, कुमार तथा वाहन नन्दी हुनुहुन्छ ।
शिव प्रेत र पिचासहरूसँग घेरिएर बस्नुहुन्छ । यस पर्वलाई हिन्दुहरूले चोकचोकमा फलफूल नैवेद्य, गाईको घीउ, भाङ, धतुरो, बेलपत्र, जल चढाएर धुनी जगाएर मनाउने र प्रसाद ग्रहण गर्ने गर्छन् । शिवलाई सबै प्राणीका देव, सम्पूर्ण दीन दुःखी, कष्टकर जीवनयापन गरेका प्राणीहरूको कल्याणका लागि पीडाबाट उन्मुक्ति दिनुहुने मानिन्छ ।
सही जीवनको मार्गलाई आत्मसात् गराई प्राणीहरूको जीवनलाई धर्ममार्गमा उत्प्रेरित गराउने, जीवनमा सुख, शान्ति, ऐश्वर्य वृद्धि, आयुदाता र आरोग्य दिनुहुने विश्वास लिइन्छ । शिवरात्रि पर्वको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ ।
विश्वका शिव एवं शाक्तलगायत सनातन हिन्दुहरूले महाशिवरात्रि पर्वलाई विशेष महत्त्व दिएर मनाउँदै आएका छन् । भगवान् पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा दर्शनार्थीहरू बर्सेनि लाखौँको संख्यामा आउने गरेका छन् । भारतलगायत विश्वका हिन्दुहरू आगमन हुँदै आएको सर्वविदितै छ । पशुपति क्षेत्रको विकास र संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको रेखदेख, संरक्षण, सम्बद्र्धन र विकासमा उत्तिकै चासो र चिन्तन गर्दै आएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा मनाइने, हरितालिका तीज, बाला चतुर्दशी, श्रावणी शिव मेला, दसैँ, तिहार, विभिन्न चाडपर्व एवं जात्राहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आाएको छ । यस महाशिवरात्रि पर्वमा सुरक्षा निकाय, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरू, सेवा प्रदायक सरकारी तथा गैरसरकारी निकायहरू एवं स्वतःस्फुर्त रूपमा खटिने स्वयंसेवकहरू सबैको उद्देश्य तथा ध्येय नै दर्शनार्थीहरूलाई के कसरी सहज र सुरक्षित तवरले छिटो छरितो रूपमा दर्शन गराउने भन्नेमा केन्द्रित भएको हुनुपर्ने र हुँदै आएको पनि छ ।
यस वर्षको महाशिवरात्रि पर्वलाई सोहीअनुसारको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषका संचालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यूको संयोजकत्मा महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति, २०७८ अन्तर्गत १० वटा उपसमितिहरू गठन भई कार्य प्रारम्भ भइसकेको छ । कोभिड- १९ संक्रमणको खतरा र जोखिम रहिरहेको अवस्था छ । पशुपति क्षेत्र विकास कोषले पनि यस वर्षको महाशिवरात्रि पर्वमा आउने दर्शनार्थी एवं भक्तजनहरूको लाखौँको संख्यालाई ध्यानमा राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वाथ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डलाई मानी शिवरात्रि पर्व मनाइने भएको छ ।
मास्क तथा स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरी समग्र रूपमा दर्शनलाई प्रभावकारी बनाई महाशिवरात्रि पर्व मनाउन १० वटा उपसमितिहरू गठन भएका छन् । उक्त उपसमितिहरूमा सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन चन्दन, मन्दिर एवं रात्रिकालीन व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण, सरसफाइ तथा जुत्ता-चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला, बजार तथा साजसजावट व्यवस्था, स्वयंसेवा परिचालन, मूल्यांकन तथा तथ्यांक संकलन उपसमितिहरू रहेका छन् ।
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने भएको छ । यसैगरी स्वयंसेवामा नेपाल स्काउटलगायतका गरी करिव ५ हजारको संख्यामा स्वयंसेवकहरूको परिचालन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जनस्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य शिविर श्री पशुपतिनाथको मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहित नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने करिव ६० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् । आपतकालीन व्यवस्थाका लागि एम्बुलेन्स र फायर इस्टिङ्गुसरसमेतको व्यवस्था मिलाइएको छ ।
यसैगरी प्रत्येक दर्शन मार्गलाई पायक पर्नेगरी एम्बुलेन्स स्ट्यान्डबाई रहने व्यवस्था गरिने भएको छ । दर्शन लाइनलाई पायक पर्ने गरी दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन मार्ग १, भुवनेश्वरी नजिक, १, बज्रघर दक्षिण १, राममन्दिर नजिक १ गरी जम्मा ५ ठाउँमा जुत्ता-चप्पलको कक्ष व्यवस्था मिलाइको छ । यसैगरी चन्दन वितरणका लागि मन्दिर नजिकैको मुख्य भित्री कोर क्षेत्र र बाहिर जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगंगामा समेत नेपाल वेद विद्याश्रमका बटुकहरूबाट चन्दन वितरण व्यवस्था मिलाइने भएको छ ।
मन्दिर प्रांगण तथा पूजाका लागि मन्दिर प्रांगणभित्र रात्रिकालीन व्यवस्थासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जनशक्ति र कोषका कर्मचारीहरू मात्र परिचालन गरिने भएको छ । भक्तजनहरूलाई दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोकाबाट दर्शनको व्यवस्था मिलाइनुका साथै विशेष पूजा बिहान र साँझमा ६ बजेपछि गरिने भएको छ ।
आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि भने हंश मण्डप वनकाली र तिलगंगाका क्षेत्रलाई आवास क्षेत्र तोकी करिव ९५ वटा संघसंस्थाहरूले निःशुल्क भोजन, पानी, चिया, वितरण गर्ने र आवास क्षेत्र नजिक शौचालयको उचित व्यवस्था मिलाएको छ ।
भोजन वितरण गर्ने आयोजक संस्थाहरूले आफ्नो स्टल नजिक डस्टबिनको अनिवार्या रूपमा व्यवस्थासहित प्लास्टिकका कप तथा प्लेटहरूको प्रयोग गर्न पाइनेछैन । यसैगरी साधु-सन्त सेवाका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र आवासको व्यवस्था मिलाइनुका साथै साधु-सन्तहरूका लागि धुनीको व्यवस्था गरिनेछ ।
महाशिवरात्रि पर्व सम्पन्नपश्चात् गुठी संस्थानले गर्ने बिदाई कार्यक्रममा पशुपति क्षेत्र विकास कोषको तर्फबाट रुद्रक्ष माला र दक्षिणाको व्यवस्थासहित साधु-सन्त बाबाहरूलाई बिदाई गरिनेछ ।
पशुपति दर्शनका लागि दर्शनमार्गको रूपमा भने गुह्येश्वरी गौरीघाट, उमाकुण्ड दक्षिणमूर्ति हँुदै रुद्रगाडेश्वर, उत्तर ढोकाबाट १ लाइन, मित्रपार्क, जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरीस्थित फलामका सानो ढोका हुँदै पश्चिम ढोका १ लाइन, बत्तीसपुतली गौशाला, एयरपोर्ट तिलगंगा भएर पिंगलास्थान सुमार्गी भवन आगाडिबाट ४ शिवालय पंचदेवल हुँदै दक्षिण ढोकाबाट एक-एक लाइन गरी बाहिरी रूपमा पशुपति शिव मन्दिर दर्शनका लागि ३ स्थानहरूबाट दर्शन लाइन हुनेछ । यसैगरी नित्य दर्शनार्थीहरूका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।
पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगंगा कोरिडोर उपलब्ध ठाउँ १, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृृत्त ट्राफिक प्रहरी प्रभाग गौशाला १, सिफलचौरको उपलब्ध ठाउँ १, गुह्यश्वरीपारि १ गरी ५ स्थानहरूमा पार्किङको व्यवस्था गरिएको छ भने एयरपोर्ट गौशाला, चाबहिलको रिङरोडमा दर्शनार्थी भक्तजनहरूको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइने तथा सडक छेउका फुटपाथमा कुनै पनि पसलहरू राख्ने अनुमति दिइनेछैन ।
धार्मिक कार्यक्रमहरू संचालनका लागि नेपाल तथा भारतका ख्यातिप्राप्त कलाकारहरूद्वारा हंश मण्डपमा भरत नाट्यम एवं ताण्डवसहितको त्रिदिवसीय भक्ति संगीतको प्रस्तुतिसहित पशुपति संगीत कला प्रतिष्ठानको आयोजनामा भजन-कीर्तनको कार्यक्रम महाशिवरात्रिमा गरिने भएको छ । साजसजावट तथा मेला बजारका लागि भने महाशिवरात्रि पर्वका लागि श्री पशुपतिनाथको मन्दिर प्रवेश गर्ने प्रवेशद्वारहरूसहित मन्दिर परिसरलाई बत्ती र फूलले विशेष किसिमले सिँगारिनेछ । महाशिवरात्रिको भोलिपल्टदेखि वनकाली क्षेत्रमा एक हप्ते मेला बजार संचालन गरिने गरी कोषले अनुमति दिइसकेको छ ।
पशुपति क्षेत्रलाई नेपालको कानुनद्वारा नै मास, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएको हुँदा महाशिवरात्रि पर्वमा समेत गाँजा, भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थको बिक्री वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।
पशुपति क्षेत्र प्लास्टिक निषेधित क्षेत्र पनि भएकाले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरूलाई भोजन। पानी, चिया वितरण गर्दा प्लास्टिक कप प्रयोग नगरिदिनुहुन कोषले अनुरोध गरेको छ ।
सम्मान गर्नुपर्ने व्यक्तित्व, ज्येष्ठ नागरिक, शारीरिक अशक्त, अपांगता भएका व्यक्तिहरूलाई समस्या परेमा आफ््नो नजिकको स्वास्थ्य शिविरमा सम्पर्क राख्नुहुन साथै नजिकैका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू वा स्वयंसेवकको सहयोग लिनका लागि पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।
यसैगरी स्वयंसेवकहरूले लाइनमा नराखी ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त एवं अपांगहरूलाई सिधै पशुपतिनाथ दर्शनको व्यवस्थासमेत मिलाइएको छ । वनकालीदेखि २ नं. गेट पोडेपाटीसम्म विद्युतीय टेम्पोबाट आवतजावत गर्ने व्यवस्थासमेत हुने भएको छ ।
स्वयंसेवकहरूले दर्शनार्थी भक्तजनहरूका लागि निर्देशनात्मक व्यवहार नगरी सभ्य, सुसंस्कृत एवं नम्र भाषा र मर्यादित व्यवहार गर्नसमेत कोषले विशेष अनुरोध गरेको छ भने स्थानीय वडा कार्यालयहरूले पशुपति मन्दिर आसपास बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि जारी गरिएको स्थानीय परिचयपत्र (पास)लाई मान्यता दिई आफ्नो बसोबास रहेको स्थानसम्म आवतजावत गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
ज्वरो आएका र अस्वस्थ भएको महसुस गरेकाहरूले आफ्नो र अरूको समेत स्वास्थ्य सुरक्षालाई ख्याल गरी भरसक सकेसम्म छिटो दर्शन गरेर भीडबाट बाहिरिनका लागि विनम्रतापूर्वक पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।