'ठगी धन्धाको पर्दाफास'

'ठगी धन्धाको पर्दाफास'

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन १७, २०७८

नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनुलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । 

एमालेद्वारा आज अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले पठाएको लिखित भाषणलाई उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठीक होइन, ठीक छैन भन्ने, एकैछिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर राष्ट्रघाती प्रस्ताव भन्नेजस्ता क्रियाकलाप केही दिनमा हामीले देख्यौँ । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’

उनले कुनै पनि देशको शर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर, देशको संसदबाटै प्रस्ताव पास भइसकेकाले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानुपर्ने पनि बताए । 

कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले  उक्त पदको गरिमाअनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको पनि बताए । यस पटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रूपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्गो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको पनि दाबी गरे । 

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको शाकाहारीले खोलाको माछाको खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्र भएको पनि बताए । ‘यो संसस्दीय अभ्यासको विद्रुप रूप मात्र भएको उनको ठहर छ ।