लोकसंवाद संवाददाता | समाचार | फागुन २९, २०७८
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न घिमिरेले संयोजकबाट राजीनामा दिएका हुन् । उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार बन्न लागेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए । घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।