सरस्वती अधिकारी | दृष्टिकोण | चैत ०७, २०७८
'नाटक गर्ने कोको हुनुहुन्छ ?', मैले सोधेँ । हलमा भएका सबै विद्यार्थीहरूले एकै स्वरमा 'हामी सबै हौँ' भनेको सुन्दा त सुरुमा विश्वास नै लागेन, अचम्ममा परेँ । फेरि त्यही प्रश्न दोहोर्याएँ, 'नाटक महोत्सवमा सहभागी हुने कोको हुनुहुन्छ ?', तर उत्तर उही आयो । त्यहाँ त्यस्तो जबाफ दिने विद्यार्थीको संख्या झण्डै २५० थियो ।
यो प्रसंग थियो ‘समता नाटक महोत्सव– २०७८’ को । नाटकप्रति भाइबहिनीहरूको रुचि देखेर मलाई धेरै खुसी लाग्यो र सँगसँगै यति धेरै पात्रहरू सहभागी भएको नाटक कस्तो हुन्छ होला र यीमध्येबाट उत्कृष्ट ३ वटा नाटकको छनोट कसरी गर्न सकिएला भन्ने प्रश्न पनि मनभित्र उठे ।
यतिकैमा अजय सरले कार्यक्रम सुरु गर्नुभयो । अतिथिहरूको आसन ग्रहण र स्वागत मन्तव्यको औपचारिकता पूरा भएपछि सहभागीहरूले पालैपालो आफ्नो नाटक प्रस्तुत गर्न थाले । विद्यार्थीहरूले प्रस्तुत गरेका नाटकका कथाहरू पृथक् पृथक् थिए– कथाको विषयवस्तु, नाटकको सेट, पोसाक, त्यहाँ बोलिएका लवज अनि पात्रका चरित्र सबै कुराहरू फरकफरक थिए ।
मैले मनमनै सोचेँ, 'समता स्कुल' नाम मात्रको समता होइन रहेछ । समताको वास्तविक अर्थ झल्किरहेका पाएँ ती नाटकका कथाहरूमा । विद्यार्थी आफैँले लेखेका, आफैँले निर्देशन गरेका, सेटमा प्रयोग हुने प्रप्स आफैँले तयार गरेका अनि अभिनय पनि आफैँ । उनीहरूको प्रस्तुति ज्यादै उत्कृष्ट थियो भनेर दाबी नै गर्न नसकिए पनि उनीहरूभित्र प्रचुर सम्भावना भएको आभास भयो । अझै समयसमयमा यस्ता अवसर पाउने हो र सिक्ने वातावरण हुने हो भने भोलि नेपाली रंगमंचको बिँडो थाम्ने पुस्ताको अभाव कहिल्यै पर्ने थिएन भन्ने विश्वास पैदा भयो ।
विद्यार्थीहरू धेरै भएका कारण सबैको नाटक प्रस्तुत गर्दा समय निकै लाग्ने देखियो । कार्यक्रम सकिइसक्दा त विद्यार्थी भाइबहिनी धेरै नै भोकाइसक्छन् भनेर एकछिन ‘ब्रेक’ लिने सल्लाह भयो । अजय सरले ‘२० मिनेट ब्रेक, त्यसपछि हामी फेरि भेला हुन्छौँ है’ भन्नुभयो । सरको आवाज भुइँमा खस्न पाएको थिएन होला, विद्यार्थीहरू एकै स्वरमा 'सर, हामीलाई भोक नै लागेको छैन, कार्यक्रम सकिएपछि खान्छौँ' भनेर चिच्याए ।
हामीले सबै नाटक हेर्यौँ र ३ उत्कृष्ट नाटकको छनोट पनि गर्यौँ । नाटक महोत्सव समापन भएपछि केही समय सहभागीहरूसँग छलफल गरेर म घर फर्किएँ । मेरो तन घरतिर जाँदै थियो तर यो मन भने अझै पनि ती नाटकका पात्रहरूसँगै कतै सल्बलाउँदै थियो ।
हामी सानो छँदा त हामीलाई भोक नै प्यारो लाग्थ्यो, यहाँ पनि भोक नै प्यारो भएको हो तर त्यो भोक खानाको होइन, नाटकको थियो । नाटकप्रति विद्यार्थीहरूको त्यो रुचि र उत्साहले हामीलाई पनि थप ऊर्जा मिलेको अनुभव भयो । तर, उनीहरूले अतिउत्साहका कारण भोक बिर्सिएका हुन्, पेटमा भोकै नभएको त कहाँ थियो र ! हामीले भाइबहिनीलाई सम्झायौँ, उहाँहरूले हाम्रो कुरा मान्नु पनि भयो अनि हामीले एकछिन ब्रेक गरेर खाजापछि मात्र कार्यक्रमलाई निरन्तरता दियौँ ।
मैले अघिदेखि अजय सरको नाम त लिइरहेँ तर उहाँको परिचय दिन भने भुलेछु । उहाँको पूरा नाम अजय सुशील अधिकारी हो, जो समता स्कुलको प्रधानाध्यापक हुनुहुन्छ । उहाँले नै मलाई यसरी समता स्कुलले पहिलो पटक नाटक महोत्सवको आयोजना गर्न लागेको कुरा अवगत गराउँदै 'म्याम आउनुहुन्छ नि, भाइबहिनीलाई प्रोत्साहन मिल्ने थियो' भनेर आमन्त्रण गर्नुभएको थियो । मलाई यस महोत्सवसँग जोडिदिने अजय सरलाई हार्दिक धन्यवाद, समताको स्नेहले पुलकित भएको अनुभूति गरेकी छु ।
हुनत ज्यादै गर्मी पनि भइसकेको थिएन तर मान्छेको चाप बढी भएर होला, गर्मी बढेको महसुस हुँदै थियो । विद्यार्थीरूको त्यही भीडमा एक जना छात्रा स्वेच्छाले पटकपटक पानी ओसारेर सबैलाई पिलाउँदै हुनुहुन्थ्यो । ‘उनलाई पनि अरू साथीहरूसँगै बसेर नाटक हेर्न मन लागिरहेको हुँदो हो’ भन्ने मलाई लागेको थियो । त्यही कुरा अजय सरले पनि याद गरिरहनुभएको रहेछ । कार्यक्रमको अन्त्यमा अजय सरले ती छात्रालाई मंचमा बोलाएर उनको सेवाभावको कदर गर्दै रुद्राक्षको माला लगाइदिनुभयो ।
समता स्कुलमा पाठ्यक्रममा भएका कुरा मात्र नभएर अन्य थुप्रै मानवीय गुणसमेत सिकाइँदोरहेछ भन्ने कुरा मैले थाहा पाएँ । मानवताको भावना प्रस्तुत गर्न धेरै ठूलो घटना हुनुपर्दो रहेनछ । हुनत यो जगत् नै सूक्ष्म–सूक्ष्म कुराहरू मिलेर बनेको छ भन्छन् । हामीले सबै नाटक हेर्यौँ र ३ उत्कृष्ट नाटकको छनोट पनि गर्यौँ । नाटक महोत्सव समापन भएपछि केही समय सहभागीहरूसँग छलफल गरेर म घर फर्किएँ । मेरो तन घरतिर जाँदै थियो तर यो मन भने अझै पनि ती नाटकका पात्रहरूसँगै कतै सल्बलाउँदै थियो ।
महिनाको १०० रुपैयाँमा नर्सरी कक्षादेखि स्नातकोत्तर तहसम्म पढ्न पाइने 'समता स्कुल'का बारेमा धेरै सुनेकी त थिएँ तर आफैँ प्रत्यक्ष रूपमा त्यहाँको वातावरणमा भिज्ने मौका भने अझैसम्म पाएकी थिइँन । त्यो नाटक महोत्सव मेरानिम्ति समतासँग राम्रोसँग परिचित हुने बहाना बनेर आयो । समता स्कुलमा अध्ययन गरेर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका र नाम कमाएका धेरै मानिसहरूको अन्तर्वार्ता पढेको, हेरेको र सुनेकै हो । आँट गर्ने हो भने केवल १०० रुपैयाँ मासिक शुल्कमा पनि गुणस्तरीय र समतामूलक शिक्षा सबैलाई दिन सकिने रहेछ भन्ने कुराको उदाहरण हो समता स्कुल ।
मलाई अहिले १२ वर्ष अगाडिको एउटा घटनाको सम्झना भइरहेको छ । ‘१२ वर्षमा बगेको खोला त फर्किन्छ’ भन्थे, साँच्चै कहिलेकाहीँ त्यस्तै हुँदोरहेछ । हामी त्यतिबेला लालबन्दी मै थियौँ । म त्यहाँ एउटा विद्यालयमा पढाउँथे । एक दिन मेरो घर नजिकैको एक जना भाइ मलाई घरबाट झट्ट आइहाल्नु भन्ने खबर लिएर स्कुलमै आइपुगे । म पनि ‘के भएर होला यसरी स्कुलमै बोलाउन पठाएछन्, केही अशुभ त भएन ?’ भनेर आत्तिएर दौडादौड गर्दै घर पुगेँ । घरमा बाबा पनि बिरामी भइरहनुहुन्थ्यो । घर पुग्दा त सबै जना हँसिलो मुद्रामा गफ चुटिरहेका पो देख्छु ! म त एकछिन जिल्ल परेँ ।
‘किन यसरी बोलाउनुभएको’ भनेर आमालाई सोध्दा 'उहाँ सरहरूलाई भेट्न' भन्नुभयो । म थच्चक्कै गुन्द्रीमा बसेछु, दौडीदौडी घर पुगेकी थिएँ नि त ! मलाई पाहुना छन् भन्ने यादै भएन । पछि आमाले 'लौ यो त थपक्क बसी ! यहाँ हामी सबै एउटा कुराको छलफल गर्न भनेर उठिरहेको छौँ' भन्नुभयो । 'म काममा गएको मान्छेलाई के गफ गर्न भनेर आत्तिने गरी बोलाउन पठाको त ?' भन्न मन थियो तर मान्छेको अगाडि केही बोलिनँ ।
'बसी त हालेँ, बसेर सल्लाह नै नहुने होइन होला त, बस्नु त सबै जना', यतिचाहिँ भने । मैले नचिनेका २ जना सरहरू हुनुहुन्थ्यो । बुझ्दै जाँदा उहाँहरू लालबन्दीमा पनि समता स्कुल स्थापना गर्नका लागि भनेर आउनुभएको रहेछ र त्यसका लागि आवश्यक जग्गाको खोजी गर्दै हुनुहुँदो रहेछ । त्यही क्रममा कसैले उहाँहरूलाई हामी जमिन्दारको परिवारबाट भएको, हामीलाई त्यसबारेमा धेरै थाहा भएको र हामीसँग भेट्दा काम बन्छ भनेर हाम्रो घर पठाइदिएका रहेछन् ।
हामीले स्कुलका लागि आवश्यक जमिन मिलाउन उहाँहरूलाई सहयोग गर्यौँ र स्कुलको शिलान्यास हुने बेलामा त्यसको व्यापक प्रचारप्रसारसमेत गरिदियौँ ।
लालबन्दीमा समता स्कुलको शिलान्यास गर्न काठमाडौंबाट विजयकुमार पाण्डे, हरिवंश आचार्य, उपेन्द्र महतोलगायत धेरै ख्यातिप्राप्त व्यक्तिहरू आउनुभएको थियो । ती हस्तीहरूलाई देख्न मात्र पाउँदा पनि हामी दंग थियौँ ।
त्यही वर्ष मेरो बाबाको निधन भयो, त्यसपछि हामी लालबन्दी बसेनौँ । हाम्रो परिवार बसाइँ सरेर काठमाडौं आयो । त्यसपछि समता स्कुलसँग कुनै किसिमको सम्बन्ध हुन पाएन । त्यस घटनाको झण्डै १२ वर्षपछि एक दिन अचानक समता स्कुलका फाउन्डर उत्तम सञ्जेल सरको फोन आयो । 'म्याडम, हामीसँग सहकार्य गर्नुपर्यो, म फिल्म बनाउँदै छु । हाम्रो टिममा तपाईं आउनुपर्यो । फोनमा बोलिरहेका उत्तम सञ्जेल सरलाई थाहा थिएन कि म त्यही सरस्वती हुँ, अनि मलाई पनि कुनै जानकारी थिएन कि उहाँ त्यही समता स्कुलको उत्तम सर हुनुहुन्छ । मानिसको एउटा मात्र पहिचान कहाँ हुँदोरहेछ र !
स्रोत: आईएनएस-स्वतन्त्र समाचार