ठेकेदार र वन अध्यक्षको मिलेमतो: उदयपुरको  बाँजगरास्थित  दूधकोसी किनारमा ढुंगा उत्खनन

ठेकेदार र वन अध्यक्षको मिलेमतो: उदयपुरको  बाँजगरास्थित  दूधकोसी किनारमा ढुंगा उत्खनन

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २९, २०७८

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ बाजगरास्थित दूधकोसी किनारमा सामुदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारको मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको रहस्य खुलेको छ ।
कानुनी प्रक्रिया पुरा नगरी अबैध रुपमा सामुदायिक वन क्षेत्रभित्र दोहन भइरहेको रहस्य खुलेको हो । गोल्डेनगुट कन्स्ट्रक्सन जेभी गाईघाटका सञ्चालक सुमन्त कोइराला र जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बृख बहादुर मगर बीचको मिलेमतोमा अबैध ढुंगा उत्खनन भइरहेको छ ।

सो क्षेत्रमा सञ्चालित क्रसरको लागि सय मिटर पूर्वोत्तर क्षेत्रमा रहेको जंगल क्षेत्रको ढुंगा उत्खनन गरी क्रसरमा प्रयोग भइरहेको छ । ढुंगा उत्खनन बारे अध्यक्ष मगरले भने, ‘यो बाटो बेल्टार जाने बाटो हो, त्यहाँ अलिकति साँघुरो पनि भएकोले ठेकेदार सुमन्त कोइरालाले मागेको मागेकै गरेपछि हामी समिति र आम उपभोक्ताको निर्णयले ३ लाख रुपैया दिने शर्तमा उत्खनन गर्न दिएका हौं ।

ठेकेदार कोइरालाले भने, ‘त्यहाँका वन समितिले बाटो फराकिलो हुन्छ ढुंगा खन्नु की खन्नु भनेकाले मात्र आफूले खनेको हो । त्यसबापत मैले ३ लाख रुपैयाँ पनि दिएको छु ।´ बाटो बनाइ दिने बहानामा ठूलो प्राकृतिक सम्पदा नै नष्ट र भूक्षय तथा पहिरोको जोखिम बढ्न सक्ने स्थानीयबासीले बताए । तर ठेकेदारले दिने भनिएको रकमको चेक एक जना व्यक्ति कर्णबहादुर तामाङको नाममा दिएकाले उसैले सो चेक राखेको पनि अध्यक्ष मगरले बताए । चेक आगामी चैत ५ गतेभित्र पैसा जम्मा गर्ने शर्तमा दिएको अध्यक्ष मगरले बताए ।
कति घन मिटर, कति क्षेत्रफलसम्म उत्खनन गर्न दिने भन्ने टुंगो नै नभए पनि यति यहाँसम्म भनेर देखाइएको छ त्यति मात्र खन्ने हो, अध्यक्ष मगरले बताए । सो विषयमा वडाध्यक्ष कुरुङ राईलाई भने कुनै जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी नभएको भन्दा ठेकेदार सुमन्त कोइरालाले चाही फोन मार्फत सामान्य जानकारी गराएको थियो । तर विस्तृत जानकारी त्यहाँका स्थानीय वन उपभोक्ता समितिहरूसँग सामाजिक रुपमा छलफल भएको छैन, अब विस्तारै सो बारेमा बुझ्नेछु । सो विषयमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेललाई कुनै जानकारी नभएको बताए ।