लोकसंवाद संवाददाता | साहित्य | फागुन २९, २०७८
काठमाण्डौ । लघुकथा समाज नेपालले यस वर्षको ‘धनमान कथा सम्मान २०७८’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान प्रदान गर्नुभयो । १५ हजार नगद राशिसहित शर्मालाई सम्मान गरिएको हो ।
समाजले एक वर्ष धनमान कथा सम्मान र अर्को वर्ष धनमान लघुकथा सम्मान प्रदान गर्दै आएको छ ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सम्मानका दाता कथाकार धनमान श्रेष्ठको पुस्तक ‘धनमान श्रेष्ठः व्यक्ति एक आयाम अनेक’ को पनि संस्कृतिविद् जोशीले लोकार्पण गर्नुभयो ।
सोही अवसरमा समाजले सम्मानका दाता धनमान श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गरेको छ ।
लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतम, धनमान श्रेष्ठ, रामप्रसाद पन्त, श्रीबाबु कार्की र तुलसीहरि कोइरालाले बोल्नु भएको थियो ।