हरि अधिकारी | दृष्टिकोण | चैत ०८, २०७८
आजको समयमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा र मामिलाहरूमा नेपालीहरूले देखाएको चासो, चिन्ता र प्रतिक्रियालाई हेर्दा हाम्रो राष्ट्रको सामूहिक चेतनाको स्तर अत्यासलाग्दो किसिमले खस्केको देखिन्छ । यस्तो लाग्छ, हामी नेपालीहरू सहज विवेकद्वारा डोहोरिने विज्ञान र प्रविधिको यो समुन्नत युगका जागरुक जनता बन्नुको सट्टा कसैले पनि भ्रमित बनाउन सक्ने भीड बन्न पुगेका छौँ । बहुसंख्यक नेपालीहरूले कुनै पनि विषयमा आफ्नो स्वतन्त्र अभिमत जाहेर गर्न सक्ने हैसियत नै बनाउन सकेको देखिँदैन । त्यसैले अधिकांश वयस्क नेपालीहरू कि राजनीतिको क्षेत्रका कि त सम्प्रदाय, वर्ग वा आस्थागत समूहका अगुवाहरूका अन्धानुयायी बन्न पुगेका छौँ ।
कुनै पनि घटना, विषय र वस्तुलाई गुण-दोषका आधारमा पर्गेल्ने र आलोचनात्मक दृष्टिकोणको कसीमा घोटेर त्यसका बारेमा आफ्नो निजी धारणा बनाउने क्षमता नै विकसित गर्न नसकेका हामी जस्ता कमजोर मानिसहरूका नजरमा ठीक र बेठीक नै नछुट्टिने भएको छ । सही र गलतका बीच विद्यमान सीमारेखा धमिलो भएपछि त्यस धमिलोपनाको फाइदा उठाएर निहीत स्वार्थ राख्ने तत्त्वहरूले सर्वसाधारण जनताको दिल र दिमागमाथि नियन्त्रण कायम गर्न थाल्छन् । खेदका साथ भन्नुपर्छ, एक्काइसौं शताब्दीको नेपालमा हुनु नपर्ने यही कुरो भइरहेको छ । हामी भ्रम र भ्रान्तिको माखेसाङ्लोमा बेरिएको बेरियै छौँ ।
आज आएर मात्र हामी नेपालीहरूको मानसिकतालाई कब्जा लिइएको भने होइन । विभिन्न हथकण्डा अपनाएर सर्वसाधारण जनताको दिल र दिमागलाई नियन्त्रण गरी निहित स्वार्थ साधन गर्ने प्रक्रिया मानव समाजको इतिहासमा लामो समयदेखि चल्दै आएको घटना हो । मानव सभ्यताको विकासको प्रारम्भिक चरणदेखि नै हरेक समाजमा टाठाबाठाहरूले सोझासिधा, कमजोर मानिसहरूको चेतनालाई नियन्त्रणमा लिएर ती मानिसहरूलाई कठपुतलीझैँ आफ्नो मनमाफिक संचालन गर्दै आएका छन् । प्रारम्भमा टाठाबाठा र बलियाबाङ्गा मानिसहरूको सानो गुटले मानसिक रूपले कमजोर धेरै मानिसहरूको चेतनालाई काबुमा ल्याउनका लागि प्रयोग गर्ने गरिएको सबैभन्दा ठूलो हतियार थियो- डर । त्यो डरको स्रोत सैन्य शक्ति, हातहतियार, धन वा शासन सत्ताको संजाल जे पनि हुन सक्थ्यो । आफू जस्तै मानिसहरूविरुद्ध डरको हतियार सफलताका साथ प्रयोग गरिएको त्यस समयमा बहुसंख्यक सर्वसाधारण मानिसहरूसँग बहुसंख्याले दिने जुन शक्ति र सामर्थ्य हुन्थ्यो, उनीहरूले त्यसको हेक्का नै राख्न सक्दैनथे ।
चेतनाको स्तरमा कमजोर ती मानिसहरूको मन-मस्तिष्कमा शक्तिशालीहरूको आदेश-निर्देश पालना नगर्दा भोग्नुपर्ने अप्ठ्याराहरूको डर यति गहिरोसँग हालिने गरिन्थ्यो कि उनीहरू त्यस्ता आदेश-निर्देशको अवज्ञा गर्ने आँट गर्न सक्दैनथे । त्यतिबेलाको मानव समाजमा हिंसा र रक्तपात सामान्य घटना मानिन्थे । शक्तिशालीहरू अकारणमै पनि मानवरक्तको होली खेलेर निमुखाहरूको भयादोहन गरी उनीहरूमाथि भौतिक र मानसिक दुवै स्तरमा नियन्त्रण राख्थे ।
त्यसपछिको कालखण्डमा ‘धर्म’ टाठाबाठाहरूको हातमा आएको सबैभन्दा ठूलो हतियार बनेको थियो, जसको प्रयोग गरेर धर्मका स्वयम्भू ठेकेदारहरू शताब्दियौँसम्म दुनियाँको विभिन्न भू-भागमा रहेका करोडौँ मानिसहरूको देह र आत्मा दुवैलाई कैदी बनाइरहन सफल भएका थिए । धर्मको हतियार एकधारे मात्र थिएन, त्यससँग जोडिन पुगेको थियो अन्धविश्वास । धर्म र अन्धविश्वास मिलेर बनेको २ धारे तरबारले मानवीय चेतनालाई हदैसम्म भुत्ते बनाएर छाडिदिएको थियो । बहुसंख्यक मानिसहरूको चेतनामा खिया लागेपछि समाजको सामूहिक विवेकमाथि पनि बाक्लो तुवाँलो फैलिनु स्वाभाविक नै थियो । मानव सभ्यताको इतिहासको त्यस अन्धकारमय कालखण्डमा मानिसहरूले धर्मका ठेकेदारहरू र तिनका मतियार बनेका शासक वर्गका मानिसहरूसँग प्रश्न गर्न छाडेका थिए । शक्तिशालीहरूसँग राय बझाउने त कुनै अवसर नै पाउँदैनथे त्यस युगमा निमुखाहरूले ।
सत्ता धार्मिक होस् वा राजनीतिक, शासितहरूका तर्फबाट प्रश्न नगरिने स्थितिमा त्यसमा स्वेच्छाचारिता आउनु अपरिहार्य हुन्छ । मानव समाजको मनोवैज्ञानिक यथार्थ यही हो । प्रश्नहरूभन्दा माथिको अत्यन्त सुविधाजनक अवस्थामा पुगेका धर्मगुरुहरू र तिनका गुमाश्ता बनेका राजा-महाराजाहरूको हातमा आएको निरंकुश सत्ताले उनीहरूको सोच र कार्यशैलीमा यस्तो स्वेच्छाचारिता ल्याइदियो, मानव आस्थाका केन्द्र रहेका चर्च, मन्दिर र मस्जिदहरू नै शोषण, हिंसा र षड्यन्त्रका केन्द्रका रूपमा स्थापित हुनपुगे । धार्मिक संस्थाहरूमा व्याप्त त्यस प्रकारको अनाचारबाट मुक्त हुन त्यतिबेलाको मानव समाजले धेरै ठूलो संघर्ष, त्याग र बलिदान गर्नुपर्यो ।
स्वतन्त्र रहन चाहने नैसर्गिक मानव स्वभावले अन्तत: आफ्नो रङ देखाएरै छाड्यो । धर्मका ठेकेदारहरूविरुद्ध सर्वसाधारण मानिसहरूले विद्रोह गरे । त्यस विद्रोहको आयतन यति व्यापक र प्रभाव यति गहन थियो, त्यसले मानव सभ्यताको इतिहासलाई नै कोल्टे फेर्न बाध्य बनायो । त्यसले धर्म र राजनीतिका बीच युगौँदेखि कस्सिएको अपवित्र गठबन्धनको डोरी चुँडालेर फ्याँकिदियो । साथै, त्यसले त्यतिबेलासम्म प्रश्नातीत, एक प्रकारले दैवी जस्तो मानिएको मान्छेको धार्मिक आस्थाकेन्द्रित राजनीतिक दर्शनलाई प्रश्नको घेरामा मात्र ल्याएन, त्यो दर्शन एकांगी भएको र त्यसले मानव मात्रको नैसर्गिक हक, अधिकार र बृहत्तर हितको संरक्षण गर्न सक्दैन भन्ने न्यारेटिभलाई पनि स्थापित गरिदियो ।
त्यही बिन्दुबाट मानिसले आफूलाई उपयुक्त लाग्ने राजनीतिक प्रणालीको सन्धान गर्न र त्यस्तो प्रणालीको संचालनका लागि आफूले योग्य ठानेका प्रतिनिधिहरूको छनोट गर्न पाउनुपर्छ भन्ने आजको समयमा सर्वस्वीकृत मान्यता पाएको सिद्धान्तले आकार ग्रहण गरेको हो । आज हामीले भन्ने गरेको लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यताको बीजाङ्कुरण फ्रान्समा चर्च र निरंकुश राजसंस्थाको पतनपछिको संक्रमणकालमा भएको हो । रक्तरञ्जित क्रान्तिको भ्रुणबाट सत्ताको शीर्षमा पुगेका फौजी अफिसर नेपोलियन बोनापार्टले फ्रान्सका लागि आवश्यक विधानलाई संहिताबद्ध गर्दा 'स्वतन्त्रता, उदारता र भ्रातृत्व' भन्ने ३ मूल सूत्रात्मक शब्दहरूमाथि विशेष जोड दिएका थिए । यी ३ शब्दहरूमा निहीत भएको मर्म आजको विश्वका अधिकांश तथाकथित लोकतान्त्रिक राष्ट्रहरूका संविधानहरूमा ध्वनित भएको पाइन्छ ।
धर्मपछि आममानिसहरूको चेतनालाई एकोहोर्याएर उनीहरूलाई मानसिक गुलामीको पञ्जामुनि ल्याउन विश्व राजनीतिको फलकमा विभिन्न राजनीतिक वाद वा सिद्धान्तहरू आए । साथसाथै आए, जातिवाद, सम्प्रदायवाद, क्षेत्रवाद, राष्ट्रवाद जस्ता संकीर्ण र विभाजनकारी सोचहरू । मानव जातिको इतिहासमा राजनीतिक वादहरूमध्ये सबैभन्दा एकलकाँटे भएर देखापर्यो- साम्यवाद वा कम्युनिज्म, जसको अन्तर्यमा आफू मात्र ठीक अरू सबै खराब भन्ने सर्वसत्तावादी दृष्टिकोण जमठ भएर बसेको हुन्छ । कम्युनिस्टहरूले आफू मात्र ठीक अरू सबै खराब भन्ने सोचलाई सोचको तहसम्म राख्न सकेका भए त ठीकै हुन्थ्यो होला तर तिनीहरू आफ्नो त्यस रूढाग्रहलाई सोचको तहमा सीमित गरेर राख्न सक्दैनन् भन्ने कुरा विभिन्न कालखण्डमा कम्युनिस्टहरूले शासन गरेका देशहरूको इतिहासमा भएका अनेकन् अमानवीय घटनाहरूले प्रमाणित गरिसकेका छन् । आफूबाहेक सबै गलत भन्ने आधारभूत रूपमै भ्रान्त धारणाको वशीभूत अनेकन् कम्युनिस्ट शासकहरूले फरक विचार राख्ने नेताहरूको मात्र होइन, आफ्नै पार्टीका सहकर्मी साथीहरूको पनि बडो निर्ममताका साथ हत्या गरेका छन् । कम्युनिज्ममा अलगअलग विचारको आधारमा तार्किक रन्थनमन्थन हुन पाउदैन । त्यहाँ त सत्ताधारी कम्युनिस्ट पार्टीभित्र शक्ति संचय गर्न सफल व्यक्ति वा व्यक्तिहरूको गुटले जे चाहन्छ, त्यसलाई नै त्यस राष्ट्रले रोजेको राजनीतिक मार्गचित्र मान्नुपर्ने हुन्छ । त्यसैले कम्युनिज्म भएको देश भन्नु र धर्मान्धताका जगमा उभिएको कुनै एकलकाँटे देश भन्नुमा खासै ठूलो अन्तर छ भनेर मान्न सकिँदैन ।
मान्छे-मान्छेका बीच कुनै पनि प्रकारको असमानता हुनुहुँदैन भन्ने सिद्धान्तको जगमा उभिएको मानिने कम्युनिज्मका अनुयायीहरूले हाम्रो देशमा जातजाति, भौगोलिक अवस्थिति र साम्प्रदायिक भेद-उपभेदका आधारमा जनतालाई विभाजित गर्न खोजेको देख्दा मानसिक स्वास्थ्य ठीकठाक रहेको कुनै पनि व्यक्तिको दिमागमा रिङटा नचली रहन सक्दैन । त्यसमाथि हामीकहाँ हर ऎरे गैरे नत्थु खैरे सस्तो राष्ट्रवादको हेभी डोज लिएर बर्खे च्याउझैँ जताततै भेटिने मिडियाको मंचको दुरूपयोग गर्दै बतुराइरहेका भेटिन्छन् । विशेषगरी योग्यता, क्षमता, अनुभव, निष्ठा, योगदान, नीति र देशका लागि उपयोगी परिकल्पना केही पनि नभएका सडकछाप क्रान्तिकारीहरूले वकालत गर्ने गरेको उग्रराष्ट्रवादले मानसिक रूपले स्वस्थ मानिसलाई पनि बिरामी बनाउन सक्छ । सोझा सिधा नेपालीहरूको दिमाग भुटेर घरको चुह्लो बाल्नेहरूको एउटा जमात नै अस्तित्वमा आइसकेको आजको भद्रगोल समयमा ठीक र बेठीक, असल र खराब, सत्य र सत्यको जलप लगाई पस्किएको फट्याइँका बीचको भेद छुट्याउन अत्यन्तै गाह्रो भएको छ ।
आजको नेपालमा सत्यबाट असत्यलाई भ्रमबाट यथार्थलाई तथा प्रष्ट कार्ययोजनाबाट षड्यन्त्रलाई अलग गर्नै नसक्ने अवस्थामा पुर्याउनमा सबैभन्दा ठूलो भूमिका अनुत्तरदायी, अयोग्य र भ्रष्ट संचार माध्यमहरूको छ । आ-आफ्ना एजेण्डा बोकेर सार्वजनिक भएका अनेक प्रकारका बहुरूपियाहरूलाई दिनु नपर्ने मात्र होइन, दिनै नहुने मंच उपलब्ध गराएर कतिपय माध्यमहरूले व्यापक जनसमुदायसम्म खतरनाक स्तरको कुसूचनाको प्रसार गरेका छन् । एमसीसी सम्झौतालाई त्यसको अक्षर र मर्मका आधारमा स्वस्थ ढंगले विवेचना गरी ठीक वा बेठीक ठहर गर्नुपर्नेमा गलत सूचनाका हल्काराहरूले एमसीसी सम्झौता कार्यान्वयनमा गएको भोलिपल्टदेखि नै नेपालमा अमिरिकी फौजीहरूले परेड खेल्ने छन् र पर्सिपल्टदेखि नै नेपाली चेलीबेटी अमेरिकीहरूबाट बलात्कृत हुन थाल्नेछन् भन्ने हौवा फैलाइदिए ।
एमसीसीका सन्दर्भमा फैलाइएको कुसूचना त हाम्रो सार्वजनिक सूचना प्रवाहको क्षेत्रमा व्याप्त विकृतिको एउटा दृष्टान्त मात्र हो । त्यसबाहेक अरू अनेक क्षेत्रमा दिग्मिग लाग्ने गरी विकृत र विसंगत अभ्यासहरू भइरहेका छन् । पढेलेखेका र विधिको शासनको पैरवी गर्ने हौँ भन्ने कतिपय लाउकेहरू नै खुलेयाम ऎन, कानुनको विपरीत हुने गरी कहिले बलात्कारको अभियोग लागेको व्यक्तिको पक्षमा बोलिरहेका देखिन्छन् भने कहिले भ्रष्टाचारको अभियुक्तको बचाउ हुने किसिमको लेख छपाइरहेका हुन्छन् ।
जस्तोसुकै परिस्थितिमा पनि एउटा मानिसले र सामूहिक रूपमा एउटा समाजले गर्नै नहुने केही कामहरू हुन्छ्न् । हरेक मानिस त्यस्ता सार्वभौम वर्जनाहरूप्रति सम्वेदनशील हुनै पर्छ । दुर्भाग्यको कुरो, आजको नेपालमा यस राष्ट्रका अधिकांश जनताले यो अत्यन्त महत्त्वपूर्ण वर्जनाको हेक्का राखेका देखिँदैन । हाम्रो देशको नैतिक स्तरमा भएको स्खलनको यो एउटा ज्वलन्त दृष्टान्त हो ।
स्रोत: आईएनएस-स्वतन्त्र समाचार