लोकसंवाद संवाददाता | समाचार | चैत ०४, २०७८
१० वर्ष लामो सशस्त्र विद्रोहपछि २०६३ मा शान्ति प्रक्रियामा आएको माओवादी देशकै पहिलो पार्टी बनेको थियो । प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जित्यो माओवादीले । त्यसपछि निरन्तर खिइने क्रम जारी छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा पहिलोबाट तेस्रोमा झर्नमा माओवादीमा आएको विभाजन प्रमुख कारण थियो । २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा विभाजित भएपछि माओवादीले अहिलेसम्म पनि गुमेको शक्ति आर्जन गर्न सकेको छैन ।
क्रान्तिका ठुला सपना बाँड्दै माओवादी पार्टी विभाजित भए पनि न कुनै विभाजित पार्टीले क्रान्ति गर्न सके, न त पार्टीलाई गति दिन नै । माओवादीका हरेक धारामा राजनीतिक, वैचारिक सँगै सांगठनिक समस्या चर्को रुपमा देखिँदै आएको छ ।
माओवादीको शक्ति भनेकै जनयुद्धकालीन सिंगो सांगठनिक संरचना, सहिद, घाइते, बेपत्ता परिवार र जनयुद्धमा कुनै न कुनै रुपमा साथ सहयोग गरेका जनता हुन् । तर माओवादी यति बेला धेरै टुक्रामा विभाजित छ भने पुरानो वैचारिक आधार पनि छैन ।
माओवादी पार्टीमा एकपछि अर्को गर्दै आएको विचलनका कारण अब माओवादीमाथि जनताको भरोसा पङ्क्ति कम हुँदै गएको छ । सांगठनिक आधार कमजोर भएकै कारण माओवादी यति बेला आगामी निर्वाचनका लागि भरपर्दो सारथि खोजीको बाध्यात्मक अवस्थामा छ ।
माओवादीमा क्रान्तिकारी वैचारिक धारको नेतृत्व गर्ने भनिएका मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कार गर्ने निर्णय गरिसकेको छ । अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएको सो पार्टीको कमजोर उपस्थिति देखिएको थियो । संघीय संसद्को निर्वाचनमा भने सो पार्टीले समानुपातिकतर्फ जम्मा १३ हजार मत ल्याएको थियो । यसबाट सो पार्टीको जना धार कति कमजोर छ भन्ने देखाउँछ । अर्कोतिर बाबुराम भट्टराई पनि बाहिरिएपछि अर्को धक्का लाग्दै आएको माओवादीलाई ।
यति बेला देश फेरि निर्वाचनको माहौलमा होमिएको छ । माओवादी केन्द्र निर्वाचनमा जान तयार छ भने नेत्रविक्रम चन्द विप्लव पनि निर्वाचनमा सहभागी हुने निर्णय गर्ने तयारीमा देखिएको छ ।
प्रचण्डले आगामी निर्वाचनमा जित सहितको शक्ति हासिल गर्नका लागि माओवादीबाट विभाजित भएका सबै पार्टीलाई एकतामा ल्याउने र एकताको सन्देश दिने हो भने माओवादीप्रति सकारात्मक सञ्चार हुने अवस्थालाई नजर अन्दाज गर्दै गैर माओवादको साथ खोजिरहेका छन् । तर प्रचण्ड नै माओवादी घटकसँगको एकता वा सहकार्य प्राथमिकतामा परिरहेको छैन ।
यसपटक सोही हैसियत कायम राख्न पनि प्रचण्डलाई चुनावी गठबन्धन आवश्यक छ । प्रचण्ड आफ्नो शक्तिलाई नचिनेर गठबन्धनका लागि कांग्रेस र एमालेमा भर पर्दा राजनीतिमा दयाको पात्रजस्तो देखिन पुगेका छन् । जसले प्रचण्डको राजनीतिक उचाइ निरन्तर ओरालो लागिरहेको छ अर्थात् बैसाखी बेगर हिँड्नै नसक्ने अवस्थामा पुर्याएका छन् ।
बरु प्रचण्डको जोड कांग्रेस र एमालेसँग सहकार्य गरेर आफ्नो साख जोगाउनतिर केन्द्रित भएको देखिएको छ । चुनावका लागि माओवादी प्रतिकुल यी शक्तिसँगको सहकार्यले प्रचण्ड सर्वत्र आलोचनाको पात्र बन्ने गरेको छन् । उनले हालै कांग्रेससँग सहकार्य नभए एमालेसँग चुनावी तालमेल हुने भन्दै दिएको अभिव्यक्तिपछि एमाले नेताहरुले नै प्रचण्डको उछित्तो काढिरहेका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससँग र प्रदेश र संघीय निर्वाचनमा एमालेसँग साझेदारी गरेको थियो । यसबाट माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियत गुमाउँदै गएको सन्देश दिई रहेको छ । भरतपुर महानगरपालिकामा कांग्रेससँग सहकार्य गर्दा पनि छोरी रेणु दाहाललाई निर्वाचन जिताउन कठिन भयो । त्यसैले उनले प्रदेश र संघीय निर्वाचनमा एमालेको साथ खोज्ने अवस्थामा पुग्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएरै माओवादी विपक्षी दलसँगको मोर्चामा सामेल भएको छ । यो गठबन्धनबाट संसद्मा केही शक्ति आर्जन गरेका प्रचण्डले फेरि कांग्रेस वा एमालेको साथ पाएर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कोसिसका लागि 'बकबक' गरिरहेका छन् । प्रचण्डको यो प्रयासका बाबजुद कांग्रेससँग सहकार्यको स्पष्ट कुरा बाहिर भने आइरहेको छैन ।
अहिले निर्वाचनमा गठबन्धन गर्न सत्तारुढ गठबन्धनका दलहरू सकारात्मक छन् । तर कांग्रेसले भने रुखमा बाहेक अन्यत्र भोट नहाल्ने भन्दै नेतृत्वले गर्ने तालमेलको विपक्षमा छन् । काँग्रेसमा नेता डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा देउवा पक्षकै अधिकांश नेताहरू चुनावी तालमेलको विरुद्धमा छन् । चुनावी तालमेलबारे टुङ्गो नलाग्दा माओवादी नेताहरूमा बेचैनी बढ्दै गएको देखिन्छ ।
बिहीबार बुटवलमा प्रचण्डले कांग्रेसका केही नेताहरू अतिवादी भएको भन्दै तालमेलको पक्षमा कांग्रेस नउभिए एमालेसँग वार्ता गर्ने बताए । गठबन्धन टुट्ने खतराकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा बोलाएर प्रचण्ड र माधव कुमार नेपाललाई तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने आश्वासन दिएका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा ६ सय १ सिटमध्ये २ सय ३८ सिट जितेको माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो र त्यसपछिका सबै निर्वाचनमा तेस्रो हैसियतमा पुगेको छ ।
यसपटक सोही हैसियत कायम राख्न पनि प्रचण्डलाई चुनावी गठबन्धन आवश्यक छ । प्रचण्ड आफ्नो शक्तिलाई नचिनेर गठबन्धनका लागि कांग्रेस र एमालेमा भर पर्दा राजनीतिमा दयाको पात्रजस्तो देखिन पुगेका छन् । जसले प्रचण्डको राजनीतिक उचाइ निरन्तर ओरालो लागिरहेको छ अर्थात् बैसाखी बेगर हिँड्नै नसक्ने अवस्थामा पुर्याएका छन् ।