यात्रा जोर्डनको राजधानी अम्मान: प्रारम्भिक बाल विकासमा नेपाली इच्छाशक्तिको सम्मान

यात्रा जोर्डनको राजधानी अम्मान: प्रारम्भिक बाल विकासमा नेपाली इच्छाशक्तिको सम्मान

डा. सदानन्द कडेल  |  साहित्य  |  चैत १२, २०७८

२४ असार २०६७ मा दक्षिण–पश्चिम एसियाको राजतन्त्रात्मक देश जोर्डनको पहिलो यात्रा सुरु भयो, एक अनुसन्धाताको रूपमा । नयाँ मुलुकको यात्रा सुरु हुनेबित्तिकै बिछट्टै फुर्किने मन यस पटक भने अलिक गम्भीर भएको थियो । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा पिएचडी गरीरहेको एउटा विद्यार्थीको लागि यो बेजोडको अवसर थियो भने अर्कोतिर एउटा जबर्जस्त चुनौती पनि ।  

नेपाल एयरलाइन्सको विमानले बौद्ध–जोरपाटीतर्फबाट फन्को मार्दै नागार्जुन माथि पुगेपछि आफ्नो कर्मस्थलको घर कता छ भनेर झ्यालबाट नियालेर स्युचाटार–कलंकीतिर हेर्न खोजियो तर सम्भव भएन । किनकि मेरो सिट प्लेनको दाहिने साइडमा थियो । तथापि, उत्तरतर्फको हिमशृंखलाको दृश्यावलोकन गर्न पाउँदाचाहिँ मज्जा आयो ।  

नागार्जुन कट्नेबित्तिकै आफ्नो जिल्ला धादिङ सुरु भएपछि झन् कौतूहल बढ्न गयो । आफू शिक्षक भएको ठाउँ सिम्ले, बैरेनी, बलिडाँडा र हर्कपुरलाई माथिबाट हेर्दा कस्तो देखिएला भन्ने उत्सुकता जाग्यो ।  

आफू पढेको स्कुल भएको ठाउँ गजुरी, रिचोकटार र बितलवलाई आकाशबाट हेर्ने रहर मनमा चुलियो । अझ आफ्नो जन्मस्थान बितलव तथा अमिल्टारमा अवस्थित आफू हुर्किएको घर अवलोकन गर्ने आकांक्षा उम्लिएर आयो ।   

प्लेनले महाभारत लेक माथिको रुट पक्रेको थियो । सौभाग्यवस उत्तरपट्टिको साइडमा आफ्नो सिट भएकाले यी सबै उत्सुकता मेटाउन सजिलो भयो मलाई । जन्मस्थान नजिक पुग्न लागेको अड्कल काटेपछि मन झनझन् अधैर्य हुन पुग्यो । फल स्वरूप उडिरहेको चिलले जमिनमा चल्लालाई खोज्दै हेरिरहेझैँ गरी हेर्न थालेँ म झ्यालबाट ।  

त्रिशूली र मलेखुका पुलमा झ्याप्पै आँखा ठोकिन पुगेपछि नजिकै देखियो अमिल्टार अनि नांगेडाँडा, मायाटार, धरमपानी, बितलव र कंकाल्नी । आहा, कति प्यारो आफ्नो जन्मस्थान ! ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी’ भन्ने भनाई सम्झिन पुगेँ त्यतिबेला ।          

आँखा झिम्क्याउन पनि नपाउँदै त्यो मनोरम दृश्य गायब भयो । । आकाशबाट आफ्नो जन्मस्थलको दृश्यावलोकनबाट रोमान्चित मेरो अनुहार देखेर मसँगै यात्रा गरिरहनुभएका युनिसेफका शिवलाल भुसालजीले भन्नुभएको थियो, ‘आफ्नो जन्मस्थान देखेर दंगै पर्नुभयो, होइन त कडेलजी ?’

चितवनमाथिको आकाशमा उडिरहँदा खैरहनी गाउँपालिकामा पीएचडीका लागि ‘इथ्नोग्राफिक अध्ययन’ गर्दा बस्नका लागि लिइएको पर्सा बजारको मेरो सानो कोठाको स्मरण भयो ।  

झन्डै ३ महिनाअघि (३० वैशाख)देखि बस्न सुरु गरिएको उक्त कोठाबाटै मैले अमेरिकाको वासिङ्टन डीसीमा रहेको ब्रुकिङ्ग्स इन्स्टिट्युसनलाई ४५ मिनेट लामो टेलिफोन अन्तर्वार्ता दिएको थिएँ ।  अन्तर्वार्ताको क्रममा ३ पटक टेलिफोन काटिएको थियो ।

टेलिफोन नेटवर्क राम्रो नभएकाले बीचैमा ‘डिस्कनेक्ट’ हुन सक्ने कुरा मैले पहिले नै ईमेलमार्फत बताएको हुनाले अन्तर्वार्ता लिनेहरूले दिक्क नमानी पटकपटक फोन गरेका थिए ।  

‘भए पनि ठिकै, नभए नि ठिकै’ भन्ने सोचसहित रमाइलो पाराले हाँसीहाँसी अन्तर्वार्ता दिएको थिएँ मैले । त्यसलाई उनीहरूले रुचाएछन् । फल स्वरूप युनिसेफ र ब्रुकिङ्ग्स इन्स्टिट्युसनको सहकार्यमा ७ मुलुकमा हुन गइरहेको ‘प्रारम्भिक बालविकास (ईसीडी) स्केलिङ–अप स्टडी’का लागि नेपालको टिम लिडरको रूपमा काम गर्ने अवसर पाएको थिएँ मैले ।

सातै मुलुकका अनुसन्धान टिम लिडर र युनिसेफका स्टाफलाई अभिमुखीकरणका लागि पायक पर्ने स्थान जोर्डनको अम्मानमा निमन्त्रणा गरिएकाले नै नेपालबाट म र शिवजी जाँदै थियौँ ।

देवघाटमाथी नारायणी नदी पार गर्न लाग्दा लन्च वितरण सुरु गरिसकेका थिए परिचारिकाहरूले । गफगाफसहित खानपिन गर्दा औधी मज्जा आएको थियो ।

‘हामी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छौँ’ भन्ने सूचना आएपछि उक्त एयरपोर्टबाट नजिकै पर्ने जेएनयू र आफ्नो कोठा भएको ब्रह्मपुत्र छात्राबासलाई अत्यन्तै ध्यानपूर्वक हेर्न थालेँ । १ हजार १९ एकड अर्थात् ८ हजार १०१ रोपनी क्षेत्रफलमा फैलिएको विशाल घेरबारभित्र हरियो जंगलले भरिभराउ जेएनयू पत्ता लगाउन गाह्रो थिएन ।

हेर्दाहेर्दै जेएनयू कम्पाउण्डभित्रको जंगल देखियो । ९ तले पुस्तकालय, खानेपानीका ट्याङ्की तथा भवनहरू देखिए । पार्थ शास्त्री रकलाई पनि अनुमान गर्न सकियो ।

आफूले ‘मर्निङ वाक’ गर्ने जेएनयूभित्रको चक्रपथ देखियो । प्लेन ठ्याक्कै महानदी छात्राबास तथा ब्रह्मपुत्र छात्राबास माथिबाट तलतल झर्दै एयापोर्टतिर नजिकिँदै थियो । मलाईचाहिँ खुत्रुक्क छात्राबासको छतमा हामफालूँ जस्तो लागिरहेको थियो ।  

एयरपोर्टबाट प्रिपेड ट्याक्सी लिएर हामी महिपालपुर, वसन्त बिहार तथा मुनिरका हुँदै जेएनयूको मूख्य गेटमा पुग्यौँ । भित्र पस्न लाग्दा मैले भनेँ, ‘जेएनयूमा हार्दिक स्वागत छ, शिवजी !’ उहाँले निकै प्रसन्नतासहित ‘धन्यवाद’ भन्नुभयो ।

उत्तरी मूल गेटमा सुरक्षाकर्मीहरूको अगाडि ट्याक्सी रोकेर मैले ‘ब्रह्मपुत्र, ट्रिपल टु एक्सटेन्सन’ भनेँ । उनीहरूले अघि जानका लागि संकेत गरे ।  

हामी गंगा ढावा, गोदावरी, सावरमती÷केन्द्रीय विद्यालय, जेएनयू प्रशासन, हुलाक, पश्चिमाबाद, टी प्वाइन्ट र पूर्वाञ्चलमा रहेका बस स्ट्याण्ड पार गर्दै ब्रह्मपुत्र छात्राबास पुग्यौँ ।  

ब्रह्मपुत्र छात्राबास एक्सटेन्सनको दोस्रो तलामा रहेको ‘ट्रिपल टु’ अर्थात् मेरो कोठा नम्बर २२२ को ढोका खोल्दै भनेँ, ‘शिवजीलाई मेरो कोठामा स्वागत छ ।’ ३ महिनाअघिदेखि कोही नबसेको कोठा धुलाम्य थियो । सिलिङ फ्यान र कुलरमा माकुराका जालोहरू देखिन्थे ।

सरसफाइ गरेर फ्रेस हुँदै हामी ब्रह्मपुत्र ढावामा चिया पिउन झर्यौं । मैले छात्राबासमा भएका नेपाली साथीहरूलाई नयाँ साथीसँग चिनजान गर्दै चिया पिउनका लागि फोनबाट आग्रह गरेँ । उहाँहरू आउनुभयो र चिया पिउँदै रमाइलो कुराकानी भयो ।

जो आउँदा पनि सबैलाई बोलाउने, चिनजान गराउने र सँगै चिया पिउँदै गफगाफ गर्ने त हामी नेपाली विद्यार्थीहरूको परम्परा जस्तै थियो त्यतिबेला ।    

इजरायलको गोलान हाइट्स र डेड सीको भ्रमण गर्दा त्यहाँबाट पूर्वतिर रहेको मुलुक जोर्डनका भूभागहरू टाढाबाट हेरेको थिएँ । जोर्डन नदीलाई पृष्ठभूमिमा राखेर फोटो पनि खिचेको थिएँ । त्योभन्दा एक महिनाअघि मात्र जोर्डनका राजा हुसेनको निधन भएको तथा इजरायल र जोर्डनबीचको शान्ति सम्झौतामा राजा हुसेनको ठुलो भूमिका रहेको कुरा सुनेको थिएँ ।

हामीले जोर्डनियन दूताबास नयाँ दिल्लीबाट भिसा लागेको पासपोर्ट लिनुपर्ने भएकाले नयाँ दिल्लीमा एक रात बस्नुपर्ने अवस्था सिर्जना भएको थियो । दुवै जनाको पासपोर्ट पहिले नै नयाँ दिल्लीस्थित युनिसेफ अफिसमा पठाइएको थियो । युनिसेफ अफिसले जोर्डनियन दूताबासमा हाम्रो पासपोर्ट पठाएर सहजीकरण गरेको थियो ।  

मैले शिवजीलाई जेएनयू क्याम्पस घुमाउने क्रममा आफूले अध्ययन गरेको ‘जाकिर हुसेन सेन्टर फर एडुकेसनल स्टडिज’मा पनि लिएर गएँ । उहाँले सोध्नुभयो, ‘डा. बाबुराम भट्टराईले अध्ययन गर्नुभएको चाहिँ कतापट्टि हो नि ?’

स्कुल अफ सोसल साइन्सको अर्को भवन देखाइदिएँ । त्यहीँको ‘सेन्टर फर स्टडी अफ रिजनल डेभलपमेन्ट’बाट डा. भट्टराईले पीएचडी गर्नुभएको थियो । जेएनयूको मुख्य आकर्षण केन्द्रीय पुस्तकालय, प्रशासन भवन र नेहरूको शालिक भएको ठाउँ, कावेरी, परियार, गोदावरी र सावरमती छात्रावास हुँदै ट्वान्टी फोर सेभेन रेस्टुरेन्टमा गएर डिनर खाने काम गरियो ।    

युनिसेफले नयाँ दिल्लीको होटलमा बस्नका लागि भत्ताको व्यवस्था गरेको भए तापनि आफ्नो कोठा छाडेर बाहिर जानु आवश्यक थिएन । मेरै कोठामा सँगै बस्न मैले गरेको अनुरोधलाई शिवजीले पनि सहस्र स्वीकार गर्नुभयो ।  

भोलिपल्ट बिहानको फ्रेस मुडमा मेरा आदरणीय गुरु तथा प्रोफेसर डा. श्रीनिवास रावको आवासमा पीएचडीको फिल्ड नोटहरू बोकेर गएँ । मेरो अभिवादन फर्काउँदै उहाँले ज्यादै नै प्रसन्न मुद्रामा स्वागत गर्दै हात मिलाएर ‘एकपछि अर्को रिसर्चको काम पाएका’मा बधाई दिनुभयो ।    

‘यो त सरको अत्यन्तै दमदार सिफारिसले गर्दा नै प्राप्त भएको हो’ भन्दै हार्दिक कृतज्ञता व्यक्त गरेँ ।  ‘योग्यता, अनुभव, तालिम र अन्तर्वार्ता राम्रो नगरे सिफारिस जतिसुकै राम्रो भए पनि काम नगर्ने’ कुरा बताउनुभयो उहाँले ।  

मैले साढे २ महिनामा गरेको फिल्डवर्कको ‘अपडेट’ गरेँ । आफूले पाएको अनुसन्धाताको नयाँ भूमिकामा गर्नुपर्ने कामबारे पनि सरलाई ‘ब्रिफिङ’ गरेँ । दुवै कामका लागि सरले बहुमूल्य सुझाव दिनुभयो ।

‘यात्रामा झोला हराउन सक्ने हुँदा फिल्डनोटलाई फोटो कपी गरेर आफ्नो छात्राबास वा सरको आवासमा छाडेर जोर्डन जान’ आग्रह गर्दै ‘रिसर्च डाटा सेक्युरिटी’बारे सम्झाउनुभयो ।  

युनिसेफको सुविधामा आफ्नो प्रोफेसर भेट्न जान पाइने क्या गज्जबको सौभाग्य मेरालागि ! एक पन्थ दुई काजको उत्तम उदाहरण !

पीएचडी सिनोप्सिस डिफेन्ड गरेर फिल्ड रिसर्चका लागि ३ महिनाअघि नेपाल फर्किएपछि युनिसेफले धेरै मुलुकमा ईसीडी कार्यक्रमको मूल्यांकन गर्नका लागि वासिङ्टन डीसीको म्याथम्याटिका पोलिसी रिसर्च नामक संस्थालाई छनोट गरेको कुरा थाहा भयो । उक्त संस्थाले नेपालका लागि राष्ट्रिय परामर्शदाता खोजेको रहेछ ।  

युनिसेफले मेरो अद्यावधिक गरिएको सीभी वासिङ्टन डीसी पठाएपछि अन्तर्वार्ता र मेरो गुरुको अत्यन्तै राम्रो सिफारिसपश्चात नै मैले राष्ट्रिय परामर्शदाताको रूपमा काम गर्ने पहिलो मौका पाएको थिएँ । पहिलो मौकामा राम्रो काम देखाउन सफल भएपछि नै फेरि दोस्रो अवसर जुरेको थियो ।  

भोलिपल्ट पञ्चशील पार्क नजिकै रहेको जोर्डनियन दूताबासबाट भिसासहितको पासपोर्ट संकलन गरेर हामी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टतिर हानियौँ ।  

एयर इन्डियाको विमानमा ४ घण्टाको उडानपश्चात युनाइटेड अरब इमिरेट्सको दुबई पुगियो । यात्रुहरूको चहलपहल धेरै नै भएको उक्त एयरपोर्ट व्यस्तताको हिसाबले विश्वको १३औँ नम्बरमा पर्ने रहेछ । यसले ९० हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको रहेछ ।  

ट्रान्जिटमा लामो समय भएको हुनाले अलिक दिक्कलाग्दो अवस्था सिर्जना होला कि भन्ने लागेको थियो । तर, यात्रामा एक जना साथी पनि सँगै भएको र मेरो ल्यापटपमा प्रशस्त ई–बुक्स रहेको हुनाले समय बिताउन खासै गाह्रो महसुस भएन ।  

त्यसपछि शाही जोर्डनियन एयरलाइन्सको विमानमा दुबईबाट प्रस्थान गरेपछि ३ घण्टा १५ मिनेटमा जोर्डनको राजधानी अम्मानमा अवस्थित रानी आलिया अन्तर्राष्ट्रिय हवाई अड्डामा अवतरण गरियो । सन् १९७७ मा रानी आलियाको हेलिकोप्टर दुर्घटनामा देहावसान भएपछि उनको नाममा एयरपोर्टको पुनर्नामकरण गरिएको रहेछ ।  

एयरपोर्टको बैंकमा मुद्रा विनिमय गर्न जाँदा १ यूएस डलरको ० दशमलब ७१ जोर्डनियन दिनार पो आएको देखेर विश्वास नलागेकाले फेरि अर्को पटक विनिमय दर सोधेँ मैले । बैंकका कर्मचारीले मुसुक्क हाँसेर भने, ‘यूएस डलरभन्दा हाम्रो मुद्रा महँगो छ ।’ जोर्डन त धनी रहेछ भन्ने लाग्यो मलाई ।  

एयरपोर्टबाट ट्याक्सी लिएर ३२ किलोमिटरको दूरीमा रहेको अम्मान सिटी सेन्टरतर्फ अगाडि बढ्यौँ । जोर्डनको राजधानी अम्मानलाई हेर्न आतुर थिए आँखाहरू ।  

गाडी एकदम रफ्तारमा कुदिरेहको थियो । मेरो मनमा पुराना कुराहरू स्मरण हुन थाले । मैले सन् १९९९ मा इजरायलको गोलान हाइट्स र डेड सीको भ्रमण गर्दा त्यहाँबाट पूर्वतिर रहेको मुलुक जोर्डनका भूभागहरू टाढाबाट हेरेको थिएँ । जोर्डन नदीलाई पृष्ठभूमिमा राखेर फोटो पनि खिचेको थिएँ । त्योभन्दा एक महिनाअघि मात्र जोर्डनका राजा हुसेनको निधन भएको तथा इजरायल र जोर्डनबीचको शान्ति सम्झौतामा राजा हुसेनको ठुलो भूमिका रहेको कुरा सुनेको थिएँ ।   

इजरायलबाट जोर्डनलाई अवलोकन गरिरहँदा मैले कुनै दिन जोर्डनको भ्रमण गर्ने कुरा कल्पनासम्म पनि गरेको थिइनँ ।  

ओरालो लाग्दै गर्दा अम्मानको सुन्दर परिदृश्य देखियो । भिरालो जमिनमा योजनाबद्ध ढंगले शहर व्यवस्थित गरिएकाले यसलाई सिँढीको शहर पनि भनिँदो रहेछ । त्यस्तै, अर्को उपनाम रहेछ, ‘सेतो परेवा ।’ 

सडक त सफा थियो तर हरियालीचाहिँ खासै राम्रो थिएन । सडकमा आक्कलझुक्कल बुलेट बाइकबाहेक मोटरसाइकल पटक्कै देखिएन । सडकको ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त लाग्यो ।  

पहिलो दिन अम्मानको केम्पिन्स्की होटलको हलमा कार्यक्रम सुरु भयो । ब्रुकिङ्ग्स इन्स्टिट्युसनको तर्फबाट सहजकर्ता सारा होमेलले नेपाल, जोर्डन, मंगोलिया, यमन, मोरक्को, सिरिया र लेबनानमा हुन गइरहेको ईसीडी स्केलिङ अप स्टडीका टिम लिडरहरू तथा अन्य सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रम सुरु गर्नुभएको थियो ।  

पहिलो दिनको कार्यक्रमको अन्त्यमा साराले नै ‘आज साँझ विश्वकप फुटबल फाइनल खेल हुन गइरहेकाले डिनर खाँदै हेर्न मिल्ने प्रबन्ध मिलाएको’ बताउनुभएपछि सबै सहभागीहरू अत्यन्तै हर्षित भएका थियौँ ।  

सन् १९९४ देखि लगातार विश्वकप फाइनल हेर्दै आइरहेको हुनाले यस पटक जोर्डनको राजधानी अम्मानमा हेर्न अनुकूलता होला कि नहोला भनेर मेरो मनमा उब्जिएको शंका मेटिएकाले अत्यन्तै खुसी लाग्यो ।

रेस्टुरेन्टमा ठूलाठूला स्क्रिनको व्यवस्था गरिएको थियो । दक्षिण अफ्रिकाको जोहनेसबर्ग रंगशालामा सन् २०१० को विश्वकप सुरु भयो । हामी डिनर खाँदै रमाइलोसँग प्रत्यक्ष खेल हेर्न थाल्यौँ ।  

मैले नेदरल्याण्ड्सको समर्थन गरेको थिएँ । यसका २ कारण थिए । पहिलो, आफूले २ पटक भ्रमण गरिसकेकाले यस मुलुकसँगको सामीप्य बढेको थियो । दोस्रो, नेदरल्याण्ड्स सरकारले नेपालको ईसीडीका लागि आर्थिक सहयोग गरेको थियो । शिवजी पनि नेदरल्याण्ड्सकै पक्षमा हुनुहुन्थ्यो ।  

हामी २ बाहेक अन्य १० मुलुकका साथीहरू स्पेनको समर्थनमा थिए । ‘डचहरू साह्रै रूखा र खरा हुन्छन् । त्यसैले मनपर्दैन’ भन्नेहरूको पनि कमी थिएन ।  

यसैबीच ११६ मिनेटमा स्पेनका मिड फिल्डर आन्द्रेस इनेस्टाले गोल गरेपछि नै स्पेनले विश्वकप उचाल्न सफल भएको थियो । मैले स्पेन समर्थक साथीहरूलाई बधाई दिएँ । आफूलाई चाहिँ अलिक खल्लो लाग्यो ।  

अर्को दिन हामी बजार घुम्न निस्कियौँ । यूएस डलरभन्दा महँगो जोर्डनियन दिनारमा किन्न सकिने कुरा केही थिएनन् मेरालागि । किनकि, म त विद्यार्थी नै थिएँ ।  

७१ लाख ८२ हजार जनसंख्या रहेको जोर्डनमा ९८ प्रतिशत मुस्लिम रहेछन् । अरब मुलुकमा मदिराको खुला ब्यापार र प्रयोग बर्जित गरिएको भए पनि अम्मानमा चाहिँ खुकुलो रहेछ । स्थानीयहरूसँग कुराकानी गर्दा राजा अब्दुल्लाह द्वितीय जनताका माझमा निकै नै लोकप्रिय रहेका जानकारी मिल्यो ।  

नेपाल र जोर्डनको मिल्ने कुरो भनेको नै पर्यटन व्यवसाय रहेछ । मध्यपूर्वको एक शान्तिपूर्ण देश भएकाले पर्यटकहरूको ओइरो लाग्ने रहेछ जोर्डनमा ।  

नेपालसँग नमिल्ने कुराचाहिँ जलस्रोत रहेछ । नेपाल जलस्रोतको हिसाबले विश्वकै दोस्रो धनी देश हो भने जोर्डनचाहिँ पानीको आभाव भएको संसारकै दोस्रो मुलुक ।  

साढे ८ महिनापछि ८ चैत २०६७ मा दोस्रो पटक जोर्डनका लागि प्रस्थान गरियो । ईसीडी स्केलिङ–अप स्टडीको ‘फिल्डवर्क’ इलाम, रसुवा, कास्की र बाँके जिल्लामा सम्पन्न गरेर तथा राष्ट्रिय स्तरमा आन्तर्वार्ताहरू पनि सकेर मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नका लागि जाँदै थिएँ म । फेरि पनि सहयात्री हुनुहुन्थ्यो शिवजी, फरासिला तथा मिजासिला साथी ।  

दोस्रो पटकको यात्रा भएकाले अलिक कौतूह कम हुनु स्वाभाविक थियो । तथापि, यस पटक जोर्डनको डेड सीमा कार्यक्रम हुने भएकाले थप उत्सुकता बढेको थियो । ११ वर्ष पहिले इजरायल र प्यालेस्टाइनको भूभागबाट मृतसागर अर्थात् डेड सीको अवलोकन गर्दै नुनिलो समुद्रमा तैरिनेसमेत अवसर मिलेको थियो । फेरि पनि जोर्डनपट्टिबाट डेड सीमा रमाइलो गर्ने कुरा सोच्दा आनन्दानुभूति भयो ।  

मनको रमाइलो एक्कासि तनावमा अनुवाद हुन पुग्यो, जब यात्रा अवधिमै ‘फुड प्वाइजन’ले मलाई हैरान बनायो । यसको कारण दुबई एयरपोर्टमा ट्रान्जिट रहँदाको खानेकुरा हो कि प्लेनमा दिइएको खाना हो भन्ने कुरा ठम्याउन सकिएन । प्लेनमा पटकपटक उठेर शौचालयतिर जानुपर्दा मेरो निद हराम भयो ।   

स्वदेश तथा विदेशको यात्रा गर्दा म जहिले पनि अत्यावश्यक औषधिहरू बोक्ने गर्छु । आफूले बोकेको मेट्रोनिडाजोलले पनि यस पटक पखाला रोक्न सकेन । अम्मानको एयरपोर्टबाट सिधै दक्षिण–पश्चिमतिर रहेको डेड सीतर्फ ट्याक्सीमा जाँदै गर्दा आधा घण्टाको समय ३ घण्टा जस्तो लाग्यो मलाई ।

सुरुको पहिलो आधा दिन कार्यक्रममा भाग लिन असमर्थ हुँदा निकै दिक्दारी महसुस भयो । सारा होमेलले अमेरिकी औषधि दिएपछि २३औँ पटकको रेकर्ड ब्रेकपश्चात पाखाला रोकियो । जिन्दगीमा त्यस्तो त कहिल्यै पनि अनुभव गरिएको थिएन । जोर्डन र मोरक्कोको प्रतिवेदन प्रस्तुतीकरण छुटे पनि मंगोलियाको सेसनमा चाहिँ सहभागी हुन पाएँ ।

दोस्रो दिन लेबनानको प्रस्तुति सकिएपछि नेपालको प्रतिवेदन प्रस्तुतीकरण गर्ने पालो आयो । ‘विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्टको देशबाट आएको अनुसन्धाता संसारकै सबैभन्दा होचो सुख्खा जमिन भएको स्थान डेड सीको भूमिमा उभिएर सबैलाई अभिनन्दनसहित नेपाल सेसनमा स्वागत गर्दछ’ भनेर सुरु गरेँ । सबैको मुखाकृतिमा प्रसन्नताका रेखाहरू कोरिएको भान भयो ।  

आफू बिरामी परेकामा क्षमायाचना गर्दै ‘सेन्स अफ ह्युमर’सहित पखालाविरुद्धको अचुक अमेरिकी अस्त्र ट्याब्लेट प्रदान गरेकामा सारालाई हार्दिक धन्यवाद भनेपछि हाँसोको फोहोरा छुट्यो हलमा । त्यसपछि मलाई विषयबस्तु प्रस्तुत गर्न सजिलो भयो ।   

मैले अनुसन्धानको क्रममा नेपालका ५ मन्त्रीहरू, ५ पूर्वमन्त्रीहरू र ४ प्रमुख दलका शिक्षा विभाग प्रमुखहरूसँग अन्तर्वार्ता लिएको र ईसीडीको विस्तार तथा बढोत्तरीका लागि राजनीतिक इच्छाशक्ति दरिलो रहेको कुरा गर्वका साथ बताएँ ।  

सेसन संचालन गरिरहेका अमेरिकाको यल विश्वविद्यालयका जान भान राभेन्सले यस कुराको निकै प्रशंसा गर्दै उक्त मन्त्रालयहरूको नाम बताउन अनुरोध गर्नुभयो । युनिसेफ हेडक्वार्टरकी ईसीडी विशेषज्ञ डा. नुपर उल्करले पनि सही थाप्नुभयो । मैले मन्त्रीज्यूहरूको नामैसहित मन्त्रालयहरूबारे बताएँ ।     

यतिबेला तपाईंहरूको मन मस्तिष्कमा पनि ‘कोको हुनुहुन्थ्यो त उहाँहरू ?’ भन्ने प्रश्न विचरण गरिरहेको हुन सक्छ नि, होइन र ? त्यसैले उहाँहरूप्रति हार्दिक कृतज्ञतासहित म नाम उल्लेख गर्न चाहन्छु ।   

अन्तर्वार्तामार्फत अनुसन्धानमा योगदान गर्नुहुने मन्त्रीज्यूहरू हुनुहुन्थ्यो– सर्वेन्द्रनाथ शुक्ल (शिक्षा), सर्वदेव ओझा (महिला, बालबालिका तथा समाज कल्याण), सुरेन्द्रप्रसाद पाण्डे (अर्थ), पूर्णकुमार शेर्मा लिम्बू (स्थानीय विकास) र खड्गबहादुर बस्याल (स्वास्थ्य तथा जनसंख्या) ।

यसैगरी ५ पूर्वमन्त्रीहरू प्रदीप नेपाल (शिक्षा), अष्टलक्ष्मी शाक्य र कमला पन्त (महिला, बालबालिका तथा समाज कल्याण), गिरिराजमणि पोखरेल (स्वास्थ्य तथा जनसंख्या) र युवराज ज्ञवाली (स्थानीय विकास)ले पनि अन्तर्वार्तामा सहभागी भएर अमूल्य सुझाव दिनुभएको थियो ।  

साथै, प्रमुख दलका शिक्षा विभाग प्रमुखहरू अग्निप्रसाद सापकोटा (माओवादी केन्द्र), नारायणप्रसाद साउद (कांग्रेस), महेन्द्रबहादुर पाण्डे (एमाले) र जयप्रकाश गुप्ता (फोरम) तथा सुरुमा उल्लेख गरिएका ५ मन्त्रालयका सचिवहरू एवं सम्बन्धित विभागका महानिर्देशकहरूको सुझाव तथा सल्लाहले पनि प्रतिवेदनमा चारचाँद थपेको थियो ।   

प्रश्नहरूको उत्तर दिएर सारा होमेल, नुपर उल्कर, आगा खान विकास संजालकी क्याथी बार्लेट, अरब रिसोर्स कलेक्टिभका युसेफ हज्जार र यल विश्वविद्यालयका राभेन्स जस्ता विज्ञहरूबाट प्राप्त सुझावहरू समावेश गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने प्रतिबद्धता जाहेर गरेँ । शिवजीले पनि केही प्रश्नको उत्तर दिन सघाउनुभएको थियो ।  

सुरुका दिनहरूमा अनुसन्धान कार्यको चाँजोपाँजो मिलाउने युनिसेफका पुरुषोत्तम आचार्यजी र मेरो टिमका अनन्य मित्र बालमुकुन्द महतजीलगायत अन्य साथीहरूलाई खुबै स्मरण गरेँ । 

समग्रमा, अनुसन्धानको विधि, प्रक्रिया तथा प्रतिवेदनको गहनतामा ‘ताली’ पाइयो भने सुझावहरू एकदम राम्रा भए पनि ‘सपिङ लिस्ट’ जस्तो भएकामा ‘गाली’ पनि ।   

सेसन सकिएपछि अनुसन्धानको एउटा चुनौतीपूर्ण यात्रालाई सफललापूर्वक गन्तव्यमा पु¥याउन सफल भएको महसुस भएकाले मनै प्रफुल्लित भयो– भर्खरै आँधी र तुफान छिचोलेर नयाँ पाइलटले एउटा भीमकाय हवाईजहाजलाई सेफ ल्यान्डिङ गराउँदा महसुस गरिरहेको अनुभूति जस्तै ।        

म लखतरान भएको थिएँ । त्यसैले एकान्तको खोजी गर्दै कोठातिर हान्निएँ, अन्य साथीभाइको पर्वाह नै नगरी । ल्यापटपको झोला टेबलमा राखेर बेडमा गर्लम्मै ढलेँ– निदालका लागि काटिएको सतिसालको विशाल वृक्ष जंगलमा ढलेजस्तै गरी ।    

एकछिनपछि कोठामै कफी बनाएर झ्यालबाट हेर्दै चुस्की लगाउन थालेँ । रिसर्टको छेउमै मृतसागर मन्द रफ्तारमा बहिरहेको थियो । पारिपट्टि इजरायल देखिन्थ्यो अनि प्यालेस्टाइन पनि । मान्छेहरू नुनिलो सागरमा तैरिँदै रमाइरहेका थिए ।  

त्यस्तो दृश्य देखेपछि जति थकित भए पनि मन थाम्नै सकिनँ । अनि, कपडा फेरेर जीवनमा दोस्रो पटक पसेँ डेड सीमा डुबुल्की मार्न । चिउँडोसम्म पानी आउने गरी शरीर डुबाएर केहीबेर बस्दा नुनिलो पानीले ‘होल बडी मसाज’ गरेजस्तो लाग्यो । झन्डै बाउँडिन ठिक्क परेका पिडुँलाहरूले बेजोड सन्तुष्टिको अनुभव गरेजस्तो लाग्यो ।

पहिलो पटक ईसीडीको सिकारुका रूपमा इजरायलबाट डेड सीमा पसेको थिएँ । दोस्रो पटक एउटा विज्ञ अनुसन्धाताको रूपमा मृतसागरमा ‘फ्लोटिङ’ गर्ने मौका मिल्यो जोर्डनपट्टिबाट ।

अनुसन्धानको महासागरमा कुशलतापूर्वक पौडी खेल्न सिकाउने मेरा आदरणीय गुरु रावसरप्रति श्रद्धाभावले नतमस्तक भएँ म जोर्डनको डेड सीमा ।