लोकसंवाद संवाददाता | समाचार | फागुन २९, २०७८
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्ण चन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।
तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ । अन्यथा अझै धेरै प्रतिगमनहरू हुन सक्छन् ।’
अहिलेसम्म गठबन्धनको संस्कार नभएकोले केही असहज जस्तो लागेपनि यस्ता घटना पहिले पनि भएको उनले सुनाए ।
‘हामीमा गठबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ । राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं । आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’
यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन थियो ।
तर संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होईन, एमाले नै विभाजित भयो । त्यसपछि एमाले बाहेकको गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो ।
कम्युनिष्टहरुले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अव कांग्रेसले गर्ने पोखरेलको दावी छ । गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा विजयी हुने उनको भनाई छ ।