लोकसंवाद संवाददाता | समाचार | फागुन २९, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अझै पनि संसद् विघटन गराउन चाहने आरोप लगाएका छन् ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेले अझै पनि संसद् विघटन गराउन चाहेको आरोप लगाएका हुन् ।
एमालेको संसद् विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । यस कारण एमालेले संसद्मा अवरोध सिर्जना गरेको प्रचण्डको भनाइ छ ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे ।
निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा ब्याख्यात्मक घोषणालाई 'मिनिमाइज' नगर्न चेतावनी दिए ।