संस्कार बनिसकेको- 'डु नट किप द बल इन योर कोर्ट'

संस्कार बनिसकेको- 'डु नट किप द बल इन योर कोर्ट'

सृजना सुब्बा  |  दृष्टिकोण  |  चैत ०१, २०७८

‘डु नट किप द बल इन योर कोर्ट‘वाला संस्कार वा समस्यालाई पन्छाउने वा अरूको थाप्लामा हालिदिने संस्कार त नेपाली प्रशासनको मात्र होइन, नेपाली राजनीतिलगायत सबै क्षेत्रको पनि संस्कृति बनिसकेको छ ।

सबैलाई चाहिने कुरा हो सुझाव र जताततै पाइने चिज पनि हो सुझाव । कसैलाई आफ्नो सानो समस्या सुनाउनुहोस्, तपाईंलाई चाहिए पनि, नचाहिए पनि भरपूर मात्रामा सुझाव पाउनुहुन्छ । त्यस्ता सित्तैमा पाइने सुझावमध्ये केही काम लाग्दा हुन्छन् त कति हुँदैनन् किनभने तपाईंको समय, परिस्थिति र सोचले ती कुराहरू निर्धारण गर्ने हो, नकि अरूको सुझावले ।

वास्तवमा सुझावलाई नराम्रो भनिहाल्नचाहिँ मिल्दैन किनभने सुझाव दिनेले प्रायः उसको भलो नै होस् भनेर सुुझाव दिएका हुन्छन् ।

कुनैबेला म एक सरकारी कार्यालयमा शाखा अधिकृतको पदमा कार्यरत थिएँ । काम गर्ने क्रममा कहिलेकाहीँ केही त्रुटिहरू पनि हुने गर्थे । प्रायः गल्ती आफूले नजानेर हुन्थ्यो भने कतिपय गल्ती सहकर्मीहरूका कारणले । तर, जे भए पनि त्यो गल्तीको जिम्मेवारी वहन गर्ने जिम्मेवारी भने मेरै काँधमा आइपर्थ्यो । गल्ती भएपछि त्यसलाई सच्याउन पनि पर्थ्यो र पुनः त्यस्तो गल्ती नदोहोरियोेस् भन्ने कुरातर्फ सदैव सचेत भइन्थ्यो ।

कहिलेकाहीँ त्यस्ता गल्तीका कारण हाकिमबाट खप्की खानुपर्ने अवस्था पनि आउँथ्यो । गल्ती भएपछि त्यसको जिम्मेवारी लिने र फेरि त्यसलाई नदोहोर्‍याउने कुरा पनि हाकिम सामु भट्याउँथेँ ।

मेरो त्यस्तो अवस्था देखेर एक दिन अर्को हाकिम सा'बले मलाई बोलाएर एउटा सल्लाह दिनुभयो । त्यो सल्लाह थियो- ‘डु नट किप द बल इन योर कोर्ट‘ अर्थात् आफ्नो कोर्टमा बल नराख्नू । ‘बुझ्नेलाई श्रीखण्ड‘ भनेझैँ मैले उहाँले भन्न खोज्नुभएको कुरा बुझिहालेँ।

‘देश खाएर शेष हुनुभएका‘ मेरो हाकिम सा'ब नेपाली निजामती प्रशासनको सचिव भइसक्नुभएका कारण प्रशासन कसरी चल्छ र त्यसभित्र आफू कसरी चल्नुपर्छ भन्ने कुरा उहाँलाई राम्रैसँग थाहा थियो । त्यस समयमा मलाई उहाँको उक्त सुझाव भयंकर राम्रो लागेको थियो । मैले बेलाबेलामा त्यही रणनीति प्रयोग पनि गर्न थालेँ । त्यसले काम पनि राम्रै गर्‍यो, अरूको भनाइ खानुपरेन। 

पछि यसो विचार गर्दा थाहा भयो, मेरा वरिपरिका अन्य सहकर्मीहरूले पनि सधैँ त्यस्तै उपाय अपनाउँदै आएका रहेछन् । बुझ्दै जाँदा थाहा पाएँ- त्यो त सरकारी प्रशासनमा कर्मचारीहरूले अपनाउने साझा रणनीति पो रहेछ ! स्पष्ट भएर भन्ने हो भने त्यो हाम्रो प्रशासनको संस्कार नै रहेछ । मलाई भने काम गरेको महिनौँपछि मात्र यी कुराहरू थाहा भयो ।

अहिले फर्केर हेर्दा ‘डु नट किप द बल इन योर कोर्ट‘वाला संस्कार त नेपाली प्रशासन मात्र होइन, नेपाली राजनीति र अन्य क्षेत्रको पनि संस्कार बनिसकेको रहेछ । टेनिस खेलमा खेलाडीहरू बललाई ब्याटले हान्छन् । त्यसरी ब्याटले बल खेल्दा सकेसम्म आफ्नो कोर्टमा बल खस्न दिँदैनन् । बल खस्यो भने आफ्नो अंक घट्छ र प्रतिद्वन्द्वीले खेल जित्छ । त्यसैले बल आफ्नो कोर्टमा आउनेबित्तिकै त्यसलाई प्रतिद्वन्द्वीको कोर्टमा फालिहाल्नुपर्छ।

हाम्रा नेता र राजनीतिक पार्टीहरूलाई हेर्‍यो भने जहिले अरूलाई नै दोषी देखाइरहेका हुन्छन् । आफू सत्तामा भए पनि आफूले काम गर्न नसक्नुको मुख्य कारण विरोधी पार्टीले असहयोग गर्नु नै हो भन्छन् । तर, उनीहरू कहिल्यै पनि त्यसको जिम्मेवारी लिन खोज्दैनन्, कसरी हुन्छ आफ्नो कमजोरीलाई ढाकछोप गर्न खोज्छन् । उनीहरू बल सधैँ अर्काको कोर्टमा फालिरहेका हुन्छन् ।

राजनीतिमा जस्तै प्रशासनिक क्षेत्रमा पनि यही संस्कार व्याप्त छ । ठूलाठूला कामहरू मात्र होइन, सानो काम पनि अरूकै कारण रोकिएको, त्यसमा आफ्नो कुनै हात नरहेको बताउँछन् । बाटो बनेन, किन बनेन ? भनेर प्रशासकलाई सोधे 'ठेकदारले गर्दा' भन्छन्, ठेकदारलाई सोध्यो 'सरकारले पैसा दिएन' भन्छ, नेतालाई सोध्यो भने 'हामीले गरिरहेका छौँ तर सरोकारवालाहरूले अवरोध गरे' भन्छन् । 

कसैले पनि आफ्नो कमजोरीको जिम्मेवारी लिँदैनन् । सबै अरूको कारणले काम भएन भनेर अरूलाई दोष थोपर्न अभ्यस्त देखिन्छन् । सबै अर्काकै कोर्टमा बल हान्न तल्लीन छन् । यस्ता उदाहरण त कति छन् कति !

जसजति सधैँ आफूले लिने र अपजसजति सबै अरूलाई दिने। सधैँ त्यस्तो चल्दैन । जस लिन जान्नेले अपजस लिन पनि सिक्नुपर्छ र आफूलाई सुधार्दै जानुपर्छ । सधैँ ‘डु नट किप द बल इन योर कोर्ट‘ भन्ने संस्कारले कसैको पनि भलो गर्दैन। दोषजति अर्काको टाउकोमा थोपरेर क्षणिक रूपमा हल्का महसुस त होला तर दीर्घकालीन रूपमा समस्याको समाधान हुँदैन । त्यो त पानीमाथिको ओभानो जस्तो मात्र हुन्छ ।

कुनै समयमा एकदमै राम्रो लागेको ‘डु नट किप द बल इन योर कोर्ट‘ भन्ने यो सुझाव अहिले फर्केर हेर्दा काम नलाग्ने सुझाव रहेछ भन्ने लागेको छ किनभने यसले जिम्मेवारीबोध गर्न होइन, त्यसबाट भाग्न सिकाउँछ । साँच्चै नै देशको मुहार फेर्ने हो भने अबको सुझाव ‘बी रेस्पन्सिबल फर ह्वाट यु डु‘ हुनुपर्छ । राम्रो/नराम्रो, नतिजा जस्तो भए पनि आफ्नो काँधमा आएको जिम्मेवारी लिनुहोस्, जस मात्र होइन, अपजस पनि लिनुहोस् भन्ने सुझाव सबैले सबैलाई दिनुपर्छ ।

नोट: भाग्य वा दुर्भाग्य भनौँ, त्यस कार्यालयमा मैले एक वर्ष पनि बिताउन सकिनँ । त्यहाँ मैले धेरै कामहरू सिक्ने मौका पाएँ । त्यहाँ काम छाडेपछि मैले अन्य धेरै संघसंस्थाहरूमा काम गर्ने मौका पाएँ र अझ धेरै अनुभव सँगाल्न पाएँ ।

(आईएनएस-स्वतन्त्र समाचारबाट)