लोकसंवाद संवाददाता | लोकसंवाद | फागुन २४, २०७८
काठमाडौं । एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले अहिलेको अवस्थामा आउन धेरै चुनौतीको सामना गरेकी छन् । बराल विश्वविद्यालयका विद्यार्थीमाझ र राजनीतिमा जति आदर्श र गर्विलो पात्र देखिएकी छन्, त्योभन्दा बढी संघर्षले खारिएकी छन् ।
स्कुले जीवनदेखि नै अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी बरालले केन्द्रीय अध्यक्ष बन्दासम्म अवसरसँगै अनेकौं हन्डर ठक्कर पनि खाएकी छन् । राजनीतिक रूपमा हुने प्रतिस्पर्धा त छँदै थियो, महिला भएकै कारण धेरै अवसरबाट पछाडि हुनुपरेको उनको तीतो अनुभव पनि छ ।
स्कुल र प्रवीणता प्रमाणपत्र तह झापा र स्नातक तहसम्मको अध्ययन मोरङमा पूरा गरी २०६५ असोजमा स्नातोकत्तर तह अध्ययनका लागि बराल काठमाडौं आइन् । झापास्थित गौरादह बहुमुखी क्याम्पस र मोरङस्थित गोग्राह कलेजमा विद्यार्थी संगठनको नेतृत्व सम्हालेको अनुभव भए पनि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको माहोलमा उनलाई सुरुमा भिज्न निकै मुस्किल भयो । आफू हराएजस्तो, केही गर्न सक्दिन जस्तो महसुस भयो, तर उनले हिम्मत हारिनन् । बिस्तारै आफूलाई राजनीतिक रूपमा पनि सक्रिय बनाउन थालिन् ।
१९औँ अधिवेशनबाट अनेरास्ववियुको केन्द्रीय सदस्य बनेकी बराल २०औँ अधिवेशनबाट सचिवालय सदस्य बनिन् । त्यसपछिको अधिवेशनमा सचिवको तयारी गरेकी उनी अन्तिम समयमा आएर सचिवालय सदस्यमा दोहोरिन बाध्य भइन् । कमजोर कार्यशैली प्रस्तुत गरेको भन्दै नेतृत्वले उनीसँग जवाफ माग्यो । उनी आफूलाई नेतृत्वले जानीजानी ‘ब्याक’ गराएर विवेक हीन निर्णय गरेको महसुस गरेकी थिइन् । संगठनमा राम्रो काम गर्दागर्दै पनि नेतृत्वले कार्यशैलीमाथि प्रश्न गर्दा आफूले हीनताबोध गरेको उनी बताउँछिन् ।
काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय गरी तीनवटा विश्वविद्यालयको इन्चार्जको रूपमा काम गर्दै आएकी उनको जिम्मेवारी पनि खोसेर नेतृत्वले एउटा मात्रै विश्वविद्यालयको इन्चार्जको जिम्मेवारीमा खुम्च्यायो । यो नै उनको राजनीतिक यात्राको सबैभन्दा तीतो अनुभव थियो । जिम्मेवारी खोसिनु को कारण उनले आजसम्म बुझ्न सकेकी छैनन् ।
संघर्षपछिको सफलता
अनेरास्ववियुको सचिवालय सदस्यमा दोहोरिएर बस्नुपर्दा र तीनवटा विश्वविद्यालयको भइरहेको इन्चार्जको जिम्मेवारी पनि खोसिँदा उनी निरास त भइन् नै, त्यसले संघर्ष गर्ने थप प्रेरणा पनि मिल्यो । त्यस ताका संगठन निर्माण र अध्ययनमा थप लगनशील बनेर नेतृत्वको विश्वास जित्दै गइन् । तर पनि बेलाबखत महिला भएकै कारण संगठनका जिम्मेवारी पाउने क्रममा विभिन्न प्रश्नहरूको सामना भने बरालले गरिरहिन् ।
सक्रियता र लगनशीलताका कारण २०७२ सालमा भएको अधिवेशनमार्फत उनी अनेरास्ववियुको उपाध्यक्ष बन्न सफल भइन् । त्यतिवेला हालकी प्रतिनिधिसभा सदस्य नवीना लामा उक्त संगठनको अध्यक्ष बनेकी थिइन् । ‘त्यतिवेला नेतृत्वले मलाई संगठनमा थन्क्याउन उपाध्यक्ष पद दिएको थियो, तर संगठनमा इमान्दारीपूर्वक जिम्मेवारी पूरा गरेर अर्को कार्यकालमा अध्यक्ष बनें,’ बरालले न्युज कारखानासँग भनिन् ।
गत असोजमा २३औं अधिवेशनबाट उनी अनेरास्ववियुकी अध्यक्ष बनेकी हुन् । अधिवेशनको अन्तिम समयमा पनि पार्टी नेतृत्वको एउटा समूह उनलाई अध्यक्ष बन्न नदिने रणनीतिमा थियो । यही संगठनले आगामी तीनै तहको निर्वाचनमा भूमिका खेल्नुपर्ने भएकाले तथा एमाले र माओवादी केन्द्र छुट्टिएको परिस्थितिको एमालेको संगठनलाई चुस्त बनाउनुपर्ने हुँदा महिलालाई उक्त जिम्मेवारी सम्हाल्न चुनौतीपूर्ण हुने भन्दै केही शीर्ष नेताले बराललाई अध्यक्ष बन्ने योग्यता नभएको बताएका थिए । तर उनले नेतृत्व पंक्तिको विश्वास जितेर अध्यक्ष बनिन् ।
‘अनेरास्ववियुको अध्यक्ष बनेर नियाल्दै गर्दा महिला ओहोदामा पुगे पनि हेर्ने दृष्टिकोण भने राम्रो देखेकी छैन । अर्को कोही व्यक्तिसँग जोडिएर मात्रै महिलाको सफलता सम्भव भएको हो भनेर हेर्ने हाम्रो समाज छ । तर कामले नै जितेर देखाउनुपर्छ, कामभन्दा अर्को विकल्प छैन,’ उनी भन्छिन् । आफू अध्यक्ष बनेपछि संगठन बलियो बनाउन लागिपरेको उनको भनाइ छ
परिवारको साथ भए पनि आफन्त र समाजलाई जवाफ दिनुपर्दा हैरान
अविवाहित बराल अनेरास्ववियुको अध्यक्षसम्म आइपुग्दा उनलाई बुबाको ठूलो साथ छ । घरपरिवारका अन्य कोही सक्रिय राजनीतिमा नभए पनि उनका बुबा एमाले समर्थित हुन् । निजामती कर्मचारी भएका कारण बुबा राजनीतिमा लाग्न नपाए पनि छोरीको सक्रियताले उनी खुसी नै छन् ।
०६२/०६३ सालतिर माओवादी संगठनमा सुनितालाई पठाउन नमान्दा उनका बुबा मोरङको माथिल्लो भेगमा दुई दिनसम्म बन्धकसमेत बसेका थिए । राजनीतिमा आफूलाई बुबाले त्यो हदसम्मको सहयोग गरेको सम्झिँदा उनी अहिले पनि भावुक हुन्छिन् । झापा र मोरङमा बस्दा बुबाआमा र काकाको साथ पाएकी उनी काठमाडौं आएपछि मामाघरमा बसिन् । राजनीतिक गतिविधिमा धेरै सक्रिय हुन थालिन् । जुन हेर्ने र देख्नेहरूका लागि दैनिकी असहज बन्दै गएको थियो । उनले महिला नैतिकता र चरित्रसँग जोडिएर धेरै प्रश्नहरूको सामना गर्नुपरेको थियो ।
नेतृत्वमा पुग्न चाहने महिलालाई उनको सुझाव
जुनसुकै क्षेत्रमा पनि नेतृत्वमा पुग्न चाहने महिलालाई उनी काम गरेर विश्वास जित्न सुझाव दिन्छिन् । कसैलाई प्रभावमा पारेर भन्दा पनि आफ्नो क्षमताले अघि बढ्दा राम्रो हुने उनको बुझाई छ । आफूले के काम गर्न खोजेको हो राम्रोसँग स्पष्ट भएर मात्रै अघि बढ्नुपर्ने बरालको अनुभव छ । महिला, महिला मात्रै बीच भन्दा पनि खुल्ला रूपमा प्रतिस्पर्धा गर्न आँट जुटाउनुपर्ने उनको सुझाव छ ।
महिलाका सम्बन्धमा कानुन पर्याप्त, कार्यान्वयन भने फितलो
नेपालको संविधानमा महिला मैत्री कानुन समेटिए पनि कार्यान्वयनको पाटो फितलो हुँदा समस्या भएको उनी बताउँछिन् । भएका कानुन पालना भयो भने महिला हत्या, हिंसालगायत अन्य अपराधमा कमी आउने उनको बुझाई छ । ‘कानुन लागु हुने हो भने मान्छे गल्ती गर्न डराउँछ, तर हामीकहाँ त्यसो हुनसकेको छैन,’ उनी भन्छिन् । एकदिन तामझामका साथ दिवस मनाउनुभन्दा पनि भएका कानुनको कार्यान्वयन गर्न जोड दिनुपर्ने उनको तर्क छ ।
ईश्वरी बराल/न्युज कारखाना