रूपक अलङ्कार | दृष्टिकोण | फागुन २५, २०७८
अनामनगरको पोखरेल बेकरीमा गफैगफका क्रममा घनेन्द्र ओझाज्यूबाट घोषणा भयो, ‘अनुहार पटक्कै नमिलेको, हेर्दा कालो, हाँस्दा दाँत मात्र सेतो देखिने, बोलीवचन रूखो, झुक्किएर मान्छे जस्तो बनेको मान्छे कोही छ भने त्यो रूपक अलंकार हो तर मान्छे असल छ ।’
यति सुन्दा सुन्ने बाँकी मान्छेहरू त हाँसिहाले, म पनि हाँसी नै रहेँ किनभने मलाई थाहा छ- कुनै म राजेश हमाल होइन । मसँग त्यस्तो जीउ-ज्यान छैन ।
त्यही भएका सेता दाँत पनि देखिँदैन भन्ने मलाई थाहा छ । तर, मान्छे को हो त ? मान्छे कालो, अनुहार, रूप-रङ नमिलेको हो कि असलचाहिँ हो ? यसको उत्तर यद्यपि ओझाज्यूको म माथिको ‘ब्याख्यात्मक टिप्पणी’मै समावेश भएको छ- सामान्य रूपले बुझ्दा ।
‘मान्छेचाहिँ असल छ तर रूप-रङ हेरिसाध्य छैन’ भन्ने आशय जो कसैले बुझ्ने कुरा हो । भनेपछि मान्छे त रूप-रङभन्दा फरक रहेछ । मान्छे हुनुको भाव पनि फरक रहेछ । मान्छे त असल हुनुको गुणमा प्रकट हुने रहेछ नि त !
राजा जनकका दरबारमा शास्त्रार्थ हुने भयो । देश देशावरबाट विद्वान्हरू जनकपुर आउन थाले । यसको समाचार अष्टाबक्रको कानमा पनि पर्यो । उनी पनि शास्त्रार्थमा सहभागी हुनका लागि जनकपुर पुगे ।
जब उनी जनकको विद्वत्सभामा उपस्थित भए, उनको शरीरलाई देखेर सभामा उपस्थित पण्डितहरू हाँसे । अष्टाबक्रले मान्छेको भित्री व्यक्तित्वलाई विचार नगरी शरीरलाई मात्र हेरेर मूल्यांकन गर्ने पण्डितहरूलाई पण्डित नभनेर चमारको संज्ञा दिए । देशका ठूलाठूला जल्दाबल्दा विषयमा खराखरा बहस हुने भएकाले अनामनगरमा रहेको पोखरेल बेकरीको महत्त्व जनकको विद्वत्सभाको भन्दा कम छैन ।
मान्छे रूप र सारमा फरक हुन्छ भन्ने कुरा अष्टाबक्र र ओझा दुवैका तर्कबाट प्रष्ट हुन्छ । मान्छे मनले सफा हुनुपर्छ भनेको पनि त्यही होला । हरेकको ओठमा मानिस रूपले होइन, मनले सुन्दर हुनुपर्छ भन्ने गीत झुण्डिरहेको पाइए तापनि मानिसको दौड रूपकै पछाडि हुन्छ भन्ने कुरामा धेरै शब्द खर्च गरिरहनु मूर्खता हो ।
तर पनि मान्छे के हो ? भन्ने समस्या त ज्युँका त्युँ नै रह्यो । असल मान्छे भन्ने विशेषणमा रहेको असललाई सज्जन भनेर पनि बुझ्न सकिन्छ । सज्जन को त भन्दा, जो दुर्जन छैन, त्यही सज्जन हो । फेरि दुर्जन को भन्दा, जो धूर्त छ । मूर्ख र धूर्त एउटै होइन तर उस्तैउस्तै चाहिँ हो । मूर्खले आफूलाई पनि हानि पुर्याउँछे भने धूर्तले सकेसम्म अरूलाई मात्र बर्बाद पार्ने प्रयत्न गर्छ ।
मूर्खका विषयमा कसैले भनेका छन्, ‘मूर्खस्य पञ्च चिह्नानि गर्वाे दुर्वचनं तथा । हठश्चैव विषादश्च परोक्तं नैव मन्यते ।’
मूर्खलाई चिन्ने ५ वटा आधार छन्- जो अहङ्कारी छ, जसले दुर्वचनभन्दा अरू बोल्नै जान्दैन, जो औधी हठ गर्छ, जे बेकारमा दुःख मनाउ मात्र गरिरहन्छ र जो अरूको कुरा फिटिक्कै मान्दैन ।
हुनत यहाँको प्रसंग को असल ? वा कस्तो मानिसलाई असल भनिन्छ ? भन्ने थियो तर कुरा बढी धूर्त, मूर्ख र सज्जनको गरियो । खासमा गलत कुरा चिनेपछि बाँकी रहने भनेको असल कुरा नै हो । त्यस कारण जो मानिस मूर्ख, धूर्त र दुर्जन छैन, त्यही मानिस सज्जन हो र असल पनि हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
यस सूक्तिलाई मनन गर्ने हो भने हामी जस्ता धेरैले आफूलाई मनको ऐनामा हेर्नुपर्ने हुन्छ । हामी कति प्रतिशत मूर्ख छौँ भन्ने कुरा त्यहीँ थाहा हुन्छ । मूर्ख मान्छे असल हुने सम्भावना कति होला र !
मूर्ख खतरनाक कि धूर्त खतरनाक भन्ने विवाद आरम्भ गर्नु अगाडि कसलाई धूर्त भनिन्छ भन्ने विषय शास्त्रलाई सोधौँ ।
मुखं पद्मदलाकारं वाचा चन्दनशीतला ।
हृदयं क्रोधसंयुक्तं त्रिविधं धूर्तलक्षणम् ।
मुख कमलपुष्प समान सुन्दर हुने, वचन चन्दन जस्तै शीतल हुने तर मनमा भने रिसको आहाल जमेको मान्छे नै धूर्त हो । शास्त्रोक्त वाणीअनुसार सज्जन हुनका लागि अनुहार राम्रो हुनुपर्छ भन्ने छैन । अनुहार त धूर्तको पनि मुहार मनोहर हुन सक्छ ।
असल हुनका लागि बोली मिठै हुनुपर्छ भन्ने छैन । धूर्तको पनि बोली मिठो हुन सक्छ । यसको मतलब अनुहार राम्रो र बोलीवचन मिठो हुनेजति सबै धूर्त हुन्छन् भन्न खोजेको कदापि होइन । अनुहार कुरूप र बोली तुच्छ हुने मान्छे पनि उत्तिकै धूर्त हुन सक्छ । तर, हृदयमा क्रोध छैन भने जो पनि सज्जन् हुन सक्छ ।
संगत गुनाको फल हुने भएकाले सज्जनसित नै संगत गर्नुपर्ने हुन्छ । नेयं सज्जन संगे चित्तम् (सज्जनको संगतमा चित्त लगाउनुपर्छ) भन्ने आप्तवाक्य पनि छ । सज्जनको संगत हृदयलाई शीतल बनाउने खालको हुन्छ भने दुर्जनको संगत मनमा रिस, राग, ईष्र्या बढाउने खालको हुन्छ । त्यस कारण दुर्जन सर्वथा परित्यज्य हुन्छ ।
दुर्जनः परिहर्तव्यो विद्ययालङ्कृतो पिसन्
मणिना भूषितः सर्पः किमसौ न भयङ्करः ।
विद्वान् नै भए पनि दुर्जनसित संगत गर्नुहुँदैन । जसरी मणिले विभूषित भए पनि सर्प भयंकर हुन्छ, त्यसरी नै विद्वान् नै भए तापनि दुर्जन खतरनाक हुन्छ । त्यस कारण पढेका मानिस सबै सज्जन हुन्छन् भन्ने छैन । अरूको कुभलो गर्ने सीप पनि त्यस्तासित नै बढी हुन्छ ।
दुर्जनेन समं सख्यं प्रीतिञ्चापि नकारयेत्
उष्णो दहति चांगारः शीतं कृष्णायते करम् ।
खासमा दुर्जनसित मित्रता र प्रेम दुवै गर्नुहुँदैन । जसरी अँगार तातो हुँदा पोल्छ र चिसो हुँदा हातै कालो बनाउँछ, दुर्जनले पनि जुनसुकै अवस्थामा हानि पुर्याउन सक्छ । यहाँ संस्कृतका सूक्ति उद्धृत गरेर आफ्ना कुरा प्रमाणित गर्न खोजेको होइन मैले । यी अनुभवसिद्ध ज्ञान हुन् । त्यस कारण प्रमाणित नै छन् ।
नपत्याए तपाईंले पनि अफू वरिपरिका मानिसलाई विचार गर्न सक्नुहुन्छ अथवा आफ्नै व्यवहारलाई पनि निर्मम भएर मनन गर्न सक्नुहुन्छ । धेरै जस्ता लक्षणहरू त हामी आफैँसित मिल्न पनि सक्छन् ।
दुर्जनः प्रियवादी च नैव विश्वासकारणम्
मधु तिष्ठति जिह्वाग्रे हृदि हलाहलं विषम् ।
दुर्जन र प्रियवादीमाथि विश्वास गर्नुहुँदैन किनभने यिनको जिब्रोमा मह हुन्छ र मनमा हलाहल विष । यसको मतलब प्रियवादी वा मिष्ठभाषी हुनु नै दुर्जन हुनुको लक्षण कदापि होइन । मिठो बोली त मानिसको उच्चकोटिको गुण हो । तर, दुर्जनहरूले त आफ्नो प्रमुख अस्त्र नै मिठो बोलीलाई बनाएका हुन्छन् । सुुन्नेलाई समेत लाज लाग्ने गरी चेपारो घस्न पछि नपर्ने खालका हुन्छन् । मनमा घृणा बोकेर ओठेभक्ति गाउनै मान्छे भयानक दुर्जन हो ।
हुनत यहाँको प्रसंग को असल ? वा कस्तो मानिसलाई असल भनिन्छ ? भन्ने थियो तर कुरा बढी धूर्त, मूर्ख र सज्जनको गरियो । खासमा गलत कुरा चिनेपछि बाँकी रहने भनेको असल कुरा नै हो । त्यस कारण जो मानिस मूर्ख, धूर्त र दुर्जन छैन, त्यही मानिस सज्जन हो र असल पनि हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।