पूर्ण ओली | दृष्टिकोण | फागुन २६, २०७८
चाबहिल महाँकाल फाँटमा फैलिएको फराकिलो जग्गामा २०४०/०४१ सालमा हरियाली खेत थियो । त्यसभन्दा केही वर्ष अघिसम्म रिङरोडबाहिर धोबी खोलाको पूर्वमा नेपाली सेनाबाट प्यारा जम्प गराइन्थ्यो ।
पहिला रिङरोडसँगै रहेको गोपीकृष्ण हल नहुँदासम्म यो सरस्वतीनगरको नामले चिनिन्थ्यो, जसको सिमाना उत्तरमा कपन गाविससम्म थियो । अहिले धेरै उपभोक्ता समिति बन्न थाले । क्रमशः नयाँ नाम पनि थपिएपछि सरस्वतीनगर खुम्चिएको छ ।
पहिलादेखि नै चाबहिल र बौद्धको सीमा विवाद रहेको यस क्षेत्रको धेरै भाग ६ नम्बर वडामा पर्छ भने पश्चिमतर्फको केही भाग ७ नम्बर वडा चाबहिलमा पर्छ ।
पहिलादेखि नगरपालिकाभित्र रहेको यो क्षेत्र कपन गाविसको सँधियार हो । यसको सिमाना चकुन्चा खोलाले छुट्याएको छ । चकुन्चाको वारिपारिको खासै विकास नभए पनि घरहरू पनि धमाधम बनिरहे । यी गाउँ र शहरलाई व्यवस्थित गर्ने कुनै राम्रा योजनाहरू आएनन् । यसको मार भने चकुन्चा खोलाले बेहोरिरहनु पर्यो ।
यो पहाडदेखि बगेर आएको खोलामा वर्षाको पानी धान्न नसकेर खोला बाहिरसम्म जाने गथ्र्यो । सुरुसुरुमा सरस्वतीनगर र कपन जोड्ने कुनै कल्भर्ट वा पुल थिएनन् । पानी परेका बेला स्कुल जाने केटाकेटीलाई खोला तर्न कठिनाइ हुन्थ्यो ।
सरस्वतीनगरमा सानो बस्ती मात्र थियो । यहाँका खाली खेतहरू घडेरीमा बिक्री हुन थालेपछि मानिसहरूले जग्गा किन्न थाले । आउने-जाने सानो चाबहिल-कपन बाटो थियो । तर, समस्या चकुन्चा खोला थियो ।
खासगरी खोलामा बाढी आउँदा तर्न कठिनाइ देखेपछि भर्खरै घर बनाएर बस्नुभएका खगेन्द्र पराजुलीको पहलमा सात तलेमा सानो पुल बन्यो । अहिले ऐतिहासिक घर सात तले पनि २०७२ सालको भुइँचालोले भत्केर नयाँ घर बनेको । पछि बनेर पनि नाम चलेको गोपीकृष्ण हल पनि भत्काइसकिएको छ ।
घरहरू बढ्ने क्रमसँगै घरका सबै किसिमका फोहोरहरू चकुन्चा खोलामा हाल्न थालियो । यसलाई सम्बन्धित निकायले नियन्त्रण गरेनन् । सरकारी जग्गाहरू मासिन थाले । खोलाको फैलावट घट्दै गयो । यसपछि चकुन्चा खोलाको बहाव खोलाभन्दा बाहिर घरघरमा पुग्न थाल्यो ।
नगरपालिकाभित्र रहेका घरहरू नगरपालिकाको मापदण्डमा रहे भने गाविस त्यति सशक्त नहुँदा खोला पनि मिचिन थालेको स्थानीयको भनाइ छ । खोलालाई नियन्त्रण गर्न केही वर्षअघि ह्युम पाइप राखेर खोलालाई छोपियो । यसले खोलाको दुर्गन्ध बाहिर आउन रोकिए पनि वर्षाको पानीलाई ह्युम पाइपले धान्न नसक्दा पानी पाइपभन्दा बाहिर बग्न थालेपछि यसले सडकलाई बिगार्यो, केही पशुहरू पनि बगायो । गत वर्षको बाढीले एक जना बालक पनि बगायो ।
उपत्यकाका नदीहरूको बचाउ गर्ने अभियान चलाउनुपर्छ । यो कार्य महानगरपालिकाको मात्र जिम्मेवारी नभई सरकारले जिम्मा लिएर यस्ता कार्य सशक्त रूपमा अघि बढाउन आवश्यक छ । यदि नदी सफा गर्न सकिएन भने उपत्यकाका शहरहरूमा अहिलेको जनघनत्व बढ्दै जाने क्रममा एक दिन उपत्यका बस्न नसक्ने प्रदूषित शहर हुनेछ ।
खोलालाई खुला रूपमा बग्न छाड्नुपर्छ भनेर केही स्थानीय युवा सक्रिय हुन थाले । व्यक्तिले मिचेको खोलाको जग्गा छाड्नुपर्छ । खोलाको दुवै छेउमा ढल हालेर बीचमा नदीलाई बग्न दिनुपर्छ भनेर स्थानीय जनप्रतिनिधि शेखर आचार्य सक्रिय रूपमा लाग्नुभयो । परिणाम स्वरूप अहिले उपभोक्ता समितिका प्रतिनिधिसमेत लागेर खोलाको दुवैतर्फ ढल हालेर बीचमा भएको खोलालाई नियन्त्रण गर्न सिमेण्टेट पर्खाल लगाएर खोलामाथि स्ल्याब लगाउने कार्य अघि बढाइएको पाइएको छ । ढललाई नियन्त्रण गरी निश्चित स्थानमा लगेर ट्रिटमेन्ट प्लाण्ट स्थापना गरेर मात्र ढललाई खोलामा हाल्न सकिन्छ ।
बाग्मती सफाइ अभियानअन्तर्गत गुह्येश्वरी मन्दिरको केही तल स्थापना गरिएको ट्रिटमेन्ट प्लाण्ट जस्तै विभिन्न स्थानमा थप ट्रिटमेन्ट प्लाण्ट बनाएर ढलको पानीलाई व्यवस्थापन गरी उपत्यकाका नदीहरूको बचाउ गर्ने अभियान चलाउनुपर्छ । यो कार्य महानगरपालिकाको मात्र जिम्मेवारी नभई सरकारले जिम्मा लिएर यस्ता कार्य सशक्त रूपमा अघि बढाउन आवश्यक छ । यदि नदी सफा गर्न सकिएन भने उपत्यकाका शहरहरूमा अहिलेको जनघनत्व बढ्दै जाने क्रममा एक दिन उपत्यका बस्न नसक्ने प्रदूषित शहर हुनेछ ।
यदि समयमा हाम्रा खोला, नदी सफा राख्न नसक्ने हो भने उपत्यका पूरै दुर्गन्धित हुन थाल्नेछ । परिणाम स्वरूप शहरमा रोगब्याधी बढ्नेछ । साथसाथै विदेशबाट आउने पर्यटकहरूको संख्या घट्नेछ । यसले हाम्रो प्रमुख आम्दानीको स्रोत पनि घट्नेछ ।
त्यसैले नगरपालिका तथा महानगरपालिकाले घरहरू मापदण्डअनुसार बनाए/नबनाएको, ढलहरू खोलामा हाले/नहालेको र सरकारी तथा खोलाको जग्गा मिचे/नमिचेको यकिन गर्नुपर्छ । यस सम्बन्धमा कडा कानुन र कार्यान्वयनको जरुरत छ ।