अविश्रान्त ‘विश्रान्त’मा रूपक

अविश्रान्त ‘विश्रान्त’मा रूपक

विभूति शर्मा  |  साहित्य  |  फागुन २१, २०७८

साहित्य लेखन, अभियान, प्राध्यापनमा संलग्न युवा व्यक्तित्व हुन्, रूपक अलङ्कार । बोली र लेखनमा उस्तै शैली र भावभंगिमा प्रस्तुत गर्न रुचाउने रूपकमा देखावटीपनाभन्दा प्राकृतिक स्वभाव बढी पाइन्छ । संस्कृतमा (वेदमा) आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर रूपक अखबारी लेखन र साहित्य समालोचनामा पनि सक्रिय छन् ।

यी अनेक व्यक्तित्व बनाएका रूपक लामो समयदेखि नेपाली गजल परिष्कार अभियानमा पनि संलग्न छन् । गजलप्रधान संस्था अनाममण्डलीका मूली पनि हुन् रूपक ।

यसअघि नै ‘देशको पुर्पुरो’ नामक गजलकृति ल्याएका उनै रूपकले भर्खरै ‘विश्रान्त’ महाकाव्य बजारमा ल्याएका छन् । लाग्छ- गजल क्षेत्रमा सक्रिय स्रष्टाले महाकाव्य र काव्यका कृति बजारमा ल्याउने अत्यन्त न्यून स्रष्टामा परेका छन् रूपक । यस अर्थमा रूपक बधाई र धन्यवादका पात्र बनिसकेका छन् ।

‘विश्रान्त’ संरचना र आयामका दृष्टिले महाकाव्य बनेको छ । १३ वटा सर्गमा बद्ध विश्रान्त मध्यम आयामको महाकाव्य हो । विगतमा देशमा बलेको द्वन्द्वको आगोलाई विषय बनाएको यस महाकाव्यमा त्यही सन्दर्भका अनेक परिवेश र परिघटना प्रस्तुत गरिएको छ ।

द्वन्द्वको भुङ्ग्रो कसरी दावानल भएर फैलियो अनि उक्त द्वन्द्वले गाउँघर, शहर र बस्तीमा के कस्ता वितण्डा मच्चायो ? गाउँले मनोविज्ञान र सामाजिक परिवेश कस्तो रह्यो ? मानिसहरू कसरी र केका लागि द्वन्द्वमा उत्साहित बने ? केकेसम्म भोगे, गरे र अन्त्यमा त्यसबाट के उपलब्धि हासिल गरे वा सकन हासिल गर्न सकेनन् उद्देश्यअनुसारका उपलब्धि भन्ने विषयलाई काव्यात्मक ढंगले प्रस्तुत गरेका छन् कविले यस कृतिमा ।

एउटा सामान्य ग्रामीण परिवार र परिवेशका पात्रहरूलाई कथाका मूल पात्र बनाएर अघि बढेको महाकाव्य फैलिँदैफैलिँदै जान्छ र द्वन्द्वको अप्रत्यासित अवसानसम्म पुग्छ । अप्रत्यासित यस अर्थमा कि द्वन्द्वको लक्ष्य र उद्देश्य पूरा नभई द्वन्द्व सम्झौतामा पुगेर टुंगिन्छ । सम्झौतामा टुंगिएको द्वन्द्वपछिको हरेक अवस्था सम्झौता र मिलिभगतबाटै चल्छ ।

विराट अपेक्षाबाट सुरु भएको द्वन्द्व अन्ततः झिनो आशामा गएर बिलाउँछ । केही सीमित व्यक्तिहरू सदैव शक्ति र सत्तामा रहेर मस्ती गर्नै तर द्वन्द्वका मूल सारथिहरू भने सडक र पेटीमा बस्ने बाध्यता बन्छ ।

यही र यस्तै अवस्थालाई महाकवि अलङ्कारले ‘विश्रान्त’मा देखाएका छन् । महाकाव्यमा ‘चेतना’ पात्रलाई ‘विवेक’ र ‘साहस’का रूपमा प्रस्तुत गरेका छन् । तथापि, चेतनाको अप्रत्यासित अवसानले महाकवि शून्यवादतिर उन्मुख बन्छन् । चेतनाको अवसान क्रान्तिका सन्दर्भमा शून्यवादको प्रस्थान हो । यसर्थ त्यति साहसी, प्रस्ट र निर्भीक अनि लक्ष्य-प्रस्ट चेतनालाई अर्को कथाको पात्रमा निरन्तरताका लागि भए पनि बचाइराख्नु उपयुक्त हुन्थ्यो कि भन्ने पाठकलाई लाग्न सक्छ ।

रूपक अन्त्यमा आएर ‘टाउको लुकाउन’ प्रयासरत छन् । ‘प्रगतिवादी’को प्रहारबाट बच्ने उपायका रूपमा महाकाव्यको बिसौनीमा उनले क्रान्तिको अर्को अध्याय बाँकी नै रहेको सन्देश भने दिएका छन् । निराशा, कुण्ठा, अविकास, अराजकताका बीचमा पनि हालसम्मका सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै अझ सुन्दर भविष्यको कामना गरेका छन् उनले ।

तथापि, रूपक अन्त्यमा आएर ‘टाउको लुकाउन’ प्रयासरत छन् । ‘प्रगतिवादी’को प्रहारबाट बच्ने उपायका रूपमा महाकाव्यको बिसौनीमा उनले क्रान्तिको अर्को अध्याय बाँकी नै रहेको सन्देश भने दिएका छन् । निराशा, कुण्ठा, अविकास, अराजकताका बीचमा पनि हालसम्मका सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै अझ सुन्दर भविष्यको कामना गरेका छन् उनले ।

भन्छन्-
हिजो लडेको उपयुक्त लागी
अझै हिँडेको नि म हैन भागी
छु चेतनाको स्मृतिले बिमार
परन्तु स्विकार्दिनँ आज हार । (पृ. २१५)

जब सहयात्री चेतनाको अवसान हुन्छ, तब बिक्षिप्तझैँ बनेको म पात्र शोकलाई शक्तिमा बदल्ने प्रयास गर्छ । अनि, चेतनाको अवसानलाई पुनः क्रान्तिका लागि होमिन बाध्य पार्ने परिघटनाका रूपमा लिन्छ । र, भन्छ-

हो क्रान्तिको रूप बदल्नुपर्छ
विध्वंशका आकृति भुल्नुपर्छ
यी सिर्जनाका बिरुवा उमारी
ढकाउँदै जान्छु म खेत-बारी । (पृ. २१६)

यसरी महाकाव्यको नाम ‘विश्रान्त’ दिएर क्रान्ति ‘अविश्रान्त’ बगिरहने सन्देश दिन रूपक सफल छन् ।

महाकाव्यमा एक दर्जनभन्दा बढी पिंगल छन्दको प्रयोग गरिएको छ । छोटा आयामका छन्दमा बढी खेलेका छन् कवि । प्रचलित छन्दहरूकै बाहुल्य कृतिमा देखिन्छ । छन्दोबद्ध महाकाव्यका रूपमा ‘विश्रान्त’ आएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको ‘विश्रान्त’को मूल्य ३७५ रुपैयाँ छ ।