आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०८, २०७८

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह-अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर, उनले शिलान्यास गरेका दुवै पक्की पुल अलपत्र अवस्थामा छन् । 

देउवाले शिलान्यास गरेका २ वटा पुल अलपत्र परेका भन्दै ४ वर्षपछि यथाशीघ्र सम्पन्न गराउने व्यवस्थाका लागि उनीसँगै हारगुहार मागिएको छ । साप्सु खोलामा निर्माण गरिएको पुल उद्घाटनका क्रममा सोमबार आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा समक्ष कांग्रेस प्रदेश १ का महामन्त्री एवं दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अलपत्र पुलको यथाशीघ्र काम सम्पन्न गराउन लिखित माग राखेका छन् । ‘स्मरण गराउन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीकै बाहुलीबाट २०७४ सालमा २ पुलको शिलान्यास भएको थियो । त्यो अहिलेसम्म पनि सम्पन्न हुन सकिरहेको छैन’, मागपत्रमा भनिएको छ, ‘यी पुलहरूलाई यथाशीघ्र सम्पन्न गराउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।’ 

कांग्रेस प्रदेश महामन्त्री राईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रे गर्न आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न, गाईघाट-दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटारमा १० वर्षअघि टेन्डर भएको पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाउन माग राखेका छन् । यस्तै, म्याद गुज्रिसकेको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनालाई उच्चप्राथमिकतामा राखी सम्पन्न गर्ने वातावरण मिलाउन, खोटाङका विद्युतीकरण हुन बाँकी क्षेत्रमा यथाशीघ्र विद्युतीकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । 

गाउँपालिका अध्यक्षसमेत रहेका राईले हालसम्म खोटाङका नागरिकले सरकारको अनुभूति गर्न नपाएको प्रधानमन्त्री देउवालाई गुनासो सुनाएका छन् । ‘देशमा धेरै प्रकारका सरकार बने तर खोटाङ जिल्लाका लागि बनेनन् । खोटाङे नागरिकले त्यसको अनुभूति गर्न पाएनन् । सरकार र व्यवस्था बदलिइरह्यो तर खोटाङका नागरिकको दुःख-सुख कहिल्यै बदलिएन’, उनले भने, ‘जिल्लाका नागरिक अहिले पनि दुःखको जीवन जिउन बाध्य छन् । सुख के हो, थाहा छैन । विकास नहुँदा सडक, बिजुली, अस्पताल र शिक्षाको खोजी गर्दै बर्सेनि ठूलो संख्यामा हाम्रा नागरिक बसाइँ जान बाध्य छन् ।’