डोजरे विकासकाे कमजोर र कुरूप रुप: प्रकृति नै उलटपुलट भएका बेला विकासको के अर्थ ?

डोजरे विकासकाे कमजोर र कुरूप रुप: प्रकृति नै उलटपुलट भएका बेला विकासको के अर्थ ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  फागुन १८, २०७८

२०५२ सालतिर धादिङको गल्छीबाट त्रिशूलीको बगरै बगर हिँडेर हामी बिहेमा जन्त गएका थियौँ । गल्छीबाट देवीघाट जाने सडक बाटोको अवस्था भर्खर खनेको कच्ची थियो । पुलहरू कुनै पनि बनेका थिएनन् । विकासको घाम लाग्न सुरु भएको समय थियो त्यो ।

त्रिशूली जस्तो विशाल नदीलाई त्यति नजिकबाट त्यहाँभन्दा पहिले नदेखेकाले पनि हामी जस्ता बालबालिका अलिक बढी नै उत्साहित थियौँ । नदीको विशालताले भन्दा पनि नदी किनारमा जम्मा भएर घाम तापिरहेका गिद्धका बथानले हाम्रो मनोरञ्जनलाई अझै बढाएका थिए । त्यसअघि त्यति विशालकाय चरा मैले देखेको थिइनँ । कसैले यी भुँडीफोर भनेर चिनाए । कसैलेचाहिँ गिद्ध नै भनेर चिनाए । जे होस्, मैले पहिलोपल्ट गिद्ध देखेँ ।

टाउकामाथिबाटै छाया पारेर उडेका गिद्धले भय र विस्मय दुवै जगाएका थिए । त्यसभन्दा पहिले स्वस्थानीको मारकाटमा स्याल गिद्धको नाम सुनेको थिएँ । घरमा भएको रामायणको किताबमा पनि रावण जटायुको पखेटा काटेको रंगीन चित्र थियो तर जटायु गिद्ध हो भन्नेचाहिँ थाहा थिएन ।

तहाँ उप्रान्त आजसम्म धेरै पानी त्रिशूलीमा बगिसकेको छ । गल्छी देवीघाटको बाटो भएर अन्तका मानिससमेत गोसाइँकुण्ड जान्छन् । कसैले त्रिशूली किनारमा गिद्ध रमाएको देखेको छ त ? वर्षमा दर्जनौँ पटक त्यस मार्गबाट आवतजावत गर्दा आँखा बन्द गरेर हेर्छु- मेरो मानसपटलमा उही बेलाका गिद्धहरू नाचिरहन्छन् । उडिरहन्छन् । तिनको छाया आँखै अगाडिबाट टाउकालाई चिसो पार्दै ओझेल पर्छन् । जब आँखा उघारेर हेर्छु- बडेमानका पहेँलापहेँला क्रूद्ध फलामे गिद्धहरू निरन्तर त्रिशूलीलाई ठुँगिरहेका छन् । वक्ष फुटाइरहेका छन् । त्रिशूलीको क्षतविक्षत शरीरका टुक्राहरू बोकेर दिनरात टिपरहरू काठमाडौंतिर कुदिरहेका छन् ।

कच्ची बाटो पक्की बन्यो । त्यसपछि अहिले त ४ लेनको भइसक्यो । सडक किनाराका अग्ला रूख नासिए । अग्ला घर बने त्यही कारण गिद्ध बेघर बने । ढुंगा, गिट्टी उद्योगका कर्कश आवाजका अगाडि त्रिशूलीको विरहगान सुनिन सक्ने अवस्था नै छैन ।  आकाश ढाकिने धुवाँधुलोको मुस्लोको छायाले त्रिशूलीको पानी कालो भएको छ । त्रिशूलीको अनुहार दाँत झरेर थोते भएको छ ।

त्रिशूलीका बारेमा यति भनेपछि अब इन्द्रावती, सुनकोसी, तामाकोसी वा देशका कुनै पनि नदी र नदीमा आश्रित पशुपक्षीका बारेमा छुट्टै अनुच्छेद लेखिरहनुपर्छ जस्तो लाग्दैन । कालीगण्डकी बचाऊ अभियान नै चलेको । एक दिनको अखबारलाई मात्र अनुसन्धानको दायरामा राख्ने हो भने कुनै न कुनै नदीजन्य प्राकृतिक सम्पदाको दोहनसम्बन्धी समाचार अवश्य पनि पढ्न पाइन्छ ।

यस लेखको चिन्ता भनेको प्रकृतिको दोहनभन्दा पनि जीवजन्तु तथा चराचुरुंगीहरूको विनाश वा लोप हो । कतिपय जीवजन्तु तथा चराचुरुंगीहरू हामीले देख्दादेख्दै लोप हुँदै छन्- त्रिशूली किनारका गिद्ध जसरी ।

चरासित मानिसको सम्बन्ध के छ त ? भनेर खोज्न थाल्ने हो भने अनेकौँ ग्रन्थ निर्माण हुन सक्छन् । पशुपक्षी, मानिस र वनस्पतिबीच चक्रीय सम्बन्ध छ । यिनीहरूका बीचमा आदानप्रदान चलिरहन्छ र एकअर्काका बीचमा पारस्पारिक सम्बन्ध छ भन्ने कुरा थाहा नपाउने मानिस यो धर्तीमा कमै  होलान् ।

मानिस चराचुरुंगीका विषयमा कतिसम्म हृदहीन वा संवेदनाहीन रहेछन् एवं हामी कतिसम्म विकासका पछाडि अन्धो भएर कुदेका रहेछौँ भन्ने कुरा केही साता पहिले कान्तिपुरमा प्रकाशित समाचारबाट पनि जान्न सकिन्छ । राजमार्गको छेउको अग्लो सिमलको रूखमा दुर्लभ वा अतिसंकटापन्न सानो खैरो जातको गिद्ध गुँड बनाएर चल्ला कोरल्ने तयारीमा थियो । पोखराका चरा अनुसन्धाता हेमन्त ढकाल सोही चराको जीवनशैली नियाल्न तनहुँको शुक्लागण्डकी बारम्बार आइरहन्थे ।

पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि काटिने दशौँ हजार रूखहरूमा गिद्धले बच्चा कोरल्न लागेको त्यो सिमलको रूख पनि काटिँदै छ भन्ने थाहा पाएर उनी सम्बद्ध निकायमा पुगे । कम्तीमा पनि गिद्धले बच्चा नउडाउन्जेल रूख नकाटिदिन अनुरोध गरे । तर, पशुपक्षीको संवेदनालाई बुझ्न नसक्ने योजनाका मानिसले त्यो रूख पनि कटिदिए । गिद्धले बचेरा हुर्काउन पाएन ।

वातावरण सन्तुलनका लागि एउटा पातको पनि योगदान र भूमिका हुन्छ भने बडेबडे पशुपक्षीको नहुने कुरै भएन । यति बेला देशभर अन्धाधुन्ध विकास डोजरहरू दौडिरहेका छन् । तिनले प्रकृतिलाई यति छिटो कुरूप र कमजोर बनाउँछन् कि वर्णन गरेर साध्य छैन ।

हुनत यसो भन्दा विकासको विरोध गरेको पनि भन्ने ठान्लान् । विकास अहिलेको आवश्यकता हो तर प्रकृतिको सन्तुलन र पारिस्थितिक प्रणालीको निर्बाध सञ्चालन सधैँको आवश्यकता हो । प्रकृति नै उलटपुलट भएका बेला विकासको के अर्थ ? भूकम्पका बखत घर नै हाम्रा लागि असुरक्षाका कारण भएनन् र ?  

जब मानिसले विकास गर्न खोज्छ, त्यसको प्रत्यक्ष असर प्रकृति र अन्य जीवजन्तु कीटपतङ्गमाथि परिहाल्छ । प्रकृतिको विनाश गरेर जीवजन्तुलाई दुःख दिएर मानिसले शहर, सडक र उद्योग सञ्चालन गरेको हो । खाण्डवप्रस्थलाई इन्द्रप्रस्थ बनाउन अर्जुनले लगाएको डढेलोबाट क्रूद्ध बनेका तक्षकले अर्जुलाई त जीवनभर दुःख दियो नै, अर्जुनको नाति परीक्षितलाई भए पनि डसेरै छाडे । त्यही भएर देवकोटाले ‘नछोप्नू है चरीबरी सराप आँसु लाग्दछ’ भनेका हुन् ।  

चरासित मानिसको सम्बन्ध के छ त ? भनेर खोज्न थाल्ने हो भने अनेकौँ ग्रन्थ निर्माण हुन सक्छन् । पशुपक्षी, मानिस र वनस्पतिबीच चक्रीय सम्बन्ध छ । यिनीहरूका बीचमा आदानप्रदान चलिरहन्छ र एकअर्काका बीचमा पारस्पारिक सम्बन्ध छ भन्ने कुरा थाहा नपाउने मानिस यो धर्तीमा कमै  होलान् ।

तर, यही कुरा पशुपक्षी र वनस्पतिलाई भने थाहा छैन । जैविक हिसाबले उनीहरू मानिसलाई सहयोग गरिरहेका छन् । जल, जमिन र जंगल मानिसका लागि मात्र होइन, अपितु पृथ्वीमा जीवन लिएर उत्पन्न हुने सबै प्राणीको साझा सम्पत्ति हो । प्राकृतिक वस्तुको प्रयोग मानिसले योजनाबद्ध तरिकाले गर्छ तर अन्य प्राणीले भने प्राकृतिक हिसाबले नै प्रकृृतिको उपयोग गर्छन् । विवेकशील भएका नाताले प्रकृतिप्रति संवेदनशील हुनु मानिसको दायित्व हो ।