हरिविनोद अधिकारी | दृष्टिकोण | चैत ०५, २०७८
जीवनका धेरै अनुभवहरू आफैँमा समेटिएका हुन्छन् र त कति सम्झनामा पनि अब कतैकतै खोज्नुपर्ने हुनेरहेछ । फेरि जब सम्झना हुन थाल्छ, फुत्तफुत्त बिस्तारै आउन थाल्ने रहेछन् मिति बिर्सने अनि एउटा घटनासँग अर्को घटना जोडिने डर । सायद त्यसैले होला, कतिपय मानिसहरूको बानी हुन्छ- प्रत्येक दिन आफ्ना दैनिक घटना जस्ताको तेस्तै लेख्ने तिथिमिति र घटनाको यथार्थ विवरणसहित । आत्मवृत्तान्त लेख्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा नै ती वृत्तान्त सत्य होस् किनभने त्यसको परख गर्ने भनेको स्वयं आफू मात्र हो ।
कसैले पनि सम्बन्धित व्यक्तिको जीवनमा ती घटनाहरू किन भए भन्ने कुराको असली गाँठी कुरा जे हो, थाहा उसैलाई मात्र हुन्छ, जसले भोगेको हुन्छ । भनिन्छ नि, कतिपय कुराहरू सार्वजनिक पनि भएका हुन्छन् तर सम्बन्धित व्यक्तिले आफ्ना बारेमा भनिएका कुराहरूलाई आधारमा लिएर इतिहासमा पनि लेखिन्छ । जस्तो कि आधुनिक नेपाली इतिहासमा राणा परिवारको सुरुवात गर्ने आदिशासक जंगबहादुर राणाका बारेमा भनिन्छ कि उनको पनि डायरी लेख्ने चलन थियो र उनका छोरा पद्मजंग राणाले उनको जीवनी र कर्मका बारेमा अंग्रेजीमा लेखे । अहिले त्यो नेपालीमा अनुवाद भएर पनि आएको छ ।
नेपालमा जंगबहादुर कुँवर कसरी राणा बने र राणाहरूको जहानियाँ शासनको सूत्रपात गरे तर उनकै आफ्नै सन्तान त्यो सत्ताबाट कसरी बाहिरिन पुग्यो ! उनको सन्तानको लासमाथि सुरु गरिएको शासनका मुखियाहरू र तिनका सन्तानहरूले आफ्नो नाामको परिचयमा अहिले पनि जंगबहादुर राणा लेख्ने गरेका छन् । जीवनी आफैँले पनि लेख्न सकिने रहेछ र थाहा पाएको वा अनुसन्धान गरेर लेखिने पनि रहेछ । प्रत्येक जीवनीको विवरणले कुनै अनुभवको पुलिन्दा प्रस्तुत गरेको हुन्छ ।
मैले पनि लेख्न थालेको यो १०१औँ भाग हो- साप्ताहिक रूपमा लोकसंवाद डटकम अनलाइन पत्रिकामा लेख्न थालेको । सम्झँदा लाग्छ, अब लेख्न बाँकी सायद छैन तर कतिपय कुराहरू लेख्नै पर्ने भए पनि या त लेख्न छुटेको छ या त लेख्ने कि नलेख्ने भनेर अलमलमा परेका विषयहरू छन् । कतिपय विषयहरू, जुन मैले मात्र भोगेको हुन्छ, त्यसबारेमा या त मैले लेख्नुपर्छ या मैले भनेर कतै अभिलेख राखेको हुनुपर्छ ।
म आफू सार्वजनिक रूपमा कुनै दायित्वबोध गरेको व्यक्तित्व त होइन तर सम्झँदा लाग्छ- कतिपय कुराहरू मैले लेखिँन भने, बोलिनँ भने इतिहासमा त्यसै बिलाएर जान सक्छन् । जस्तो कि बीपीसँगका अन्तरंग समय, गिरिजा बाबुसँगको समय, मेरा लागि सपना जस्तो पनि हो र त्यसबेला म जस्ता कतिपय त्यसबेलाका युवाहरूको धारणा हो । बीपीसँगको सानो समयको सम्पर्कले पनि आन्तरिक जीवनमा नयाँ ज्योति प्राप्त भएको जस्तो लाग्थ्यो र बाँच्ने भनेको प्रजातन्त्र प्रतिको आस्थालाई आफैँमा मौन रूपमा, आफूमा आत्मसात् गर्ने प्रक्रिया सक्रिय रूपमा कार्यान्वयन गर्ने हो भन्ने लाग्थ्यो ।
कतिपय साथीहरू, अग्रजहरू र भाइबहिनीहरूमा आफ्ना लागि भन्दा पनि देशका लागि, प्रजातन्त्रका लागि, भावी समाजका लागि, सुरक्षित सुनौलो भविष्यका लागि नेपालीहरूको कर्तव्य कस्तो हुनुपर्छ भन्ने बहसले आज पनि नेपाली समाजको प्रजातन्त्रलाई ज्योति प्रदान गरिरहेको छ । त्यस्ता महामानवसँगको बहसमा, संगतमा राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र अन्तर्राष्ट्रियवादका बारेमा चर्काचर्की बहस गर्न उत्प्रेरित गर्ने र सिद्धान्तप्रतिको प्रतिबद्धता तयार गर्ने कुरा अब दन्त्यकथा जस्तो भएको छ ।
हामी नेपालमा बसेर विद्यालय, कलेज पढ्नेहरूले बीपी राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल आउनु भएपछि प्रत्यक्ष साक्षात्कार गर्न पाएका हौँ । नेपाली कांग्रेसमा सिद्धान्तप्रति छलफल पनि हुन्थ्यो, व्यावहारिक प्रशिक्षण पनि दिइन्थ्यो भन्ने कुरा कथा हुन लागेको छ तर अहिले कम्तीमा पनि नेपाली जनतालाई कांग्रेसका बारेमा केही धारणा पस्कने तयारी सुरु भएको सुन्दा पनि खुसी लाग्छ किनभने नेपाली राजनीतिको क्रिया नेपाली कांग्रेसबाट हुने रहेछ अनि प्रतिक्रिया सुरु हुन्छ ।
नेपाली राजनीतिमा अहिले जुन गठबन्धन संस्कृति बनेको छ, त्यो फगत सत्ता प्राप्त गर्न र सत्तामा बसिरहनका लागि गरिने सिद्धान्त विहीन गठ जोड देखिन्छ । रणनीति र सिद्धान्तका बीचमा नयाँ भाष्य तयार भएको छ, जसले सिद्धान्त प्रतिभन्दा जसरी पनि सत्तामा आफू र आफ्नालाई केन्द्रित गरेर तयार गर्ने हो ।
बीपीलाई नेपाली राजनीतिमा धेरैले सम्झने उहाँको सिद्धान्तप्रति अविचल आस्था र आफ्नो आस्थाको सिद्धान्तलाई नै नयाँ भाष्यमा तयार गरी नयाँ तरिकाले त्यसको प्रयोग गर्न खोज्नु हो । समाजवादलाई प्रजातन्त्रसँग अन्तर्घुलन गरेर नेपालमा नयाँ मोडेलका प्रजातन्त्र उहाँको अभीष्ट थियो । तर, नेपाली राजनीतिमा सिद्धान्त विहीन गठ जोडका विरुद्ध सधैँ अडान लिने भएकाले कतिपय वामपन्थी अर्थात् कम्युनिस्टहरूले संयुक्त आन्दोलनका विरोधी भनेर भन्ने गर्छन् । जब नेपालमा पञ्चायतले आफूलाई धान्न नसक्ने भएपछि सिधै बहुदल घोषणा गर्न राजाको अहंकार र विष्णुको अवतारको आवरणले मुस्किल भएर सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था भन्ने विषयमा नेपाली बालिगहरूको मतद्वारा जान्ने विचारले २०३६ सालको जेठ १० गते बिहानै जनमत संग्रहको आवश्यकता महसुस गरेर जनमत संग्रहको घोषणा भयो तत्कालीन राजा वीरेन्द्रबाट ।
राजजनीतिक विश्लेषकहरू के पनि भन्छन् भने, २०४६ सालमा कांग्रेस र वाममोर्चाको गठबन्धन सिद्धान्त प्रतिको आस्थाभन्दा रणनीतिक रूपमा थियो, जसले प्रजातन्त्र आजसम्म पनि वर्णशंकर भएको छ र प्रजातन्त्र जसको सिद्धान्त हो, उही प्रजातन्त्रको क्रियान्वयनको कमजोर पाटो बनेको छ । २०६२/०६३ सालमा पनि त्यस्तै भयो, जसले गर्दा आज पनि मुलुकले खास प्रजातन्त्रको पक्षमा बाटो लिन सकेको छैन
पञ्चायतका विरुद्ध लडिरहेका भन्ने कम्युनिस्टहरूले राजासँग शर्त राख्ने कुरा गरे । बीपीको धारणा थियो- राजा जनमत संग्रहका लागि आह्वान गर्ने अनि हामी शर्त राख्ने किन ? थाहा छ, राजाले धाँधली गर्ने विचार गरेका होलान् , यदि धाँधली गर्नु नै थियो भने किन जनमत संग्रहमा गएर जनताको विचार बुझ्ने चाहना राखे त ? राजाको सरकार हो, राजालाई नै लाग्यो कि अब पञ्चायतले काम गर्नेवाला छैन, त्यसैले सुधारिएको पञ्चायत भन्ने विशेषण राखे र जनताको घरदैलोमा पञ्चहरूलाई पनि त्यस्तो व्यवस्थाका बारेमा मत माग्न जान बाध्य पारे, जसलाई निर्विकल्प मानिएको थियो र नेपाली हावापानी सुहाउँदो भनिएको थियो ।
बीपीले भन्नुभयो, 'मैले कोसँग मिलेर संयुक्त आन्दोलन गर्ने, राजासँग ? जो बहुदल भनेको धोका हो भन्दै छन् र एक दलीय कम्युनिज्मको पक्षमा राजासँग मिलेर संगठन दरिलो बनाउँदै छन् प्रजातन्त्रका विरुद्धमा ।' त्यसैले आज पनि बीपीलाई कम्युनिस्ट विरोधीका रूपमा लिने गरिन्छ । त्यसो त विश्वमा आधुनिक समाजवाद, जसलाई प्रजातान्त्रिक समाजवाद भनिन्छ, त्यो कम्युनिस्टको विरोधमा विश्वमा प्रयोग गरिएको हो, जहाँ सामाजिक न्यायका लागि प्रजातन्त्र अपरिहार्य मानिन्छ, समतामूलक समाजका लागि प्रजातन्त्रका अपरिहार्य तत्त्वको प्रयोगले मात्र समाजमा प्रजातन्त्र दिगो बनाउन सकिन्छ ।
त्यसो त अहिले प्रजातन्त्रमा समाजवादको खोल आवश्यक छैन भन्ने र प्रजातन्त्र स्वयंमा समाजवादको स्वरूप बनेको छ भन्ने २ धारको बोलबाला छ । प्रजातन्त्र भनेको उदार मात्र हुन्छ, त्यहाँ कसैको बन्धन हुनुहुँदैन, प्रजातन्त्र भनेको प्रजातन्त्र नै हो भन्ने र प्रजातन्त्रको पहिलो शर्त नै समाजको विकास हो अनि समाजका लागि भनेर कल्याणकारी राज्यको स्थापना हुनुपर्छ भन्ने हो ।
बीपीले समाजवादको नयाँ भाष्य तयार गर्नुभयो र भन्नुभयो, 'समाजवादबाट आवधिक निर्वाचन र प्रजातन्त्रका आवश्यक तत्त्वहरू निकाल्यो भने त्यो साम्यवाद हुन्छ र साम्यवादमा नै यदि प्रजातन्त्रका आवश्यक तत्त्वहरू समावेश गरियो भने त्यो नै समाजवाद हुन्छ ।' अर्थात् बीपीले आवधिक निर्वाचनलाई नै प्रजातन्त्र र समाजवादको झिनो त्यान्द्रो तर सिद्धान्तको आधार मान्नुभएको थियो । सिद्धान्तलाई त्यागेर सत्ताको मात्र कुरा गर्नेलाई बीपीले भन्ने गर्नुहुन्थ्यो, 'यदि मैले चाहेको भए र राजा महेन्द्रको भित्री इच्छा बमोजिम उनीसँग आफूलाई समर्पण गरेको भए आजन्म प्रधानमन्त्री हुन सक्थेँ या उनी बाँचुन्जेल म नै प्रधानमन्त्री निरन्तर भइरहन्थे । तर, एउटा निरंकुश राजा, जो सेनाको बुटमार्फत् प्रजातन्त्रको हत्या गर्न सम्म तयार हुन्छन् मान्छेको, प्रजातन्त्र प्रतिको आस्थालाई निमोठ्न तयार हुन्छन्, ती राजासँग मैले आत्मसमर्पण गर्ने सम्भावना नै थिएन ।'
अर्थात् कम्युनिस्टहरूसँग पनि सिद्धान्तलाई थाँती राखेर, प्रजातन्त्रका प्रतिको दृष्टिकोणमै स्पष्ट नभएका जमातहरूसँग केका लागि आन्दोलन गर्ने ? अनि, त्यही बेलामा बीपीले इन्डोनेसियाका कम्युनिस्ट नेता दीप नुसन्तर अदित (या आदित्य, जन्मँदाको नाम अहमद अदित)ले सुकार्नोको राज्यकालमा घुसपैठ गरेजस्तै नेपालमा पनि पञ्चायतमा घुसपैठ गरेका छन् भन्ने धारणा लिनुभएको थियो, जसलाई नेपाली राजनीतिमा 'अडिट फर्मुला' भनेर बीपीले नामकरण गर्नुभएको थियो ।
हुनत अदितलाई सामान्य पुछताछसमेत नगरी फाँसी दिइएको थियो र सुकार्नोलाई पनि उनकै विश्वासपात्र सेनानायक सुहार्तोले सत्ता पल्टाएका थिए । पछि सुकार्नो पुत्री मेघावतीले प्रजातन्त्र बहालीपछि सत्ता सम्हालेकी थिइन् ।
आज जब जब सत्ताका लागि गठबन्धन हुने गर्छन् सिद्धान्त विहीन तरिकाले, त्यसबेला बीपीको चर्चा चुलिन्छ । आज पनि नेपाली राजनीतिमा सिद्धान्तप्रति प्रतिबद्ध र प्रजातान्त्रिक सिद्धान्तलाई नेपाली माटोमा प्रयोग गर्ने र सिद्धान्तका रूपमा कार्यान्वयन गर्ने नेतामा सबैभन्दा बढी चर्चित बीपी नै हुनुहुन्छ । आज जब म आफ्नो जीवनको समीक्षा गर्न थाल्छु, बीपीले साक्षात्कार हुँदा गरेका बहस, छलफल र सिद्धान्तप्रति देखाउनुपर्ने प्रतिबद्धताको व्याख्या गर्नुभएको सम्झँदा इतिहासको एउटा कालखण्डको सानो क्षणबाट सिञ्चित हुन पाएकामा आफूलाई भाग्यमानी सम्झन्छु ।
म जस्ता लाखौँ नेपालीहरूले बीपीलाई साक्षात्कारमा रूपमा भेट्न पाएका थिए र अब ती मानिसहरूका स्मृतिमा बीपी हुनुहुन्छ, नेपाली प्रजातन्त्रको धुकधुकीको रूपमा जीवित हुनुहुन्छ । उहाँका जीवनीको मात्र प्रभाव परेको होइन कि उहाँले प्रजातन्त्र प्रतिको जुन नयाँ भाष्य दिनुभएको थियो, खासगरी हामी जस्ता साना राज्यहरूको अस्मिता जोगाउने काममा प्रजातन्त्रले मात्र राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने विश्वास उहाँमा थियो ।
त्यसो त उहाँको जीवनमा नै गुमेको प्रजातन्त्र पुनर्बहाली हुन सकेन तर बीपीको सूत्र नमान्दा आज नेपालबाट राजतन्त्र नै सखाप भएको देख्न सकिन्छ । बीपीको धारणा थियो, जब जनमत संग्रहमा सुधारिएको पञ्चायतले ५५ प्रतिशत मत ल्यायो र बहुदलको विरुद्धमा बहुमतमा सुधारिएको पञ्चायत देखियो । २०३८सालमा हुन लागेको पञ्चायतको तर्फबाट बालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायतका लागि आमनिर्वाचन हुने बेलामा बीपीले राजासँग ४५ प्रतिशतको भाग खोज्नुभएको थियो संसदमा यसरी कि निर्वाचन हुँदा पार्टीहरूलाई स्वतन्त्र रूपमा आमनिर्वाचनमा भाग लिन दिनुपर्छ, आफ्ना चिह्नहरू लिएर मुलुकभर उम्मेदवार उठाउन दिनुपर्छ । सके बहुदलीय पक्षले जित्ला र राष्ट्रिय पञ्चायतबाट या निर्वाचित सदनबाट बहुदलको घोषणा गरिएला, नभए विपक्षीका रूपमा बहुदलीय पक्षले प्रजातन्त्रको पक्षमा संस्कार बसाउन थाल्ला ।
बीपीलाई बहुदलीय व्यवस्थाले हार्ला भन्ने लागेकै थिएन र जनमत संग्रहपछि हुने आमनिर्वाचनमा कस्ता व्यक्तिहरूलाई संसदमा ल्याउने भन्ने गृहकार्य गरिरहनुभएको थियो । त्यस्तै छलफलमा सिन्धुलीबाट ठुल्दाइ (मातृका बाबु)लाई जिताएर ल्याउनुपर्छ भन्नुभएको थियो । टंकप्रसाद आचार्य, डाक्टर केआई सिंहलगायतका पूर्वप्रधानमन्त्रीहरूलाई संसदमा ल्याएर राष्ट्रिय सहमतिको संस्कार तयार गर्नुपर्छ भन्ने उहाँको चाहना थियो । तर, राजाले सुधारिएको पञ्चायत होइन, दम्भले पञ्चायतलाई नै यति कसिलो बनाए कि पञ्चायत नीति तथा जाँचबुझ समिति भन्ने संस्थामार्फत कम्युनिस्ट प्रणाली जस्तो बनाउन थाले र वर्गीय संगठनको सदस्यता नलिई, पञ्चायतको पक्षमा आत्मसमर्पण नगरी उम्मेदवार हुनै नपाउने व्यवस्था गरेको देखियो ।
यसरी बहुदलीय पक्षधरले आमनिर्वाचन बहिष्कार गर्नुपर्ने अवस्था सिर्जना भयो तर तत्कालीन कम्युनिस्टका विभिन्न घटकहरू र भूमिगत मालेले जनपक्षीय भनेर केही उम्मेदवार उठायो र केही जितेर राष्ट्रिय पञ्चायतमा आए, जसमा नामुद वामपन्थी नेताहरू पनि थिए । त्यस्तै भयो २०४३ सालको निर्वाचनमा पनि । वामपन्थीहरु त्यहाँ अटाए र कतिपय निर्वाचित पनि भए । तर, बीपीले सिद्धान्तहीन सम्झौता गरेर निर्वाचनमा जित्न पनि चाहनुभएन, सत्तामा आउन पनि चाहनुभएन ।
त्यसैले राजनीतिक विश्लेषकहरू के पनि भन्छन् भने, २०४६ सालमा कांग्रेस र वाममोर्चाको गठबन्धन सिद्धान्त प्रतिको आस्थाभन्दा रणनीतिक रूपमा थियो, जसले प्रजातन्त्र आजसम्म पनि वर्णशंकर भएको छ र प्रजातन्त्र जसको सिद्धान्त हो, उही प्रजातन्त्रको क्रियान्वयनको कमजोर पाटो बनेको छ । २०६२/०६३ सालमा पनि त्यस्तै भयो, जसले गर्दा आज पनि मुलुकले खास प्रजातन्त्रको पक्षमा बाटो लिन सकेको छैन भनिन्छ ।
अब यी सबै कुराहरूको विश्लेषण इतिहासले आफ्नो समयमा देला तर अहिले गठबन्धनका लागि धम्की, घुर्की, नेहोरा र प्रपञ्च जसले गरे पनि सिद्धान्तहीन उपयोगितावाद हो भन्ने कुरामा भने सबै जानिफकार छन् । केही विश्लेषकहरू त राजतन्त्रले त्यही बीपीको झिनो स्वरको महत्त्वपूर्ण भनाइलाई कमजोरीका रूपमा बुझ्दा राजतन्त्र नै सखाप भयो भन्न थालेका छन् ।
समयको समीक्षा गर्ने काम इतिहासविद्को होला तर हामी जसले इतिहासको कतिपय खण्डमा मौन साक्षीका रूपमा हेर्ने मौका पाएका थियौँ र सकारात्मक हस्तक्षेपकारीहरूले पनि वास्ता नगरेर इतिहासको बाटो नै अर्कोतिर मोडेको देखिएको थियो, त्यसबारेमा केही न केही अनुभव बाँड्नै पर्ने हुँदो रहेछ ।
क्रमशः