अमर न्यौपाने : 'नेपालगन्ज', 'सोरेश सोनखर' र 'यमुना आमा'ले बनाएको सृजनशील लेखक

अमर न्यौपाने :  'नेपालगन्ज',  'सोरेश सोनखर'  र 'यमुना आमा'ले बनाएको सृजनशील लेखक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत ०५, २०७८

२०६५ सालमा जर्मनीको गैरसरकारी संस्था त्यस बेलाको जिटिजेडले ‘टाउन राइटर रेजिडेन्स प्रोग्राम’ (टिआरआरपी) भन्ने कार्यक्रम लिएर आएको थियो । अमर न्यौपाने नेपालगन्जको लागि टाउन राइटरको रुपमा छानिनु भयो । 

संस्थाको उद्देश्य लेखक बनाउने मात्रै होइन सृजनशीलता जन्माउने पनि थियो । एउटा सृजनशील लेखक बनाउने थियो । उक्त कार्यक्रमले अमर न्यौपाने भन्दा पनि 'पानीको घाम ' र   ' सेतो धरती'  जन्मायो । सन्तान उम्दा भएपछि आमाको पहिचान कसले पो मेटाउन सक्छ र ! भयो यस्तै । 

जर्मनीमा ‘टाउन राइटर’लाई एकदमै ठुलो मानिन्छ । र, टाउन राइटरले नोबेल पुरस्कार समेत पाएको उदाहरण छ । त्यस बेला नगरपालिकाले २० हजार युरो दिएर एक वर्षका लागि एउटा घर दिने तथा लेखकले छ महिना त्यसमा बसेर लेख्नुपर्ने कार्यक्रम थियो टाउन राइटरको । नेपालको हकमा भने लेखकलाई दैनिक दुई हजार दिएर कथा लेख्न लगाउने संस्थाको कार्यक्रम रहेको थियो ।  

‘टाउन राइटर रेजिडेन्स प्रोग्राम’ अर्थात् (टिआरआरपी) उहाँको लेखकीय जीवनका लागि एउटा ‘टर्निङ प्वाइन्ट’ नै सावित भयो । त्यस बेलासम्म उहाँलाई आकाशमा चरा जस्तै उड्ने जहाज कुन चराको नाम हो भन्ने थाहा थिएन । बोर्डिङ पास के हो थाहा थिएन । जहाज चढ्न लाग्दा त्यति राम्री एअरहोस्टेसले त्यति मिठो मुस्कानका साथ नमस्कार गरेको देखेर उहाँ छक्क पर्नुभयो । त्यो सुन्दरता र मुस्कान र विनम्रताले उहाँलाई यति तान्यो कि जहाज अवतरण नगरेर आकाशमै कावा खाइरहे हुन्थ्यो जस्तो लाग्यो । टिकट पनि त्यस बेलाको छ हजार भनेको कहाँ सस्तो हो र ! यो २०६५/६६ सालको कुरा हो । उहाँलाई लाग्यो छ हजारमा चार हजार त यो सुन्दरता र विनम्रताकै हुनुपर्छ । 

जहाजको कौतुहलताले उहाँ जहाजको झ्यालमा बस्नु भएको थियो । राती पानी परेर आकाश खुलेको थियो । खुलेको आकाशमा त्यति नजिक, स्पष्ट र स्निग्ध हिमाल उहाँले देख्नु भएकै थिएन । बादल झुन्ड झुन्ड थिए आकाशमा । त्यसको छायाँ तल परेको थियो । अनि उहाँ भने त्यो सबैको फोटो खिच्दै हुनुहुन्थ्यो । 

अनि एअरहोस्टेसले बेलाबेलामा विनम्रतापूर्वक पानी, चकलेट दिँदा उहाँलाई जहाज अवतरण नगरि दिए हुन्थ्यो मात्र होइन एक छिन गति थामिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । यो स्मरण उहाँको मानसपटलमा कसरी विस्मृत होला र ! 

०००

मानिसको मष्तिष्कले सधैँ देखिरहेका कुरा खासै स्मृतिमा राख्दैन । सधैँ देखिरहँदा त्यो उसलाई सामान्य लाग्छ । नयाँ ठाउँमा त्यही कुरा नयाँ भएर आउँछन् । नयाँ ठाउँमा जाँदा सबै नयाँ नयाँ जस्तो लाग्छ । नेपालगन्जमा उहाँलाई पनि त्यस्तै भयो । मान्छेले स्वयंलाई नदेखे जस्तो देखिरहेको ठाउँ पनि नदेख्दा रहेछन् मान्छेले । जहाज अवतरण गरेदेखि उहाँले नेपालगन्जका सबै कुरामा कथा देख्न थाल्नुभयो अब । 

नेपालगन्ज उहाँका लागि बिलकुल नयाँ सहर थियो । कहाँ जाने, कहाँ बस्ने केही थाहा थिएन । साथीहरूले स्नेह र वाटिकाको नाम लिएका थिए बस्नका लागि जानकारी भनेको त्यति मात्रै बस् । 

उहाँ स्नेह होटेलमा जाने क्रममा रिक्सावालासँग गफिँदै हुनुहुन्थ्यो । उहाँले रिक्सावालालाई नाम सोध्नुभयो,  भाइ तपाईँको नाम के हो ? उत्तर आयो, सोरेश सोनखर । प्रश्न उत्तर यसै गरी चलिरह्यो । घर ? कर्मोहना । घरमा को को छ ? माँ, बाप, भाइ, बहन । बाप के गर्ने ? बुढा छ । बिहे भयो ? गौना बाँकी छ । 

उहाँले गौनाको बारेमा श्वेत भैरवीमा पढ्नु भएको थियो । त्यसैले थाहा थियो । बिहेपछि गौना गरिन्छ । गौना नगरी श्रीमती घर ल्याउन नपाइने प्रचलन छ । अब फेरि प्रश्न उत्तर चल्यो । उहाँको प्रश्न थियो सोनखरलाई गाह्रो हुँदैन त ? चलन यस्तै छ के गर्नु ! 

बिहे मागेर गरेको कि प्रेम ? हामी गरिबको कहाँ प्रेम जवाफ आयो । प्रेम मनले गर्ने हो नि ? गरिबको प्रेम हुँदैन । यो वाक्यले उहाँलाई एकदमै छोयो । उहाँले सोनेखरको हरेक जवाफमा कथा देख्न थाल्नुभयो । दिनको सयौँ पल्ट घुम्ने विश्वेश्वरको सालिकलाई सोरेश राजा वीरेन्द्रको भन्दै थिए । हँसिया हथौडामा हालेको भोटलाई कांग्रेस भन्दै थिए । गणतन्त्र आइसक्दा पनि उनी राजाको कुरा गर्दै थिए । यी हरेक चिज उहाँको लागि विशेष स्मरणीय र कथा बनेर निस्किए । 

नेपालगन्जको त्यो दुई महिने ‘टाउन राइटर’ले उहाँलाई सम्बन्धित ठाउँमा गएर, अनुसन्धान गरेर कथा लेख्नुपर्छ भनेर सिकायो । पात्रहरूलाई आत्मसात् गर्न सिकायो । त्यो यति ठुलो सम्पत्ति बन्यो कि त्यसले मदन पुरस्कार विजेता जस्तो चर्चित कृति 'सेतो धरती'  नै जन्मियो !  यसमा उहाँको विमति छैन । 

नेपालगन्जको ‘टाउन राइटर’को कथाका रुपमा २०६६ मा ‘पानीको घाम’ पैरवी प्रकाशनबाट प्रकाशित भयो दुई संस्करणसम्म । त्यसपछिको फाइन प्रिन्टबाट आउन थाल्यो । त्यो आम पाठकमा त्यति गएन । तर, साहित्यिक वृत्तमा गयो र राम्रो चर्चा पनि कमायो । पद्म श्री पुरस्कार पनि प्राप्त गर्‍यो त्यसले । 

०००

उहाँको पिताजी कास्की हंसपुरको माझ गाउँको गैरा पोखरी स्कुलमा पढाउनुहुन्थ्यो । उहाँले त्यहाँ करिब दश वर्ष पढाउनु भयो । खेतीपाती र सामान्य जागिर भएकोले आर्थिक अवस्था पनि सामान्य वा मध्यम भन्न मिल्ने तर्क छ न्यौपानेको । 

आमा भने गृहिणी । उहाँ आमाको एकदमै प्यारो छोरो  । चौध वर्षको उमेरसम्म त उहाँ आमासँगै सुत्नुभयो । आमा खासै पढ्न त जान्नुहुन्न थियो । भान्सा को काम गर्दा अनि भित्र बाहिर गर्दा वा खेतबारीको काम गर्दा पनि कपुरी ‘क’ भित्र बाटुलो ‘ख’ गाईगोडे ‘ग’ अनि घर जस्तो ‘घ’ भनेर आमाले उहाँलाई कखरा सिकाउनु हुन्थ्यो । उहाँको मामाघर शुक्रनगर करिब डेढ घण्टाको दूरीमा थियो । मामाघर जाँदा पनि न्यौपाने आमाको हात समाएर कपुरी ‘क’ भित्र बाटुलो ‘ख’ भन्दै जानुहुन्थ्यो । 

उहाँ सानो छँदा आमा गौरी खण्डकाव्यका श्‍लोकहरू ‘लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्‍यौ, आमाको मनका भुलेर कसरी माया मलाई गर्‍यौ’ भनेर साह्रै मिठो गरी भाका हालेर गाउनुहुन्थ्यो । अमरलाई त्यो कविता भन्ने पनि थाहा थिएन । गौरी खण्डकाव्य भन्ने पनि थाहा थिएन । तर, त्यो कविता सुनेर उहाँ रुनुहुन्थ्यो । यसरी आमाका वाचनले उहाँको अन्तस्करणमा कविताको बीउ रोपिएको थियो । 

शायद ! शिक्षक भएर पनि होला बाको पनि रुचि थियो कवितामा । बालाई लेखनाथको कविता असाध्यै मन पर्थ्यो । बाले गर्मी महिनामा शीतल ताप्ने ठाउँमा ‘हिलैमा भ्यागुतो बस्छ, हिलैमा कमल स्थिति, स्तनले मात्र के गर्नु भिन्नै छ गुणको गति’ जस्ता लेखनाथ पौडेलका ऋतु विचारका श्‍लोकहरू भाका हालेर भन्नुहुन्थ्यो । ऋतु विचार र कविता थाहा नभएर पनि उहाँलाई त्यो कविता कण्ठ थियो । 

गर्मी महिनामा नीम पत्ताको रुख मुनि गाउँलेहरू भेला भएका हुन्थे अनि बाले नासो कविता सङ्ग्रह पढ्नुहुन्थ्यो गुरु प्रसाद मैनालीको, ‘चञ्चला श्री भई कन पनि देवीरणका सन्तान थिएनन् । सन्तान होस भन्नका निम्ति देवीरणले चौतारो बनाए, हरिवंश पुराण लगाए । तैपनि सुभद्राको कोख सफल हुन सकेन ।’

बाले यस्तो मिठो लयमा वाचन गर्दा वरिपरि बस्ने अरूहरू रुन्थे, सुक सुकाउँथे । उहाँ पनि रोइरहनु भएको हुन्थ्यो । उहाँलाई गुरु प्रसाद मैनाली भन्ने पनि थाहा थिएन । कथा भन्ने पनि थाहा थिएन । नासो कथा भन्ने पनि थाहा थिएन । यी सबैले उहाँमा साहित्यको चेतना नजानिँदो गरी भरेको थियो । 

०००

उहाँ एकदम ज्ञानी किसिमको चकचक नगर्ने बालक हुनुहुन्थ्यो । अहिले पनि उहाँलाई आमाले तैँले कहिले पनि केही लेराइ दे भनेर पनि पिरिनस्, केही चकचक पनि गरिनस् भनेर भन्नुहुन्छ । 

उहाँ एकदमै शान्त स्वभावको, भावुक प्रकृतिको बालक हुनुहुन्थ्यो । कहिलेकाहीँ आमाले पूजा गर्न फूल टिपेर लेराइज भन्दा फूलको पनि जीवन हुन्छ, फूलले पनि श्वास फेर्छ भन्ने थाहा पाएपछि उहाँलाई फूल टिप्न पनि माया लाग्थ्यो । 

उहाँ बच्चा हुँदा कसैलाई एक थप्पड पनि पिट्नु भएन । अरु साथीभाइले पनि खासै पिटेका छैनन् उहाँलाई । एक दुई जना दाइहरूले एक दुई लपेटा लगाउँदा भने उहाँ रुनु भएको छ । तर, कसैलाई हात भने हाल्नु भएको छैन । विवाद भयो होला, झगडा भयो होला तर हात भने उहाँले कसैलाई हाल्नु भएको छैन । उहाँले अन्जानमा कसैलाई वचन लगाए पनि जानेर कसैलाई वचन लगाउनु भएको छैन । 

उहाँको एक जना दिदी । दिदी र उहाँको बीचमा उमेर अन्तर धेरै । अनि आमा खेतबारीमा काम गर्न, घाँसपात, मेलापात र जंगलमा घाँस दाउरा गर्न जाने बेलामा उहाँलाई दिदीले पछ्यौराले बाँधेर पिठ्युँमा दुईतिर खुट्टा खसालेर बोकेर हिँडेको अहिले पनि सम्झना छ । यस कारण पनि उहाँ दिदीलाई दोस्रो आमा नै ठान्नुहुन्छ । 

चितवनको नारायणगढबाट दक्षिण पश्चिम बिस किमीमा बाले जंगल कता नजिक छ, खेती गर्न कता सजिलो छ भनेर चितवनको रङिला गाउँ रोज्नु भएको थियो बसाइँसराइका लागि । उहाँका बाले त्यहाँ खेत किन्नु भएको थियो भने घर पनि थियो खरको । 

मकै गोड्ने बेलामा बिहान मकै गोडेर स्कुल जाने, गाई, बाख्रा चराउने, घाँसपात गर्ने यस्तै गरेर बितेको हो उहाँको बाल्यकाल । उहाँले गुच्चा त्यति खेल्नु भएन । टालोको भकुन्डो, टालोकै भलिबल, फुटबल अनि साथी नहुँदा एक्लै छानोमा बल हानेर पनि खेल्नुभएको छ । 

धानको मौसममा धान चुट्ने, गोड्ने पनि गर्नुभएको छ । उहाँले एक दुई पटक भैँसी पनि चढ्नु भयो । तर, लुगामा कालो लागेपछि बा आमाले थाहा पाउनु भयो र उहाँलाई दूध दिने भैँसी भनेको त आमा समान हो त्यसमा पनि चढ्छन् त भनेपछि उहाँले त्यो काम छोड्नुभयो । 

बाको खल्तीबाट एक दुई रुपैयाँ चोरे बाहेक उहाँले अरु भने केही चोर्नु भएको छैन । मकै बारीमा फलेका काँक्रो साथीभाइले खान जाऊँ भन्ने बाहेक उहाँले कहिल्यै चोर्नु भएको छैन । सानोमा उहाँको जीवनमा खासै उतारचढाव केही भएन । खासै ठुलो सपना पनि थिएन । 

अक्षर चिन्न जानेपछि छिमेकका दाइ दिदीहरूको कथा, कविता निबन्धको किताब भने पढिहाल्ने उहाँको स्वभाव थियो । त्यसमा उहाँको एकदमै रुचि थियो । अर्को भनेको पुराणका कथामा उहाँको रुचि थियो । विभिन्न ठाउँमा सप्ताह तथा पुराणका कथा उहाँ एकदमै रुचि मानेर सुन्नुहुन्थ्यो । अनि स्वस्थानीको कथामा पनि उहाँको एकदमै रुचि थियो । 

उहाँको घर अगाडि एउटा कुलो थियो । स्कुल जानु अगाडि त्यो कुलोमा जमेको बालुवामा उहाँ चोर औँलाले चित्र बनाउनुहुन्थ्यो । साँढेको चित्र उहाँलाई खुब मान्नु पर्थ्यो । उहाँलाई साँढेले जुरो हल्लाएको एकदमै मन पर्थ्यो त्यसैले त्यस्ता चित्र कोर्न रुचाउनुहुन्थ्यो । गृहकार्य गर्ने कापीमा पनि उहाँ धेरै चित्र बनाउनुहुन्थ्यो । यही रूचिका कारण हुनसक्छ उहाँले पछि चित्रकला पनि पढ्नुभयो । पछि उहाँले स्नातक पढ्दा पाँच वटा समूहगत प्रदर्शनी तथा एउटा एकल प्रदर्शनी समेत गर्नुभएको छ ।  

०००

उहाँले कखरा भने स्कुल नजाँदै जानिसक्नु भएको थियो । त्यो भनेको दिदीले पढेको सुने रै उहाँले धेरै सिक्नु भएको थियो । पछि बाले पढाउने श्री राष्ट्रिय प्राथमिक विद्यालय, रंगिलामा उहाँको प्रारम्भिक शिक्षा भएको हो । घरबाट ५–७ मिनेटको दूरीमा थियो स्कुल । 

उहाँ पाँच कक्षासम्म त्यहीँ पढ्नुभयो । उहाँ पहिलो, दोस्रो हुनुहुन्थ्यो । पहिले फुसको छानो भए पनि उहाँ एक कक्षामा भर्ना हुँदा भने पक्की गाह्रो अनि टिनको छानो तथा डेस्क, बेन्चसहितको राम्रो स्कुल भैसकेको थियो राष्ट्रिय प्राथमिक विद्यालय । 

त्यस बेला चार कक्षादेखि मात्र अंग्रेजी पढाइन्थ्यो । तर, उहाँले पहिले दिदी पढ्न जाँदा नै जानिसकेको हुनाले एक कक्षामा पनि सरलाई लेखेर बुझाउनु भएको छ । छ कक्षादेखि भने अन्नपूर्ण माध्यमिक विद्यालयमा भयो उहाँको पढाइ । घरबाट आधा घण्टाको दूरीमा थियो विद्यालय । एउटा कक्षामा ६०/७० जनासम्म हुन्थे । छात्राहरू झन्डै आधा सङ्ख्यामा हुन्थे । चितवनमा त्यस्तो किसिमको विभेद थिएन शिक्षामा । 

०००

नयाँ बस्ती भएको हुनाले जातभातमा पनि विभेद थिएन । एउटै मा खाजा खाने, एउटै धारोमा पानी खाने भन्ने हुन्थ्यो । चितवनमा उहाँहरूको दाजुभाइ नभएको तथा कास्की, लमजुङ, पर्वत, तनहुँ, बागलुङ, स्याङ्जा, धादिङ, गोरखाका मानिसहरू बसाइसराइ गरेर आएका हुनाले उनीहरू नै दाजुभाइ र तथा नजिकका हुन्थे । त्यसै पनि जातीय विभेद थिएन । 

बग्दै बग्दै नदी जति टाढा गयो त्यो त्यति नै मिसिँदै जाने भनेझैँ थियो चितवन । देवघाटमा नारायणी, त्रिशूली, काली गण्डकी मिसिए झैं नै थियो चितवन पनि । सबै नदी एकै ठाउँमा मिसिएर घुलमिल भएपछि छुट्याउनै नमिल्ने नारायणी झैं लाग्छ उहाँलाई चितवन पनि । सबै पराइ ! अनि सबै आफन्त पनि !!

दशैंमा उहाँहरू गुरुङकोमै टीका लगाउन जानुहुन्थ्यो । नाता लगाउने काम हुन्थ्यो । अर्मपर्म खुब चल्थ्यो चितवनमा । उहाँले पनि निकै अर्मपर्म गर्नुभएको छ । धान झाँटेपछि नाचगान गर्ने, कथा सुनाउने गर्दा विविध ठाउँका मानिस भएका हुनाले विविध संस्कृतिको ज्ञान पनि हुन्थ्यो । 

उहाँको स्कुलमा अतिरिक्त क्रियाकलापमा कथा, कविता तथा निबन्धको प्रतियोगिता कहिल्यै भएन । वादविवाद, वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता भने हुन्थ्यो । वक्तृत्वकला मा उहाँ कहिलेकाहीँ पहिलो, दोस्रो पनि हुनु भएको छ । चित्रकला प्रतियोगिता पनि हुन्थ्यो । सबैभन्दा बढी भनेको फुटबल तथा भलिबल प्रतियोगिता हुन्थ्यो । प्रशस्त मैदान भएकोले पनि फुटबल तथा भलिबल प्रतियोगिता भयझैँ लाग्छ उहाँलाई । 

उहाँहरूको पिटी शिक्षक अवकाश प्राप्त भारतीय सैनिक भएका कारण पनि एथलेटिक्स, हाइ जम्प, लम्जम्प, दौड लगायतका प्रतियोगिता हुन्थे । दिउँसो खाजा लैजाने चलन थिएन त्यस कारण पनि खाजा समयमा फुटबल, भलिबल बढी नै खेलिन्थे । 

उहाँलाई स्कुलबाट आएपछि बाले काउली, बन्दामा पानी हाल्ने, पढ्ने वा अरु काम गर्न लगाउनुहुन्थ्यो कारण छोरो खराब संगतमा पर्ला भन्ने थियो । त्यसले गर्दा पनि उहाँको सहभागिता खेलकुदमा त्यति धेरै रहेन । 

उहाँ सानैदेखि लजालु स्वभावको हुनुहुन्थ्यो । फुटबल खेल्न जाँदा उहाँको खुट्टामा बल नै नआएपछि उहाँको लजालु स्वभावले पनि खेलकुदमा अघि बढ्न दिएन । अलि पछि भने साथीहरू खेलेर जान्ने भइसकेपछि आफूलाई खेल्न नआउँदा के भन्लान् भन्ने पनि रह्यो न्यौपानेलाई । 

उहाँलाई साहित्यमा रुचि भए पनि पुस्तकालय तथा त्यस्तो वातावरण नभएका कारण उहाँको रुचि चाँडो प्रष्फुटित हुन पाएन । 

छ कक्षा पढ्दा ज्यामितिको एकान्त कोण, संगत कोण आदिको परिभाषा नजानेर हातमा पिटाइ खाए बाहेक उहाँले पिटाइ खाएको थाहा छैन । कारण उहाँ एकदमै अनुशासित विद्यार्थी । यति भइकन पनि उहाँ पहिलो बेन्चमा भने बस्नु भएन । लाज लाग्थ्यो उहाँलाई पहिलो बेन्चमा बस्न । अन्तिम बेन्चमा बस्न पनि मन नलाग्ने भएका कारण दोस्रो, तेस्रो बेन्च उहाँको रोजाइमा पर्थ्यो । 

उहाँ कमजोर विद्यार्थी पनि होइन र एकदमै उम्दा पनि होइन । राष्ट्रिय प्राथमिक विद्यालयमा आइसकेपछि धेरै ठाउँका धेरै विद्यार्थी आउने हुनाले पहिले पहिलो हुने उहाँ धकेलिएर पाँचतिर पुग्नुभयो । 

स्कुल जाँदा केटा तथा केटी साथी सबै हुन्थे । माध्यमिक तहमा पुगेपछि विपरीत लिङ्गीप्रतिको आकर्षण स्वाभाविक भए पनि केटी साथीसँग बोल्दा केटाहरूले नाम जोडेर जिस्क्याउने हुनाले मनमा एक प्रकारको आकर्षण भए पनि त्यो प्रकट हुन नै पाएन । 

उहाँले २०४९ सालमा एसएलसी दिनु भएको हो । उहाँको ब्याचमा झन्डै ६० जना थिए एसएलसी दिने । त्यसमध्ये २०/२२ जना पास भए । उहाँ पनि प्रथम श्रेणी सहित तिनै २०/२२  जना भित्र पर्नुभयो । 

०००

एसएलसीपछि के पढ्दा के हुने भन्ने त्यति जानकारी थिएन उहाँलाई । अरूसँग नसोधेको त होइन तर, त्यो दिमागले त्यति टिप्न सकेन वा के भयो त्यस बेला । पहिलो श्रेणी आएको हुनाले विज्ञान पढ्ने कुरा त भयो तर, अंग्रेजीका मोटा मोटा किताब रट्नु पर्ने हुनाले पनि उहाँलाई विज्ञानले आकर्षित गर्न सकेन । एक दुई दिन वीरेन्द्र क्याम्पसको भिड र घोकाइले उहाँलाई अन्तै डोर्यायो । 

मानविकी पढ्ने समय घर्किसकेको थियो त्यस कारण बालकुमारी क्याम्पसमा वाणिज्य शास्त्रमा भर्ना हुनुभयो । त्यति बेलासम्म कतै कतै एघार, बाह्र पनि खुलेको थियो । उहाँलाई वाणिज्य शास्त्रमा सरले पढाउने बजारीकरण, वित्त शास्त्र, लेखापालले पटक्कै छोएन । नछुनुको कारण साहित्य भने थिएन । त्यस बेला उहाँको मनले के गर्ने भन्ने मात्र खोजिरह्यो । 

स्कुलमा अर्थशास्त्र नपढे पनि उहाँलाई क्याम्पसमा भने किन हो अर्थशास्त्र रमाइलो लाग्यो । एक जना साथीले प्राइभेट आइएको फर्म भर्दै रहेछन् । उहाँले पनि साथीलाई मेरो पनि भर्दे भन्नुभयो । साथीले साँच्चै भरेर आयो । पछि सँगसँगै जस्तो पर्‍यो परीक्षा । उहाँले दश वटै विषय पास गर्नुभयो । 

त्यतिबेला उहाँको दिदीको बिहे भएर भिनाजु काठमाडौँको म्हेपीमा बस्नुहुन्थ्यो । उहाँ आइए दोस्रो वर्षको परीक्षा दिएर यसै बसिरहेका कारण भिनाजु कहाँ आउनुभयो काठमाडौँ । के गर्ने, गर्ने भएर उहाँ जमलको सृजना कन्टेम्पररी आर्टमा भर्ना हुनुभयो । हप्ताको तीन दिन कक्षा हुन्थ्यो । शुल्क थियो पाँच सय रुपैयाँ । छ महिना आर्ट सिकेर उहाँ चितवन जानुभयो । 

साहित्य पनि मान्छेले बनाएको हो भन्ने लाग्यो । तर, मान्छे प्रकृति वा ईश्वर जसले बनायो त्यो मान्छेको भित्रको आन्तरिक इच्छा भने देश, धर्म, राष्ट्रियता, परम्परा भने फराकिलो तथा सूर्यको प्रकाश जस्तो हुन्छ, हावा जस्तो हुन्छ, वसन्त ऋतु जस्तो हुन्छ भन्ने कुराको बोध भयो उहाँलाई । 

उहाँले त्यसपछि धेरै चित्र बनाउनु भयो । उहाँलाई चित्रकलामा म एउटा सानो हिमाल हुन सक्छु तर, सबै हिमालको नाम हुँदैन । त्यस कारण नाम हुने हिमाल हुनुपर्छ भन्ने बोध स्नातक सकेपछि भयो । त्यसपछि उहाँलाई लेखनतिर नै बढी लाग्नुपर्छ भन्ने भयो । 

लेखनमा पनि पूर्वमा वाल्मीकिको पालादेखि र पश्चिममा जुन हुमरको पालादेखि शुभारम्भ भयो । त्यहाँ देखिको उहाँले इतिहास र वादको अध्ययन गर्न थाल्नुभयो । डेरिडासम्म उहाँले गहिरो एवं ध्यान पूर्वक अध्ययन गर्नुभयो । त्यसमा कस्ता वाद आए र त्यो वादलाई बोक्ने किताबहरू के के हुन भनेर उहाँले ती किताबहरूको पनि अध्ययन गर्नुभयो । अध्ययन गर्दा एन्तोन चेखव र चिनुवा अचेवेका कथाहरूले उहाँलाई राम्रै छोयो अनि प्रभावित बनायो । 

विश्वेश्वर प्रसाद कोइराला, डाइमन शमशेर, गोविन्द बहादुर मल्ल गोठालेदेखि कवितामा लेखनाथ पौडेलदेखि नछुटाइ कुन एरामा के भयो भन्ने एकदमै नछुटाइ पढ्नु भयो । लेखनाथको शास्त्रीय शैली, देवकोटाको रोमाञ्चक शैली, माधव घिमिरेको राष्ट्र प्रेम, गोपाल प्रसाद रिमालको गद्य कविता, देशभक्ति शैली, मसान नाटक आदि उहाँले अन्डर लाइन गरेर कापीमा सारेर पढ्नुभयो । 

पञ्चायत आएपछि किन अमूर्त कविता लेखियो । वैरागी काइँला, मोहन कोइराला, ईश्वर वल्लभहरू किन जन्मिए, किन अमूर्त कविता जन्मिए तथा चपाइएका अनुहार, पल्लो घरको झ्याल, अनुराधा जस्ता किताबहरू किन आए भनेर उहाँले गहिरो अध्ययन गर्नुभयो । 

उहाँलाई कविता, कथाका मनोविज्ञानले बढी छुन्थ्यो । हृदयको चित्रणले बढी छुन्थ्यो । उहाँ आफूले खोजेको कुरा कहाँ होला भन्दै गर्दा विश्वेश्वर प्रसाद कोइरालाको दुई चार वटा लाइनले उहाँको जीवनमा ठुलो परिवर्तन ल्याइदियो, ‘समाज इच्छा भन्दा व्यक्ति इच्छा ठुलो हुन्छ । त्यसैले व्यक्ति भित्र रहेका सुषुप्त चाहना, इच्छा, तृष्णाहरूलाई दबाएर राख्नुहुँदैन । तिनलाई विभिन्न माध्यमबाट प्रष्फुटित गर्नुपर्छ ।’ यो लाइन उहाँलाई साह्रै मन पर्‍यो । मैले जे खोजेको थिएँ त्यो त यहाँ पो रहेछ भन्ने उहाँलाई लाग्यो । 

विश्वेश्वर प्रसाद कोइरालाको उहाँलाई अर्को मन परेको लाइन भनेको, ‘म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ’ भन्ने हो ।  उहाँले यसलाई आफ्नै तरिकाले अर्थ्याउनु भयो । बेलायतको संविधान बेलायतमा मात्र लागू हुन्छ अरु देशमा लागू हुँदैन । र बेलायतको मात्र हो । तर, सेक्सपियरले लेखेको कविता त बेलायतको मात्र होइन संसारको हो । त्यसको जात हुँदैन, धर्म हुँदैन, सिमाना हुँदैन । त्यो त चरा जस्तो हो, नदी जस्तो हो, हावा जस्तो हो । सूर्यको प्रकाश जस्तो हो यी सबै कुराको कुनै सिमाना हुँदैन । भनेपछि साहित्य भनेको यस्तो रहेछ भन्ने उहाँलाई लाग्यो । 

उहाँलाई देश मान्छेले बनाएको हो । संस्कार, संस्कृति र परम्परा पनि मान्छेले बनाएको हो । संविधान, कानुन अनि राष्ट्रियता पनि मान्छेले बनाएको हो । साहित्य पनि मान्छेले बनाएको हो भन्ने लाग्यो । तर, मान्छे प्रकृति वा ईश्वर जसले बनायो त्यो मान्छेको भित्रको आन्तरिक इच्छा भने देश, धर्म, राष्ट्रियता, परम्परा भने फराकिलो तथा सूर्यको प्रकाश जस्तो हुन्छ, हावा जस्तो हुन्छ, वसन्त ऋतु जस्तो हुन्छ भन्ने कुराको बोध भयो उहाँलाई । 

मान्छेको सबैभन्दा ठुलो कुरा भनेको आन्तरिक इच्छा हो । विश्वेश्वर प्रसाद कोइरालाको ‘साहित्य अरूले बनाएको बाटो हिँड्न चाहँदैन आफू हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ’ भन्ने लाइनले उहाँलाई साह्रै नै छोयो । 

प्रत्येक मान्छेको अनुहार र औँठा छाप फरक छ भनेपछि म हिँड्ने बाटो निश्चित रूपले अलग हुनुपर्छ भन्ने लाग्यो उहाँलाई । अब उहाँलाई लाग्यो मेरो शैली के हो त । त्यसभन्दा अघि उहाँ अरूको नक्कल उतारे जसरी लेख्नुहुन्थ्यो । 

बसन्ती पढि सकेपछि डायमन शमशेरको शैली नक्कल गर्ने, विश्वेश्वर पढेपछि उहाँको शैली, ईश्वर वल्लभ पढेपछि आगोका फूलहरू हुन्, आगोका फूलहरू हैनन् भन्ने जस्ता अमूर्त कविता लेख्न मन लाग्ने । पछि उहाँलाई लाग्यो यो मेरो शैली होइन, मेरो अनुहार होइन । अब मेरो अनुहार प्रतिविम्ब हुने गरी कसरी लेख्ने भनेर उहाँ धेरै वर्ष उहाँ छट पटिनु भयो । आफ्नो शैलीको खोजीमा उहाँ निरन्तर लागिरहनु भयो । 

०००

आई कम पढ्न आउँदा उहाँको बालकृष्ण थपलिया भन्ने साथीसँग भेट भयो । उहाँ त्यस बेला रेडियो नेपालबाट आउने घटना र विचारका प्रस्तोता पुरुषोत्तम दाहालको नक्कल उतार्दै उहाँको कोठामा आउनुहुन्थ्यो । अनि कुराकानीको क्रममा कविता, नाटक लेख्छु भन्ने कुरा भन्नुभयो न्यौपानेले । 

त्यस बेलासम्म उहाँलाई खण्डकाव्य, महाकाव्य भन्ने थाहा थिएन । कविता लेख्दै जाँदा एउटा कथा सकिएछ । थपलिया नेपाली साहित्य पढ्नु हुँदो रहेछ । त्यसले उहाँलाई सिद्धान्तको जानकारीमा मद्दत गर्‍यो । आफूले पढेको मुनामदन, गौरी, ऋतु विचार आदि खण्डकाव्य रहेछन् भन्ने बल्ल उहाँलाई थाहा भयो । 

थपलिया विभिन्न कार्यक्रममा जाँदा कविता वाचनका लागि न्यौपानेको नाम लेखिदिनुहुन्थ्यो तर, उहाँको भने ती कार्यक्रममा गएर कहिले वाचन गरेर सकाएर फर्किऊँ भन्ने लाग्थ्यो । उहाँका खुट्टा काम्थे । थपलिया साथीभाइसँग पनि एकदम मजाले गफ गर्नुहुन्थ्यो । तर, उहाँको भने एकदमै लजालु स्वभाव भएका कारण कमै बाहिर निस्कनुहुन्थ्यो । यसरी उहाँको साहित्यलाई बाहिर ल्याउने काम साथी बालकृष्णले गर्नुभयो । 

०००

उहाँ बि ए पढ्दा जमलमा सिर्जना आर्ट ग्यालरीमा आर्ट सिक्नुहुन्थ्यो । कक्षा चाँडै सकिए पनि घर गएर के गर्नु भनेर सरलाई सोधेर उहाँ बेलुकासम्म अभ्यास गरेर बस्नुहुन्थ्यो । अनि फर्कने बेलामा उहाँले रत्नपार्कमा हरेक माल दश, बिस, पचास, सय भनेर बेचेको देख्दा अचम्म लाग्थ्यो । अनि नगर प्रहरी आउँदा भागाभाग हुन्थ्यो । उहाँलाई यसरी भागाभाग गर्नुभन्दा पहिले नै राख्न नदिए हुन्थ्यो भन्ने लाग्थ्यो । 

भागाभाग गर्ने क्रममा प्रहरीले महिलाको कपडाको पोको भन्दा पनि पैसाको पोको चाहिँ समाते । प्रहरीहरू मुसुमुसु हाँसेर बसे । महिला किंकर्तव्य विमूढ बनिन । उनले सामान जोगाउने कुनै कोसिस गरिनन् कारण अब उनको जे भएको पैसा नै गयो भनेपछि समान किन जोगाउनु भन्ने लाग्यो होला । यो दृश्यलाई न्यौपानेले बेलुका कोठामा गएपछि कथाका रुपमा उतार्नुभयो । र यही कथा नै उहाँको पहिलो कथाको रुपमा २०५५ सालमा ‘रत्नपार्कमा व्यापार’ भन्ने शीर्षकमा स्कुलको मुख पत्र अभिनवमा प्रकाशित भयो । 

करिब पाँच सयप्रति छापिएको त्यो कथा ज–जसले पढे सबैले उम्दा छ भन्ने प्रतिक्रिया दिए । त्यो कथा नेपाली तथा अंग्रेजीका शिक्षक तथा अन्य साहित्यकार समेतले पढे । उहाँको साथी बालकृष्णले पनि पढ्नु भएछ कथा । ओहो यो त निकै राम्रो तथा राष्ट्रिय स्तरको कथा छ । यो त परशु प्रधानको जस्तो कथा छ भन्ने प्रतिक्रिया दिए बालकृष्णले । 

चितवनमा त्यस बेला गोविन्दराज विनोद भन्ने नेपाली शिक्षक हुनुहुन्थ्यो । गोविन्दराज विनोद लेखनाथ पौडेल र माधव घिमिरेको मिश्रणका रुपमा लेख्ने कविका रुपमा चिनिनुहुन्थ्यो चितवनमा । उहाँले न्यौपानेलाई हरदम प्रेरणा दिइरहनुहुन्थ्यो । पछि विनोद गुरुले राम्रो भनेको रचना पनि उहाँ आफैँलाई राम्रो लाग्न छोड्यो । गुरुले कतिपय रचना प्रेरणा दिन राम्रो भन्नु भएको रहेछ भन्ने लाग्यो पछि उहाँलाई । 

पछि चितवनका स्थानीय पत्रिकामा उहाँको १०/१२ वटा कथा छापियो । स्थानीय रुपमा उहाँको परिचर्चा त्यसपछि सुरु भयो चितवनमा । काठमाडौँ आएपछि भने ‘मालतीको झापड’ भन्ने कथा छापियो उहाँको गरिमामा २०६३ सालमा । पाठक प्रतिक्रियाको सिंगो पेजमा अरु सबैको अत्यन्त थोरै र उहाँको कथाको झन्डै पूरा जस्तो थियो । श्रीकृष्ण नाम गरेका पाठकले कथाको मनोवैज्ञानिक विश्लेषण गरी कथा विश्व स्तरीय भएको प्रतिक्रिया लेख्नु भएको थियो पाठक प्रतिक्रियामा । त्यसपछि उहाँको कथाको माग सर्वत्र हुन थाल्यो । 

०००

उहाँले सेतो धरती लेख्नका लागि २०६८ साल वैशाखदेखि एक महिना चितवनको देवघाट बसेर अनुसन्धान गर्नुभयो । २०६८ मङ्सिरदेखि पुससम्म एक महिना लगाएर लेख्नुभयो । अनि त्यस वर्षको मदन पुरस्कार समेत पायो सेतो धरतीले । लेख्नका लागि उहाँले एक महिना स्कुलमा बिदा समेत लिनुभयो । त्यस बेला उहाँ ललितपुर माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । 

‘करोडौँ कस्तूरी’ भने उहाँले कक्षामा पढाएको अनुभवका आधारमा लेख्नु भएको हो । यसमा शिक्षाभन्दा सृजनशीलता ठुलो हो भन्ने सन्देश दिन खोजिएको छ । उहाँ कक्षामा पढाउँदा विद्यार्थीलाई तिमीले पढिरहेका कुरा तिम्रा होइनन् तर पनि जान्नुपर्छ भनेर अनायासै भन्नु हुँदो रहेछ । नारायण गोपाल कुन विश्वविद्यालय पढेर गायक बन्नुभएको हो ? हरिवंश आचार्यले कुन कलेजमा कलाकारिता पढेका हुन् भनेर उहाँ विद्यार्थीलाई उदाहरण समेत दिनु हुँदो रहेछ । 

अरूका कुरा जान्नुभन्दा आफ्नो कुरा जान्नु ठुलो हो । आफ्नो कुरा भनेको तिमी भित्रको कस्तूरी हो भन्नुहुन्थ्यो न्यौपाने विद्यार्थीलाई । कस्तूरीलाई आफ्नो नाभिमा भएको विनाको सुगन्ध थाहा हुँदैन र खोज्दै हिँड्छ । तर, मान्छेलाई भने आफ्नो सुगन्ध थाहा हुनुपर्छ । जो मान्छेले आफू भित्रको कस्तूरीको बारेमा थाहा पाउँछ उसले संसारमा नयाँ कुरा दिन्छ भन्ने उहाँको मान्यता छ । त्यसैले न्यौपाने भन्नुहुन्छ, ‘पहिलो पटक साइकल बनाउने मानिस वैज्ञानिक हो । तर, त्यसपछि साइकल बनाउने मानिस मिस्त्री हुन्छ ।’ उहाँको अर्को किताब ‘गुलाबी उमेर’ पनि यही नभए पनि यस्तै यस्तै मान्यतामा आधारित छ । 

पानीको घाममा उहाँले कुनै पनि कुराको परिणाम आउनु अगाडिका सबै प्रक्रियालाई एउटा कलाका रुपमा प्रस्तुत गर्नुभएको छ । कथाकारका रुपमा न्यौपाने अगाडि आए पनि उहाँ कसैको छोरा, शिक्षक, मामा, भान्जा, साथी, भाइ, दाइ आदि अनेक रूप हो । 

उहाँ भित्रको कथाकार त अहिले देखे जस्तो रूपको होइन । त्यो कथाकार अदृश्य छ, अगोचर छ, अमूर्त छ । त्यसैले त्यो अमूर्त मान्छेलाई अगाडि राखेर उहाँले ‘पानीको घाम’को शुरुवात नै यसरी गर्नुभयो, 

‘मेरो अन्तर बाह्य अनुहार खोसेर एउटा अभौतिक, अमूर्त, समवेत मान्छे निस्कियो र भन्यो, कथा लेख्न जान्छु । 

कहाँ जान्छस् ? 

नेपालगन्ज । 

सक्छस् लेख्न ? 

नसके नसकेकै कुरा लेख्छु । 

कथा हुन्छ त ? 

कथा हुन के हुनुपर्छ ?

कथा तत्त्व । 

भएन भने ? 

अकथा हुन्छ । 

अकथा कथा हुन्छ त ?

जसरी आजका अमान्छेहरु मान्छे भएका छन्, त्यसरी नै मेरा अकथाहरु पनि कथा हुन्छन् ।’

पानीको घाम यसरी जहाँबाट सुरु भएको थियो यहीँ आएर अन्त्य हुन्छ । यसको सुन्दर पक्ष भनेकै यही हो । 

सेतो धरतीका बारेमा उहाँलाई एक जना ठुलो लेखकले उहाँलाई, ‘तपाईँ के मा आस्था राख्नु हुन्छ मलाई थाहा छैन तर, हामी  सर्वहाराको कथा लेख्नुपर्छ भन्छौँ, तर तपाईँ त सर्वहाराभन्दा पनि तल्लो वर्गमा गएर कथा लेख्नुभयो । ती बाल विधवाहरू जसको नागरिकता पनि छैन । नाता पनि छैन । कोही मान्छे पनि छैन । त्यो तल्लो स्तरको कथा हामीले कहिले पनि सोचेनौँ तर तपाईँले लेख्नुभयो, बहुत सुन्दर लेख्नुभयो’ भनेर भन्नु भएको थियो । 

सेतो धरती लेख्नु पर्छ भनेर लेखिएको होइन न्यौपाने भन्नुहुन्छ । उहाँको बाको माइजू हजुरआमा बाल विधवा हुनुहुन्थ्यो । एघार वर्षको उमेरमा उहाँ विधवा हुनुभएको थियो । गेरु वस्त्र लगाउने अनि संन्यास ग्रहण गर्नुभएको हजुरआमाले उहाँलाई यति माया गर्नुहुन्थ्यो कि उहाँ परबाट आउँदा हजुरआमाको त्यो गेरुको वासना आउँथ्यो ।

देवघाट जाँदा उहाँलाई यमुना आमाले भन्नुहुन्थ्यो, ‘बाबु मलाई बाटो हिँड्ने मान्छे र मेरो छोरा एउटै लाग्छ । त्यो मेरो छोरो होइन । मबाट जन्मिएको मात्र हो । कोही पनि कसैको होइन । तिमीसँगको मेरो पूर्व जन्मको केही चिनजान र छ कि बाबु मलाई पनि साह्रै मन पर्छ । छोरो भनेर पनि होइन । छोरो जस्तो लागेर पनि होइन । ह्दयको कस्तो कञ्चन प्रेम छ । शायद त्यसैले होला ।’

 

उहाँ दौडँदै जानुहुन्थ्यो । हजुरआमाले मन्दिरबाट ल्याएको नरिवल, मिश्री, स्याउ, सुन्तला जस्ता प्रसाद हजुरआमाको हातबाट दिँदा त्यहाँ पनि गेरुको सुवास भेट्नुहुन्थ्यो न्यौपाने । जाने बेलामा पनि त्यत्तिकै माया गर्नुहुन्थ्यो । एक पटक जाने बेलामा एक रुपैयाँ, दुई रुपैयाँ, एक सुका, एक मोहर गरेर उहाँले एघार रुपैयाँ दिनु भएको थियो । 

०००

सेतो धरतीमा मुख्य तीन वटा पात्र छन् । तारा जसको समान उमेरको मानिससँग विवाह भए पनि जीवन भोग्न पाइनन् जसका कारण सधैँ कुण्ठित तथा अतृप्त मन । यो भयो समान बाल विवाह । 

अर्को भनेको अनमेल विवाह । पवित्रा नौ वर्षको हुँदा ४५ वर्षका मानिससँग विवाह भयो । र अनमेल विवाहका कारण विधवा हुनुपरेको छ । यमुना भन्ने पात्रको भने बहु विवाह भएको छ । 

त्यस बेला सकेसम्म रजस्वला हुनु अगाडि विवाह गर्ने प्रचलन थियो । अनि बुवा बितिसकेका कारण गोठालो जाँदा यमुनाकी आमालाई एक जनाले गएर तपाईँको छोरी  मलाई दिनुपर्‍यो भन्नुभयो । 

त्यसपछि यमुनाको आमाले उनका बारेमा बुझेर तपाईँलाई दुलही फाप्दैन । किनकि यस अघिका बिते त्यसैले अर्की बिहे गरेर आउनुस् अनि छोरी दिउँला भन्नुभयो । यमुनालाई पाउनलाई उनले मैले अर्की बिहे गरेर आएँ अब तपाईँको छोरी दिनुस् भनेर बिहे गर्नु भएको छ कथामा । 

किताबमा गहिरो प्रेम देखाइएको छ । श्रीमान् बितेपछि वैराग्य आएर माथिल्लो तलामा बसेकी यमुनालाई किन माथि बसेको भन्दा श्रीमान् आकाशमा गएका छन् माथिल्लो तलामा बस्दा नजिक हुन्छ भन्ने उत्तर आउँछ । 

माथिल्लो तलाबाट दोस्रो हुँदै आँगनमा आएकी यमुनालाई यो घर कसको भन्ने लाग्यो । मेरा दुलाहा बिते, दुलाहाको घर रहेन । म पनि बित्छु मेरो पनि रहेन । पहिले अरु कसैको थियो । सबैले मेरो भन्थे तर, कसैको पनि होइन । त्यसैले म पनि किन बस्नु, भगवानको घर जानुपर्छ भनेर तीर्थ आउनु भएको हो । 

०००

देवघाट जाँदा उहाँलाई यमुना आमाले भन्नुहुन्थ्यो, ‘बाबु मलाई बाटो हिँड्ने मान्छे र मेरो छोरा एउटै लाग्छ । त्यो मेरो छोरो होइन । मबाट जन्मिएको मात्र हो । कोही पनि कसैको होइन । तिमीसँगको मेरो पूर्व जन्मको केही चिनजान र छ कि बाबु मलाई पनि साह्रै मन पर्छ । छोरो भनेर पनि होइन । छोरो जस्तो लागेर पनि होइन । ह्दयको कस्तो कञ्चन प्रेम छ । शायद त्यसैले होला ।’

किताब लेखि सकेपछि उहाँ पाण्डुलिपि बोकेर केही आमाहरूलाई पढाउन देवघाट जानु भएको थियो । यमुना आमालाई चाहिँ होइन अरु आमालाई भने उहाँले पढेर सुनाउनु भयो । हामीलाई यो नसुनाउनुस् । यो खाटा बसेको घाउ किन कोट्याउनु हुन्छ । हाम्रो आशीर्वाद छ तपाईँको किताब राम्रो होस् भन्नुभयो । 

त्यसपछि उहाँलाई अब किन मन दुखाउनु किताब निस्किएको पनि भन्दिन भन्ने लाग्यो । दुःख दिएँ कि ! पाप लाग्छ कि भन्ने लाग्यो । 

फर्केर काठमाडौँ आएपछि किताब छापियो । पुरस्कार पनि पाउनु भयो । अनि अब आमाहरूलाई भेट्न जान्छु भनेर ४०/४५ जोर न्यानो पहेँलो लुगा किनेर लिएर जानुभयो । सुरुमै यमुना आमाको कुटी आउँथ्यो । 

यमुना आमा पिँढीमा बसेर बत्ती काट्दै हुनुहुन्थ्यो । आमा नारायणमा भन्नुभयो । ‘ओहो बाबु नारायणमा, आयौ तिमी, आज राति सपनामा देखेथेँ बिपनामा देख्नु रछर’ भन्नुभयो यमुना आमाले । 

हजुरलाई त फोनमा भन्न पनि नपर्ने । भगवानले भन्दिने भनेर भन्नुभयो उहाँले । अनि यमुना आमाले ‘किताब ल्याएका छैनौ’ भनेर भन्नुभयो । छैन भन्दा किन भनेर सोध्नुभयो । 

कथाका बारेमा यमुना आमालाई थाहा रहेछ । खाटो बसेको घाउ किन कोट्याउनु भनेर नल्याएको आमा भन्दा उहाँले त्यो त सपना हो, सपनामा दुलाहा मरे भनेर ब्यूँझेपछि म रुन्छु र भन्नुभयो यमुना आमाले । मेरा सबै छोराछोरी सपना हुन् । मेरा दुलाहा सपना हुन् म ब्युँझिएँ । सपनाको कुरा सम्झेर म रुन्छु भनेर उहाँले भन्नुभयो । अनि पछि जाँदा उहाँले किताब लगेर दिनुभयो । 

पुलपारिका विद्यार्थीले सुनाए, महेश आश्रमकाले सुनाए त्यसैले कथा मलाई थाहा छ भनेर भन्नुभयो यमुना आमाले । मलाई त जमुनाबाट यमुना पो बनाइ दिएछौ भन्दा न्यौपानेलाई भुजेलहरूले किताब जलाएका कारण डर पनि लाग्यो । 

उहाँले आमालाई प्रस्ट्याउँदै भन्नुभयो, त्यो तपाईँको कथा भनेर पढ्नु भयो भने तपाईँको होइन । तपाईँको होइन भनेर पढ्नु भयो भने तपाईँको हो । ‘त्यो त मैले बुझिछु क्या’ यमुना आमाको उत्तर थियो, ‘पेटमा आँखा हुने मान्छेले कलाकारिता गरेका हुन् ।’ यसले उहाँमा गहिरो प्रभाव पारेको छ । अहिले पनि उहाँलाई देवघाट सम्झँदा मन नै हुरुक्क हुन्छ । 

उहाँलाई लाग्छ उहाँलाई विश्वविद्यालयले भन्दा धरातलले लेख्न सिकायो । विश्वविद्यालयमा अरूका कुरा पढियो । धरातलमा भने जीवनका कुरा पढियो भन्नुहुन्छ न्यौपाने । नलेखिएका कुरा पढियो । नलेखिएको कुराले उहाँलाई लेख्न सिकायो । नामी लेखक बनायो । 

ती आमाहरू तथा नेपालगन्ज आफ्ना लागि साहित्यको एउटा खुला विश्वविद्यालय नै भएको मान्नुहुन्छ न्यौपाने । सृजनात्मक लेखनको विद्यालय नै त्यही हो जस्तो लाग्छ उहाँलाई । ती आमा र खुला विश्वविद्यालयले न्यौपानेलाई मदन पुरस्कार दिलायो । मदन पुरस्कारका अलावा पद्म श्री, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, पारिजात पाण्डुलिपि पुरस्कार आदि उहाँले प्राप्त गर्नुभएका उत्कृष्ट पुरस्कार हुन् । सम्मानको फेहरिस्त भने निकै लामो छ उहाँको । 

०००

उहाँले आफू पढेको अन्नपूर्ण माविमा पाँच वर्ष पढाउनु भयो स्नातक तहमा पढ्दा । पछि नारायणगढमा स्नातकोत्तर पढ्दा स्मल हेभेन भन्ने आवासीय विद्यालयमा दुई वर्ष पढाउनु भयो । काठमाडौँ आएर पनि ललितपुर माध्यमिक विद्यालयमा पाँच वर्ष पढाउनु भयो । सबै गरेर उहाँले बाह्र वर्ष पढाउनु भयो । 

अन्नपूर्णमा पढाउँदा उहाँको तलब ४१ सय थियो । के मा कसरी खर्च भयो थाहा भएन पहिलो तलब । पछि भने उहाँले बाइक किन्नुभयो दुई वर्ष पढाए पछि । हाल भने उहाँ पूर्ण रुपमा लेखनमा व्यस्त हुनुहुन्छ । उहाँले थुप्रै किताब हात हाल्नु भएको छ । ती बिस्तारै तयार भएर आउने क्रममा छन् ।