राष्ट्रिय सहकारी कर्मचारी संघमा भरतकुमार श्रेष्ठ

राष्ट्रिय सहकारी कर्मचारी संघमा भरतकुमार श्रेष्ठ

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २९, २०७८

काठमाडौँ ।  पेशागत महासंघ नेपालमा आबद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन हुनु भएको छ । शनिवार काठमाडौँ भएको सहकारी कर्मचारीहरूको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।

नवगठित समितिको उपाध्यक्षहरूमा धनबहादुर खत्री,राधा कडरिया र प्रशान्त जि सी चयन हुनु भएको छ भने महासचिवमा गंगाप्रसाद रिजाल उपमहासचिव पुरुषोत्तम श्रेष्ठ सचिवमा मानिस लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका संयोजक प्रेमल कुमार खनालले सहकारीहरुलाई सुशासन युक्त संस्थाको रुपमा विकास गर्दै उत्पादनमुखी कृयाकलापमा लैजानु पर्नेमा जोड दिनुभयो । देशमा ३४ हजारको हाराहारीमा रहेका सहकारीमा एक लाख ५० हजार कर्मचारी आबद्ध भएको प्रशंगमा उहाँले एकताले ताकत निर्माण गर्ने भन्दै सहकारीहरूले सामुहिक सोच र योगदानमा आधारित काममा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रमा बोल्दै पार्टी पोलिटब्युरो सदस्य गोपाल बराल, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला कमिटी काठमाडौंका अध्यक्ष कुसुम कुमार कार्की ,पेशागत महासंघ का महासचिव रामप्रसाद रिमाल, सहकारी कर्मी राधा कडरिया,सेवा निवृत्त कर्मचारी संगठनका बेध निधि निराला, लगायतका वक्ताहरुले राष्ट्र निर्माणमा सहकारीले खेलेको भूमिकाको चर्चा  गर्नुभएको थियो  ।

पेशागत महासंघ नेपाल का सचिवालय सदस्य तथा सहकारी इन्चार्ज धरणीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले ३ बुँदे प्रस्ताव समेत पारित गरको नवगठित समितिका महासचिव गंगाप्रसाद रिजालले बताउनु भयो । भेलाले सरकारलाई राष्ट्रिय श्रम आयोग गठन गर्न जोडदार माग गरेको छ । यस्तै भेलाले सहकारी क्षेत्रका श्रमिकहरूका आर्थिक तथा समाजिक सवालहरूको सम्बोधन गर्न ६ महिना भित्र प्रदेश तथा जिल्ला समितिहरु गठन गरी राष्ट्रिय भेला गर्न समेत प्रस्ताव पारित गरेको छ ।